आतङ्ककारी ट्रम्प कि विप्लव ?

नागासाकी र हिरोसिमाको अपराधी अमेरिका, भियतनाममा खेलौना बम फ्यालेर नाबालक मार्ने अमेरिका, इराकको पुस्तकालय जलाउने असभ्य र जङ्गली अमेरिका, हरेक दिन गोली चलिरहने, ५ मिनेट बत्ती जाँदा सयौँलाई बलात्कार गर्ने, पसल लुट्ने, जङ्गलीहरूको देश संयुक्त राज्य अमेरिकाले विप्लव नेतृत्वको ने.क.पा. लाई घरेलु आतङ्कवादको आरोप थोपरेको छ । ट्रम्प प्रशासनले आलोचना गर्नुको अर्थ हामी देश र जनताका पक्षपाती हौँ र विदेशी डाँकाहरूका दलाल होइनौँ भन्ने पुष्टि हुन्छ । सत्य र न्याय सधैँ चुनौतीको घेराबन्दीमा हुन्छ । तर यसैबेला अमेरिकाको त्यसप्रकारको धारणा प्रचारित हुनुका खास कारण छन् । त्यस सन्दर्भमा यहाँ सङ्क्षेपमा चर्चा गरिनेछ ।

ने.क.पा. को केन्द्रीय समितिको आठौँ बैठक असोज दोस्रो साता सम्पन्न भयो र त्यो बैठकले पारित गरेको दस्ताबेज कार्यकर्ता गिरफ्तार हुँदा प्रहरीसमक्ष पुग्यो । प्रहरीले आफ्ना अमेरिकी मालिकलाई बुझाएको देखिन्छ । यद्यपि यसपटक ने.क.पा.ले आफ्नो राजनीतिक दस्ताबेज जनसमक्ष वितरण गर्ने निर्णय गरेको छ । त्यसमा अमेरिकाको ‘इन्डो–प्यासिफिक स्टाटेजी’ का विषयमा भनेको छ, ‘अमेरिकाले नेपाललाई पहिलेदेखि नै दक्षिणएसियाको रणनीतिक महत्वको स्थानमा राख्दै आएको थियो । खासगरी चीनलाई रणनीतिक रूपले घेर्न र भारतलाई कार्यनीतिक रूपले प्रभावमा राख्न नेपाललाई हेर्दै आएको हो । अहिले विश्व अर्थराजनीतिमा देखिएका ठूला हेरफेर र त्यसमा चीनको बढ्दो भूमिकाका कारण अमेरिकाले खुलेआम नयाँ रणनीति ‘हिन्द–प्रशान्त रणनीति’ विकास गरेको छ । उसले घोषणा नै गरेको छ– विश्वमा चीनको खतरा मुख्य बनेकाले उसलाई रोक्नकै लागि हिन्द–प्रशान्त रणनीति विकास गरिएको हो । यसमा नेपाल सहभागी बन्नुपर्छ । अमेरिकाले यही दृष्टिकोणअनुसार नेपालमा आफ्नो गतिविधि बढाइसकेको छ । उसको जोड नेपालमा सैन्य अखडा कायम गर्नेसम्मको छ । नेपाल सरकारले त्यसलाई रोक्नसक्ने देखिएको छैन । यो रणनीति नेपालका लागि निकै खतरनाक र हानिकारक छ । नेपालबाट हेर्दा कम्युनिस्ट प्रभावलाई कमजोर बनाउने र सम्भावित वैज्ञानिक समाजवादी क्रान्तिलाई रोक्ने पनि रहेको छ । तसर्थ यसलाई रोक्न प्रतिरोध सङ्घर्षसमेत आवश्यक देखिन्छ ।’ त्यसैगरी सङ्घीयता र धर्मनिरपेक्षताको नारा समातेर गैससमार्फत डलरको खोलो बगाएर राजनीतिक र सांस्कृतिक प्रभुत्व कयम गर्ने, क्रिस्चियन धर्ममार्फत गुप्तचरी गर्ने, जनमतलाई प्रभावित गर्ने, युरोपियन युनियनको रणनीति रहेको छ । त्यसरी दलाल पुँजीवादी सत्ता कायम गर्ने, अमेरिकी रणनीतिको रखौटी बनिरहने र कम्युनिस्टविरोधी जनमत बनाउने रणनीतिमा युरोपियन युनियन रहेको छ । त्यसका विरुद्ध ‘जागरण साथै भण्डाफोर आवश्यक छ’ ने.क.पा.को बैठकले भनेको छ । भौतिक रूपले ने.क.पा. कमजोर भए पनि आफ्ना लागि रणनीतिक खतरा ठानेर, दलाल बनाउन नसक्ने ठानेर अमेरिकाले दमनको भाषा, धम्कीको भाषा बोलेको बुझ्न सकिन्छ । चीनतिर झुकाव राखेको केपी वली सरकारलाई ‘तिमी तिम्रै देशमा सुरक्षित छैनौ’ भन्ने धम्की पनि हुनसक्छ ।

धर्म र धार्मिक अतिवाद फरक–फरक विषय हुन् । त्यसैले भारतको हिन्दु अतिवाद धर्म–राजनीति हो । हिन्दु भावनामा खेलेर फासिवादी सत्ता चलाउनु राजपाको धर्म–राजनीति हो । नेपालको हिन्दुत्व जनताको आस्था हो । पाकिस्तान, बङ्गलादेश, इरानलगायत मुलुकमा मुस्लिम धर्म राजनीति हावी देखिन्छ । नेपाल, भारत–चीनलगायतका विरुद्ध गुप्तचरी भइरहेको छ । चेपाङजस्ता गरिब बस्तीमा ‘सहयोगी हात’ भन्दै, दलित बस्तीमा ‘समता हात’ भन्दै पश्चिमाहरू घुसपैठ गरिरहेका छन् । २०१७ सालपछि भारतलाई सन्तुलन गर्न गैसससहित क्रिस्चियनहरूलाई नेपालमा महेन्द्रले आमन्त्रण गरेका थिए । त्यसप्रकारको घुसपैठ ‘होलीवाइन’ सम्म विस्तार भएको छ । राजावादी र पूर्वपञ्चहरूले क्रिस्चियन बढे भनेर रोइलो गर्नुको अर्थ छैन । ने.क.पा. सम्बन्धी रिपोर्ट भदौ अन्तिम साता भ्रमण गरेर फर्केलगत्तै अमेरिकी धारणा सार्वजनिक भएको छ । थोमस सीआईएका प्रतिनिधि मानिन्छन् । गतवर्षसमेत नेपाल आएका प्रोफेसर थोमस केही वर्षयता दक्षिणएसियामा चक्कर मारिरहेका छन् ।

वली सरकारलाई अमेरिकाले चीनतर्फ ढल्केको आरोप लगाइरहेको बेला भारतको सरकारविरोधी मुस्लिम समूहले नेपालमा अखडा बनाएको हावादारी प्रचारबाजी गरेको छ । विगत १५ वर्षयता उक्त समूहले नेपालमार्फत कुनै घटना गराएको छैन । अमेरिकी दाबीलाई पुष्टि गर्ने कुनै आधार पनि छैन । अमेरिकाले आफ्नो उद्देश्य पूरा गर्न जस्तोसुकै अपराध गर्दै आएको सन्दर्भमा भारतमा नक्कली आतङ्ककारी जन्माएर आतङ्ककारी घटना गराउने सम्भावनालाई नकार्न सकिन्न ।

नेपाल सरकारलाई चीनविरोधी रणनीतिमा घिसार्ने, नेपालमा अमेरिकी सैन्य अखडा बनाउने कार्यमा दबाब दिन मुजाहिद्दिन कथा कथिएको बुझ्न सकिन्छ । अमेरिकाको त्यसप्रकारको प्रचारबाजीलाई सरकारको पर्यटन वर्ष–२०२० मा मात्र होइन, वैदेशिक लगानी र सेवा–व्यवसायमा नकारात्मक प्रभाव पार्नेछ । सरकारको लगानी सम्मेलनमा अमेरिका, जापानजस्ता ठूला लगानी–दाताहरू सहभागी भएका थिएनन् । यो प्रक्रिया अझ बढेर जानेछ । अमेरिकी प्रचारबाजीलाई नरम खालको नाकाबन्दी भनेर बुझ्न सकिन्छ । वली सरकारका परराष्ट्रमन्त्री अमेरिका पुगेर अमेरिकी सैन्य गुटमा बस्ने सहमति गर्ने, त्यसबापत झोली थापेर आउने अनि चीन र नेपाली जनताले विरोध गरेपछि अमेरिकालाई दिएको आश्वासनमा टिक्न नसक्ने पीपलपाते नीतिका कारण पनि अमेरिका आक्रामक भएको हुनसक्छ । सरकारको गलत कार्यशैलीका कारण नेपाल अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको तानातानमा परेको छ । अमेरिकाको समर्थनमा नै भारतले नेपालको ठूलो भूभाग आफ्नो नक्सामा पारेको छ । नेपाल यसबेला ट्रम्प र मोदीको संयुक्त आक्रमणको निशानामा परेको छ ।

विप्लव नेतृत्वको ने.क.पा. ले स्वतन्त्र विदेश नीति र सार्वभौमिक देशको अत्मनिर्णयको अधिकारका आधारमा चुनौतीको सामना गर्ने नीति लिएको छ । ने.क.पा. नेपालवादी हो, कुनै देशविरोधी होइन । नेपाललाई आत्मरक्षाको अधिकार छ । त्यसैले संसारको सबैभन्दा ठूलो दुस्मन हिटलर नेतृत्वको जर्मनीको मृत्यु भएपछि हिटलरको अवतार ट्रम्प र अमेरिकी प्रशासन नै विश्वको सबैभन्दा ठूलो आतङ्ककारी हो । उनीहरूले के बुझ्नुपर्छ भने प्रचारयुद्धको सुविधा अमेरिकाको नियन्त्रणमा छैन । विज्ञानले न्याय र सत्यलाई धेरै बलियो बनाइसकेको छ ।

२०७६ कार्तिक २९ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :