कम्युनिस्ट सरकार भए पनि चेपाङमाथि रोकिएन उत्पीडन

समाचार विश्लेषण

काठमाडौँ : चितवन, मकवानपुर, धादिङ र गोरखा जिल्लामा रहेका चेपाङ जाति अत्यन्त पिछडिएको लोपोन्मुख समुदाय हो । चितवन जिल्लाको उत्तरी पहाडी भूभाग कालिका ११ (साबिक सिद्धि ३), सैपाङ गाउँका ५४ घरधुरीको अवस्था पञ्चायतीकालको भन्दा भिन्न छैन । शक्तिखोर बजारबाट झन्डै ५ किमि उत्तरमा रहेको तीनदोभानमा रहेको वडा कार्यालयमा पुग्न सैपाङका जनतालाई ८ घन्टा हिँड्नुपर्छ । वडा अध्यक्ष कृष्णबहादुर प्रजा नगरपालिकामा आफ्नो कुरा नसुनिएको दुखेसो गर्छन् । सैपाङको पूरै गाउँ ऐलानी हो । उनीहरूको जग्गाको पुर्जा छैन । २०४६ सालयता आधा दर्जन भूमि तथा सुकुमबासी आयोग बनेपनि उनीहरूको समस्या यथावत् छ । २०३२ सालमा सैपाङमा ४ घरधुरी मात्र थिए । चेपाङ भाषामा ‘सै’ को अर्थ दुम्सी र ‘पाङ’को अर्थ ‘गाडेको’हुन्छ । दुम्सी गाडेको अर्थात् सैपाङ नाम कसरी रह्यो त भन्ने प्रश्नको जबाफमा स्थानीय समाजसेवी रामबहादुर प्रजा भन्छन्,‘कुनैबेला यो क्षेत्रमा बस्ती थिएन । एउटा मान्छे एक्लै कन्दमूल खाएर बस्थ्यो । खेती, पशुपालन केही गर्दैनथ्यो । गाउँ जाँदैनथ्यो । उसलाई गाउँलेले दुम्सी भन्थे । त्यो मान्छे मरेपछि यहीँ गाडेछन् । त्यसपछि कालान्तरमा ‘सै’लाई ‘पाङ’ गरेको (दुम्सी बुढालाई गाडेको) ठाउँभन्दाभन्दै यो ठाउँको नाम सैपाङ भयो ।’यहाँ अहिले पनि चेपाङ समुदायको एकल बस्ती रहेको छ । २०४६ सालमा खोरिया फाँडेर थप ५० घर गरी हाल ५४ घरधुरी भएका छन् ।

सैपाङ वरपरको बन ‘संयुक्त इन्द्रेणी बन’ अन्तर्गत थियो । सोही बन विभाजित भएर ६ वटा सामुदायिक बन गठन भए । सैपाङ वरपर देउराली सामुदायिक बन थियो । तर बाहिरिया मान्छे देख्दा जङ्गलतिरभाग्ने र डराउने सैपाङका जनताले सामुदायिक बन दर्ता प्रयास गरे पनि सफल भएनन् । वीरेन्द्रनगर बजारआसपासका टाठाबाठा रहेको कालिका सामुदायिक बनले देउराली बन कब्जा गर्यो । देउराली बन दर्ता गर्न भरतपुर बन कार्यालय पुग्दा त्यो कुरा जानकारी पाएपछि उनीहरू निराश भएर फर्के । कालिका सामुदायिक बनका अध्यक्ष माधव गिरीले देउराली वनका पक्षमा बोलेकै कारण २०४६ सालमा स्थानीय हरिबहादुर प्रजालाई कुटपिट गरे । अर्का लालकुमार प्रजालाई बनमुद्दा लगाएर ५ वर्ष जेल हालियो । यहाँको हरेक घरले यातना र झूट्टा मुद्दा खेपेका छन् । शुभशान्ति राप्रावि सैपाङको भवन माधव गिरीको टोलीले ३ पटक भत्कायो । पञ्च पृष्ठभूमिका गिरी २०४६ सालपछि एमाले र२०५२ पछि माओवादी बने । खैरहनी इलाका प्रहरी कार्यालयले सेन्ट्री बसेर काठ तस्करी गर्ने गरेको आरोप लगाउने गिरी स्वयम् प्रहरी, नेताहरू, विद्रोही सबैसँग चाकरीबाजी गर्ने र त्यसको आडमा सोझा चेपाङलाई दमन गर्ने गर्दै आएका छन् । सहायक बन अधिकृत बलिभद्र भण्डारी र माधव गिरीको जम्बो टोलीले माघ ५ गते जनतालाई धम्की दिएर गयो । कति जङ्गलतिर भागे । विडम्बना ! कम्युनिस्ट शासन र गणतन्त्र सिद्धिका चेपाङलाई अझै आएन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :