कालापानी नेपालको हो भन्नेहरूमाथि सशस्त्र र जनपद प्रहरी लगाएर दमन

काठमाडौँ : सरकारले कालापानी, लिपुलेकलगायत नेपाली भूमि भारतले मिचेको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई सशस्त्र र जनपद प्रहरी लगाएर गिरफ्तार गरेको भन्दै नेकपाले घोर भत्र्सना गरेको छ । नेकपा दार्चुलाका इन्चार्ज आकाश र सेक्रेटरी लक्ष्मणले विज्ञप्ति जारी गरी राष्ट्रियताको रक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएका आफ्नो पार्टीको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) का ६ जना नेता–कार्यकर्तालाई प्रहरी लगाएर गिरफ्तार गरेको भन्दै सरकारको तीव्र आलोचना पनि गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यति बेला नेपाल कम्युनिस्ट पार्टी साम्राज्यवाद र घरेलु प्रतिक्रियावादका जनविरोधी कदमबिरुद्ध निर्मम तरिकाले सङ्घर्ष गरिरहेको छ । देशका शासकहरू विदेशी शक्तिको आडमा नेपाली जनतामाथि एकपछि अर्को उत्पीडन थोपरिरहेका छन् । आज शासकहरूको दलाल चरित्र दिनानुदिन जनताको बीचमा एकपछि अर्को गरी उदाङ्गो भइरहेको छ । भारतीय साम्राज्यवादको नेपालमाथिको उत्पीडन चरम बिन्दुमा पुगेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘भारतीय साम्राज्यवादले नेपालको भूमि कालापानीलाई आफ्नो राजनीतिक नक्सामा समेटेर जाली नक्सा सार्वजनिक गरेको छ । त्यसको सच्चा देशभक्त र राष्ट्रवादी नेपाली जनताले विरोध गरिरहेका छन् । तर भारतीय साम्राज्यवादको कठपुतली प्रचण्ड–वलीमण्डली भने त्यसको विरोध गर्नुको साटो सडकमा शान्तिपूर्ण तरिकाले आन्दोलनमा उत्रिएका विद्यार्थीहरूमाथि दमन गर्न उद्यत रहेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘त्यसैक्रममा नेकपाको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारी सेती–महाकाली क्षेत्रीय समन्वय समितिले दार्चुलाको सदरमुकाम खलङ्गामा राष्ट्रियता सम्बन्धमा अयोजना गरेको विरोध प्रदर्शनमा वली–बादल नेतृत्वको प्रशासनले धरपकड गरेको छ । स्थानीय प्रशासनले सशस्त्र प्रहरी परिचालन गरी ६ जना विद्यार्थीलाई गिरफ्तार गरेको छ । त्यस्तै प्रहरी र सशस्त्र प्रहरीले गुन्डागर्दी शैलीमा विद्यार्थीहरूका झोला च्यात्ने, मोबाइल फाल्ने र विद्यार्थीमाथि कुटपिटसमेत गरेका छन् ।’

इन्चार्ज र सेक्रेटरीले जारी गरेको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘कालापनी, लिपुलेक र अन्य ठाउँमा भारतले गरेको अतिक्रमणका विरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि वली–प्रचण्डको सामाजिक फासिवादी हर्कतको घोर भत्र्सना गर्दै गिरफ्तार भएका सम्पूर्ण विद्यार्थीलाई बिनासर्त रिहाइको माग गर्दछौँ । अन्यथा त्यसको कडा प्रतिवाद गरिनेछ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ मंसिर ११ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :