अनैतिक कार्य गर्ने प्रधानाध्यापकलाई जनसरकारले लगायो कालोमोसो र जुत्ताको माला

चितवन : चितवनको राप्ती नपा १० पहरीको राष्ट्रिय आधारभूत प्राविका प्रधानाध्यापक पन्तबहादुर विकले सोही विद्यालयमा पढाउने एक शिक्षिकासँग अनैतिक सम्बन्ध राख्दै आएको पुष्टि भएपछि विकलाई जनपरिषद् राप्ती नगर समितिले कालोमोसो र जुत्ताको माला लगाई जनकारबाही गरेको समाचार प्राप्त भएको छ ।

स्थानीय राजनीतिक दलहरुले विकलाई पटकपटक गलत काम नगर्न आग्रह गर्दा पनि नमानेको, उल्टै मेरो पार्टीको दुई तिहाइको सरकार छ, तिमीहरु के गर्न सक्छौ भन्दै धम्कीदिने गरेको समाचारमा जनाइएको छ ।

प्रअ विककी श्रीमती सुनिता विक आफूलाई श्रीमान्ले निरन्तर मानसिक तथा शारीरिक यातना दिएको भनी प्रहरीमा उजुरी गर्नसमेत गएकी थिइन् । तर सत्ताधारी पार्टीको वडा अध्यक्ष अमर तामाङको आदेशमा प्रहरीले उजुरी पनि दर्ता नगरेको र पीडकमाथि कुनै कारबाही नगरी पक्राउ गरेको दस मिनेटमै मुक्त गरेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रहरीले वडाध्यक्षको आदेश मानी आफूले दिएको उजुरीसमेत दर्ता नगरेको सुनिताले बताइन् । वडाध्यक्ष तामाङको आडमा प्रअ विकले गाउँ समाजमा मनपरी गर्दै आएको उजुरी जनसरकारमा परेको थियो । गाउँसमाज भेला बस्दा विकले अब आइन्दा श्रीमतीलाई दुःख पनि दिन्नँ र परस्त्रीसँग अवैध यौनसम्बन्ध पनि राख्दिनँ भनी कबुल गरी कागजसमेत गरेका थिए । तर गाउँसमाजको निर्णय पनि पटकपटक उल्लङ्घन गरेकाले जुत्ताको माला र कालोमोसो लगाई विकलाई गाउँ घुमाइएको जनपरिषद्ले जनाएको छ ।

२०७६ असार ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :