अखिल (क्रान्तिकारी) का ६ जना नेता–कार्यकर्ता गिरफ्तार

काठमाडौँ : अखिल (क्रान्तिकारी) का नारायणी क्षेत्रीय समन्वय समितिका सदस्य निरजकुमार शाह र सन्तोष तिमिल्सिनालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरूलाई यही जेठ १९ गते बाराको निजगढबाट सङ्गठनकै कामको सिलसिलामा प्रहरीले गिरफ्तार गरेको उक्त सङ्गठनले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नारायणी क्षेत्रीय समन्वय समितिका संयोजक मदन केसीले मङ्गलबार प्रेसविज्ञप्ति जारी गरी गिरफ्तारीको विरोध गरेका छन् । त्यसैगरी अखिल (क्रान्तिकारी) नारायणी क्षेत्रीय समन्वय समितिका सदस्य तथा पर्सा जिल्ला अध्यक्ष राधेश्यामलगायत चारजनालाई पनि २०७५ फागुन ११ गते प्रहरीले गिरफ्तार गरेको जानकारी उनले विज्ञप्तिमार्फत दिएका छन् । उनले गिरफ्तारीमा परेका विद्यार्थी नेता–कार्यकर्तालाई तत्काल ससम्मान रिहा गर्न माग गरेका छन् ।
संयोजक केसीले युवा, विद्यार्थी, मजदुर, बुद्धिजीवी, मानवअधिकारवादी, पत्रकारलगायतलाई गिरफ्तार भएका सङ्गठनका नेता–कार्यकर्ताहरूको रिहाइको लागि पहल गरिदिन अनुरोध गरेका छन् । रिहा नगरिएमा सरकारी धरपकडविरुद्ध प्रतिरोधस्वरूप कडा सङ्घर्ष गर्न बाध्य हुने उनले विज्ञप्तिमार्फत जनाएका छन् । सङ्घर्षबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुने विज्ञप्तिमा उल्लेख छ ।

२०७६ जेठ २१ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :