अन्तर्राष्ट्रिय कोरस गाउने बन्दी आवाजहरू

(क्रान्तिकारी आशावादको उत्कृष्ट नमुना)

समय समीक्षा
प्यारी आमा !
तपाईंको छोरा दुस्मनको कब्जामा पर्यो
र म सुदूर कारागारमा बन्द छु
हजारौँहजार आमाहरूलाई परेका अजङ्गका घाउहरूभित्र
आफ्ना घाउहरूलाई पनि राख्नुहोला
तपाईंको घाउ छिटै सन्चो हुनेछ ।
२७ जेठ, २०५६, अछाम कारागार
बाबा !
हाम्रो फेरि भेट हुनेछ
हामी आउनेछौँ एक दिन
तपाईंले जोतेको बारीमा डल्ला फोर्न
तपाईंले जोतेको सियोमा मकै रोप्न
तपाईंले हुर्काएको बनकुन्जमा बिहार गर्न
तपाईंले बनाएको खरको छानोमुनि रमाउन
हो हामी अवश्य आउनेछौँ ।
२७ जेठ, २०७६, नख्खु कारागार

यी दुवै कवितांशका रचनाकार माक्र्सवादी स्रष्टा एवम् चिन्तक सुदर्शन हुन् । उनी २० वर्षअघि महान् जनयुद्धका क्रममा एउटा प्रतिक्रियावादी सत्ताको जेलमा कैद थिए । आज एकीकृत जनक्रान्तिको महान् अभियानमा अर्को प्रतिक्रियावादी सत्ताको जेलमा बन्दी छन् । २० वर्षअघि जेलमा बन्दी छँदा उनीमाथि सत्ताका रक्षकहरूले विभिन्न किसिमका अनर्गल हल्ला चलाएका थिए– उनलाई बेपत्ता पारिएको छ, उनी सहिद बनिसके इत्यादि । मुटुभन्दा प्यारो आफ्नो छोरालाई आततायी सत्ताले पचाएको हल्लाले मातृहृदय पग्लियो र छोराको खोजीमा भौँतारिँदै विकट पहाड र नदीनालाहरू पर गर्दै ममतामयी आमा जेलसम्म पुगिन् । प्रतिक्रियावादी सत्ता ढालेर नयाँ युग जन्माउन लामो यात्रामा हिँडेको छोरालाई आमाले जेलमा बन्दी अवस्थामा फेलापारिन् । छोरालाई अँगालो हालिन् र दीर्घायु, सुस्वास्थ्य एवम् लक्ष्य प्राप्तिको कामना गरिन् । उनको न्यानो अँगालोमा असत्ती सत्ताविरुद्ध आक्रोश थियो । त्यसैले उनले आततायी सत्तालाई सरापिन् । उनको प्रिय अँगालोमा नयाँ सत्ता निर्माणको महान् अभियानमा लामबद्ध हजारौँ छोराहरूको लक्ष्य प्राप्तिको कामना थियो, त्यो पूरा हुने आशा प्रकट गरिन् । आमासँगको भेटमा राजनेताको स्रष्टा हृदय पनि मातृहृदयजस्तै पग्लियो । आमासँगको भेटपछि स्रष्टाको हृदयको बाँध फुट्यो र सिर्जनामा यसरी छचल्कियो–

बहुमूल्य दूधधारा पिलाउँदै हुर्काएको
मातृस्नेहले भरिएको काखमा बढाएको
आमाको मुटुभन्दा प्यारो छोरा
जनसमरमा गएर गायब भयो
लामो समयसम्म उसको कुनै खबर आएन
आकाशमा बादल मडारिइरह्यो
धर्तीमा बारुदको धुवाँ निस्किरह्यो
हजारौँ छोराछोरीले जस्तै
उसको पनि बीभत्स हत्या हुनसक्छ
हजारौँ छोराछोरीजस्तै
उसलाई पनि गायब पारिनसक्छ
आमाको मनमा चिन्ताका हिमचुलीहरू चुलिई नै रहे
देउडा गीतका हत्याराहरूले उसको हत्या गरिसके
कतैबाट यस्तै खबर आयो
आमाको मुटुमा संवेदनाको चट्याङ प¥यो
र आँसुको सागरमा डुब्नुभयो
फेरि आमाको मुटुमा विद्रोहको आगो सल्कियो
र दुस्मनलाई जरैदेखि उखेल्ने आक्रोशले भरि नुभयो

हो, मातृहृदय र संवेदनशीलताले कोमलकोमल लाखौँ आमाहरू संवेदनशीलतासँगै पग्लिए, माया खन्याए अनि निर्दोष सन्तानलाई कालकोठरीमा कैद गरेर सुखको सास फेर्ने दुष्ट शासकहरूको सपना भङ्ग गर्दै आक्रोशको ज्वाला दन्काएर आयुधमा होमिए । त्यसैले त्यो महान् बन्यो, जनयुद्ध बन्यो । त्यही जनयुद्धले बगायो अत्याचारी शासनसत्तालाई, निरंकुश राजतन्त्रलाई । तर दुःखद् पल दोहोरियो । जनताको त्याग, शौर्य, साहस र बलिदानका कीर्तिमानहरूसँगै राणाशासनजस्तै सामन्ती राजतन्त्र त ढल्यो तर देश र जनता मुक्ति र परिवर्तनको राजनीतिका नाउँमा छद्म नेतृत्वको हृदयभित्र पलाएको नवसामन्तवाद दलाल पुँजीवादमा पतीत भयो । हिजोको त्याग, साहस, शौर्य र बलिदान खेर गएजस्तै हुन लाग्यो । सत्तामा पुनः प्रतिक्रान्ति भयो । २० वर्षअघि एउटा अत्याचारका विरुद्ध क्रान्तिको बलिवेदीमा होमिएको योद्धालाई पछिल्लो प्रतिक्रान्तिले फेरि उग्र देख्यो । फेरि अराजक र अपराधी देख्यो र जेलमा कोच्यो । ठीक २० वर्षअघि आततायी सत्ताले निल्यो कि भन्ने शङ्का, पीडा र तापमा छोराछोरीको खोजीमा निस्किएकी ममतामयी आमाजस्तै आज पितृवात्सल्य छचल्किएको छ र सत्ताद्वारा बिनाकसुर बेत्ता पारिएका छोराहरूको खोजीमा भौँतारिँदै बाबाहरू जेल, हिरासत र कुनाकन्दरामा पुगेका छन् । स्रष्टा सुदर्शनका बाबा २० वर्षपछि आमाले जस्तै छोरालाई खोज्दै नख्खु जेलमा पुगेका छन् र सुदर्शनको हृदय फेरि उसैगरी पग्लिएको छ बाबासँगको भेटपछि । उनी बाबासँगको भेटपछि यसरी छचल्किएका छन् :

बाबा !
तपाईंले जिन्दगीभरि
धर्तीको छाती जोतिरहनुभएको छ
र आजपर्यन्त जोत्दै हुनुहुन्छ
तपाईंको विश्वास छ
धर्तीमा गुड्ने र आकाशमा उड्ने
सबैले धर्तीमा फलेको खानुपर्दछ
धर्तीमा पसिना नबगाईकन
न आकाशमा चिलगाडी उड्न सक्छ
न त धर्तीमा रेलगाडी गुड्न सक्छ
मेरो बाबाको यो दह्रो विश्वास हो
मेरो बाबाको गहिरो आस्था हो
बाबा !
साम्यवादप्रति
मेरो यस्तै आस्था बनेको छ ।
माक्र्सवादप्रति
मेरो यस्तै विश्वास बनेको छ ।

मूर्ख शासकहरू सोच्दा हुन् एउटा योद्धालाई बन्दी बनाएपछि ऊसँगै उसको आस्था पनि कैद हुन्छ । संसारकै खुनी शासकहरू यस्तै गल्ती बारम्बार दोहोर्याइरहन्छन् र त बारम्बार समाप्त पनि भइरहेका छन् । असल क्रान्तिकारी योद्धा पागल शासकहरूको कैदभित्रबाट अझै स्पातिलो बन्छ । अझै ऊर्जाशील र प्रतिरोधी बन्छ । असल क्रान्तिकारीले प्रतिक्रान्तिकारी शासकहरूको खुला जेललाई जस्तै बन्द जेललाई पनि युद्धको ट्रेन्चमा रूपान्तरण गरिदिन्छ । नत्र २० वर्षअघि र २० वर्षपछि पनि एउटा योद्धाले दुष्टहरूको कालकोठरीभित्रबाट किन यसरी ललकार गरिरहनुपर्छ ? गरिरहन सक्छ !
प्यारी आमा !
हामी मानसिक रूपमा मुक्त हुनेछौँ
हामी यहाँबाट पनि अवश्य मुक्त हुनेछौँ
हामी मारिए पनि अवश्य मुक्त हुनेछौँ
र क्रान्तिले बचाए पनि मुक्त हुनेछौँ
कुनै पनि चिन्ता नगर्नू आमा
हामी हाम्री आमासँग लोरी गाउन आउनेछौँ
हजारौँहजार जनसमरका सिपाहीहरूसँगै
कदममा कदम मिलाउँदै
अन्तर्राष्ट्रिय कोरस गाइरहनेछौँ ।
२० वर्षअघि, २७ जेठ २०५६, बाजुरा जेल
बाबा !
यो विश्वास र यो आस्था
तपाईंले धर्तीमा जीवनभर गरेको
मेहनतले मकै र भटमास फलेझैँ
मैले जीवनभर बगाएको पसिना
मैले जीवनभर गरेको तपस्याले
समाजवाद र साम्यवाद फल्नेछ
मेरो बाबा र यो छोराको उद्देश्य
परिवार र समाजलाई
भोकबाट मुक्ति दिनु हो
अभावको जीवनबाट
पुरोपुग्दो बनाउनु हो
अन्यायका साङ्लाहरू चुँडाल्दै
न्यायको स्थापना गर्नु हो ।
२० वर्षपछि २७ जेठ २०७६, नख्खु जेल
भनिन्छ क्रान्तिको विकास हुन्छ, पुनरावृत्ति हुँदैन । त्यसैगरी प्रतिक्रान्ति पनि विभिन्न जामा लगाएर दोहोरिँदो रहेछ । एउटा योद्धाले जीवनभर एउटै सपनाको प्राप्तिका लागि बारम्बार लडिरहनुपर्ने, लेखिरहनुपर्ने, सपना देखिरहनुपर्ने स्थिति भनेको समाज आधारभूत रूपले उस्तै छ भन्ने प्रमाण हो । हिजो जनयुद्धमा हजारौँ आमाहरू ऋाफ्ना सन्ततिहरूको खोजीमा निस्किएका थिए । कयौँ सन्ततिहरूलाई तत्कालीन सत्ताले निलेको थियो, बेपत्ता र अंगभंग बनाएको थियो । आज एकीकृत जनक्रान्तिमा पनि प्रतिक्रान्तिले दसजना होनहार योद्धाहरूलाई निलिसकेको छ र हजारको हाराहारीमा योद्धाहरूलाई जेल र हिरासतको चिसो छिँडीमा सडाइरहेको छ । हाय ! यस्तो अन्धकार युगलाई केही थान केपी वली, पुष्पकमल दाहाल, रामबहादुर थापा वा गोकुल बास्कोटाहरू समाजवाद भनिरहेका छन् दुनियाँलाई कुरीकुरी लगाउने गरी । हुनत हिजो नाजीवादको प्रवर्तक हिटलरले पनि आपूलाई समाजवादी नै भनेको थियो र लाखौँ–करोडौँ यहुदीहरूलाई आफ्ना ज्यानी दुस्मन सम्झिँदै ग्याँसच्याम्बरमा हालेर हत्या गरेको थियो । आजका नाजीवादीहरूको नाउँ फेरिएको छ । तर उनीहरूले गर्ने कर्म उस्तै छ– राजु, राम, कुमार र प्रशान्तहरूलाई हिटलरले जस्तै हत्या गरिरहेका छन् शासकहरू र नारा लगाइरहेका छन् समाजवादको । चोर स्यालले आकाशको चिलतिर देखाएर भुइँको चल्ला टप्काएझैँ जनताका सपनाहरू टप्काइरहेका छन् शासकहरू । यस्तो अवस्थामा सत्य बोल्ने बालकहरूको आवश्यकत छ । सत्य बोल्ने स्रष्टाहरूको आवश्यकता छ र सत्य र न्यायका पक्षमा लड्ने योद्धाहरूको आवश्यकता छ । कथाको राक्षसले रगत पिएका बीभत्स दारा र नङ्ग्रा देखाएर हाहाः–हिहिः गरेर दुनियाँलाई त्राहीमाम पारेझैँ शासकहरू मैमत्त भएर कुर्लिरहेको समयमा, हिजोका सहयोद्धाहरूले सपनाको हत्या गरेर दुस्मन क्यम्पमा मुन्टो लुकाए पनि क्रान्तिका रक्तबीजहरू क्रान्तिकारीका नसानसामा बगिरहेका छन् र आशावादी क्रान्ति र आशावादी सिर्जनामा तल्लीन भइरहेकै छन् । स्रष्टा एवम् चिन्तक सुदर्शन लेख्छन् :

प्यारी आमा !
हामी मानसिक रूपमा मुक्त हुनेछौँ
हामी यहाँबाट पनि अवश्य मुक्त हुनेछौँ
हामी मारिए पनि अवश्य मुक्त हुनेछौँ
र क्रान्तिले बचाए पनि मुक्त हुनेछौँ
कुनै पनि चिन्ता नगर्नू आमा
हामी हाम्री आमासँग लोरी गाउन आउनेछौँ
हजारौँहजार जनसमरका सिपाहीहरूसँगै
कदममा कदम मिलाउँदै
अन्तर्राष्ट्रिय कोरस गाइरहनेछौँ
यतिबेला पनि प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध क्रान्तिका क्रममा सयौँ योद्धाहरू कमरेड सुदर्शनझैँ जेल र हिरासतका छिँडीमा अन्तर्राष्ट्रिय कोरस गाइरहने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । क्रान्तिकारीहरू आशावादी हुन्छन् । निरास त अर्काको रगत र पसिनामा तर मार्ने परजीवीहरू पो हुन्छन् । क्रानितकारीहरू आकाशका चील हुन् जो संसारको फन्को मारिरहेका छन् । प्रतिक्रियावादीहरू भुइँ खोस्रिने कुखुराहरू हुन् । तिनले देश र जनताको मुक्ति र भविष्य त परै जाओस्, आफ्नै भविष्य र मृत्यु पनि देख्न सक्तैनन् ।

जीवन सङ्घर्षैसङ्घर्ष र संयोग–वियोगहरूका बीचबाट अघि बढ्ने आशावाद र सम्भवनाहरूको एक महत्वपूर्ण क्षण हो । अनगिन्ती क्षणहरूमा मानिस यिनै सङ्घर्ष, संयोग, वियोग र आशाहरूको क्रमबाट अघि बढिरहेको हुन्छ । सामाजिक जीवन जति सुनिश्चित हुन्छ, जीवनमा परिवर्तनका लागि सङ्घर्ष, वियोग र निराशाहरू कम र श्रेष्ठताका लागि सङ्घर्ष, संयोग, आशाहरू बढी प्राप्त हुन्छन् । सङ्घर्षमय जीवनमा होमिनेहरूले बढी उतारचढावहरू भोग्ने र मात्र आफ्नो जीवनका लागि सङ्घर्ष गर्नेहरूको सङ्घर्षको वृत्त र परिधि कम हुनु स्वाभाविक हुन्छ । समाज रूपान्तरित नभएर एउटै र उस्तै किसिमका वृत्तमा घुमिरहन्छ भने सङ्घर्षका आयामहरू पनि त्यसै गतिमा क्रियाशील हुन्छन् । क्रान्तिकारीहरूको जीवन बढी सङ्घर्षमय, बढी ऊर्जाशील÷क्रियाशील र बढी भुक्तमानमय हुने विषय पनि शाश्वत् नै हो । स्रष्टा सुदर्शनले २० वर्षअघि बाजुरा जेलमा बस्ता गरेको अनुभूति र २० वर्षपछि नख्खु जेलमा बस्ता गरेको अनुभूति उस्तै हुनु भनेको क्रान्तिकारी आशावाद बोकेको आजीवन क्रान्तिकारी योद्धाले देख्ने सपनामा पाइन हो ।जब प्रतिक्रान्तिको बाढीले बगाउन खोज्यो क्रान्तिले स्थापित गरेका आमूल परिवर्तन र मुक्तिका मुनाहरू अनि निरन्तर लेखिइरहे यस्ता कविता र गीतका हरफहरू । श्रमजीवी जनताको मुक्ति नभएसम्म सुदर्शनहरू अर्थात् क्रान्तिकारी स्रष्टाहरू जन्मिइरहनेछन्, लेखिरहनेछन् क्रान्तिकारी आशावादले आतप्रोत सिर्जनाहरू र गाइरहनेछन् अन्तर्राष्ट्रितावादका कोरसहरु । क्रान्तिकारीका बाबा र आमाहरू त आमूल परिवर्तनका पक्षधर श्रमशील जनता हुन्, क्रान्तिका कारखाना हुन् जसले योद्धाहरू जन्माइरहेका छन् र जन्माइरहनेछन् । अन्त्यमा माक्र्सवादी स्रष्टा सुदर्शन आर्थात् न्दी जीवन बिताइरहेका नेकपाका स्थायी समिति सदस्य कमरेड हेमन्तप्रकाश ओलीले २० वर्षअघि बाजुरा जेलमा आमालाई सम्बोधन गरेर लेखेको कविताका केही हरफहरू पस्किँदै यो समय समीक्षा यहीँ रोक्ने अनुमति माग्छु : 
आमाको आँखाबाट डबडबाएको
प्रशान्त महासागर पढेँ मैले
आमाको मुटुभरि सल्केको विद्रोह पढेँ मैले
अब हाम्रा आमाहरू
पौराणिक कथाहरूमा सीमित छैनन्
चुलो, चौको र घाँसदाउरामा सीमित छैनन्
चुलो, चौको र घाँसदाउरा काट्ने बनपाखामा सीमित छैनन्
उहाँहरूका आखामा छोराछोरीहरूको समवेदना छचल्किँदैछ
आफ्नै शरिरमा परेका
फासिस्ट राज्यसत्ताका लट्ठीका निलडामहरू
प्रतिरोधका ज्वाला बनेका छन्
प्यारी आमा
हामी अवश्य आउनेछौ
किनकि हामी हिँडेको मुक्तिको राजमार्ग हो
तर आमा
वर्गयुद्ध धेरै निर्मम छ
हामी क. सुरेश वाग्ले र रामवृक्ष यादव
अनि विजय घले, विश्वेश्वर र यज्ञेश्वर बनाइयौँ भने पनि
आफूलाई भाग्यमानी सम्झनुहोला
तपाईंका छोराछोरी झन् लाखौँलाख भएर आउनेछन्
जनसेनाका कबाज बनेर आउनेछन्
बन्दुक र बमका आवाज बनेर आउनेछन् …।

२०७६ साउन १३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :