एकीकृत जनक्रान्ति : मुक्तिको निर्विकल्प बाटो

दलाल पुँजीवादी संसदीय राज्यसत्ताले नेपाली जनतालाई षड्यन्त्र, छलछाम र धोका दिन्छ । क्रान्तिकारी खुला र स्पष्ट भै श्रमिक सर्वहारावर्गको मुक्ति, स्वतन्त्रता र परिवर्तनका लागि जस्तोसुकै मूल्यको त्याग, तपस्या र बलिदान दिन पनि पछि पर्दैनन् । राष्ट्रघाती, जनघाती व्यवस्थाका विरुद्ध निरन्तर क्रान्तिको बाटोमा अघि बढिरहन्छन् । जनताका वर्गवैरीहरूसँग आत्मसमर्पण, सम्झौता र समन्वय गर्दैनन् । सम्झौताहीन सङ्घर्ष गर्छन् । विचलित नभई महान् उद्देश्यसम्म पुगिछाड्छन् । क्रान्तिमा आउने सबै प्रकारका समस्या, चुनौती, घुम्ती र मोडहरूलाई तिलाञ्जली दिँदै समाधान र सम्भावनाको बाटो पत्ता लगाउँछन् । दुनियाँ बुझी दुनियाँ बदल्ने साहस गर्दछन् । सङ्घर्षमा नै जीवन देख्छन् । जगत् फेर्ने आँट गर्छन् । क्रान्तिबिना कुनै पनि देशमा आमूल परिवर्तन भएको इतिहास छैन । वर्गसङ्घर्षले नै वर्गीय मुक्ति हुन्छ । सङ्घर्षले नै देशको विकास र जनताको समृद्धि हुन्छ । कुनै पनि वस्तुको विकास, गतिशीलता र अस्तित्व रहन निरन्तर सङ्घर्ष आवश्यक पर्दछ ।

नेपाल र विश्वभरि नै वर्गीय युद्ध चलिरहेको छ– हुनेखाने र हुँदा खाने वर्गहरूका बीचमा । हुनेखाने वर्ग देश र जनतालाई शोषण, अन्याय, अत्याचार, भ्रष्टाचार, महँगी र कालोबजारीले जनतालाई आक्रान्त बनाउँछ, भोगमरी बढाउँछ । आफ्नो लुटको स्वर्ग बचाउन दमन र धरपकड गर्दछ । हुँदा खानेहरू देशको विकास, जनताको समृद्धि र सुशासन चाहन्छन् । मान्छेमाथिको छुवाछूत र विभेद हुन दिँदैनन् । दासताको जन्जिर चुँडाल्छन् । सबै वर्ग र जातिहरूका मानिसहरू समान हुनुपर्छ भनी ठान्छन् । वर्ग रहिरहँदासम्म वर्गीय युद्ध चलिरहन्छ । युद्धमा हारजित, क्षति र उपलब्धि हुन्छ नै ! तर जित सत्यको र न्यायका पक्षमा हुन्छ । अन्यायपूर्ण युद्ध चलाउने दलाल संसदीय व्यवस्थाको खरानी हुनु अनिवार्य छ । उनीहरूका पक्षमा केही मुठीभर मान्छे हुन्छन् । श्रमिक–सर्वहारावर्गका पक्षमा उनान्सय प्रतिशत मान्छेहरू लामबद्व भई अगाडि बढ्छन् ।

नेपाल र नेपालीको क्रान्तिको सपना पूरा भैसकेको छैन । केही अवसरवादीहरूको मुक्ति, स्वतन्त्रता, घरपरिवार, आफन्त र छोराछोरीहरूको जीवन परिवर्तन भएको छ । वास्तविक जनताको सत्ता आएको छैन । जनताको सत्ता ल्याउनका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा सचेततापूर्ण योजना, विचार र सिद्धान्त आवश्यक छ । सिद्धान्त र विचारयुक्त मालेमावादी विचारलाई अझै उचाइमा उठाउन र नेपालका सबै किसिमको समस्या हल गर्न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी नयाँ विचारसहित एकीकृत जनक्रान्तिको माध्यमबाट नेपाली क्रान्ति पूरा गर्न कटिबद्ध छ । क्रान्तिकारी योजना र विचारको समृद्धि र विकास गरी सिद्धान्तको नयाँ निर्माण गरिएको छ । आजको विश्व र दसबर्से नेपाली जनयुद्धको अनुभवसहित विकसित कार्यदिशा एकीकृत जनक्रान्तिको कार्यदिशा हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा विश्वास राख्ने विज्ञानले प्रमाणित गरेको सत्य–तथ्यलाई आत्मसात गर्ने क्रान्तिकारी पार्टी हो । यसले आदर्शवाद, अन्धविश्वास, धार्मिक रूढिवादलाई विश्वास गर्दैन । यसैअनुसार क्रान्तिलाई अगाडि बढाउँछ । आजको भूमण्डलीकृत विश्व र नेपालको वस्तुगत, आत्मगत परिस्थितिलाई ध्यानमा राखी आजको समाजको सूचना, सञ्चार र प्रविधिको विकास दुनियाँको फेरबदललाई बुझी अगाडि बढिरहेको छ ।

दलाल संसदीय पुँजीवादी सत्ता बन्दुकको आँटमा सत्ता टिकाउँछ । क्रान्तिकारीहरूले बन्दुकको बलमा टिकेको सत्तालाई परास्त गर्न बलप्रयोगको सिद्धान्त आवश्यक ठान्छन् । आवश्यक पर्ने खरखजाना र परिस्थितिको विकास गर्छन् । नत्र जनताले हक र अधिकार सजिलै प्राप्त गर्दैनन् । यो व्यवस्था समस्याको समाधान होइन, झनै समस्या हो । धनीलाई झनै धनी बनाउने र गरिबलाई झनै गरिब बनाउने पुँजीवादी कलङ्कित व्यवस्था हो । यो व्यवस्थामा भोकानाङ्गा, गरिब जनताले स्वास्थ्य, शिक्षा, औषधि, उपचार नपाई अनाहकमा मर्नुपर्छ । यो लोकतन्त्र होइन, लुटतन्त्र हो । सङ्घीय गणतन्त्र, कम्युनिस्ट सरकार, समाजवाद उन्मुख होइन, समाजमा शोषणकारी, भ्रष्टाचारी, जनघाती, राष्ट्रघाती, विचार र दृष्टिकोणविहीन व्यवस्था हो । यो व्यवस्थाका विरुद्ध लड्न क्रान्ति र क्रान्तिकारी शक्तिको एकता अनिवार्य छ । विचार र दृष्टिकोण बुझाइ र सिद्धान्तमा एकताबद्ध हुनुपर्छ ।

नेपाल कम्युनिस्ट पार्टीले भ्रष्टाचारी, कर छली गर्ने एनसेलमाथि कारबाही गर्दा कम्युनिस्ट नामको सरकारले प्रतिबन्ध लगाएको छ । प्रतिबन्धले नेपाली जनताको आवाजलाई कुण्ठित गरेको छ । यो कथित प्रतिबन्धका विरुद्ध सबै क्रान्तिकारी, न्यायप्रेमी, देशभक्त शक्तिहरूले डटेर सामना गरिरहेका छन् भने केपी नेतृत्वको कम्युनिस्ट सरकारलाई यो प्रतिबन्ध निल्नु न ओकल्नु भएको छ । झन् क्रान्ति नयाँ ढङ्गले अगाडि बढिरहेको छ । प्रतिबन्धले जनतालाई र आमकार्यकर्तामा बलिदान गर्ने भावको विकास भएको छ । हाम्रो पार्टीले सम्झौताहीन सङ्घर्ष गरिरहेको छ । विकल्प दिन चाहिरहेको छ । विश्वको कुनै पनि देशमा वार्ता, संवाद र सम्झौताले जनताका हकअधिकार सजिलै प्राप्त भएको इतिहास छैन । शासकहरूको अगाडि रोइकराइ गरेर र हात थापेर जनताले हक पाएको छैन । सचेततापूर्ण र बहादुरीपूर्ण क्रान्तिले मात्र सम्भव छ । घृणित प्रतिबन्धबाट मुक्ति पाउन जनता र राष्ट्रको बलियो एकता चाहिएको छ । वर्गको त्यो महान् कार्यका लागि तयारी गर्नुपर्छ । यो कार्य साधारण होइन । उनीहरू जनताको एकता हुनै दिँंदैनन् । टुटाउँछन्, फुटाउँछन् । पद, प्रतिष्ठा, पैसा देखाउँछन् । आफ्नो लुटको स्वर्ग बचाउने दुष्प्रयास गर्छ । अन्तिमसम्म मरिहत्ते गरी सबै अस्त्र प्रयोग गर्छन् । यसको बदलामा क्रान्तिकारी, देशभक्त, वामपन्थी, बुद्धिजीवीबीच एकता आवश्यक छ । नेपालको बाँकी क्रान्ति पूरा गरी मजदुर–किसानको सत्ता ल्याइछाड्नु छ । वकिल, डाक्टर, पत्रकार, देशभक्त, सेना, प्रहरी, कर्मचारी श्रमिक–सर्वहारा जनताको बलियो एकता चाहिएको छ । नेपालमा बसोबास गर्ने जातजाति, धर्म, भाषा, हिमाल, तराई, पहाड, सहर र गाउँमा बस्ने जनताहरूको क्रान्तिमा अनिवार्य उपस्थिति हुन जरुरी छ । सबै क्षेत्र, लिङ्ग, जातजाति, जनजाति, महिला, अल्पसख्यक, दलित, सीमान्तकृत वर्गका लागि लड्ने एकीकृत जनक्रान्तिको कार्यदिशा हो । जनविरोधीहरूलाई धुलो चटाउने क्रान्तिकारी कार्यदिशा वैज्ञानिक समाजवाद र साम्यवादसम्म पुग्ने सिद्धान्त हो । नेपालको क्रान्तिकारी जनताले गरेको राणा शासनविरोधी आन्दोलन, जनआन्दोलन, जनयुद्धका सहिद, बेपत्ता, घाइते, अपाङ्ग योद्धाको मर्म र भावनामाथि कुठाराघात गर्ने राज्यसत्ता र नेताविरुद्ध क्रान्ति गर्ने यो एक मात्र क्रान्तिकारी पार्टी हो ।

नेपाल कम्युनिस्ट पार्टीले गरेको दलालविरोधी सङ्घर्षले सत्तामा बस्ने दलालहरू छट्पटाइरहेका छन् । नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई झूट्टो मुद्दा र मुठभेडका नाममा हत्या, धरपकड, हिरासत, जेलनेल, कस्टडी, यातना दिइरहेका छन भने सयौ जना जेल जीवन बिताइरहेका छन् । उनीहरू आफैँले बनाएको कानुन र अदालतले छोड्ने आदेश दिन्छन् तर प्रहरीप्रशासनले अदालतको गेटबाट फेरि गिरफ्तार गर्छ । विभिन्न झूट्टो मुद्दा लगाई विभिन्न जिल्ला घुमाउँछ, शारीरिक तथा मानसिक यातना दिन्छ । पार्टी छोड, आत्मसमर्पण गर, होइन भने जेलमै कुहाइदिन्छु भन्छ । जनताको स्वतन्त्रतालाई कुण्ठित गरेर आफैँले बनाएको कानुनलाई आफैँले बर्खिलाप गरेको छ ।

विभिन्न जिल्लाका जेल र हिरासतमा रहेका नेता तथा कार्यकर्ता आस्था जोगाएर लडिरहेका छन् । यो गौरवको कुरा हो । क्रान्तिमा आएका केही अवसरवादी, कमाउ धन्दा चलाउने, आत्मसमर्पणवादी र समन्वयवादीहरूलाई जनकारबाही गर्नुपर्छ । यो दलाल पुँजीवादी राज्यसत्ताले जनतामाथि जस्तोसुकै हथकण्डा अपनाए पनि डटेर प्रतिरोध गरौँ । मालेमावादी विचार र सिद्धान्तमा कटिबद्ध होऔँ । व्यक्तिगत जीवनमा हुने लोभलालचमा नलागौँ । क्रान्तिमा लामबद्ध होऔँ । सर्वहारावर्गको जित अवश्य हुनेछ ।

यो कम्युनिस्ट नामको सरकार हेर्न र बुझ्न टाढा जानु पर्दैन, रत्नपार्कवरिपरि घुमे पुग्छ । देशको संवेदनशील मुटु नेपालको राजधानी काठमाडौँका रत्नपार्क, सहिदगेट, खुलामञ्चवरपर हेरे पुग्छ । देशको सरकार र शासन व्यवस्था कस्तो होला ? काम गर्ने वर्गको जीवन र उनीहरूको दिनचर्या कसरी बितिरहेको छ ? नामको कम्युनिस्ट सरकार र त्यसको प्रधानमन्त्री, राष्ट्रपतिले देखेका छैनन्, सुनेका छैनन् भने आँखा च्यातेर हेर्नुप¥यो । नसुनेको भए कानको ठेडी झिकेर सुन्ने प्रयास गर्नुप¥यो । कस्तो कम्युनिस्ट ? कमाउ धन्दा चलाउने ? समाजवाद उन्मुख सरकार समाजलाई विकृति र विसङ्गति सिकाउने ? भोकै–नाङ्गै छट्पटाइरहेको बचाऊ–बचाऊ भनिरहेको, सडकपेटीमा लडिरहेको, हातखुट्टा नभएका, पूर्ण रूपमा अपाङ्ग भएका दृष्टिविहीन र आवाजविहीन, कान नसुन्ने, बेवारिसे बेरोजगारी समस्या भएका विभिन्न मानिसहरूको जम्काभेट हुने स्थान रत्नपार्क हो । देशको परिवर्तनका निम्ति आन्दोलन गर्ने रणमैदान पनि हो । आज देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बन्नलाई जनतालाई सडकमा उतारेर इँट, ढुङ्गामुढा र बार भत्काउन लगाउने, नेताहरूको भाषण गर्ने थलो हो । यी सबै आन्दोलन, क्रान्ति, हिरासत, जेलनेल सबै गरिब जनताका लागि भन्न नथाक्ने डाँकाहरूको चढ्ने खुट्किलो हो । सैनिक मञ्च, राष्ट्र, जनता र सीमा सुरक्षा गर्ने जिम्मा पाएका सेना परेड खेल्ने स्थान हो । आन्दोलन घोषणा गर्ने नेता तिनै रत्नपार्क, वीर अस्पताल सुन्धारावरिपरि कस्तो संवेदना, दुःख–कष्ट छ, धेरै टाढा जानै पर्दैन ।

हिमाल, तराई, पहाडमा बस्ने जनताको दिनचर्या, उनीहरूको वास्तविक जीवन कसरी बितेको होला ? हिमालमा पुस–माघमा हिमपात र जाडोले कठ्याङ्ग्रिएर मर्ने, बर्खायाममा तराईमा डुबान र हिउँदमा शीतलहरले मर्ने, बिरामी हुँदा सिटामोलसम्म खान नपाएर मर्ने, चेपाङ र राउटे समुदायको बस्ने बास छैन । शिक्षा छैन, स्वास्थ्य छैन, रोजगार छैन । अझै पनि कन्दमूल, साग र सिस्नु खाएर जीवन बाँच्नुपर्ने एक्काईसौँ शताब्दीमा कस्तो विडम्बना ? कसले सुन्ने, कसले बुझ्ने उनीहरूको दर्दनाक र वास्तविक कथा ? जन्मजात वा प्राकृतिक प्रकोपबाट अपाङ्गता भएकाहरूको जीवन पनि उस्तै छ । देशको आमूल परिवर्तनका लागि भएका आन्दोलन र क्रान्तिमा पनि त्यत्तिकै घाइते र अपाङ्ग छन् । तिनीहरूलाई राज्यले हेर्नुपर्ने तर चिल्लो गाडीको कालो सिसाले ती पीडितहरूलाई देख्दैन । तर सत्तामा बस्नेहरूचाहिँ सामान्य ज्वरो आउँदासमेत विदेशका महँगामहँगा अस्पतालमा करोडौँ खर्च गर्न सक्छन । सामान्य जनता सिटामोल खान नपाएर मरिरहेका छन् तर कुर्सीमा बस्नेहरू जनताको करले भरिएको ढुकुटी रित्याएर पटकपटक मिर्गौला प्रत्यारोपण गर्छन् ।

यी सबै विभेदको अन्त्य गर्न माओवादीको नेतृत्वमा भीषण जनयुद्ध चल्यो । त्यो भीषण जनयुद्धले जनतालाई केही राहत मिलेको आभास भएको थियो । गाउँगाउँमा जनसत्ता थियो, जनअदालत थियो, जनमुक्ति सेना थियो । जनयुद्धको बेला जीवन नै क्रान्ति हो, क्रान्ति नै जीवन हो भन्नेहरू आज अरबको कुल्ली बन्न बाध्य छन् । गाउँघर वृद्धाश्रमजस्तै भएका छन् । जनयुद्धको बेला विवाह गर्नेहरू अहिले घरको न घाटको भएका छन् । त्यतिबेला सबै जातजाति एकै हुन् भनियो तर अहिले ती त भन्ने कुरा न हुन् भनेजस्तै भयो । समाजमा हेर्ने दृष्टिकोणमा कुनै फरक देखिएन । सानो जात र उपल्लो जातका कारणले सम्बन्धविच्छेद भएका कारण घरबार खतम भएको छ । यता सरकार समृद्धिका नाममा जनतालाई हरेक कोणबाट कर उठाइरहेको छ । देश रेमिट्यान्सले धानिरहेको छ । गफ दिन्छ समृद्धिको ।

राष्ट्रियताको सवाल उस्तै खतराको डिलमा छ । हाम्रा वीर पुर्खाहरूले लडेर बचाएको देश आज छिमेकी मुलुक भारतले हडप्दै आएको छ । नेपाल आज यही दलाल व्यवस्थाका कारण र दलालहरूको कमजोरीका कारण नेपाल लागूपदार्थ बिक्रीवितरण र उपभोगको केन्द्रस्थल बनेको छ्र । दिनदहाडै सीमा मिचिएको छ । हुँदाहुँदा कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतले आफ्नै नक्साभित्र पार्दासमेत एक शब्द बोल्दैनन् । यो ठीक भएन, खबरदारी गर्नुपर्छ, राष्ट्रियताको रक्षा गर्नुपर्छ भन्नेहरूलाई खोजीखोजी जेलमा हालिएको छ । १९५० लगायत असमान सन्धिसम्झौता खारेज गर्ला भन्दा झनै नयाँनयाँ राष्ट्रघाती सम्झौताहरू गरिएको छ । केपी– प्रचण्डहरूलाई लाज लाग्नुपर्ने हो । यतिबेला सम्पूर्ण जनता राष्ट्रका पक्षमा उभिँदा नेतृत्व लिनुपर्ने थियो तर यहाँ तैँ चुप मै चुप गरिरहेको छ । यतिबेला नेपाली जनतालाई शङ्का लागिरहेको छ– यो सबै काम भारतले मात्र चाहेर होइन, केपी–प्रचण्डको सहमतिमा भएको छ । यतिबेला केपी वलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा भ्रमण गर्न निमन्त्रणा गरेका छन् । यसको मतलब लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतकै हो भन्नका लागि हुनसक्छ । केपी वलीको नेतृत्वको सरकार इतिहासकै कमजोर र कलङ्कित भएको यो घटनाले पुष्टि गरेर देखाएको छ । प्रचण्ड र केपी लुते कुकुरले झैँ टाँगमुनि पुच्छर लुकाएर मोदीको टाँगमुनि छिर्ने, मोदी हटहट गर्ने, उनीहरू आनन्द महसुस गरिरहेका छन् । सारमा भन्नुपर्दा यी सबै विषयवस्तुको विकल्प दिनसक्ने सबै समस्याको हल दिनसक्ने व्यवस्था वैज्ञानिक समाजवाद हो । यो वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनका लागि क्रान्ति आवश्यक छ । त्यो क्रान्ति एकीकृत जनक्रान्तिको माध्यमबाट हुन्छ । एकीकृत जनक्रान्तिको माध्यमबाट नै वैज्ञानिक समाजवाद स्थापना हुन्छ । यो वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र जनतन्त्र, जनजीविका र राष्ट्रियताको सुनिश्चितता गर्छ । जनता स्वतः स्वतन्त्र र सार्वभौम साथै समृद्धि हुन्छ । यो व्यवस्था ल्याउनका लागि सबै देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी, बुद्धिजीवी, वामपन्थी, राष्ट्रवादी शक्तिहरूले क्रान्तिको नेतृत्व गर्ने पार्टीलाई साथ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :