अखिल (क्रान्तिकारी)को दाङ जिल्ला अध्यक्षमा अनिल केसी


दाङ : नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) दाङको २३ औं जिल्ला सम्मेलन भव्यरुपमा सम्पन्न भएको छ । शैक्षिक माफिया दलाली तथा प्रतिबन्धको विरुद्ध विद्यार्थी आन्दोलन ! शैक्षिक समानता तथा वैज्ञानिक समाजवादको पक्षमा २३औं दाङ जिल्ला सम्मेलन !! भन्ने मुल नाराका साथ अनिल केसीको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्मेलन भव्यरुपमा शुक्रबार दाङमा सम्पन्न भएको छ ।

अध्यक्षमा अनिल केसी, उपाध्यक्षमा अमर खड्का, सचिवमा खुमन पौडेल, सहसचिवमा सरद खत्रीलाई सर्वसम्मत निर्वाचित गरिएको छ । अखिल (क्रान्तिकारी) दाङ जिल्लाको सम्मेलन कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थी क्षेत्र उत्पादनको महत्वपूर्ण स्रोत भएकोले देशको आमूल परिवर्तनकालागि एकीकृत जनक्रान्तिमा योगदान गर्न आह्वानसमेत गरेका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख आतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय महासचिव प्रकाश शाहीले विद्यार्थी उत्पादनको क्षेत्र पनि भएकोले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने जनशक्ति निर्माण गर्ने भत्ति बन्न विद्यार्थीहरुलाई आह्वान गर्नुभयो । विश्व विद्यालय कलेजहरु अबको देशको सम्पूर्ण परिवर्तनको लागि आवश्यक पर्दा जुनसुकै क्षेत्रको नेतृत्वदायी भूमिका खेल्न जरुरी भएको बताउनु भयो । दुई किसिमको शिक्षा प्रणाली थोपरेर अहिलेको राज्यसत्ताले विभेद जन्माइरहेको भन्दै यसलाई अन्त्य गरी समान शिक्षा, वैज्ञानिक समाजवादी शिक्षाकालागि निर्मम संघर्षमा सबैले गर्नैपर्ने आवश्यकता औल्याउनु भयो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला इन्चार्ज विक्रमले आफ्नो पार्टीले विश्वमै युद्ध चाहेको छैन बरु नेपाली जनतामाथिको राज्यको विभेद, शोषण अन्याय अन्त्य गर्ने क्रान्ति गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘त्यो क्रान्ति भनेको परिवर्तन हो, मुठ्ठीभर दलालहरु भ्रष्टहरुको विरुद्ध एकीकृत जनक्रान्ति हो, युद्ध त राज्यले चाहिरहेको छ, उसले प्रतिबन्ध लगाउनुको कारण पनि त्यही हो तर, हामी लड्ने पक्षमा छेनौं बरु दलाल संसदीय पुँजीवादी व्यवस्थालाई अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न खोजिरहेका छौं ।’

त्यस्तै कार्यक्रममा बोल्दै दाङ जिल्ला सेक्रेटरी नरेशले क्रान्तिकारी विद्यार्थीहरु अग्रगामी विचार बोकेको शक्ति भएकोले सभ्य र अनुशासित भएर देशको सम्पूर्ण परिवर्तनकालागि जनक्रान्तिमा विद्यार्थीहरुको योगदानको आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) राप्ती संयोजक दिपक विष्टले प्रतिबन्धलाई छिचोल्दै शिक्षा क्षेत्रमा भएको विकृति विसङ्गति अन्त्य गर्न र शैक्षिक माफियाका विरुद्ध अझ सशक्त ढंगले अगाडि बढ्न विद्यार्थीहरुलाई अपिल गर्नुभयो । अनिल केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनपरिषद प्रमुख कुशल, विभिन्न जनवर्गीय संगठनका प्रमुखले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन अमर खड्का र स्वागत मन्तव्य दिपेन्द्र वलीले राख्नुभएको थियो । नवनिर्वाचित टिमलाई पार्टीका जिल्ला इन्चार्ज, सेक्रेटरीसहित अखिल (क्रान्तिकारी)की दाङ जिल्ला इन्चार्ज प्रितिमा चौधरी लगायतले बधाई दिनुभएको थियो ।

२०७६ असोज ४ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :