उपचुनाव सक्रिय बहिष्कार गर्न मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीको अपिल

 

काठमाडौँ : मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीले यही मङ्सिर १४ गते हुने भनिएको उपचुनाव सक्रिय बहिष्कार गर्न आह्वान गरेको छ । मोर्चाका संयोजक देवनारायणले अपिल प्रकाशित गर्दै यस्तो आह्वान गरेका हुन् । अपिलको पूर्ण विवरण यसप्रकार रहेको छ :

कुनै पनि देशका जनता त्यो देशको सर्वशक्तिमान् अजेय शक्ति भएको हुँदा देशको राज्य सञ्चालन, विकास, समृद्धि, सुरक्षा, न्यायसम्मत सर्वाेपरि अधिकार, स्वतन्त्रता र अमनचैन, राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनताका लागि जनताको मत जाहेर हुन्छ । सामाजिक सम्झौता हुन्छ । सरकार र सत्ता बन्छ । जनतामा अन्याय–अत्याचार भएपछि सामाजिक सम्झौता भङ्ग भई सरकार र सत्ताको अन्त्य हुन्छ । राज्य सञ्चालनका निम्ति देशको सम्पूर्ण स्रोत, साधन, श्रम, कर देशको ढुकुटी (कोष) बन्छ । त्यही रकमले राज्य सञ्चालन र सम्पूर्ण जनताको अधिकार र सुविधाहरूको निर्वाह हुन्छ । यसलाई एकथरीले निजी बनाउँछ, अर्कोथरीले सामूहिक बनाउँछ । एकथरीले ब्रह्मलूट गर्छ, अर्काेथरीले जनताको वर्तमान र भविष्यको अधिकारका रूपमा जनहित चाहन्छ ।

जनताको असमानता, अहितको प्रतिनिधित्व र हितको प्रतिनिधित्वबीचको सङ्घर्षमा आदिम साम्यवाद, दासयुगपछि विश्वको भूगोलमा देशहरूको निर्माण सामन्ती युग, राजा–महाराजा, सम्राट् हुँदै साम्राज्यवादसम्म हुन पुग्यो । एउटै देशको श्रम र स्रोतसाधनले पुगेन, अर्को देश कब्जा गरी श्रम र स्रोतसाधन लुट्न पुग्यो । कहाँसम्म भने अङ्ग्रेजले सम्पूर्ण भारतको भूभाग कब्जा गरेपछि नेपाली जनताको वीरताले पूरै देश कब्जा गर्न सकेन तर केही भूभागलाई औपनिवेशिक बनायो । महान् सेनानी कमरेड लेनिनले विश्व–उपनिवेशवादको अन्त्यको घोषणा र चुनौती दिँदा अङ्ग्रेजले भारतलाई मुक्त गर्यो । त्यसबखत रहेको नेपालको सम्पूर्ण भूभाग नेपालको हुने हो । यसमा साम्राज्यवादी भारतले नेपालमाथि बेइमानी गरेको छ । यो साम्राज्यवादीहरूको नियत नै बेइमान हुन्छ । यो सामन्तवादको भ्रूणबाट बुर्जुवा पुँजीवादको जन्म हुन्छ र बुर्जुवा पुँजीवादको भ्रूणबाट साम्राज्यवादको चरम सीमाले अहिले साम्राज्यवाद निगम पुँजीवाद हुँदै उत्तरसाम्राज्यवादमा फड्को मारेको छ । यसकारण उनीहरुको वैचारिक हतियार अध्यात्मवादी दर्शन हो । यसबाट नै जनतामा हिन्दु धर्म, इसाई धर्म, मुस्लिम धर्म, जिसस क्राइस्ट वा क्रिस्चियन धर्ममार्फत श्रमजीवी जनतामा अन्धविश्वास, भ्रम, धामीझाँक्री, बोक्सी, मानव जातिमा विभिन्न जाति, विभिन्न समुदायमा खर्बौं लगानी गरी फुटाऊ र शासन गरको नीति अख्तियार गर्दै मालिक र नोकरको संज्ञा दिन्छन् । यस विचारमा संलग्न कुनै पनि मानिसको हित हुँदैन । यो विचार र व्यवस्थाका काला कर्तुतहरू कतिसम्म क्रूर हुन्छन् भने आफूबाहेक अरू श्रमिक जनतालाई मानिस ठान्दैनन् । जनावरलाई राम्रो ध्येयले हेर्छन् तर मानिसलाई अवहेलना गर्छन् । उनीहरूका काला कर्तुतबारे बोल्न खोज्यो भने हत्या–हिंसा र दमनमा उत्रिन्छन् । विश्वमा करोडौँ मानिसको हत्या गरिसकेका छन् । बाँचेकालाई दास, नोकर, गुलाम बनाइरहेका छन् । उनीहरू कतिसम्म खतरनाक हुन्छन् भने सम्पूर्ण श्रमजीवी जनताको अधिकारको विषय, स्रोत–साधन र श्रमको आवाज उठाउँदा हत्या गरिहाल्ने, सामूहिक स्रोत–साधनलाई निजी स्वार्थमा दुरुपयोग गर्ने गर्छन् र सम्पूर्ण श्रमजीवी किसान, मजदुर अन्याय–अत्याचारको भुमरीमा परेका हुन्छन् । अझ महिलाहरू दोहोरो चपेटामा परेका छन् । तिनै महिलालाई दासी र खेलौना बनाउने गर्छन् । यस्तो अध्यात्मवादी, घोर अपराधी संस्कृतिको विरोध गर्दा दमन गर्ने गर्छन् । यो सबै अमानवीय र अत्याचारी नियत हो । छिमेकी साम्राज्यवादी देश भारतको बुर्जुवा पुँजीवादले हिन्दु धर्मलाई खर्बौं लगानी गरी घोर अध्यात्मवादी, हिन्दु धर्मावलम्बीहरुलाई राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री बनाएको छ । मालेमावादमा आधारित दसबर्से जनयुद्धले अन्त्य गरेको सामन्ती नाइके र हिन्दु राज्यलाई स्थापित गर्न भारतीय शासकहरु कसरत गरिरहेका छन् । भारतीय संविधानमा धर्मनिरपेक्ष राज्य लेखिएको छ । धर्मावलम्बी धमभीरुहरू नेपालमा पनि शासक भएका छन् । केपी वलीको होलीवाइन (जुन पिसाब र वीर्यबाट बनाइएको रक्सी हो) यसको सेवनले पुनः जनतामाथि शासन गर्ने काल्पनिक अन्धविश्वास प्रचण्डको भैँसीपूजा, शेरबहादुरको कुण्डलीपूजा, राष्ट्रपतिको कुमारीपूजा, पूर्वराजा ज्ञानेन्द्रको मन्दिरपूजा यी सबै श्रमिक जनतामा भ्रम छर्ने छद्मभेषीहरूको चाल हो ।

मधेसी जनतामा नयाँ भ्रम दिन, श्रम लुट्न, मधेसी जनतालाई अलमल्याउन दलाल पुँजीवादका मतियारहरुले नयाँ छद्मभेष खडा गरेका छन् जसले युरोपियन युनियनको कुटिल चालअन्तर्गत मधेस छुट्टै देश हुने, मधेसका दलालहरूको छुट्टै मधेसी सरकार बनाउने भनी चुनाव बहिष्कारमा रहेका सीके राउतले सामाजिक दलाल संसदीय व्यवस्थाका मतियार केपी वलीको भक्त बनी चुनावी मैदानमा उत्रेका छन् र श्रमजीवी जनतालाई अधिकार पाउने भ्रम छरिरहेका छन् । मधेसवादी दल वा पार्टीहरू मधेसी जनतामा भ्रम दिन, श्रम लुट्न दलाल संसदीय व्यवस्थाको उपनिर्वाचनमा भाग लिएका छन् ।

महान् दार्शनिक कार्ल माक्र्स र एङ्गेल्सले धर्म श्रमजीवी जनताका निम्ति अफिम हो भन्नुभएको छ । यसले मानिसलाई श्रमशोषण, अन्याय–अत्याचार गर्दछ । श्रमजीवीलाई फुटाऊ र शासन गर भन्ने नीति लागू हुन्छ । त्यसैले अन्धविश्वास र अध्यात्मवादी दर्शनलाई अन्त्य गर्नका निम्ति श्रमजीवी जनताको हातमा सत्ता र सरकारका निम्ति उहाँहरुले ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको प्रतिपादन गर्नुभयो जुन विज्ञानसम्मत छ । सम्पूर्ण श्रमजीवी जनता मालिक हुनुपर्छ । कोही पनि असमानतामा रहनु हुन्न । सम्पूर्ण श्रम सामूहिक हुनुपर्छ । निजी पुँजीको अन्त्यका निम्ति उहाँहरुले वैज्ञानिक समाजवाद– साम्यवादको पथ निर्माण गर्नुभयो । रुसमा लेनिनले संसदीय दलाल व्यवस्थाको चुनावबाट नभई जनताको क्रान्तिमार्फत वैज्ञानिक समाजवाद लागू गर्नुभयो । कमरेड माओले चीनमा पनि चिनियाँ जनताको क्रान्तिमार्फत जनगणतन्त्र घोषणा गर्नुभयो । त्यहाँका सम्पूर्ण जनताको सामूहिक उत्पादन, समान वितरण, युवकयुवतीहरू समान रुपले विशेषज्ञ भएका छन् । माक्र्सले भन्नुभएको थियो– जबसम्म देशमा वैज्ञानिक समाजवाद– साम्यवादी आउँदैन तबसम्म स्थायी शान्ति हुँदैन । त्यसैले स्थायी शान्ति र अमनचैनका लागि महासचिव कमरेड विप्लवको नेतृत्वमा पुनर्गठित नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवाद साम्यवाद प्राप्तिका लागि सङ्घर्षरत छ । यता कमिसनखोर, नोकरशाह, भ्रष्टाचारी, दलालहरूले नेकपामाथि प्रतिबन्ध लगाएका छन् । वर्तमान सरकार काला कर्तुतमा फसेको छ र दमनको नीति लिएको छ । नेपालका श्रमिक जनता, मजदुर, व्यापारी–उद्योगीहरूमा चरम कर थुपार्न, लुटखसोट गर्न, अन्याय–अत्याचार गर्न, २०७६ साल मङ्सिर १४ गतेका कथित उपनिर्वाचनको घोषणा गरेका छन् । उक्त कथित चुनाव दलाल संसदीय व्यवस्था अर्थात् कमिसनखोर, सूदखोर, वित्तीय पुँजी, घूसखोर, भ्रष्टाचारी, बलात्कारीहरूको चुनाव भएकाले उक्त निर्वाचन सशक्त बहिष्कार र खारेज गर्नको निम्ति मधेसमा बसोबास गरेका श्रमजीवी जनता, मजदुर, किसान, शिल्पकार, व्यापारी, उद्योगी, बुद्धिजीवी, पत्रकार, डाक्टर, इन्जिनियरहरूमा मधेसी राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारी केन्द्रीय समितिका तर्फबाट हार्दिक अपिल गर्दछौँ ।

२०७६ मंसिर ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :