उपयोगी कलाकर्मी सङ्घको राष्ट्रिय भेला सम्पन्न

20161210_125458काठमाडौँः मंसिर ३०, अखिल नेपाल जनसांस्कृतिक महासङ्घको नयाँ आङ्गिक सङ्गठन अखिल नेपाल उपयोगी कलाकर्मी सङ्घको प्रथम राष्ट्रिय भेला काठमाडौँमा सम्पन्न भएको छ ।

भेलाले केशाङ लामा संयोजक रहेको २५ सदस्यीय सम्मेलन आयोजक समिति चयन गरेको छ । भेला उद्घाटन गर्दै महासङ्घका अध्यक्ष एवम् नेकपा (माओवादी) का केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीले एकीकृत जनक्रान्तिमा जनवादी संस्कृतिकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

भेलामा सहभागी उपयोगी कलाकर्मीलाई प्रशिक्षण दिँदै बलम्पाकीले जनयुद्धको लक्ष्य र उद्देश्यबाट भागेर एउटा समूह प्रतिक्रियावादी कित्तामा सामेल हुँदै गरेकाले फेरि एकपटक जनसंस्कृतिकर्मी एक भएर जनक्रान्तिको भेलमा लामबद्ध हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उपयोगी कलाकर्मीहरू देशका विभिन्न भागमा विभिन्न पेसामा आबद्ध रहेकाले सबैलाई समेटेर पेसागत हकहितका साथै जनक्रान्ति पूरा गर्ने अभियानमा लामबद्ध हुनुपर्ने बलम्पाकीले बताउनुभयो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घका सचिव अशोक सुवेदीले नेपालको राजीतिक तथा सांस्कृतिक आन्दोलनमा राणा शासनदेखि नै संस्कृतिकर्मीहरू अग्रपङ्क्तिमा रहेर लडेको स्मरण गराउँदै करिब दुई सय संस्कृतिकर्मीले बलिदान गरेर नयाँ बाटो कोरेको बताउनुभयो ।

महासङ्घका ६ आङ्गिक सङ्गठनमध्ये उपयोगी कलाकर्मी सङ्घमा आबद्ध कलाकर्मीहरू कला, सीप र श्रमका साथै वैचारिकसमेत भएकाले एकीकृत जनक्रान्तिमा यस सङ्गठनको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थयो । सङ्घका नवनिर्वाचित संयोजक केशाङ लामाले उपयोगी कलाकर्मीले भोग्नुपरेका समस्या, सङ्गठनसँग गरिएको अपेक्षाका साथै कलाकर्मीले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा धारणा राख्नुभएको थियो ।

भेला सफलताको शुभकामना दिँदै अखिल नेपाल ललितकला सङ्घका अध्यक्ष अग्निराज पौडेल ‘अराप’ र अखिल नेपाल लोककलाकार सङ्घका संयोजक ढुण्डीराज अधिकारीले जनवादी संस्कृतिकर्मीहरू एक भएर अघि ढ्नुको विकल्प नरहेको बताउनुभएको थियो । भेलामा विभिन्न क्षेत्रबाट सहभागी उपयोगी कलाकर्मीले आआफ्नो क्षेत्रका विधागत विशिष्टता, समस्या र सम्भावनाका विषयमा मन्तव्य राखेका थिए ।

उपयोगी कलाकर्मी सङ्घको २५ सदस्यीय सम्मेलन आयोजक समितिमा नैनीलाल शाह, राजन सरंकोटी, जितेन्द्र शर्मा, राज श्रेष्ठ, उर्मिला लामा, सोनी कँडेल, रेबल राई, चीज केसी, राम लामा, घनश्याम केसीलगायत सदस्य रहनुभएको छ । उपयोगी कलाकर्मी सङ्घमा थांका आर्ट, फ्लेक्स प्रिन्टकर्मी, शृंगार, रबरस्टाम्प निर्माणकर्मी, पुस्तक–पत्रिका डिजाइनरलगायत समाजका सबै क्षेत्रका उपयोगी कलाका निर्माताहरू समेटिएका छन् । संघले निकट भविष्यमै राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :