हिरासत र जेल बसाइ : क्रान्तिमा थपिएको पाइन

संस्मरण

- विवेक लामा

म कार्यक्षेत्र रामेछापबाट पारिवारिक भेटघाट र व्यक्तिगत कामले काठमाडौँ आएको थिएँ । त्यो दिन वैशाख २७ गते थियो । आदरणीय महासचिव कमरेड विप्लवले नेतृत्व गर्नुभएको हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई फागुन २८ गते दलाल संसदीय व्यवस्थाका मतियार पीके एन्ड बादल कम्पनीले प्रतिबन्ध लगाएको थियो । हाम्रो पार्टीमाथि लगाइएको प्रतिबन्धको विरोधस्वरूप रत्नपार्क शान्तिवाटिकामा विभिन्न वाम पार्टीले वैशाख २७ गते विरोध कार्यक्रम आयोजना गरेका थिए । त्यसमा मोहन वैद्यले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), गोपाल किराँतीले नेतृत्व गरेको एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी, ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी, देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलसमेतको उपस्थितिमा विरोध कार्यक्रम रहेछ । म न्युरोडतिरबाट कार्यक्रमस्थल पुगेँ । चिनजानका मित्रहरूसँग भेटघाट भयो । एक मनले कार्यक्रममा नबसौँ किझैँ लाग्यो । फेरि अर्को मनले सोचेँ– कार्यक्रममा बस्नुपर्छ र सामाजिक फासिवादी दलालहरूका विरुद्ध ऐक्यबद्धता जनाउनुपर्छ । मैले बस्ने निर्णय गरेँ ।

कार्यक्रम सुरु भयो । विभिन्न पार्टीका शीर्षस्थ नेताहरूले आफ्नो भनाइ राखे– कमरेड विप्लवले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउनु फासिवादी कदम हो । यो कदम केपी–प्रचण्डमण्डलीले नसच्याए यसको मूल्य धेरै महँगो पर्नेछ । एउटा कम्युनिस्ट नेतृत्वको सरकारले अर्को कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु भनेको जनताको मौलिक हकअधिकारमाथि अङ् कुश लगाउनु हो र देशलाई पुनः युद्धमा धकेल्नु हो । विप्लवले नेतृत्व गरेको पार्टीमाथि लगाइएको प्रतिबन्ध तत्काल खारेज नगरे विप्लवहरू अर्धभूमिगत ढङ्गले लड्छन् । हामीलाई खुला तरिकाले लड्न बाध्य नबनाइयोस् । यस्ता विचारहरु राखिएपछि कार्यक्रम समाप्त भयो ।

म पनि आफ्नो गन्तव्यतिर जाने तरखरमा लागेँ । पुरानो बसपार्कबाट बनेपा जाने बसमा चढेँ । बसमा चढ्नेबित्तिकै मनमा एक किसिमको शङ्का मडारिन थाल्यो । कतै दुस्मनले पछ्याइरहेको त छैन ? भन्ने लाग्यो । माइतीघर, बानेश्वर हुँदै बस कोटेश्वरमा आइपुग्यो । एकछिन यात्रु चढाउन रोकियो । त्यही समयमा शङ्का लाग्ने दुईजना मान्छे बसमा चढे । लोकन्थली र कौशलटारको आसपासमा पुगेपछि खासखुस कुरा गर्न थाले जुन कुरा जोकसैले बुझ्न सक्दैनथे । नयाँ ठिमीतिर पुगेपछि मोबाइलमा केही हेरेझैँ गरे । सायद मेरो तस्बिर हेरेका थिए होला । म अन्य यात्रुको ओझेल पर्न खोजेँ । उनीहरू भने म भएकै ठाउँमा आउन थाले । सल्लाघारी कटेर सूर्यविनायक पुगियो । म त्यहीँ ओर्लनुपर्ने तर शङ्का लागेकाले त्यहाँ ओर्लिनँ । म भक्तपुरको जगातीनजिकै आदर्श भन्ने ठाउँमा ओर्लिएँ । ती मान्छेहरू ओर्लिन खोज्दाखोज्दै बस अगाडि बढ्यो । म त्यही मौका छोपेर सानो खोल्साको तीरैतीर उकालो लागेँ । म पाण्डुबजार आइपुगेको नै पत्तो भएन । सायद ती मान्छे अलिकति अगाडि ओर्लिए क्यारे । म पाण्डुबजारको गल्लीमा आँखा चनाखो पारेर दायाँबायाँ हेरेर के बसेको थिएँ, त्यही पो घेरा हालियो । सबै सिभिल पोसाकमा थिए । नजिकै गाडी रहेछ । ठूलाठूला पाखुरा भएका तीनजनाले दुवै हातको पाखुरामा समाते । मैले केही प्रश्न सोध्न खोजेँ तर कुनै जबाफ दिएनन् । तपाईंहरू को हो ? मलाई किन समात्नुभएको ? भनेर सोधेँ । त्यसपछि बल्ल भने– हामी प्रहरी हौँ । तपाईंलाई केही कुरा सोधपुछ गरेपछि यहीँ ल्याएर छोडौँला । त्यसो भन्दै उनीहरुले मलाई गाडीमा हाले ।

गाडी अगाडि बढ्यो । त्यसपछि मेरो साथमा भएको मोबाइल, सानो झोला सबै कब्जामा लिइयो । गाडी सल्लाघारी पुगेपछि सानोठिमीतिर लाग्यो, पेप्सीकोला चोकमा पुग्यो र जडीबुटीतर्फ अगाडि बढ्यो । मनमनै सोचेँ– यतै ल्याउने भए सीधा बाटो नै आएको भए हुन्थ्यो नि ! किन घुमाउनुप¥यो ! कोटेश्वरको जाममा केही समय लाग्यो । जाम खुल्न मात्र लागेको थियो त्यसपछि हतकडी र कालो कपडा निकालेर आँखामा कालोपट्टी र हतकडी लगायो । कोटेश्वर चोकबाट गाडी कुन दिशातिर लाग्यो भन्ने नै थाहा भएन ।

आँखामा कालोपट्टी बाँधेर त्यस्तै आधा घण्टा गाडीमा लगेपछि गाडीबाट ओराल्यो । दुईजनाले हातमा समातेर एकतला माथि लग्गे र प्लास्टिकको कुर्सीमा बसाले । त्यतिबेला करिबकरिब साँझको सात बजेको थियो होला । दस मिनेटपछि एकजना मान्छे आएको सङ्केत भयो । त्यो मान्छेले के छ नेताज्यू भन्दै व्यङ्ग्यात्मक तरिकाले सोध्यो । म चुपचाप बसेँ । त्यो मान्छेले आँखामा लगाएको पट्टी नियाल्यो । अलि खुकुलोजस्तो लाग्यो क्यारे कसेर बाँध्यो । त्यसपछि सुरु भयो सोधपुछ ।

रामेछापबाट कहिले त नेताज्यू ?
मैले भनेँ दुई दिन भयो ।
तपाईं त सरकार प्रमुख, के छ नयाँ योजना ?
मैले केही थाहा छैन भनेँ ।
सबै हामीलाई थाहा छ, तपाइलाई किन थाहा नहुने ? भन्दै उसले ठूलो स्वरमा भन्यो । सेक्रेटरी र इन्चार्ज कहाँ छन् ? भन्दै मसिनो स्वरमा सोध्यो । मैले मलाई थाहा छैन भनेँ ।
सँगसँगै थियौ, कहिले छुटे त ? उसले सोध्यो ।
मैले भनेँ– हामी सँगै थिएनौँ ।
अनि सेक्रेटरी र इन्चार्जको राम्रो सम्बन्ध छैन रे । किन चन्दा उठाएको पैसाका बारेमा हो ? उसले मन चोर्न खोज्यो ।
मलाई थाहा छैन– मैले भनेँ ।
अनि दुईमहिने अभियान त राम्रै चलेको रहेछ । पैसा कति उठ्यो ? कतिजनालाई जनकारबाही गरियो ? अभियानको कमान्डरको नाम के हो ? सेनाको कमान्डर को थियो ? हतियार कति थियो ? युवाको अध्यक्ष को हो ? रामेछापको जिल्ला समितिमा कतिजना छन् ? केके नाम गरेकाहरु छन् ? जनयुद्ध दिवस कहाँ मनाइयो ? अतिथि को थियो ? भन्दै एकसाथ सयौँ प्रश्न तेस्र्याएर मानसिक यातनाको सिकार बनायो । मैले यी सबै प्रश्नको जबाफ एकैपटक दिएँ– मलाई थाहा छैन ?
त्यसपछि उसले अलि कड्किएर भन्यो– सबै कुरा हामीलाई थाहा छ तर कति सत्य बोल्दो रहेछ भनेर मात्र सोधेको हुँ ।
मैले भनेँ– सबै कुरा हामीलाई भन्दा तपाईंहरूलाई थाहा रहेछ त किन सोध्नुहुन्छ ?
ए केटा हो अघि बाटोमा मर्मतसम्भार भयो कि भएन ? उसले सोध्यो ।
छैन साब भन्दै एकजना जवान तनक्क तन्कियो । आफूले नदेखे पनि सङ्केत त्यस्तै आयो ।
त्यसपछि त्यो सोधपुछ गर्ने व्यक्ति गयो । सोचेँ– अब शारीरिक यातना पनि दिने रहेछ । दस मिनेटपछि अर्को व्यक्ति आयो र पुनः त्यही प्रश्न तेस्र्यायो । मैले भनिसकेँ मलाई केही थाहा छैन । दुई जवान मेरो निगरानीका लागि बसेका न्छ । मलाई चर्पी लाग्दा हात समातेर लाने, पानी प्यास लाग्दा पानी ल्याइदिने तिनै जवानहरू थिए । मेरो चुरोट पिउने बानी भएकाले तलतल लागिरहन्थ्यो । ती जवानहरू पनि बेलाबेला चुरोट सल्काउँथे हाकिमको आँखा छलेर । एकपटक त मन नै थाम्न नसकेर भनेँ– एक सर्को तान्न मिल्छ ?
एउटाले तपाईं पनि चुरोट पिउनुहुन्छ भन्दै आदर पूर्वक सोध्यो ।
हो, पिउँछु, मैले भनेँ ।
हाकिमले देख्यो भने गाली गर्छ भन्दै हतार गरेजसरी अलि छिटो पिउनुहोस् भन्दै मुखमा आफैँले ल्याइदियो । मैले हतारमा चारपाँच सर्को तानेपछि भयो भनेँ । रातको दस बजेतिर प्लास्टिकको कुर्सीबाट तल झार्यो । अब सुरु भयो भन्ने सोचेँ र मनलाई दह्रोसँग समाल्ने कोसिस गरेँ । भित्तापट्टि फर्की भन्यो । खुट्टा दोबारेर बस् भन्यो । त्यसो भनेपछि सिन्धुपाल्चोकमा पक्राउ परेका साथीहरूले भनेको कुरा याद आयो । मनलाई दह्रोसँग बाँधेँ । खाना ल्याएको रहेछ । खाना खान मन लागेन । दुईचार गाँस खाएर खाना फिर्ता गरेँ ।
पङ्खा चलिरहेको छ आफ्नै गतिमा । बेलाबेला प्लास्टिकको कुर्सीमा ठाडै निदाएँ । जाडो हुँदा लगलग कामिरहेको हुन्थेँ । मलाई कुर्ने डिउटीमा बसेका जवानहरूले दया लागेर फ्यान बन्द गरिदिन्थे । बेलाबेलामा सोधपुछ गरिरहन्थे । उही प्रश्न दोहोर्याइरहन्थ्यो । म उही जबाफ दिन्थेँ– थाहा छैन । बरु जस्तोसुकै यातना सहन तयार हुन्थेँ । हामी क्रान्तिकारीहरू फलामे अनुशासन तोड्न सक्तैनथ्यौँ ।

बिहान भएको सङ्केत भयो । मान्छेहरूको चहलपहल बढ्न थाल्यो । बिहानीपख दुईपटक सोधपुछ गर्यो । मैले उही थाहा छैन भन्ने जबाफ दिइरहेँ । यो त सुकेको छालाभन्दा चाम्रो रहेछ । यसलाई कसरी तह लगाउनुपर्छ भन्दै डर देखाइरहेको हुन्थ्यो । म भने जे त पर्ला भन्दै झन् मनलाई कठोर पार्दै बसेँ । प्रश्न सोध्न आउने मान्छेमाथि घृणा जाग्दै आयो । बिहानको एघार बजेतिर होला खाना ल्याएछ । बेलुकी थोरै खाएको कारणले भोक लागेको थियो । कपाकप खाइयो । यता परिवारलाई तनाव । आउँदैछु भनेको मान्छे नआउँदा तनाव हुनु स्वाभाविक नै थियो । सयौँपटक फोन गरेको छ, फोन उठाउँदैन । कोठा कहाँ छ भन्दै सोध्दै थियो । छैन कोठा भनेको थिएँ । अन्तिममा श्रीमतीको नम्बरमा फोन ट्र्याक गरेर लोकेसन पत्ता लगाएछ । भक्तपुरबाट आएको छ फोन भन्न थालेपछि कोठा छ भन्न बाध्य भएँ ।

वैशाख २८ दिउँसोको दुई बजेको थियो होला, फेरि गाडीमा चढायो । मनमनै सोचेँ कता लान थाल्यो भनेर । तर हनुमानढोका परिसरमा ल्याएको रहेछ । त्यहाँ जिम्मा लगायो र त्यहाँबाट कोठा खानतलासी लिन सँगै लिएर आयो । कोठामा आउँदा साला भाइ, श्रीमतीलगायत आफन्तजन मेरो खोजतलास गर्न गएका रहेछन् । कोठामा माइली छोरी मात्र रहिछे । म हतकडीसहित थिएँ । कोठामा केके सामान छ ? पेस्तोल छ कि छैन भन्दै छोरीलाई सोधपुछ गर्न थाल्यो । छैन भन्ने जबाफ आएपछि पलङ, दराज सबै पल्टाएर हेर्न थाले । किताबहरूचाहिँ प्रसस्तै थिए । महासचिव कमरेड विप्लव र पार्टीका अन्य शीर्षस्थ नेताहरूका रचनाहरू, मासिक बुलेटिन, थबाङ डायरीसहित झन्डै ७५ थान किताब र कमरेड माइला लामाको मातृभूमि गीति क्यासेट १२ थान बोरामा हालेर मलाई पुनः टेकुमा लगियो ।
टेकु महाशाखाबाट परिसर हिरासतमा बुझाइयो ।

म पक्राउ परेको दिन अर्थात् वैशाख २७ गते अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल पनि पक्राउ परेको खबर सुनेको थिएँ । उहाँ पनि त्यहीँ हुनुहुँदोरहेछ । अन्य दुईजना कमरेडहरू पनि त्यहीँ हुनुहुँदो रहेछ । परिचय आदानप्रदान गरियो । बल्ल खुसीको महसुस भयो । अब जस्तोसुकै यातनालाई पनि सहजै पार लगाउन सकिन्छ भन्ने हौसला आयो ।

म पक्राउ परेको तीन दिनपछि पक्राउ पुर्जी दियो । पक्राउ पुर्जी लिन मानिनँ मैले । जबर्जस्ती थमायो । पक्राउ पुर्जीमा लेखिएको रहेछ– राज्यविरुद्धको कसुर र विद्युतीय अपराध । सामाजिक सञ्जाल फेसबुकमा नवमण्डले, देशलाई खोक्रो बनाउने दलालहरूको भण्डाफोर गरेकोमा मलाई राज्यविरुद्धको मुद्दा लगाई २६ दिनसम्म दुस्मनको हिरासतमा र १७ दिन भद्रगोल कारागारमा राखियो । हिरासत र कारागारमा बस्दा आफन्तजनहरूले गरेको सहयोग, कानुन व्यवसायीहरूले गरेको सहयोगलाई म चाहेर पनि बिर्सन सक्तिनँ । उहाँहरू सबै धन्यवादको पात्र हुनुहुन्छ ।

विश्व सर्वहारावर्गका महान् नेताहरूले भन्नुभएको थियो– क्रान्तिकारीहरूका लागि दुस्मनको जेल र हिरासत एउटा युद्धको ट्रेन्च हो । हो, आज नेपाल कम्युनिस्ट पार्टीका पाँच सयभन्दा बढी नेता तथा कार्यकर्ता केपी–बादलको जेल र हिरासतमा चरम शारीरिक तथा मानसिक यातनाको सिकार बनिरहेका छन् । त्यहाँ पनि एक किसिमको सङ्घर्ष चलिरहेको छ भने बाहिर रहनुहुने क्रान्तिकारी योद्धाहरूले पनि सामाजिक दलाल फासिवादी केपी–बादलका विरुद्ध चौतर्फी धावा बोलिरहेका छन् ।

हिरासतमा बस्ने क्रममा पार्टीका धेरै कमरेडहरूसँग भेट भयो । कतिपय कमरेडहरू दुस्मनको यातना सहन नसकेर आत्मसमर्पण गरेर छुटे भने कतिपय कमरेडहरू बरु सहिद बन्न तयार हुने तर दलालहरूसँग नझुक्ने प्रतिबद्वतासहित एकीकृत जनक्रान्तिको माध्यमबाट आउने सुन्दर वैज्ञानिक समाजवादको परिकल्पना गर्दै बस्नुभएको छ । भद्रगोल कारागार बस्ने क्रममा अखिल (क्रान्तिकारी) का पूर्वसचिवालय सदस्य कमरेड केदार, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष कमरेड राजुलगायत कमरेडहरूसँगको भेटघाटले झन् क्रान्तिप्रति ऊर्जा थपिएको छ । बरु बलिदान गर्न तयार हुनेछु तर दलालहरूसँग कुनै पनि सम्झौता गर्दिनँ भन्ने प्रतिबद्वता व्यक्त गर्दै बारम्बार दोहो¥याउँछु– क्रान्ति सम्भव छ । क्रान्ति र सङ्घर्षको दौरानमा सहिद हुनुभएका कमरेड कुमार पौडेल, तीर्थ घिमिरेलगायत सम्पूर्ण महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली !

२०७६ भदौ १४ गते शनिबार प्रकाशित