अल बिदा महाश्वेतादेवी

नक्सलवादी आन्दोलनलाई भारतीय साहित्यमा स्थापित गराउने लेखक

download (6)भारतीय जनसाहित्यको अग्रीम पङ्क्तिमा रहेकी लोकप्रिय कवि तथा लेखक महाश्वेतादेवी (सन् १९२६ सन् २०१६) को ९० वर्षको उमेरमा गएको बिहीबार कलकत्तामा दुःखद् निधन भएको छ । बंगाली भाषा साहित्यमा विशिष्ट नाम स्थापित गराउन सफल महाश्वेतादेवीको जन्म सन् १९२६ मा ढाकामा भएको थियो । उनका पिता मनीष घटक पनि बंगाली भाषाका स्थापित लेखक थिए । महाश्वेताका छोरा पनि एकजना स्थापित कवि हुन् । जब नक्सलबाडी आन्दोलनमा भयानक दमन र हत्याहरू भए तब महाश्वेतादेवीले ‘मृत्यु उपत्यका हो मेरो देश’ नामक कविता लेखिन् । त्यसको जबाफमा पुत्रले ‘मृत्यु उपत्यका होइन, मेरो देश’ कविता लेखेका थिए । जुन आजपर्यन्त चर्चामा छ ।

महाश्वेतादेवीको विद्यालय स्तरको अध्ययन शान्ति निकेतनमा भएको थियो । कलकत्ता विश्वविद्यालयबाट अंग्रेजी भाषा साहित्यमा एम.ए. उत्तीर्ण गरेकी उनले त्यसै विश्वविद्यालयमा प्राध्यापनसमेत गरेकी थिइन् । उनले लामो समयसम्म बिहार र बंगालका दुर्गम तथा ग्रामीण भेगहरूमा बिताएकी थिइन् । यसले गर्दा उनका रचनाहरूमा यस क्षेत्रको प्रतिबिम्बन देखिन्छ । सन् १९७९ मा उनलाई साहित्य एकेडेमी पुरस्कार दिइएको थियो ।

महाश्वेतादेवीका दर्जनौँ कृति लोकप्रिय छन् । तर ‘१०८४ की आमा’ सर्वाधिक चर्चित उपन्यास हो । त्यो कृतिमा महाश्वेतादेवीले नक्सलबाडी आन्दोलनको सौन्दर्यीकरण गरेकी छिन् । हजारौँ राजबन्दीहरू प्रहरी हिर ासतमा मारिन्थे र तिनका आफन्तले लासमा बाँधिएको नम्बर हेरेर आफ्ना आफन्तको लास बुझ्नुपथ्र्यो । त्यही कटु यथार्थलाई कवि तथा लेखक महाश्वेतादेवीले सशक्त वाणी प्रदान गरिन् । उनले नक्सलबाडी आन्दोलनका त्याग, बलिदान, समर्पण, आदर्श र मूल्यहरूलाई स्थापित गर्नमा नै बिताइन् तर उनी कहिल्यै नक्सलवादी वा कम्युनिस्ट पार्टीमा भने आबद्ध भइनन् । त्यसैले उनलाई नक्सलवादी आन्दोलनलाई भारतीय साहित्यमा स्थापित गराउने लेखकका रूपमा पनि बुझिन्छ ।

पछिल्लो समयमा महाश्वेतादेवीले पश्चिबंगालमा राजनीतिक बन्दीहरूमाथि ममता बनर्जी सरकारले गरिरहेको जङ्गली व्यवहारको खुलेर विरोध गरेकी थिइन् । त्यसकारण उनलाई सरकारले छड्के आँखाले हेर्ने गथ्र्यो । उनको निधनले भारतीय श्रमिकवर्ग र जनसाहित्यमा ठूलो क्षति भएको छ । यो दुःखद् घडीमा महाश्वेतादेवीप्रति हाम्रो पनि श्रद्धासुमन !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :