अमेरिकी साम्राज्यवादकाकारण  विश्व विभाजित,नेकपाद्वारा भेनेजुयला हस्तक्षेपको विरोध

काठमाडाैँ : सार्वभौमसत्ता सम्पन्न मुलुक भेनेजुयलाका जननिर्वाचित राष्ट्रपति निकोलस मडुरोका विरुद्ध अमेरिकी जासुसी संस्था सीआईए समर्थित हँुवा गुएइदोले आफैँलाई राष्ट्रपति घोषणा गरेपछि एकपटक संसारभरिको ध्यान भेनेजुयलामा केन्द्रित भएको छ । भेनेजुयलाको प्राकृतिक साधनस्रोत कब्जा गर्न पटकपटक हस्तक्षेपको प्रयास गर्दै आएको अमेरिकाले यसपटक भेनेजुयलाका विपक्षी दलका नेता रहेका अमेरिकी एजेन्टलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिँदै त्यहाँको राष्ट्रिय स्वाधीनतामाथि नाङ्गो हस्तक्षेप गरेपछि विश्व ध्रुवीकृत भएको छ । 

       भेनेजुयलामा गरिएको अमेरिकी हस्तक्षेपको विषयलाई लिएर विश्व नै दुई धु्रवमा विभाजित बन्न पुगेको हो । अमेरिकी हस्तक्षेपको विरोध र निर्वाचित राष्ट्रपति मडुरोका पक्षमा चीन, रुस, जनगणतन्त्र कोरियालगायत दर्जनौँ देशहरू छन् । संसारभरका समाजवाद समर्थक, त्यसका पक्षधर देश र जनताहरूले अमेरिकी हस्तक्षेपको विरोध गरिरहेका छन् । जनताको लोकप्रिय मत पाएर राष्ट्रपति बनेका मडुरोका पक्षमा भेनेजुयलाको राष्ट्रिय सेना र क्रान्तिकारी जनताको ठूलो समर्थन छ ।
       अमेरिकी साम्राज्यवादद्वारा भेनेजुयलामा गरिएको अमेरिकी हस्तक्षेपको नेपाल कम्युनिस्ट पार्टीले सशक्त विरोध तथा भत्र्सना गरेको छ । नेकपाका स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले प्रेसविज्ञप्ति जारी गर्दै अमेरिकी हस्तक्षेपको विरोध गरेका छन् । नेता कञ्चनले अमेरिकी निगम पुँजीका विश्व ठेकेदारहरूको प्रतिनिधित्व गर्ने साम्राज्यवादी सरकारले भेनेजुयलाको वामपन्थी सुधारवादी सरकारलाई मन नपराएपछि यसअघि बारम्बार आक्रमणको प्रयास गरेको बताउँदै कुनै पनि सार्वभौम सत्ता, जनताको स्वाधीनता र आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने अमेरिकी नीतिको विरोध गरेका छन् ।
       नेता कञ्चनले विज्ञप्तिमा भनेका छन्, ‘विगत लामो समयदेखि सुधारवादी सरकारबाट हुनसक्ने भेनेजुयलाको अर्थतन्त्रमा सुधारको प्रयत्न राष्ट्रिय पुँजीको विकास गर्ने सरकारी नीति, देशका खनिजहरू, तेलखानी र कृषि उत्पादनलाई बृहत् भेनेजुयेली जनताको हितमा प्रयोग गर्ने भेनेजुयलाका पूर्वराष्ट्रपति ह्युगो चाभेज र उनको जीवनपछि राष्ट्रपति बनेका निकोलस मडुरोविरुद्ध अमेरिकी साम्राज्यवादले बारम्बार आक्रमण गर्दै आएको थियो । भेनेजुयलामाथि अमेरिकी सम्राज्यवाद समर्थित एकाधिकारवादी पुँजीवादीहरूको प्रयोग गर्दै पछिल्लो चरणमा अमेरिकी साम्राज्यवादी कठपुतलीका रूपमा खडा गरिएका हँुवा गुएइदो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा स्वघोषित अन्तरिम राष्ट्रपति घोषणा गर्न पुगेका छन् ।’
      कञ्चनको विज्ञप्तिमा भनिएको छ, ‘हामी यो पनि स्पष्ट गर्न चाहन्छौँ– देशको अर्थतन्त्रमा जरा गाडेको एकाधिकारवादी निगम पुँजीवादका सम्पूर्ण जराहरू समाप्त पार्ने र उत्पादनका साधनहरू पूर्ण रूपले जनताको अधीनस्थ हुने उत्पादन सम्बन्धको स्थापना नगरीकन सुधारवादी प्रक्रियाले कुनै पनि वामपन्थी सरकार साम्राज्यवादी एकाधिकारवादी निगम पुँजीवादको सिकार हुनबाट बच्न सक्दैन र आमूल परिवर्तनबिनाको सुधारवादी अर्थव्यवस्थाबाट जनताको जीवनस्तरमा परिवर्तन आउन सक्दैन ।’
     नेता कञ्चनले आफ्नो पार्टीको स्पष्ट धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘हामी एउटा सार्वभौम राष्ट्रका विरुद्ध प्रत्यक्ष हस्तक्षेप गर्ने अमेरिकी साम्राज्यवादी नीति र यसप्रकारको हस्तक्षेप गर्ने कुनै पनि सरकारको कुनै पनि देशहरूमाथि हुने हस्तक्षेपकारी नीतिको घोर विरोध र भत्र्सना गर्छौं । अमेरिकी साम्राज्यवादका विरुद्ध न्यायपूर्ण सङ्घर्ष र वैज्ञानिक समाजवाद प्राप्तिका लागि डटिरहने न्यायप्रेमी भेनेजुयेली जनतासँग हाम्रो पार्टीको नैतिक समर्थन र साथ रहने कुरा पनि स्पष्ट गर्न चाहन्छौँ ।’
     यसैबीच भेनेजुयलामा गरिएको अमेरिकी हस्तक्षेपको विरोधमा नेकपा निकट जनवर्गीय सङ्गठन र मोर्चाहरूको आयोजनामा काठमाडौँमा प्रदर्शन गरिएको छ । काठमाडौँमा रहेको अमेरिकी दूतावासअगाडि आइतबार प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय संयोजक राजु कार्कीले अमेरिकाले प्राकृतिक स्रोत तथा साधन कब्जा गर्ने उद्देश्यले विश्वभरि नै स्वतन्त्र राष्ट्रहरूमाथि नाङ्गो हस्तक्षेप गरिरहेको भन्दै भेनेजुयलामाथि पनि त्यही उद्देश्यका लागि हस्तक्षेप गरेको बताए । नेता कार्कीले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहेको पनि बताए । उक्त विरोध कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकालले अमेरिकी साम्राज्यवादले विश्वभरि नै नाङ्गो हस्तक्षेप गरी स्वतन्त्र राष्ट्रहरूमाथि साम्राज्य कायम गर्ने उद्देश्य राख्ने हो भने नेपालस्थित अमेरिकी दूतावासलाई उखेलेर फाल्ने चेतावनी दिए । कार्यक्रममा नेकपाका जनवर्गीय सङ्गठन, मोर्चाका नेता–कार्यकर्ता र जनताको बाक्लो सहभागिता थियो ।
    भेनेजुयलामाथि अमेरिकी साम्राज्यवादले गरेको षड्यन्त्र र हस्तक्षेपको विषयलाई लिएर क्रान्तिकारी बुद्धिजीवीहरूले पनि चौतर्फी विरोध गरेका छन् । उक्त सङ्गठनका केन्द्रीय महासचिव व्यापक नेपालीले अङ्ग्रेजी भाषामा प्रेसविज्ञप्ति निकालेर विपक्षी दलका नेता हँुवा गुएइदोलाई अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिनुले साम्राज्यवादले आफ्नो कठपुतलीलाई चुनाववा अन्य माध्यमबाट स्थापित गर्न चाहन्छ भन्ने कुरालाई पुष्टि गरेको छ । अमेरिकी यो कदम पूर्वसमाजवादीहरूका विरुद्ध युद्धको घोषणा गर्नुसरह हो भनिएको छ । साम्राज्यवादीहरूको कथित प्रजातन्त्र र ध्रुवीकरणले भेनेजुयलाका ३० लाखभन्दा बढी जनता गृहभूमि छाड्न बाध्य भएको नेपालीको विज्ञप्तिमा उल्लेख छ । रातोखबर साप्ताहिकबाट

२०७५ माघ १७ गते बिहिबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :