उपचुनाव सशक्त बहिष्कार गर्ने नेकपाको निर्णय

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले केपी वली सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने पार्टीको निर्णय सार्वजनिक गरेका छन् । विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले भारतीय साम्राज्यवादले नेपाली भूमि कब्जा गर्दा र मुलुकमाथि राष्ट्रघात हुँदा पनि साम्राज्यवादको विरोध गर्नुको सट्टा जनतालाई झुक्याउन र सामाजिक दलाल फासिवादी सत्ता सुदृढ गर्न उपनिर्वाचनको नाटक मञ्चन गरिएको प्रस्ट पार्दै सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सङ्घर्ष गर्ने सम्पूर्ण शक्तिलाई दमन गर्दै आएकाले केपी वली सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने निर्णय पार्टीले गरेको प्रस्ट पारेका हुन् ।

महासचिव विप्लवको विज्ञप्तिमा लेखिएको छ, ‘वर्तमान सामाजिक फासिवादी सरकारले यही मङ्सिर १४ गते कथित उपनिर्वाचनको घोषणा गरेको छ । भारतीय साम्राज्यवादले नेपालको जमिन मिचेर नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसका विरुद्ध देशभक्त जनता सडकमा उत्रिएका छन् । हाम्रो पार्टीले सबै देशभक्त शक्तिलाई उक्त सङ्घर्षमा उत्रिन पनि आह्वान गरिराखेको छ । आफूलाई खाँट्टी राष्ट्रवादी भएको भन्दै आएको केपी सरकारले यति ठूलो राष्ट्रघात हुँदा पनि भारतीय साम्राज्यवादको विरोध गर्नुको सट्टा जनतालाई झुक्याउन र सामाजिक दलाल फासिवादी सत्ता सुदृढ गर्न उपनिर्वाचनको नाटक मञ्चन गरेको छ । लोकतन्त्रको वकालत गर्न सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सङ्घर्ष गर्ने सम्पूर्ण शक्तिलाई दमन गर्दै आएको छ । त्यसैले हाम्रो पार्टीले यो उपचुनावको सशक्त बहिष्कार गर्ने पार्टी निर्णय गरेको छ ।’

महासचिवको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो सरकारले गरेको राष्ट्रघात, महँगी, भ्रष्टाचार, बेरोजगारीलाई यस्ता संसदीय चुनावहरूले समाधान गर्न नसक्ने भएकाले श्रमिक तथा उत्पीडित वर्ग, सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई यो चुनाव बहिष्कार गर्न पार्टी अपिल गर्दछ ।’
वली सरकार र सत्तामा सामेल पार्टीका गतिविधिमाथि पार्टीले प्रतिबन्ध लगाएको स्पष्ट पार्दै विज्ञप्तिमा भनिएको छ, ‘विगत आठ महिनादेखि यो सामाजिक फासिवादी दलाल सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध थोपरेको छ । उक्त प्रतिबन्धको चौतर्फी विरोध हुँदाहुँदै पनि हत्या हिंसा र गिरफ्तारी जारी राखेको छ । यो सरकारले हाम्रो पार्टीमाथिको प्रतिबन्ध नहटाएसम्म उपचुनावका कार्यक्रमहरूमा सरकार र सत्तामा सामेल पार्टीहरूका गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ । तसर्थ आमजनतालाई सरकारी पार्टीका चुनावी कार्यक्रमहरूमा सहभागी नबन्न विशेष अनुरोध गर्दछौँ ।’

महासचिव विप्लवको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘देशैभरि निरङ्कुशता र सर्वसत्तावादी फासिवादी सरकारको उक्साहटमा लागेर जनता र हाम्रो पार्टीविरुद्ध दमनमा सहभागी नबन्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अनुरोध गर्दछौँ ।’

विज्ञप्ति सहित : 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :