१०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारे

- ओमप्रकाश पुन

१) प्रारम्भ
आज पनि विगतमा झैँ नेपालमा विभिन्न धाराका महिला सङ्घसङ्गठनले १०९ औँ श्रमिक महिला दिवस मनाए । एनजीओमार्काका र पुँजीवादी खेमाका महिलाहरूले पार्टी भोज गरेर अनि विभिन्न खालका पोसाक र गरगहना प्रदर्शन गरेर मनाए भने क्रान्तिकारी महिलाहरूले सङ्घर्ष र बलिदान दिवसका रूपमा मनाए । अझ त्यसमा पनि नेपाल कम्युनिस्ट पार्टी निकट अनेमसङ्घ क्रान्तिकारीले त झन् केपी ओलीको दलाल सामाजिक फासिवादी सरकारको दमनको सामना गर्नुप¥यो । काठमाडौँलगायत देशका विभिन्न ठाउँबाट कैयौँ महिला नेता र कार्यकर्ता गिरफ्तारमा परे । तर केपी र प्रचण्डले भने मधेसमा पृथकतावादी गतिविधि सञ्चालन गरिरहेको सीके राउतलाई श्रमिक महिला दिवसप्रति व्यङ्ग्यवाण गर्दै माला लगाएर स्वागत गरे ।

समाजवादी आन्दोलन र क्रान्तिप्रति निम्नस्तरको गालीगलौज गर्दै दलाल केपी ओली र प्रचण्डले राजकीय सम्मान साथ साम्राज्यवादीका एजेन्ट सीके राउतलाई स्वागत गर्नु नै सिङ्गो देश र जनताप्रतिको घोर अपमान हो । घटनाक्रमले केपी र प्रचण्डको कथित कम्युनिस्ट झुण्ड इन्डो–अमेरिकी साम्राज्यवादको एँेजेरु गठबन्धन हो भन्ने कुरा सीके राउतको त्यस समूहमा भएको प्रवेशले पुष्टि गरेको छ । नेपालमा समाजवादी आन्दोलन कमजोर भएको बेला स्वतन्त्र मधेसका नाममा सीके राउतजस्ता पात्रहरू साम्राज्यवादीहरूले खडा गरेर नेपाली जनताको स्वाधीनता र मुक्तिको आन्दोलनलाई विषयान्तर गर्न खोजेका थिए तर अहिले जब समाजवादी क्रान्तिको आन्दोलन अगाडि बढ्यो तब सीके राउतहरूको भूमिका समाप्त भयो र साम्राज्यवादीका गोटी केपी–प्रचण्डको समूहमा उनी प्रवेश गरे । एनसेल प्रकरणदेखि पछिका केही मामिलाहरूमा अमेरिकी राजदूत बोल्नु र सीके राउतलाई जेलमुक्त गरेर सरकारी नेकपामा प्रवेश गराउनु सामान्य संयोग मात्रै नभएर साम्राज्यवादीहरूको डिजाइन हो ।

२) मार्च आठको सामान्य इतिहास

आठ मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको प्रारम्भ सन् १९१० मा समाजवादी नेत्री क्लारा जेट्किनले कोपेनहेगनमा भैरहेको समाजवादीहरूको दोस्रो इन्टरनेसनलको बैठकमा महिला दिवसलाई मार्च आठका दिन संसारभरि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाउनुपर्छ भनी प्रस्ताव राख्नुभएको थियो । यो मार्च आठको प्रस्ताव सम्मेलनमा सर्वसम्मत रूपवाट पारित भएको थियो । वास्तवमा यो दिवस महिलाले अधिकारका निम्ति लडेकाले सङ्घर्ष दिवसका रूपमा मनाउन सुरु गरिएको हो किनकि सन् १९०८ को मार्च महिनाको आठ तारिखको आइतबारका दिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरका गार्मेन्ट कारखानाहरूमा धेरै समाजवादी श्रमिक महिलाहरूले विरोध प्रदर्शन गरेका थिए । उनीहरू त्यहाँको प्रसिद्ध चोक रुजरस्क्वायरमा जम्मा भई महिलाहरूलाई मताधिकारको अधिकार दिलाइयोस्, गार्मेन्ट उद्योगमा काम गर्ने मजदुरहरूका लागि शक्तिशाली ट्रेड युनियन गठन तथा गार्मेन्ट कारखानालाई सुरक्षित तथा दुर्घटनारहित बनाइयोस् भनी माग गरेका थिए । त्यसै दिन अर्थात् मार्च आठको दिनलाई आधारस्तम्भ बनाएर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो । त्यसकारण यसलाई मार्च आठ पनि भन्ने गरिएको हो ।

