एसईईको पुरक परिक्षा स्थलबाटै विद्यार्थी गिरफ्तार, अध्यक्ष केसीद्वारा तुरुन्त रिहाइको माग


सल्यान : सल्यानमा एसईईको पुरक परिक्षा (ग्रेड वृद्धि) दिन श्रीनगर आएको बेला नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का विद्यार्थी गिरफ्तार भएका छन् । अखिल (क्रान्तिकारी) सल्यान जिल्ला अध्यक्ष टंकप्रकाश केसीले मंगलबार विज्ञप्ति जारी गरी संगठनका सल्यान जिल्ला सदस्य सुरेश भारती, महेश साहु र केही दिन पहिला अनिल विकलाई अपहरण शैलीमा केपी–बादल गृह प्रशासनले सोमबार साँझ गिरफ्तार गरेकोप्रति खेद प्रकट गर्दै विनासर्त तुरुन्त स–सम्मान रिहाई नगरे कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

जिल्ला अध्यक्ष टंकप्रकाश केसीले विज्ञप्तिमा भनेका छन्, ‘त्याग, बलिदान र विजयको प्राय हाम्रो महान् तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) शैक्षिक विकृति र विसंगतिका विरुद्ध र आमुल शैक्षिक रुपान्तरणका निम्ति निरन्तर सडक संघर्षमा विगत लामो समयदेखि वैज्ञानिक समाजवादी शिक्षाका पक्षमा नीति, कार्यक्रम तथा योजनासहित अघि बढिरहेको छ ।’

अध्यक्ष केसीले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘यतिवेला देश असाध्यै संकटपूर्ण अवस्थामा गुज्रिरहेको छ । देश र जनताको आवाजमाथि प्रतिबन्ध जेल, हत्या र दमनको साहारामा दुई तिहाई कम्युनिस्ट सरकार चलिरहेको छ । विगत लामो समयदेखि नेपाली जनताको बलिदानबाट स्थापित भएका अधिकार पनि गुम्दै गएका छन् । पार्टीमाथि प्रतिबन्ध लागे सँगसँगै विद्यार्थी न्याय प्राप्ति र वैज्ञानिक समाजवादी शिक्षाको वकालत गरिरहेको संगठन अखिल (क्रान्तिकारी) खुला र वैधानिक मोर्चा हुँदाहुँदै पनि देशैभर कयौं विद्यार्थी नेताहरुले जेल तथा हिरासतमा झुठा मुद्दा खेपिरहनु भएको छ । यसै सन्दर्भमा गएराति संगठनका सल्यान जिल्ला सदस्य सुरेश भारती, महेश साहु र केही दिन पहिला अनिल विकलाई अपहरण शैलीमा गरिएको गिरफ्तारप्रति हाम्रो संगठन खेद प्रकट गर्दछ । गिरफ्तार गरिएका विद्यार्थीहरु तुरुन्त विनासर्त रिहाई गर्न जोडदार माग गर्दछौं । अन्यथा आँधीहुरीमय आन्दोलन सुरु गरी संघर्षको बाटो रोज्न बाध्य हुनेछौं । उक्त आन्दोलनबाट उत्पन्न परिस्थितिको सबै जिम्मेवार सम्बन्धित निकायले लिनुपर्ने कुरा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ भदौ ४ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :