हामी पनि त जेलमै छौँ साथी !

- अनिल शर्मा ‘विरही’

पुँजीवादका ब्रह्माका जस्ता चारवटा टाउका र हजार जिब्राहरू हुन्छन् । इतिहासतिर फर्केर हेर्ने हो भने पुँजीपतिहरूले मिखाइल गोर्बाचोभलाई नोबेल शान्ति पुरस्कार प्रदान गरेर फुरुक्क पारे र सोभियत सङ्घ विघटन गराए । निजी स्वार्थसँग राष्ट्रिय स्वार्थ साटियो । चीनका राष्ट्रपति सी जिनपिङ गोर्बाचोभ पथमा जान नचाहेपछि उनलाई पुँजीवादका मुखियाहरूले माओतिर फर्केको आरोप लगाइरहेका छन् । आजको विश्वमा अमेरिकामा कम्युनिस्टको झन्डा देखाउनसमेत नपाउने अवस्था छ । भारतमा हिन्दु अतिवादी भाजपा सरकारले सन् २०१८ सम्म भाकपा (माओवादी) लाई समाप्त गर्ने घोषणा गरेको हो । उसले जङ्गलको माओवादीभन्दा सहरको माओवादी खतरनाक भन्दै बौद्धिक तप्कामाथि हमला गरिरहेको छ र नेपालमा क्रान्तिकारी कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको छ ।

देशलाई सत्तारूढ फासिवादले जेलमा बदलिदिएको छ । यो जेलमा पनि अझ साँघुरो जेल हो । नेपाल नामको जेलभित्र साँघुरा सबै जेलहरू गोलघरका रूपमा रहेका छन् । त्यसैले, साथीहरू ! कमरेडहरू !! हामी पनि जेलमै छौँ । तपाईंहरू जेलभित्रको अझ सानो जेल, गोलघरभित्र हुनुहन्छ । त्यसैले हामी जहाँ भए पनि माक्र्सवादको रक्षा गर्नुपर्छ र क्रान्तिकारी भावनाको रक्षा गर्नुपर्छ । ठूलो जेलमा हामी मिलेर लड्थ्यौँ । गोलघरमा तपाईं एक्लै हुनुहोला । त्यो मोर्चामा तपाईं नै जवान र कमान्डर दुवै हुनु पर्नेछ । म यात्रामा छुटेका भूपू कमरेडहरूलाई सम्झन्छु, प्रचण्ड—वैद्य हुँदै हामीतिर आएका सबैको वैचारिक स्तर एकनास रहेनछ । आफ्नै प्रतिबद्धता बिर्सेर उनीहरू बीचबाटै ढले । आकाशतिर थुतुनो फर्काएर थुक्न थाले । त्यसपछि विप्लवको यात्रा जनयुद्ध नै रहेछ, नयाँ होइन रहेछ । छापामार लडाइँतिर रहेछ भन्दै मुखियाको दैलोमा पाउ पर्न गए । कतिपयको चेतना जीवन निर्वाहमुखी मात्र रहेछ ।

कमरेड ! तपाईंलाई थाहै छ केही समयअगाडि अमेरिकी सरकार र तालिवानी प्रतिनिधिहरूका बीचमा शान्तिवार्ताको प्रयास भयो । अफगानिस्तानमा तालिवान विद्रोहमा १ हजार २ सय अस्ट्रेलियाका मुस्लिम युवाहरू संलग्न रहेछन् । शान्तिवार्ताको एउटा विषय यो पनि थियो । उनीहरूलाई (अस्ट्रेलियाका युवाहरूलाई) के भौतिक अभाव थियो र मुस्लिम भूमि बनाउन अस्ट्रेलियाबाट अफगान विद्रोहमा आए त ? यो बहससँगै चेको सम्झाना झन् गाढा भएर आउँछ ।

त्यसैले क्रान्ति उचालेको कुकुरले सिकार गरेजस्तो विषय होइन । हाम्रो दिमागमा आगो बाल्नुपर्छ, आगो । २०६४ सालमा जेलबाट छुटेपछि पनि कतै स्वतन्त्रता अनुभूति भएको थिएन । त्यसबेला मैले ‘फुर्वा भाइ ! हामी पनि अझै जेलमै छौँ’ नामको निबन्ध लेखेको थिएँ । आज पनि देश उस्तै, मान्छेको दशा उस्तै छ । हाम्रो पछिपछि नराधमका झिँगाहरू भन्किरहेका छन् । तिनीहरू त कालापानी जानुपथ्र्यो, सुस्ताहुँदो जानुपथ्र्यो । नामर्दहरूको झुण्ड त्यसरी सोच्नै सक्दैन । तिनीहरू त ‘अपने अपने गल्ली मे तो कुत्ता भी शेर होता है’ भनेझैँ पो गर्छन् । सानालाई कुल्चनु र मालिकको पाउ चाट्नु तिनीहरूको धर्म हो । त्यसकारण क्रान्तिरकारी पङ्क्तिमा हिँड्दै गर्दा भाँच्चिएका, कुच्चिएकाहरूलाई थुपारेर प्रचण्डमण्डली भगौडाहरूको पार्टी बनाउन खोजिरहेको छ जसले कुनै पनि बेला प्रचण्डकै काँधमा छेरेर हिँड्नेछन् ।

हामी यता नेपालमा प्रचण्ड—बाबुराम प्रवृत्तिविरुद्ध विद्रोह बोलिरहेको बेला उता कोलम्बियाबाट सुखद खबर आएको छ । तीन वर्ष पहिले फार्क विद्रोहीहरू र कोलम्बिया सरकारका बीचमा शान्तिवार्ता भएर सशस्त्र विद्रोह रोक्ने घोषणा भएको थियो । तर प्रतिक्रियावादी सरकारले क्रान्तिकारहिरूमाथि निरन्तर दमन गरेपछि शान्तिपूर्ण परिवर्तन असम्भव भएको भन्दै फार्क विद्रोहीहरू पुनः सशस्त्र सङ्र्घषमा फर्किने निर्णय गरेका छन् । यो निर्णय उत्पीडित समुदाय, श्रमिकवर्ग र क्रान्तिकारीका लागि शिक्षाप्रद छ जसले हाम्रो कार्यदिशालाई वैज्ञानिकता प्रदान गरेको छ । जहाँ दमन हुन्छ, त्यहाँ नयाँ रूपले विद्रोह उठ्छ ।

प्रचण्ड—बाबुरामका विरुद्ध हामी कसैका खेताला भएर विद्रोह बोलेका थिएनौँ । नेकपाको पारित दस्ताबेज भन्छ, ‘नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गर्दा र एकीकृत जनक्रान्तिको कार्यदिशा निर्माण क्रान्ति, परिवर्तन र मुक्तिका निम्ति गरेको प्रतिबद्धता र खाएको कसमलाई दुस्मनको एक मामुली धक्कामै परित्याग गरेर उसैसामु मुन्टो लतार्न र घुसार्न पुग्नु भनेको पार्टीकै लागि एउटा चुनौती बनेको छ ।’ त्यसैगरी त्यस सम्बन्धमा दस्ताबेज अझ अगाडि भन्छ, ‘सरकारले आफ्नो यो रणनीतिलाई पूरा गर्न हाम्रो पार्टीभित्र देखिने छिद्रहरूलाई प्रयोग गर्ने, गिरफ्तार गर्ने र वार्ताका पक्षमा बोल्न लगाउने, आत्मसमर्पण गराउने अनि आत्मसमर्पणवादीहरूलाई नै प्रयोग गरेर पार्टीका विभिन्न नेताहरूसम्म पुग्ने घातक खेल खेल्दैछ ।’ हामी यसप्रकारको पेचिलो वर्गसङ्घर्षको मोर्चामा छौँ । आफ्नोआफ्नो मोर्चामा विजय हासिल गर्नुपर्छ । क्रान्तिमा दुर्घटना हुन सक्छन् । धरापमा जोकोही पर्न सकिन्छ ।

२०७६ मंसिर १ गते आइतबार प्रकाशित