यो सङ्घर्षको सामान्य इतिहासलाई हेर्दा श्रमिक महिलाहरू पहिलोपटक सन् १८५७ मा न्युयोर्कस्थित टेक्सटायल कारखानामा कार्यरत श्रमिक महिलाहरूले खान नपुग्ने ज्यालामा काम गर्न नसकिने भनी ज्याला वृद्धि, असीमित कामको घन्टा घटाउनुपर्ने, समान कामको समान ज्याला अर्थात् ज्यालामा गरिने विभेदको अन्त्य, सामाजिक अधिकार, सुरक्षित कार्यथलो, निःशुल्क स्वास्थ्य उपचार, हिंसामुक्त कार्यक्षेत्रलगायतको माग राख्दै आन्दोलनमा उत्रेका थिए ।

अमेरिकाको न्युयोर्क सहरमा भएको सन् १९०८ को मार्च आठको समाजवादी महिलाहरूको विरोध प्रदर्शन र मागले विभिन्न देशका समाजवादी महिलालाई झकझक्याउने काम ग¥यो । त्यसमध्ये क्लारा जेट्किन पनि एक हुनुहुन्थ्यो । त्यसैकारण अमेरिकी महिलाहरूको जुझारुपनलाई सम्मान गर्दै समान अधिकारका लागि सबै महिलाहरूले र सबै देशमा आन्दोलन गर्नुपर्छ भन्ने मूल्य र मान्यताका साथ मनाउने निर्णयलाई सम्मेलनले पारित ग¥यो ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आठ मार्च, सन् १९११ देखि लगातार मनाउन थालिएको हो । तर आवश्यकता र परिवर्तित सन्दर्भका आधारमा माग र नाराहरू कतिपय परिवर्तन हुँदै र थपिँदै गएको छ । प्रथम विश्वयुद्ध र फासिवादका विरुद्ध मार्च आठको आन्दोलनले निकै ठूलो सफलता पायो । लैङ्गिक विभेद, महिला हिंसा तथा उत्पीडनको अन्त्यको अभियानले २१ औँ शताब्दीमा आइपुग्दा ठूलो फड्को मारिसकेको छ । अहिले नारी–पुरुष बराबरी र सबै क्षेत्रमा अनिवार्य प्रतिनिधित्व, समान प्रतिनिधित्व र समान अवसरको विषय नै प्रमुख मुद्दा बन्न थालेको छ ।

सन् १९११ मा मार्च आठका दिन युरोपका श्रमिक महिलाहरूले काम गर्न पाउने अधिकार, व्यावसायिक तालिम र विभेदीकरणको अन्त्यको माग गर्दै युरोपभर प्रदर्शन गरेका थिए । सन् १९११ को श्रमिक महिला दिवसका विषयमा रसियाको सामाजिक जनवादी पार्टीकी प्रसिद्ध नेत्री अलेक्जेन्ड्रा कोलान्ताईले पुरुषहरूलाई मार्च आठका दिन आफ्ना बालबच्चाहरूको स्याहार गरेर घरैमा बस्न र गृहिणीका रूपमा कैद भएका उनीहरूका श्रीमतीहरूलाई मार्च आठका सभाहरूमा पठाउन अपिल गरेकी थिइन् । रुसी अक्टोबर क्रान्तिको तयारीका क्रममा शान्ति, रोटी र जमिनको मागलाई प्रमुख विषय बनाइएको थियो । सन् १९१७ मा अलेक्जेन्ड्रा कोलोन्ताई र जर्मन समाजवादी नेत्री क्लारा जेट्किन दुवैले युद्धपछिको रसियाको पिटर्सबर्गमा आयोजित पहिलो ८ मार्चको कार्यक्रममा भाग लिनुभएको थियो । सोभियत युनियनकी मन्त्रीसमेत रहनुभएकी कोलोन्ताईले लेनिनसमक्ष मार्च आठको दिनलाई आधिकारिक रूपमा नै वीराङ्गना श्रमिक महिलाहरूको दिवसका रूपमा मनाइयोस् भनी प्रस्ताव गर्नुभएको थियो । पछि गएर उक्त मार्च आठको दिनलाई नै संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा संयुक्त राष्ट्रसङ्घको महिला अधिकार र शान्ति दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।

त्यसपछि नै संसारका बुर्जुवा कित्ताका महिला र सरकारहरूले पनि यसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाउन थाले । यद्यपि समाजवादी महिला आन्दोलनका क्षेत्रमा भने सन् १९१० पछि नै मनाउन थालिएको थियोे । यसले विश्वव्यापी रूपमा चाहे सुधारवादी महिला आन्दोलन होऊन् वा समाजवादी क्रान्तिकारी महिला आन्दोलन होऊन् विकास गर्नमा ठुलो योगदान ग¥यो । त्यति मात्रै नभएर महिला आन्दोलनलाई समाजवादी र जनवादी राजनीतिक आन्दोलनसँग जोड्ने काम पनि ग¥यो । चाहे सन् १८७१ को पेरिस कम्युनको विजय होस्, चाहे सन् १९१७ को रुसी अक्टोबर क्रान्ति वा सन् १९४९ को चिनियाँ जनवादी क्रान्ति होस्, सबैमा यो आन्दोलनको प्रभाव परेको छ । त्यति मात्र नभएर अन्य देशमा समाजवादी वा पुँजीवादी क्रान्तिसहित नेपालमा चलेको दसबर्से महान् जनयुद्धमा पनि यसको ठुलो प्रभाव परेको थियोे ।

३) सारांश

तर विडम्बना हाल आएर यो आठ मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई सङ्घर्ष दिवसका रूपमा नभई एनजीओ र आईएनजीओकरण गरिएको छ । अर्थात् यो दिवस श्रमिक महिलाहरूको दिवस नभई सम्भ्रान्त र हुनेखाने महिलाहरूको भोजभतेर खाने र सरकारी ढुकुटी रित्याउने दिवसका रूपमा परिणत भएको छ । खासमा श्रमिक महिलाहरूले अहिले पनि यो दिवसको महत्व र अर्थ बुझ्न सकेका छैनन् । उनीहरूले यसको फाइदा पनि लिन सकिरहेका छैनन् र चौबीसै घन्टा अहिले पनि श्रममा जोतिरहेका छन् । तर जसले श्रमिक महिलाको आन्दोलन दबाउन खेल खेले तिनैले आज यसको सुविधा र फाइदा लिइरहेका छन् । श्रमिक मजदुर दिवस पनि मालिकले मनाउने र श्रमिक महिला दिवस पनि मालिकले मनाउने गलत पुँजीवादी परम्परा अहिले कायम भएको छ । यसलाई वास्तविक श्रमिक महिला र समाजवादी चेतनाले हस्तक्षेप गर्नुपर्ने तथा यसलाई भातमासु खाने हैन, सङ्घर्ष दिवसका रूपमा मनाउनुपर्ने आवश्यकता बोध भएको छ । नेपालमा जनताले चाहेको राजनीतिक क्रान्ति अझै पूरा भएको छैन । दसबर्षे महान् जनयुद्ध र जनआन्दोलनको जनादेशविपरीत नेपालका संसद्वादी दलहरूले पुरानै दलाल संसदीय पुँजीवाद फर्काएका छन् र त्यसमा प्रचण्ड–बाबुराम समूहले आत्मसमर्पण गरेको छ । यसले देशमा पुरानै खालको डनवाद र धनवाद फर्काएको छ । साम्राज्यवादी पुँजीवादीहरूको योजनामा कथित कम्युनिस्टको नामबाट नेपालमा पुनः सामाजिक फासिवादमार्फत क्रान्तिकारी आन्दोलनलाई दमन गर्ने कदम अगाडि बढाइएको छ । विगतमा काङ्ग्रेसको फासिवादले नेपालको सुरक्षा प्रशासनलाई दुरुपयोग गरेर यो देशमा जनयुद्धको जन्म र विस्तार गराएको थियोे भने अहिलेको केपी ओलीको सामाजिक फासिवादले एकीकृत जनक्रान्तिको विकास र विस्तार गराउँदैछ । महिलाहरूको महान् दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस, जनयुद्ध दिवस र सहिद सप्ताह तथा सम्मान कार्यक्रममाथिको फासिवादी दमनले यही कुराको सङ्केत गर्दछ । क्रान्ति सम्भव छ । जनताले केपी ओलिको सामाजिक फासिवाद र लुटपाटलाई अस्वीकार गरेका छन् । जनताले समाजवादको चाहना राखेका छन् । हाम्रो पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशामा समाजवादी क्रान्तिको मार्गमा अगाडि बढिसकेको छ । त्यसैले १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले नेपालका सिङ्गो श्रमिक तथा उत्पीडित महिलाहरू एमताबद्ध भै समाजवादी क्रान्तिको महाअभियानमा लाग्ने प्रेरणा मिलोस् ।
 २०७५  फागुन २४ गते शुक्रबार  प्रकाशित