आमा

गीत

आमा, उनी मेरी आमा
कति प्यारी कति
दुःख लिन्छिन्, सुख दिन्छिन्
पसिनाको धारासँगै
बग्छिन् मेरी आमा
कति सुन्दर कति !
उनी हाँस्दा हिमाल खुल्छे
उनले छुँदा गुराँस फुल्छे
धर्ती–आकाश अटाउने
उनको विशाल छाती
नरित्तिने प्रेमकी खानी
रानीहरूकी पनि रानी
आमा, मेरी आमा !
झरी पर्दा ओत दिन्छिन्
हुरी चल्दा पहाड बन्छिन्
टन्टलापुर घाम लाग्दा
उनी शीतल पवन बन्छिन्
मुटु काँप्ने सिरेटोमा
छातीभित्र लुकाउँछिन्
आमा, मेरी आमा !
अँधेरीमा ज्योति छर्छिन्
विपत्तिमा साहस भर्छिन्
निराशाले निल्न खोज्दा
हौसलाले बेरिदिन्छिन्
सङ्घर्ष हो जीवन भन्छिन्
त्यहीँ रम्न सिकाउँछिन्
आमा, मेरी आमा !
आमा, मेरी… …!

१६ भदौ, २०७६ –नख्खु कारागार, ललितपुर

२०७६ असोज ९ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :