अविरल वर्षाले देशैभरीको जनजीवन प्रभावित

अम्बिका चन्द / काठमाडौं, साउन २८ : बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीको जनजीवन नराम्ररी प्रभावित बनेको छ भने तराई क्षेत्रमा धनजनकोसमेत क्षति भइसकेको छ । लगातारको वर्षाको कारण नदिहरुमा पानीको बहाब निकै बढिरहेको छ भने, कोशी, राप्ती र कर्णाली जस्ता ठूला नदिहरुमा पानीको सतह खतराको विन्दुमा पुगेको सरकारी अधिकारीहरुले बताइरहेका छन् ।

काठमाडौं उपत्यका जलमग्न भएको छ । साथै देशका विभिन्न ठाउँहरुमा पहिलो जादा मानिसहरुको ज्यानसमेत गएको छ । मोरङको केरावारी गाउँपालीकामा पर्ने लोहोन्द्रा र खदम खोलामा बाढीआउदा १ जनाको मृत्यु भएको छ । बाढिले बगाउँदा केरावारी ९ का मिनबहादुर थापाको मृत्यु भएको हो ।

मोरङमै २५ हजार भन्दा बढि घर डुबानमा परेका छन् । यस्तै रौतहटका प्राय सवैजसो गाउँहरु डुबानमा परेका छन् भने बर्षाकै कारण हजारौं मानिस प्रभावित भएका छन् । उता विराटनगरमा विमानस्थल नै जलमग्न बनेको छ । त्यस क्षेत्रका गाउँहरु तालमा परिणत भएका छन् । यस्तै चितवनको माडि क्षेत्रका गाउँहरु डुबानमा परेका छन् भने गाउँ र शहर जोड्ने सवारी साधन अवरुद्ध भएका छन् । खोला, नाला र नदिहरुमा पानीको सतह निकै बढेको छ । ठाउँठाउँमा बाढीपहिरोले ग्रामिण भेगका सडकहरु पनि अवरुद्ध बनेका छन् ।

पश्चिममा राप्ती नदिमा आएको बाढीले गर्दा बाँकेमा दर्जन गाउँहरु डुबानमा परेका छन् भने त्यहाँ अहिलेसम्म चार जनाको ज्यान गईसकेको छ । मानिसहरु गाउँमा बाढीपसेपछि अग्लो स्थान र अग्ला घरहरुमा बसेर सहयोग मागिरहेका छन् । तर मौसमको कारण उडान भर्न नसकिने भन्दै हेलिकप्टर उड्न नसकेको प्रशासनले बताएको छ । यस्तै बर्दियाका विभिन्न गाउँहरु पनि डुबानमा परेका छन् । यस्तै बबई नदिमा आएको बाढीले दाङमा बिभिन्न ठाउँहरु डुबानमा परेका छन् । यता मौसम विज्ञान विभागले भने शनिबार राती र आइतबारसम्म पनि वर्षा नरोकिएमा धनजनको निकै ठूलो क्षति हुन सक्ने भन्दै सर्तन रहन सबैमा अनुरोध गरेको छ । 

 

२०७४ साउन २८ गते ६ : ३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :