किन गर्दैछन् चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण


काठमाडौं : विश्वमा आर्थिक र सामरिक क्षेत्रमा शक्तिशाली बन्दै गएको नेपालको उत्तरी छिमेकी मुलुक जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिन पिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउँदैछन् । उनको नेपाल भ्रमणको विषय राजनीतिमा मात्र होइन, कूटनीतिक रूपमा पनि निकै चासो र बहसको विषय बनेको छ । नेपाललाई आधार बनाएर चीन घेर्ने अमेरिकी रणनीति अघि बढिरहेको समयमा राष्ट्रपति सीको नेपाल भ्रमणले ठूलो अर्थ र महत्व राख्ने विज्ञहरूले बताएका छन् ।

केही समयदेखि अमेरिकी हिन्द–प्रशान्त रणनीति (इन्डो–प्यासेफिक स्ट्राटेजी) कूटनीतिक क्षेत्रमा बहसको विषय बनेको छ । केपी वली सरकारका मन्त्रीहरू रातभर अमेरिकी हिन्द–प्रशान्त रणनीतितिर र दिनभर चीनले अघि सारेको बेल्ट एन्ड रोड रणनीतिमा देखिने गरेको चर्चा चलिरहेकै समयमा विश्वमहाशक्ति राष्ट्र चीनका राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो । नेपालले औपचारिक रूपमै चिनियाँ राष्ट्रपति सी जिनपिङले अघि सारेको बेल्ट एन्ड रोड रणनीतिको समर्थन गरिसकेको छ भने भारत र अमेरिकाले विरोध गरिरहेका छन् । अमेरिकी हिन्द–प्रशान्त रणनीति नेपालको हितमा नभएको र यसले गर्दा नेपालमा विदेशी हस्तक्षेप बढ्ने बहस घनीभूत भइरहेको बेला नेपालमा शक्तिशाली चिनियाँ राष्ट्रपतिले राजकीय भ्रमण गर्न लागेका हुन् ।

अध्यक्ष माओले नेतृत्व गरेको र हाल ‘हिङ नभए पनि हिङ बाँधेको टालो’ का रूपमा रहेको कम्युनिस्ट पार्टीका प्रमुखसमेत रहेका चिनियाँ राष्ट्रपति सीको आसन्न नेपाल भ्रमणलाई नेपाल र नेपालीले अवसरका रूपमा लिनुपर्ने विज्ञहरूको भनाइ छ । विज्ञहरू भन्छन्, ‘यो दुई छिमेकी राष्ट्रको कुरा मात्र होइन, चिनियाँ क्रान्तिको इतिहास र नेपाली इतिहासलाई जोड्ने विषय हो । जनस्तरबाटै यो अवसरको सदुपयोग गर्ने कुरा हो । तर नेपाली अधिकारीहरूले यसको कति सदुपयोग गर्न सक्छन् भन्ने विषय महत्वपूर्ण विषय हो ।’

हालै चिनियाँ राष्ट्रपति सीले त्यहाँ आयोजित एक भव्य समारोहमा सम्बोधन गर्दै आफू झनै शक्तिशाली बन्दै गएको र यसको प्रवाह नरोकिने सन्देश दिए । सन् १९४९ मा चिनियाँ जनवादी क्रान्ति सम्पन्न भएको अवसरमा आयोजित समारोहको स्मरण हुने किसिमको समारोहमा सीले चीनमा समाजवाद स्थापना भएपछि चीनले गरेको प्रगतिका बारेमा चर्चा गरे । चिनियाँ क्रान्ति सम्पन्न भएको ७० वर्ष पुगेको अवसरमा आयोजित उक्त समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको आर्थिक र सामरिक विकासलाई कसैलाई रोक्न नसक्ने दाबी गर्दै भनेका छन्, ‘माओ त्सेतुङले ७० वर्षपहिले हालेको पिलरमाथि अहिले चीनलाई यो अवस्थामा ल्याइपुर्याएका छाैँ । आफ्नै मौलिकताको समाजवादका कारण चीन यो युगमा प्रवेश गरेको हो । यो नयाँ चीनको कथा हो ।’

चीनले यस्तो बताइरहेको सन्दर्भमा हिन्द–प्रशान्त क्षेत्रमा बढ्दै गएको चीनको प्रभुत्व उसले आर्थिक रूपमा गरेका सफलताहरू, सामरिक हिसाबले गरेको विकास शीत युद्धपछि केन्द्रीयता लिइरहेको अमेरिकाका लागि एक किसिमको चुनौती नै बनेको छ । दलाल पुँजीवादी प्रजातन्त्रले मात्रै मुलुकमा समृद्धि ल्याउँछ भन्ने अमेरिकी धारणालाई चुनौती दिँदै चीनले आफ्नै विशेषताको समाजवादको अभ्यास गरेपछि अमेरिकालाई ठूलो चुनौती बनेको छ ।

चीनलाई अफ्रिकादेखि एसियासम्मका महादेशका मुलुकहरुले भरोसालाग्दो साझेदारका रूपमा हेर्न थालेपछि सन् २०१२ मा अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामाले हिन्द–प्रशान्त ब्यालेन्स नीति अघि सारेका थिए । त्यो नीति प्रभावकारी नभइरहेको अवस्थामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि चीनलाई आर्थिक, राजनीतिक, सैनिक प्रभाव र विचारलाई रोक्न इन्डो–प्यासिफिक रणनीति अघि सारिएको हो । उक्त इन्डोप्यासिफिक रणनीतिमा नेपाललाई सहभागी नहुन र नेपालले इन्डो– प्यासिफिक रणनीतिमा सहभागी बन्दा पनि बृहत् छलफलबाट अघि बढ्नुपर्ने बहस पनि भैरहेका छन् । अमेरिकी रणनीतिको भुलभुलैमा परेमा नेपाल सिरिया र अफगानिस्तान बन्नसक्ने खतराप्रति विज्ञहरूले सजग बनाएका छन् । शक्तिशाली राष्ट्रका राष्ट्रप्रमुख नेपाल आउने कुरालाई ठूलो अवसरका रूपमा लिनुपर्ने विश्लेषकहरूको भनाइ छ ।

यता चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका लागि भन्दै केपी वली सरकारले तयारी तीव्र पारेका समाचारहरु सार्वजनिक भइरहेका छन् । राष्ट्रपति सीको भ्रमणको मिति सार्वजनिक नगरिएको भए पनि भ्रमणलाई नै लक्षित गरेर आन्तरिक सुरक्षा कार्यविधि बनाई सुरक्षा व्यवस्थापन गर्ने कार्य अघि बढाइएको छ ।

२०७६ असोज १५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :