कालीकोटका अग्निपीडितलाई राहत वितरण

काठमाडौँ : अखिल (क्रान्तिकारी) ले कालीकोटका अग्निपीडित तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ । कालीकोटको पलाता गाउँपालिका १ खाडागाउँका अग्निपीडित र विपन्न परिवारलाई क्रान्तिकारीले कपडालगायत राहत सामग्री वितरण गरेको हो ।

नेकपाका केन्द्रीय सदस्य नवीन र अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले देशैभरिबाट सङ्कलित लत्ताकपडा तथा राहत सामग्री कालीकोटबासीलाई वितरण गरेका थिए । नानीकोट गाविसमा आयोजित अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को प्रथम जिल्ला सम्मेलनको अवसर पारेर गरिएको राहत वितरण कार्यक्रममा ने.क.पा. का केन्द्रीय सदस्य नवीन अतिथि थिए । त्यस अवसरमा कोषाध्यक्ष विकले आफूहरू सधैँ गरिब, विपन्न तथा पीडित जनताको साथमा रहेको भन्दै भविष्यमा पनि यस्तो सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।

यस्तै नेकपाका केन्द्रीय सदस्य नवीनले पीडित र विपन्न परिवारको साथमा आफ्नो पार्टी रहेको भन्दै जनतालाई निरन्तर सहयोग गर्ने बताए । नेकपाले यसअघि पनि आफ्नो पार्टीले न्यौपाने बस्तीका पीडित परिवारको घर निर्माणदेखि विभिन्न सहयोग गर्दै आएको स्मरण गराउँदै उनले पार्टी सधैँ कर्णालीबासीको साथमा रहेको बताए । नवीनले जनताको व्यवस्था वैज्ञानिक समाजवाद नआएसम्म कर्णालीका जनताको जीवनस्तर माथि उठ्न नसक्ने समेत ठोकुवा गरे । उनले सबैलाई एकीकृत जनक्रान्तिमा साथ दिन पनि अपिल गरे ।

गत पुस ८ गते आइतबार मध्यराति पलाता गाउँपालिका–१ खाडा गाउँमा भएको आगलागीमा परी ८० भन्दा बढी घर जलेर खरानी भएका थिए । जिल्ला सदरमुकामबाट ३२ कोस टाढा रहेको उक्त बस्ती सुक्खा र फुसको छाना भएकाले आगो नियन्त्रणबाहिर जाँदा आगलागीबाट ठूलो क्षति भएको हो ।

२०७५ फागुन २७ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :