स्रष्टा/संस्कृतिकर्मीको गिरफ्तारी र सिर्जनाको चिरहरण

समय समीक्षा

- अशोक सुवेदी

आफ्नै जन्मथलोमा युद्ध र कलासम्बन्धी नमुना सङ्ग्रहालय निर्माण गर्ने मेरो स्वप्नयोजना (ड्रिम प्लान) साकार पार्न हल निर्माण गरिरहेको समयमा अप्रिय खबर सुनियो ः अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्षसमेत रहेका नेकपाका केन्द्रीय सदस्य एवम् उपत्यका विशेष ब्युरोका इन्चार्ज कमरेड माइला लामालाई जनताको घरमा सेल्टर (सुरक्षित आवास) लिइरहेकै स्थानमा मध्यरातमा रामबहादुर थापा गृहप्रशासनले घर घेरा हाली गिरफ्तार ग¥यो । मध्यरातमै माइलाले आफू बसेको घरको छतबाट जनतालाई सम्बोधन नगरेको भए प्रहरी तीर्थ घिमिरे ‘राजु’, कुमार पौडेल र निरकुमार राई ‘प्रशान्त’ लाई जस्तै नक्कली मुठभेडको तयारीमा थियो । जनताले होहल्ला गरेपछि कमरेड माइलालाई गिरफ्तार मात्र गर्न प्रहरी विवश भयो ।

त्यस्तै अर्को खबर थियो– महासङ्घकै महासचिवसमेत रहेका नाटककार खेमराज थपलियालाई प्रहरीले बागबजारको एउटा पसलमा चिया पिइरहेको समयमा गिरफ्तार ग¥यो र कार्यालयमा लगेर कम्प्युटरलगायत सामग्रीसमेत जफत ग¥यो ।

केही समयअघि पनि यस्तैयस्तै नकारात्मक सन्देश दिने समाचारहरू सुन्नुपरेको थियो– नेकपा स्थायी समिति सदस्य एवम् मध्यकमान्ड इन्चार्जसमेत रहेका माक्र्सवादी स्रष्टा कमरेड हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई प्रहरीले काभ्रेको एउटा गाउँ नै घेरा हालेर गिरफ्तार ग¥यो । त्यसैगरी नेत्री एवम् लेखक बन्धु चन्द, नेत्री एवम् लेखक भृकुटीलगायत सयौँ नेता–कार्यकर्ता र स्रष्टालाई प्रहरीले अपराधीलाई झैँ गिरफ्तार गर्दै हतकडी लगाएर देशका विभिन्न ठाउँमा घुमाउँदै अन्त्यमा राजद्रोहको मुद्दा लगाउँदै पुर्पक्षका लागि जेल पठाएको छ । नेता एवम् स्रष्टाहरू समातिने, जेल र हिरासत पु¥याइने, झूट्टा मुद्दा लगाइने, सकेसम्म प्रलोभन देखाउने, गन्धे सत्ताको चास्नीमा फसाउन खोज्ने, फस्ने मनोवृत्तिका कमजोर पात्रहरूलाई फसाई पनि हाल्ने र विचारमा दृढ र व्यवहारमा पाकाहरूलाई डर, त्रास र धम्की दिएर आत्मसमर्पण गर्न यातना दिने क्रम राणाकाल, पञ्चायती काल र शाहीकालमा जस्तै घिनलाग्दो किसिमले बढेको छ । घटनाक्रमहरू उस्तै किसिमले दोहोरिएकाले अभिव्यक्तिका विषय, शैली र सन्दर्भहरू पनि उस्तै किसिमले पुनरावृत्त भइरहेका छन् र पनि यी आवश्यक छन् ।

यस्ता घटना र विषयहरू दोहोरिइरहँदा मनमा बारम्बार उठिरहने र साह्रै मनखत लागेर भनिरहनुपर्ने, दोहो¥याइरहनुपर्ने लागेको कुराचाहिँ के हो भने महान् जनयुद्धका क्रममा २०५५ साल पुस १९ गते तेस्रो बेथान वीरता दिवसका अवसरमा ललितपुरको भट्टेडाँडा प्रहरीचौकीको सफल कारबाहीपछि जनादेश साप्ताहिकमा प्रकाशित समाचारको विषयलाई लिएर तत्कालीन सत्ताले चौकीका घाइते प्रहरीहरूलाई झूट्टा बयान दिन लगाएर ‘भट्टेडाँडाको लडाइँमा हामीलाई गोली हान्ने यही हो’ भन्दै बेपत्ता पारिएको, आफूलाई पुर्नका लागि आफैँलाई खाल्टो खन्न लगाइएको र कार्यालय र निवासमा रहेका महत्वपूर्ण अध्ययनसामग्री र सिर्जनाहरू लुटपाट गरेर फिर्ता नगरिएका पीडादायी घटनाहरू सम्झिएर मन अझै भयभीत र विह्वल हुन्छ । संयोगले आस्था र जीवन त जोगियो तर त्यतिबेला बडो मुस्किलले जम्मा पारेका अध्ययन सामग्रीहरू जोगाउन सकिएन अर्थात् तत्कालीन सत्ताले तिनलाई जफत गरेर नष्ट गरिदियो !

संसारकै हरेक प्रतिक्रियावादी सत्ताहरूले परिवर्तनका पक्षधर क्रान्तिकारीहरूमाथि सबैभन्दा धेरै वा बढी गर्नसक्ने भनेको असह्य प्रताडना दिने र भौतिक रूपमा हत्या गर्नेसम्म हो । हरेक असल क्रान्तिकारीहरू वर्गमुक्तिका लागि संसार जित्न र आफ्नो जीवन आहुत गर्नसम्म तयार भएरै क्रान्तिमा लामबद्ध भएका हुन्छन् । यो कुरा केपी वलीले बिर्सिए पनि एक दशकअघिसम्म वर्गयुद्धमा होमिएका पुष्पकमल दाहाल र रामबहादुर थापाहरूले नबुझेका होइनन् र बिर्सिएका छैनन् भन्नेमा म प्रस्ट छु । यो मेरो भ्रम पनि हुन सक्छ । आस्था र विचार जब्बर हुन्छ भन्ने कुरा दाहाल र थापाले बुझपचाए पनि अवश्य भुलिसकेका भने छैनन् । एउटा स्रष्टा, संस्कृतिकर्मी, लेखक, पत्रकार र क्रान्तिकारी विचारका पक्षधरसँग उसको सम्पत्ति भनेको उसले आर्जन गरेको अनुभव, उसले जोगाएको विचार, उसको वर्गपक्षधरता, उसका सिर्जना, उसले अध्ययन गरेका पुस्तक–पत्रिका, उसले लेखेका÷निर्माण गरेका रचना÷सिर्जना, अध्ययनका लागि तयार पारेका सामग्री तथा पुस्तकलगायत सामग्रीहरू हुन् ।

वर्तमान कति छिटोछिटो प्रतिगामीकरण भइरहेको छ भने सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा हेर्दाहेर्दै खसेर बगेको पहिरोझैँ एक दशकअघिसम्म नायक र आदर्श मानेका योद्धाहरू, अगुवाहरू, पात्रहरू छिनछिनमै खलनायक बन्दै गएका छन् । हिजो सँगै लडेको, हिँडेको, खाएको, सुतेको, स्वस्थ वैचारिक छलफल र बहस गरेको कमरेड आज राज्यसत्ताको बन्दुक लिएर गिरफ्तार गर्न आइपुगेको छ र हिजो शाहीकालमा भैरवनाथ गणमा थुनेर अमानवीय यातना दिँदा मुस्किलले हाडछाला र विचार जोगाएर बाँचेका कमरेडहरू आज क्रान्तिकारीहरूलाई भैरवनाथ यातना बिर्साउने गरी यातना दिन उद्यत छन् । समय प्रतिगामीकरण मात्र भइरहेको छैन, त्यसको प्रतिरोधमा क्रान्तिकारीहरुको सुन्दर ताँती तयार भएर चौतर्फी प्रतिरोध सङ्घर्ष गरिरहेको छ ।

एकातिर समय उदेकलाग्दो र विडम्बनापूर्ण बन्दै गएको छ । सत्तासंस्कृति अत्यन्त भद्दा र कलाविहीन बन्दै गएको छ । श्रमिक जनताका पक्षमा कविता लेख्ने रसुवाली कविलाई गिरफ्तार गर्दा उनको कोठामा रहेका नौलो बिहानी, रातो खबर, प्रचण्डका सङ्कलित रचनाहरू, विप्लवको एकीकृत जनक्रान्ति, सुदर्शनको दार्शनिक रचनाहरूलाई आतङ्ककारी दस्ताबेजका रूपमा प्रमाण बनाएर अदालतमा पेस गरियो । माइला लामालाई गिरफ्तार गर्दा उनका मातृभूमि भाग एक र दुई, जीवन झोलामा, राता मान्छेहरूलगायत उनले देश, जनता र वर्गको मुक्तिका लागि लेखेका गीत–सङ्गीतका क्यासेटहरूलाई राजद्रोहका लागि पर्याप्त प्रमाणहरूका रूपमा व्याख्या गरिँदै होला । हामी माक्र्सवादी स्रष्टाहरूको कोठा वा घरमा अरू के हुन्छ ? सामना र रक्तिम परिवारका कलाकारका केही थान गीति क्यासेटहरू, माइला लामा, सीता आचार्य र आरोह नेपालीका केही थान गीति चक्काहरू, विप्लव, सुदर्शन, प्रकाण्ड, अनिल शर्मा, दिनेश शर्मा, मेहन वैद्य, प्रचण्ड, बाबुराम, सीपी गजुरेल, कार्ल माक्र्स, एङ्गेल्स, लेनिन र माओका सङ्कलित रचनाहरू, समसामयिक राजनीतिक धारका र विद्रोही धाराका कविता, गीत र समालोचनाका पुस्तकहरू यस्तैयस्तै हुने न हो । बढी भए विश्व कम्युनिस्ट आन्दोलनका राजनीतिक, साहित्यिक र सांस्कृतिक पुस्तकहरू, नेपालकै इतिहासको अध्ययनका लागि प्रचण्डले जनयुद्ध कालमा प्रस्तुत गरेका दस्ताबेजहरू र प्रचण्डका सङ्कलित रचनाहरू । म आफ्नै कोठाका अध्ययन सामग्रीको सूची हेर्छु, आफूले विद्यावारिधि शोधका लागि सङ्कलन गरेका नेपाली कम्युनिस्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्ताबेजहरू, माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, युद्धकालीन मासिक, साप्ताहिक पत्रिका र सहिदका जीवनीहरू, सत्य पहाडी, चुनु गुरुङ, अन्जान विरही, डी कौडिन्य, दीपशिखा, कृष्ण सेन इच्छुक, हीरामणि दुःखीलगायत झन्डै सय स्रष्टाका कवितासङ्ग्रह र ती कविता र जनयुद्धले विकास गरेको सौन्दर्यचिन्तनमाथि मोहन वैद्य ‘किरण’, चैतन्य र बरालका नामका समालोचना….। तर नफेरिएको राज्यसत्ताले तिनै सामानहरूलाई आतङ्ककारी दस्ताबेजका रूपमा परिभाषा गरिदिन्छ, मानौँ ती ओसामा बिन लादेन र तालिबानका सेल्टरहरूमा पाइएका साम्राज्यावादी अमेरिकाविरुद्धका योजना र कार्यक्रमका दस्ताबेज हुन् !

यो सम्झिएर भन्न मन लाग्छ, ए नेता हो, किन लेख्यौ हिजोको आजै आतङ्ककारी दस्ताबेज प्रमाणित हुने विचार, दर्शन, राजनीतिका पुस्तकका ठेलीहरू ? किन सुनायौ हामीलाई राष्ट्रियता र वर्गसङ्घर्षका गीतहरू ? हिजोसम्म क्रान्तिका कलपुर्जा भन्दै किन हौस्यायौ माइला लामा र सीता आचार्यहरूलाई राष्ट्रियता, जनतन्त्र र जनजीविकाका गीतहरू लेख्न, गाउन र सङ्गीत भर्न ? कति छिट्टै बदलियो तिम्रो राष्ट्रियता र वर्गयुद्धको परिभाषा ? यति छिट्टै दुस्मनको कित्तामा पुग्ने विचार थियो भने हामीलाई किन देखायौ श्रमिक र सर्वहाराहरू बराबर हुने रङ्गीन सपनाहरू ! जनताको राज्यसत्ता आएपछि पाँच प्रतिशत धनीमाथि पन्चान्नब्बे प्रतिशत गरिबले शासन गर्ने सर्वहारा अधिनायकत्वका पाठहरू किन घोकायौ ? दलित, महिला, विपन्नमाथि विभेद नहुने र स्रष्टाहरूको सम्मान हुने नक्कली प्रशिक्षणहरू किन दियौ ?

‘प्लिज’, दसऔँला जोडेर बिन्ती गर्छु दाहाल र थापा ‘कमरेड’ हरूलाई– तपाईंहरूकै प्रशिक्षण पाएर जनयुद्धकालभरि र त्यसपछि पनि खाइनखाई, लाइनलाई जोडेका, तपाईंहरूले नै हिजो उत्कृष्ट माक्र्सवादी साहित्य भनेर हामीलाई पढ्न, घोक्न र व्यवहारमा लागू गर्न सिकाएका सहिदगाथाहरू, कविता, गीत र सङ्गीतका सङ्ग्रहहरू, युद्धमा गाइएका गीत र अपेराहरू, मादलुका खरी र गितारका तारहरू खोस्न र छिनाल्न प्रहरीहरू नपठाइदिनुस् । कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारका प्रहरीहरू पनि हिजोका जस्तै कर्कस आवाज, क्रूर सङ्गीन र बीभत्स मुद्रामा कोठाकोठामा आउँछन् र हामीले मुटुमा सजाएर राखेका तपाईंहरूका सिर्जना ल्याङफ्याङ र च्यातचुत पारेर बोरामा घिसार्दै लग्छन् । तिनले ती महत्वपूर्ण दस्ताबेज र अध्ययन सामग्री लगेर कसलाई बुझाउँछन्, थाहा हुँदैन । हिजो जनयुद्धमा हामीबाट लुटिएका सामग्रीहरू प्रहरी र सेनाले कहाँ लगेर डढायो होला, कुनै अत्तोपत्तो छैन । तपाईंहरूको सत्ताका लागि खतरा मानिएका पात्र र व्यक्तित्वहरूलाई समात्नुहोला, हिरासत र जेलमा पनि राख्नुहोला, रामकुमार, तीर्थ, नीरकुमार र कुमारहरूलाई जस्तै भिडन्तका नाममा मारिदिनु पनि होला तर कृपया, हाम्रो समयका यी अमूल्य दस्ताबेजहरू नष्ट नपारिदिनुहोला । जसरी हिजो राणाकाल, पञ्चायती र शाहीकालले ऐतिहासिक दस्ताबेजहरू कब्जा गरेर नष्ट पा¥यो, अरू गल्ती दोहो¥याए पनि कम्तीमा तपाईंहरूले त्यो गल्ती नदोहो¥याउनुहोला । तपाईंहरूलाई इतिहासले कहिल्यै माफी नदिने गरी धिक्कार्नेछ । तपाईंहरूकै सन्ततिले पनि धिक्कार्नेछन् ।

चन्द्रशमशेरले कृष्णलाललाई जेलमै सडाएर मारे पनि उनको मकैको खेती अमर भयो तर त्यसलाई पनि नष्ट गरेर इतिहास नै नामेट पार्ने षड्यन्त्र चन्द्रशमशेरको समयदेखि आजसम्म जारी नै छ । योगमायालाई सामूहिक जलसमाधि लिन बाध्य पारियो तर उनको सर्वार्थ योगवाणीका कारण उनी अमर छिन् । इच्छुकको भौतिक शरीर शाही–देउवा सरकारले समाप्त पारे पनि शोकाञ्जली, बन्दी र चन्द्रगिरि, इतिहासको यस घडीमालगायत कृतिले उनी अमर छन् । युग अमर हुने भनेको त्यस युगमा हुने राम्रा कामहरूले हो, परिवर्तनले हो । तपाईंहरूले परिवर्तन गर्न नसके पनि, तपाईंहरू अब क्रान्ति सम्भव छैन भन्दै प्रतिक्रान्तिकारीसँग आत्मसमर्पण गर्दै तिनका जामाभित्र लुट्पुटिए पनि जनयुद्धमा आधी फुटेका माइला लामाहरूका आँखाले क्रान्ति र मुक्तिका सुन्दर सपनाहरू देखिरहेका छन् । हिजो जनयुद्धमा गाएका ‘हेर अघिअघि बढिरहेछन् राता योद्धाहरू’ जस्तै तिनले ‘मातृभूमि’ र ‘जीवन झोला’ मा लेखेर÷गाएर जनतामा आमूल परिवर्तनको आशा भरिरहेका छन् ।

इतिहास साक्षी छ, नेपालको राजनीतिक आन्दोलन र सांस्कृतिक आन्दोलन एक रथका दुई पाङ्ग्रा भएर अघि बढिरहेको पाइन्छ । सङ्गठित रूपमा राजनीतिक आन्दोलनको आरम्भ नहुँदै सचेत स्रष्टाहरू आआफ्नो पहलमा सिर्जनात्मक मसाल बोकेर अन्याय, अत्याचार र निरङ्कुशताका विरुद्ध लेखेका, लागेका र लडेका छन् । निरङ्कुश राणाकाल, पञ्चायतकाल, शाहीकाल वा दलाल संसदीय काल सबै व्यवस्थामा स्रष्टाहरूले अग्रपङ्क्तिमा बसेर आततायी तथा स्वेच्छाचारी सत्ताका विरुद्ध आगो ओकलेका छन् र सत्ता संस्कृतिका विरुद्ध विचार, सिर्जना मात्र नभएर सशरीर सामेल भएर यातना पचाउनुका साथै मृत्युलाई समेत हाँसीहाँसी स्वीकार गरेका छन् । अनेकोट, डुङ्ला, भाबाङ, धुझर्ना, दोरम्बा, सालु, गज्र्याङ चुचरे र बेथानहरू कुनै जोक थिएनन्, न त केपी वलीका जस्ता उखान र टुक्काहरू नै थिए । ती त यो युगका नालापानी किल्लाहरू थिए । सिन्धुलीगढी मोर्चाहरू थिए । देउथल र मकवानपुरगढीका भन्दा उच्च युद्धहरू थिए । नालापानी र अनेकोटमा देशभक्त र क्रान्तिकारीहरूका सुन्दर भविष्य देख्ने आँखाहरू जलाइए पनि तिनका सहयोद्धाहरूले ठूल्ठूला मोर्चाहरू लडेरै छोडेका हुन्, जितेरै छोडेका हुन् । इतिहासमा चन्द्रशेखर पाध्या, मोहनशमशेर र लेन्डुप दोर्जेहरू मात्र कहाँ जन्मिन्छन् र ? भक्ति, अमरसिंह, भीमसेन र लखन र भीमदत्तहरू पनि जन्मिन्छन् । जन्मिरहेका छन् ।

अनेकोटमा २०५५ सालमै जलाइएका थिए क्रान्तिकारी संस्कृतिकर्मीका भौतिक शरीरहरू तर सयौँ चुनु, शिव, शारदा र इच्छुकहरूले लामो समयसम्म देखिरहेका थिए सुन्दर सपनाहरू । हिजो क्रान्तिकारी स्रष्टाहरूका सपनासँगै हृदय, वाद्यवादनका झङ्कार र सिर्जनाहरू जलाइए पनि आज क्रान्तिकारीहरूले खोतलिरहेका छन् तिनका चिहानहरू । नेताज्यूहरू, तपाईंहरूकै अकर्मण्यता र कुकर्महरूका कारण अब फेरि समयले स्रष्टा÷संस्कृतिकर्मीलाई विचार र सिर्जना मात्र नभएर सशरीर आन्दोलन अर्थात् एकीकृत जनक्रान्तिमा होमिन आह्वान गरिरहेको छ । वस्तुगत अवस्था आमनेसामने भइरहेको छ । १० जना योद्धाले दलाल सत्ताका विरुद्ध रगत बगाइसकेको सन्दर्भमा सचेत स्रष्टाहरू मौन स्वीकृति दिएर बसिरहन सम्भव छैन । फलस्वरूप स्रष्टाहरू लेख्दै, बहस गर्दै मैदानमा लडिरहेका छन् र सुदर्शन, रसुवाली, माइला लामा, बुद्धपछि खेम थपलियाले त्यसलाई स्वीकार गरेका छन् ।

प्रस्ट भइसकेको छ, यतिबेला सत्ताको स्वरूप फेरि प्रतिक्रियावादी बन्दै गएको छ । यसले स्रष्टा, संस्कृतिकर्मी र राजनीतिकर्मीहरूलाई गिरफ्तार गर्दै झूट्टा मुद्दा लगाउँदै जेल र हिरासतमा कोचिरहेको छ । व्यवस्थाको नाउँ बिसिर्दिदिने हो भने व्यवहार राणाकाल, पञ्चायतीकाल वा शाहीकालको भन्दा भिन्न छैन । सरकारको फासिवादी शैलीको राजनीतिक साथै भौतिक र सांस्कृतिक रूपमा सिर्जनात्मक प्रतिरोध पनि भइरहेको छ । विशेषगरी कविता, लेखरचना, गीत, गजल, समालोचना र संस्मरणहरूबाट सरकारी फासिवादी गतिविधिहरूको प्रतिरोध भइरहेको सन्दर्भमा सरकारले स्रष्टाहरूलाई धमाधम गिरफ्तार गरिरहेको छ । माइला लामा, खेम थपलिया र रसुवाली कविहरूको गिरफ्तारी यही सिर्जनात्मक प्रतिरोधलाई निष्क्रिय पार्ने योजनाबद्ध कदम हो भन्ने अब कसैबाट पनि छिपेको छैन ।

राणाशासनकालमा जहानियाँ राणाशासनको अत्याचारविरुद्ध योगमाया, कृष्णलाल, धरणीधर, लक्ष्मीप्रसाद देवकोटा, महानन्द सापकोटा, सुधपा, सिद्धिचरण, गोपालप्रसाद रिमाल, हृदयचन्द्रसिंह प्रधान, कृष्णचन्द्रसिंह प्रधानहरूले सिर्जनात्मक प्रतिरोध गरेको पाइन्छ भने पञ्चायती निरङ्कुशताविरुद्ध भूपी शेरचन, युद्धप्रसाद मिश्र, केवलपुरे किसान, शक्ति लम्साल, पारिजात, मोदनाथ, मेदिनीप्रसाद सुवेदी, कृष्ण सेन इच्छुकहरूले सिर्जनात्मक प्रतिरोध गरेको पाइन्छ । २०४६ सालको जनआन्दोलनमा प्रगतिशील र क्रान्तिकारी चेत भएका स्रष्टाले सिर्जनात्मक र भौतिक रूपमै सत्ताको प्रतिरोध गरेका थिए । सिर्जना चैत्र ३ यसैको एउटा उदाहरण थियो ।

जनयुद्धमा एक सय साठीभन्दा बढी स्रष्टा र संस्कृतिकर्मीले विचारलाई सिर्जनात्मक स्वरूप दिँदै त्यसलाई भौतिक रूप दिएर सांस्कृतिक क्षेत्रबाट महत्वपूर्ण बलिदान पनि गरे ।

२०६२ साल चैत ३ मा पुरोना बानेश्वर गुरुकुलमा स्रष्टाहरूको ऐक्यबद्धता आन्दोलनमाथि भएको गोलीकाण्ड त्यसैको एउटा शृङ्खला थियो । वर्तमानको सत्ता–राजनीतिक–सांस्कृतिक अवस्था पनि प्रगतिशील नभएर प्रतिक्रान्तिकारी स्वरूपकै छ । सरकारले क्रान्तिकारीहरूमाथि गरेको हर्कत र देखाएको गतिविधि राणाकाल, पञ्चायती काल र शाहीकालभन्दा खासै फरक छैन । त्यसैले माक्र्सवादी संस्कृतिकर्मी/स्रष्टाहरुले सत्ताको हत्या र दमन संस्कृतिका विरुद्ध जेलभित्र र बाहिरबाट निरन्तर सङ्घर्ष गर्नु आवरश्यक छ ।

२०७६ साउन २९ गते बुधबार प्रकाशित