अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नपार – डुम्रे

अर्घाखाँची :  अर्घाखाँचीमा ‘मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवम् वर्तमान अवस्था र राष्ट्रियता’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । जनपत्रकार सङ्गठन अर्घाखाँचीको आयोजनामा मङ्गलबार सन्धिखर्कमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा जनपत्रकार सङ्गठनका अध्यक्ष प्रकाश डुम्रेले पत्रकारले निर्धक्कसँग समाचार लेख्ने अवस्था छ कि छैन भन्ने प्रश्न उठाउँदै भने, ‘हामीले जनताको मुद्दा उठाउँदा अशान्ति हुन्छ ? शान्ति होस्, विकास होस्, समृद्धि होस् भन्ने चाहेका छौँ तर राज्यले त्यो स्थिति बनाउँदैन भने हामीले त्यसको समाचार लेख्न पनि नपाउने ?’

पत्रकारले समाचार लेख्दैमा यातना भोग्नुपर्ने, जेल र हिरासत खेप्नुपर्ने यो अवस्थाको अन्त्य होस् भन्दै डुम्रेले पत्रकारले समाजमा न्यायपूर्ण रूपमा सकारात्मक सन्देश जाने भूमिका निर्वाह गर्न अपिल गरे । उनले पत्रकार महासङ्घको आसन्न चुनावप्रति लक्षित गर्दै महासङ्घ सबैको साझा हुनुपर्ने बताए । पत्रकारले जनताका मुद्दा उठाउनुपर्ने भन्दै उनले सबै पत्रकारको हितका निम्ति सङ्गठन सधैँ सँगै रहने प्रतिबद्धता जनाएका थिए । उनले पछिल्लो समय राज्यले मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पारेको र नागरिकको अभिव्यक्ति स्वतन्त्रता दबाउन राज्य उद्यत भएको बताए ।

जनपत्रकार सङ्गठन नेपालका महासचिव हिम बिष्टले सङ्गठनले देशव्यापी रूपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा बहस उठाइरहेको भन्दै मिडियाहरूले उठाउनुपर्ने विषय लुकाउने गरेकोमा आपत्ति जनाए । उनले जनपत्रकार सङ्गठन नेपाल पत्रकार महासङ्घसँगै हातेमालो गर्दै अगाडि बढेको बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसकी जिल्ला उपसभापति शान्ता भण्डारीले पत्रकारहरूले स्वतन्त्रतापूर्वक सूचना प्रवाह गर्न पाउने हकसमेत राज्यले कुण्ठित गर्न लागेको बताइन् । उनले पार्टीले प्रतिपक्षको भूमिका पूर्ण रुपमा निर्वाह गर्न नसकेको स्वीकार गर्दै पार्टी मानवअधिकार तथा प्रेस स्वतन्त्रताका पक्षमा रहेको बताइन् । त्यसैगरी जनमोर्चाका जिल्ला सल्लाहकार जीवनारायण खनालले मानवअधिकार निकै दयनीय अवस्थामा रहेको, राज्यबाट मुठीभर मान्छेहरूले सुविधा लिने गरेको र धेरै जनताले दमन खप्नुपरेको बताए ।

नेपाल बार एसोसिएसनका निवर्तमान अध्यक्ष अधिवक्ता केबी भुसालले नेपालका राजनीतिक पार्टीहरू सत्तापक्ष र प्रतिपक्ष दुवै आफ्नो राजनीतिक स्वार्थका लागि जे पनि सम्झौता गर्न तयार रहेको बताए । उनले अमेरिकी एमसीसीले नेपाललाई इरानीकरण गर्न खोजेको धारणा राखे ।

नेपाल पत्रकार महासङ्घ प्रदेश सदस्य शोभाखर पन्थीले राज्य पछिल्लो समय पत्रकारहरूबाट आवश्यकताभन्दा बढी डराएको भन्दै पत्रकारबाट आतङ्कित नहुन आग्रह गरे । पछिल्लो राजनीतिक सङ्कट र समस्यालाई वार्ताका माध्यमबाट निकास निकाल्नुपर्ने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीका अध्यक्ष हिम जीसी लेकालीले पत्रकारहरूले कुनै पार्टीमा विचार वा आस्था राखे पनि समाचार स्वतन्त्र हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासङ्घले प्रेसस्वतन्त्रता हननका सम्बन्धमा हरेक आन्दोलनहरूमा अगुवाइ गरेको बताउँदै उनले पत्रकारका समस्याहरूमा एकाकार भएर अगाडि बढ्ने बताए । विद्रोहीहरूलाई राज्यले दमन गरेर समस्याको समाधान ननिस्कने भन्दै उनले वार्ताको माध्यमबाट सबैलाई राज्यले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा जनपत्रकार सङ्गठन अर्घाखाँचीको वार्षिक मुखपत्र जनआवाज विमोचन गरिएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि, मानवअधिकारबादी, नागरिक समाजका अगुवा, पत्रकार सङ्घ–सङ्गठनका प्रतिनिधि तथा मिडियाका प्रतिनिधिको उपस्थिति थियो । जनपत्रकार सङ्गठनका सदस्य अयन विकले कार्यक्रम सञ्चालन गरेका थिए भने सङ्गठनका जिल्ला अध्यक्ष अनिल विकले अध्यक्षता गरेका थिए ।

२०७६ पुष २२ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :