अब्बल सरकारी विद्यालय, निजीलाई चुनौती


काठमाडौँ : विद्यार्थीलाई स्विमिङ पुल, अङ्ग्रेजी माध्यमबाट पढाइ, मन्टेस्वरी प्रविधिको शिक्षा, शिशु कक्षादेखि तीन कक्षासम्म निःशुल्क, दिवा खाजाको व्यवस्था, अत्याधुनिक कम्प्युटरर साइन्स ल्याब, सुविधा सम्पन्न आकर्षक भवन, सबै कक्षाकोठा र विद्यालय परिसर सीसीटीभी क्यामेराबाट निगरानी यो सबै कुनै सुविधा सम्पन्न निजी स्कुलको कुरा होइन । यो त काठमाडौँ महानगरपालिका वडा नं. ६ महाङ्कालस्थित सरकारी विद्यालय जनकल्याण माविको हो । यो काठमाडौँको उत्कृष्ट उदाहरणीय सरकारी विद्यालयमा पर्छ । २०१० सालमा स्थापना भएकोयो विद्यालयमा २०५६ सालदेखि निमावि कक्षा र २०५८ सालबाट माविको पढाइ सुरु भएको थियो ।

‘जनकल्याण मावि भौतिक पूर्वाधार, त्यहाँ पढाइ हुने विषय र उत्कृष्ट नतिजाका कारण अब्बल रहेको छ । विद्यार्थीको चापका कारण अब भर्ना लिने स्थिति छैन । ठाउँ छैन भनेर फर्काउनु परेको छ । विद्यार्थी बढी हुन थालेपछि यो वर्ष प्रवेष परीक्षामार्फत निश्चित कोटामा मात्रै भर्ना लिइएको छ’, प्राचार्य कमलाकुमारी राईले भनिन् ।

जनकल्याण माविमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुन्छ । अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु भएपछि निजी विद्यालय छाडेर विद्यार्थी भर्ना गर्नेहरूको लहर नै चलेको छजसले विद्यार्थी र अभिभावकलाई आकर्षण मात्रै गरेको छैन, नतिजामा पनि सुधार आउन थालेको छ । अहिले १ हजार ५ सय विद्यार्थी यो विद्यालयमा अध्ययन गरिरहेका छन् । सरकारी भए पनि जनकल्याण उमाविले निजी विद्यालयले अवलम्बन गर्दै आएका कतिपय नियम लागू गरेको छ । अरू सरकारी विद्यालयमा शुक्रबार हाफ छुट्टी हुन्छ तर यहाँ साताको छ दिन दिनभरि पढाइ हुन्छ भने ४ बजेपछि कमजोर विद्यार्थीलाई उपचारात्मक अतिरिक्त कक्षासमेत हुने गरेको छ ।

 

अतिरिक्त क्रियाकलापमा नियमित कार्यक्रमबाहेक स्विमिङ, डान्स कक्षालगायत कार्यक्रम पनि थपिएको छ । विद्यालयमा स्विमिङ पुल र मन्टेस्वरीका विद्यार्थीका लागि छुट्टै इन्डोर खेल स्टेसनको व्यवस्थासमेत गरेको छ ।

विद्यालयलाई नमुना बनाउन व्यवस्थित पुस्तकालय, ल्याब, छुट्टै परीक्षा शाखा, विद्यालयको आफ्नै क्यान्टिन, स्वच्छ खानेपानी, सीसीटीभीका साथै शिशुदेखि ३ सम्म निःशुल्क दिवा खाजा आदिको व्यवस्था गरिएको छ ।

जनकल्याण विद्यालयमा आवश्यक शिक्षक कर्मचारीको दरबन्दीको व्यवस्था नहुँदा शिक्षक तथा कर्मचारीहरूलाई तलब खुवाउन हम्मेहम्मे परे पनि जनकल्याण माविमा ४०जना शिक्षक–कर्मचारी कार्यरत छन् ।

जनकल्याण माविलाई हेरेर के भन्न सकिन्छ भने सरकारले शिक्षामा द्वैध नीति लागू गर्दा र शैक्षिक माफियाहरूले शिक्षालाई व्यापारमा प्रयोग गर्दा आज सरकारीभन्दा निजी विद्यालयहरूको व्यापार फस्टाउँदै गएको छ । यसको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देशका लाखौँ विद्यार्थी मर्कामा परेका छन् । शिक्षा हुनेखानेको पहुँचमा पुगेको छ भने हुँदा खाने वर्गका विद्यार्थीको अवस्था जर्जर बन्दै गएको छ । शिक्षा क्षेत्रलाई आम मानिसको पहुँचमा पु¥याउन सरकारी तवरबाट सही तरिकाले व्यवस्थापन गर्न सके सरकारी विद्यालयहरू पनि निजी विद्यालय भन्दा राम्रो गर्नसक्ने देखिन्छ । सरकारी रबैयाकै कारण शिक्षा क्षेत्र तहसनहस बन्दै गएकोछ । त्यसैले यसमा आमूल परिवर्तनको आवश्यकता बढेको छ ।

२०७६ जेठ २१ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :