अफ्रिका कप अफ् नेसन्सको उपाधि अल्जेरियालाई


काठमाडौं : अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले जितेको छ । इजिप्टको कायरोमा शुक्रबार राति भएको फाइनल खेलमा सेनेगललाई १–० गोलको अन्तरले हराउदै अल्जेरिया च्याम्पियन बनेको हो ।

अल्जेरियाले यसअघि सन् १९९० को संस्करणको उपाधि जितेको थियो । सन् २००२ मा उपविजेता बनेको सेनेगल यस पटक पनि अभागी रह्यो । सेनेगल त्यसबेला पनि पेनाल्टीमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

कायरो अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा बाघदाद बोउनदेजाको प्रहार सालिफ सानेको खुट्टामा लागेर डिफ्लेक्ट भएको बल गोलमा परिणत भएको थियो । खेलको दोस्रो मिनेटमा नै भएको गोल नै अल्जेरियालाई जित दिलाउनकालागि निर्णायक बनेको थियो ।

खेलमा सेनेगलले अल्जेरियामाथि दबाब कायम गरे पनि गोल गर्न सकेन । खेलमा सेनेगलले अल्जेरियाको पोस्टमा १२ पटक एटेम्प्ट गरेको थियो । जसमा तीनवटा सट फ्रेममा लागेको थियो ।

दोस्रो हाफमा एमबाए नियाङले दुईवटा उत्कृष्ट मौका गुमाएका थिए । दोस्रो हाफमा सेनेगललाई पेनाल्टी पनि दिइएको थियो । तर, भिडियो एसिस्टेन्ट रेफ्रीले त्यो पेनाल्टीको निर्णय उल्टाएको थियो ।

२०७६ साउन ४ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :