स्मृतिमा सुरेश वाग्ले

- गुणराज लाेहनी

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पोलिटब्युरो सदस्य कमरेड सुरेश वाग्ले ‘वासु’ ले २०५६ साल भदौ २३ गते सहादात प्राप्त गर्नुभएको थियो । उहाँको सहादतको दिन जतिजति टाढा हुँदै गइरहेका छन् वासुका योगदानका सन्दर्भहरू पनि टाढिँदै गएका छन् । यो साँच्चै राम्रो कुरा होइन । वासुले महान् जनयुद्धको तयारी, त्यसको सुरुआत र विकास हुँदै जाँदा निर्वाह गरेको भूमिका र पार्टी नेतृत्वको उच्च तहको बलिदानको कोटा पूरा गर्नुभएको थियो । जनयुद्धमा पार्टीको सबैभन्दा माथिल्लो तहबाट दुस्मनको जीवन भिक्षालाई दुत्कार्दै मृत्यु स्वीकार गर्ने एक जोदाहा, उच्च नेता हुनुहुन्थ्यो । सर्वहारावर्गीय विचार, राजनीति र वर्गप्रति निष्ठावान् वासुले रगत बगाएको पार्टीका मुख्य नेताहरू पटकपटक सरकारको नेतृत्व गरिराखेका छन् । अहिले उहाँको पार्टीको मुख्य नेताले सिङ्गो पार्टीलाई एमालेजस्तो वासुको भनाइमा ‘टुकुचाको फोहोरको नाली’ मा मिसाएका छन् । यस्तो अवस्थामा कमरेड वासुलाई कसरी सम्झिने ? उहाँका योगदानको कदर कसरी गर्ने ? उहाँले खडा गरेको त्याग र बलिदानको मूल्यबोध कसरी गर्ने ? यी प्रश्नहरू सबै क्रान्तिकारीहरूका लागि यक्षप्रश्न भएर रहेका छन् ।

म यहाँ यी सबै प्रश्नहरूको जबाफ दिइराखेको छैन । कमरेड वासुको नेतृत्वमा मैले गर्न पाएको कामका अनुभव, अन्तिम दिनमा उहाँसँग भएका सहकार्य र मैले लिएको शिक्षाका बारेमा यहाँ केही कुरा राख्न उपयुक्त ठानेको छु ।

वासुसँगको औपचारिक परिचय

सुरेश वाग्लेको नाम मैले २०४८ सालको संसदीय चुनावको बेलामा सुनेको थिएँ । उहाँ तत्कालीन संयुक्त जनमोर्चाका तर्फबाट गोरखाबाट लड्नुभएको थियो । तर थोरै मतले मात्र हार्नुभएको थियो । बीचमा धेरैपटक भेट त भए तर दोहोरो कुरा हुन सकेको थिएन ।

जनयुद्ध सुरु भैसकेको थियो । म नवचेतना त्रैमासिक विचार प्रधान पत्रिकाको प्रधानसम्पादक बनेको थिएँ । सायद २०५३ सालमा हुनु पर्दछ । टेकबहादुर थापा जो नारायणी माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए । त्यसै विद्यालयमा म अध्यापन गर्दथेँ । एक दिन बिहान उनले आफ्नो घर आउन सूचना पठाएका थिए । म तोकिएको समयमा पुगेँ । त्यहाँ वासुजी नीलो सर्ट र इस्टकोट लगाएर बस्नुभएको रहेछ । चितवनका अन्य बुद्धिजीवी पनि उपस्थित थिए । सबैसँग परिचय भयो । त्यही क्रममा मेरो पनि परिचय दिने पालो आयो । मैले मेरो नाम भनेँ । मेरो नाम सुनेपछि उहाँले आश्चर्यजस्तो भाव व्यक्त गर्नुभएको थियो– ए, मैले त तपाई अलि प्रौढ हुनुहुन्छ होला भन्ठानेको थिएँ । युवा पो हुनुहुँदो रहेछ । हुन पनि त्यो समयमा केवल २७ वर्षको थिएँ । त्यो भेटघाटमा निकै लामो कुराकानी भएका थिए । हामीले गर्नुपर्ने भूमिकाका बारेमा पनि केही कुराहरू गर्नुभयो उहाँले ।

बीचमा नियमितजस्तो भेट भैराखेको थियो । त्यही क्रममा २०५४ सालमा उहाँले हामीलाई बोलाएर दसैँको अवसरमा रोल्पामा जान भन्नुभएको थियो । हामी ५ जना जान तयार भएका थियौँ । मेरो घुँडामा चोट लागेको थियो । केही दिनअघि भरतपुरको ओरालोमा रिक्साले लडाइदिएर घुँडामा गहिरो चोट लागेको थियो । त्यसैले म खोच्याएर हिँडिरहेको थिएँ । वासुले ‘लोहनी सरले घुँडाको एक्स—रे गर्नुपर्छ’ भन्नुभयो । रोल्पाका पहाडमा हिँड्न घुँडाको समस्या हुन्छ कि भन्ने उहाँको कुरा थियो ।

घुँडाको चोटको पीडाभन्दा पनि रोल्पामा जान पाउने भएकोमा म बढी उत्सुक भैराखेको थिएँ । म त्यसै दिन घुँडाको एक्स—रे गर्न गएँ । घुँडाको पाङ्ग्रो ३ टुक्रा भएको रहेछ । यही कारणले म रोल्पा जानुभन्दा पनि उपचारका लागि काठमाडौँ जानुपर्ने भएको थियो । बस चढेर उर्मिला र म काठमाडौँ लाग्यौँ । वीर अस्पतालका अर्थोपेडिक डक्टर शिव अधिकारीले घुँडाको पटेलालाई मिलाएर स्ल्याब राखिदिएका थिए । त्यस समयमा मैले ४५ दिनसम्म बैसाखी टेकेर हिँड्नुपरेको थियो ।

वासुसँगको एक वर्ष

मेरो जीवनमा एउटा नयाँ मोड आयो । मलाई २०५५ साल असोजमा चितवन जिल्ला पार्टी सदस्यमा चयन गरियो । त्यो समयमा चितवनमा केवल ९ सदस्यीय जिल्ला समिति बनेको थियो । चौथो विस्तारिक बैठकपछि पुनर्गठित उक्त कमिटीमा जिल्ला सेक्रेटरी थिए कुशल जसलाई विकेश पनि भनिन्थ्यो । सदस्यहरूमा घनश्याम दाहाल (अविनाश), रमेश रेग्मी (गोविन्द), केशव रिमाल (समर), मार्कण्ड्य गौतम (महेश), चित्रबहादुर श्रेष्ठ (गोपाल), म, कञ्चन खनाल (आकृति) र ईश्वरीप्रसाद खनाल (प्रतीक) थियौँ । उक्त कमिटीको पहिलो बैठक बस्यो । बैठकमा प्रमुख अतिथि तथा उपब्युरो इन्चार्जका रूपमा सुरेश वाग्ले ‘वासु’ आउनुभयो । त्यसपछिका सबैजसो बैठकमा उहाँ आउन थाल्नुभयो । चितवनको वर्गसङ्घर्ष, सङ्गठन विस्तार र सुदृढ योजना निर्माणमा निर्देशन गर्न थाल्नुभयो ।

उहाँ बढी नै अध्ययनशील हुनुहुन्थ्यो । उहाँको अङ्ग्रेजी अलि कमजोर थियो । त्यसैले अङ्ग्रेजी भाषाका दस्ताबेज, लेखहरूलाई म नेपालीमा भाषान्तरण गरिदिन्थेँ । त्यसै बेलामा पेरू कम्युनिस्ट पार्टीको आन्तरिक दस्ताबेज अङ्ग्रेजीमा आएको थियो । त्यो निकै लामो र दुर्लभ पनि थियो । मैले महिनौँ दिन लगाएर नेपालीमा रूपान्तरण गरेको थिएँ । वासुको वैचारिक र दार्शनिक स्तर पनि राम्रो थियो । त्यसैले उहाँसँग कुरा गर्न र उहाँका कुरा सुन्न आनन्द आउँथ्यो । दर्शनप्रतिको मेरो बढी चासो वासुजीले नै बढाइदिनुभएको थियो । वासुजीको वैचारिक दृढता, राजनीतिक स्पष्टता र साङ्गठनिक कुशलता हुँदाहुँदै पनि चितवनमा केही समस्याहरू देखापरेका थिए ।

ठीकै भैराखेको थियो तर सेक्रेटरीको कार्यशैली बेफजुल खर्च र आर्थिक अपारदर्शीका कुराहरू उठिरहेका थिए । साथै आफूलाई मनपरेका कार्यकर्तालाई भौतिक वस्तुहरूद्वारा प्रोत्साहित गर्ने र आफूलाई मन नपर्नेहरूलाई धकेल्दै कुनासम्म पु¥याउन थालेका थिए । उनी राजनीतिक–वैचारिक रूपमा भन्दा पनि मूढे बलको भर पर्दथे । उनका यिनै कार्यशैलीका कारण जिल्ला पार्टीमा गुट देखापरेको थियो । यसरी गुट नै देखा पर्दा कुशलले सतर्क र सजग होलान् भन्नुको सट्टा गुटलाई नै प्रोत्साहित गर्नतिर उद्यत देखिन थालेका थिए । यसरी वर्गसङ्घर्षको भीषणता, दुस्मनको घेराबन्दी, क्रान्तिको कार्यभारलाई बेवास्ता गर्दै उनी जसरी अगाडि बढ्दै गए त्यसमा पनि आर्थिक रूपमा उनी झनै अस्पष्ट र अपारदर्शी हुँदै गए त्यसपछि उनका विरुद्ध कदम चाल्नुपर्ने बाध्यता नै भयो ।

मैले उठाएका कुरामा चित्रबहादुर श्रेष्ठ, घनश्याम दाहाल, मार्कण्ड्य गौतम र ईश्वरीप्रसाद खनाल सहमत भएका थिए । हामीले जिल्ला इन्चार्ज रहेका श्रीराम ढकाललाई धेरैपटक जानकारी पनि दिएका थियौँ । वासुसँग पनि कुरा राखेका थियौँ ।

२०५६ सालको संसदीय चुनावपछि केन्द्रीय समितिको बैठक बस्दै थियो । मेरो नेतृत्वमा म, चित्रबहादुर, घनश्याम दाहाल, मार्कण्ड्य गौतम र ईश्वरी खनालले कुशलका आर्थिक अनियमितता, राजनीतिक, वैचारिक समस्या र साङ्गठनिक अराजकतालाई लिपिबद्ध गरेर एउटा पत्र तयार पारेर हस्ताक्षर गरी पठाएका थियौँ । उनले गरेका आर्थिक हिनामिनाको स्पष्ट हिसाबकिताब हुनुपर्ने, स्पष्ट भएन भने आवश्यक कारबाही अघि बढाउनुपर्ने हाम्रो माग थियो । साथै उक्त पत्रमा कुशलले चितवनजस्तो जिल्लाको नेतृत्व पनि गर्न नसक्ने उल्लेख गरेका थियौँ ।

केन्द्रीय समितिको बैठकपछि भदौ ४, ५, ६ र ७ गते चार दिनसम्म चितवन जिल्लाको बैठक बस्यो । बैठकमा अन्य प्रस्तावहरू त हुने नै भयो तर मुख्य रूपमा कुशलमाथि केन्द्रित हुन पुगेको थियो । माथिबाट नै उनलाई जिल्ला सेक्रेटरीबाट हटाइएको रहेछ । साथै सबै हिसाब जिल्ला कमिटीमा स्पष्ट पार्ने भन्ने पनि रहेछ । उनले हिसाब मिलाउन खुबै कोसिस गरेका थिए तर हिसाब मिल्ने कुनै गुन्जायस नै थिएन । किनभने उनले आर्थिक हिनामिना गरेका थिए । कुनै हिसाबकिताब राखेका थिएनन् अनि कहाँ मिल्थ्यो र हिसाबकिताब ।

धेरै समयको बहसपछि आफैँले लिखित रूपमा दिएको पत्रबाट चित्रबहादुर श्रेष्ठ, घनश्याम दाहाल, मार्कण्ड्य गौतम र ईश्वरी खनालले हात झिकेछन् । म मात्र आफ्नो अडानमा रहिराखेँ । मलाई वासुले खुबै सम्झाउनुभयो, मैले मान्दै मानिनँ । म आफ्नो अडानबाट टसको मस नभएपछि वासुले बैठकमा नै मलाई अलि कडा स्वरमा भन्नुभयो, ‘ल भन्नुस् यो मान्छेलाई के गर्ने ? यसको घर पार्टीले कब्जा गर्ने ?, एउटा मान्छे उत्पादन गर्न पार्टीले कति लगानी गर्नुपर्छ, थाहा छ ?’ कुशल पनि त्यहीँ नै थिए । वासुले कुशललाई यो उपब्युरोबाट नै सरुवा गराइएको जानकारी दिनुभयो । साथै मैले कुशललाई दिएको पैसाको पूर्ण हिसाब बुझाउने सर्तमा मैले पनि कुरा उठाउन छाडिदिएँ ।
खाना, नास्ता खाने, बैठक स्थगन भएका बेलामा वासुजीले मलाई धेरै कुरा भन्नुभएको थियो । ‘लोहनी सर, तपाईंबाट पार्टीले धेरै अपेक्षा राखेको छ । तपाईं पढ्न, लेख्न जानेको मान्छे, पत्रकारितामा पनि राम्रो दखल राख्नुहुन्छ, अध्ययनशीलता पनि छ । तपाईंले अनुसन्धानमा लाग्नु पर्दछ’ भन्नुभएको थियो । उक्त बैठकले मलाई उत्साहित पनि बनाएको थियो ।

२०५६ साल भदौ २३ गते बेलुका जिल्ला इन्चार्ज र म शिक्षकहरूको आन्तरिक प्रशिक्षणमा जानुपर्ने भयो । सम्पर्क शिवनगरका बालकृष्ण ढकालको घरमा दिइएको थियो । उनी अखिल नेपाल शिक्षक सङ्गठनका कार्यवाहक अध्यक्ष रहेका थिए । म भरतपुरबाट साइकल चढेर साँझ मात्र पुगेको थिएँ । कार्यक्रम राती हुने गथ्र्यो । बेलुकातिर जिल्ला इन्चार्जको एउटा पत्र मकहाँ आइपुग्यो । त्यो पत्रमा शिक्षकको प्रशिक्षणमा इन्चार्ज आउन नपाउने भएकाले मैले नै सञ्चालन गर्न निर्देशन गरिएको थियो ।

अमर माध्यमिक विद्यालयमा पढाउने शिक्षक जो पछि प्रधानाध्यापक पनि हुनुभएको थियो, उहाँको घरमा शिक्षक सङ्गठनका जिल्ला सदस्य सबै जम्मा भएका थिए । प्रशिक्षण, प्रश्नोत्तर गर्दा बिहान ६ बजेको थियो होला । भोलिपल्ट तीजको दिन थियो । साथीहरू सबै हिँडिहाले । मैले त्यहीँ हरि सरको घरमा खाना खाएँ । भदौको महिना, असाध्यै गर्मी थियो । त्यसमा अझ रातभर नसुतेकाले असहज भैराखेको थियो । तैपनि कार्यक्रमको रिपोर्टिङ गर्नुपर्ने हुन्थ्यो । अहिलेको जस्तो सेल फोन थिएन । सीमित मात्रामा मात्र ल्यान्डलाइन फोनहरू थिए । त्यसमा पनि पार्टीले प्रयोग गर्ने सम्पर्क फोनहरू असाध्यै कम थिए । त्यसैले म इन्चार्जको सम्पर्कमा पुगेँ । इन्चार्ज मलाई नै पर्खेर बसिराखेका रहेछन् । त्यो समयमा शिक्षकहरूले तोकेको समयमा ठूलै रकम पार्टीलाई लेबीका रूपमा बुझाउँथे । चितवनमा त फेरि हाम्रो सङ्गठन असाध्यै राम्रो थियो । त्यसैले मसँग राम्रै पैसा पनि थियो ।

म इन्चार्जको सम्पर्कमा पुग्दा इन्चार्ज यसअघि भेट्दाजस्तो उत्सुक र हँसिला थिएनन् । मलाई लाग्यो, उनी बिरामी भएछन् क्या हो ? उनले आफू बसेको खाटमा नै बस्न सङ्केत गरे । हामीले हात मिलाएर अभिवादन आदानप्रदान गरेका थियौँ । अरू दिन उनी आफैँ ल भन्नुस्, कस्तो भयो कार्यक्रम भनेर सोध्थे । तर त्यस दिन सोधेनन् । अँध्यारो अनुहार लगाएर असाध्यै दुःखद् खबर छ लोहनी सर भने । उनको दुःखद् खबर भन्ने शब्दले निःशब्द बनायो । म उत्साहित भएर उनलाई रिपोर्टिङ सुनाउने र मसँग भएको रकम बुझाउने सुरमा थिएँ । इन्चार्ज नआएकोमा दुःख व्यक्त गरेका शिक्षकहरू मैले सबै कुरा बोलेर दोहोरो अन्तरक्रिया भैसकेपछि असाध्यै उत्साहित भएका थिए । त्यही उत्साह लिएर म इन्चार्ज भेट्न हतारिएर गएको थिएँ तर दुःखद् शब्दले मलाई निरुत्साहित बनायो र मेरो मन इन्चार्जको त्यो दुःखद् खबर सुन्न आतुर र त्रसित दुवै भयो । अँध्यारो अनुहार लगाउँदै उनको मुखबाट दुःखद् शब्दहरू निस्किँदै गए, ‘लोहनी सर, कमरेड वासु र वैरागीलाई दुस्मनले हत्या गरेरछ हिजो मात्र । त्यो खबर आउनेबित्तिक्कै मैले माथि खबर गर्नुपर्ने भएकाले म शिक्षकको कार्यक्रममा जान सकिनँ ।’ यी शब्दहरू मेरा लागि अप्रिय मात्र थिएनन्, अप्रत्यासित र अविश्वसनीय पनि थिए । म स्तब्ध बनेँ । मेरो छातीमा गह्रौँ ढुङ्गाले थिचेको जस्तो भयो । सास फेर्न अप्ठ्यारो महसुस भयो । म केही पनि नबोलीकन उनको कुरा मूर्तिवत् सुनि मात्र राखेको थिएँ ।

मेरा आँखाबाट आँसु झरिराखेका थिए । चलचित्रका दृश्यहरू उल्टो चलेको जस्तो हुन थाल्यो । वासुसँगका विगतका सहकार्य, बहस, छलफल र अझ त्यसमा पनि भर्खर बसेको जिल्ला समितिका दृश्यहरूले चिथोर्न थालेका थिए । म केहीबेर त्यहाँ बसेर बाहिर निस्किएको थिएँ । त्यहाँलाई एकजना साथी मोटरसाइकल लिएर पर्खिराखेका थिए । मेरा आँखा देखेर होला उनले प्रतिक्रिया जनाइहाले । मैले भने बाटोमा कुरा गरौँला भनेँ । बाटोभरि मेरा आँखा सुक्न सकेनन् । बाटोमा मैले ती साथीलाई दुःखद् खबर सुनाएँ जसरी मलाई इन्चार्जले सुनाएका थिए । उर्मिलासँग भेट हुनेबित्तिक्कै त्यो दुःखद् समारचार सुनाएँ । त्यो रात सुत्न सकिनँ । पेट पालिराख्यो । वासुको विगतले चिथोरिराख्यो । उर्मिलाले सम्झाइन्, ‘हामी पनि त्यही मुक्ति वा मृत्युको यात्रामा छौँ । हामीले सहनुपर्छ ।’ उनले भनेको सही रहेछ । उनले पनि वासुको पदचाप रोजिन् । वासुको बाटो हिँडिन् । उनी पनि सहिद भइन् ।

गएको भदौ ३ गते वासुले सहादत प्राप्त गरेको १९ वर्ष पुगेर २० वर्ष लागेको छ । उर्मिलाले २०५९ भदौ ३ गते अर्थात् वासुले सहादात प्राप्त गरेको ३ वर्षपछि सहादात प्राप्त गरिन् । वासुजी सहिद भएको मैले भोलिपल्ट थाहा पाएको थिएँ तर उर्मिला सहिद भएको २५ दिनपछि मात्र थाहा पाएँ । यी दुवैले भन्ने गर्दथे, हामी मुक्ति वा मृत्युको यात्रामा छौँ तर उनीहरूलगायत हजारौँले मृत्युयात्रा तय गरे । तर हामीले अहिलेसम्म मुक्ति पाएका छैनौँ । फेरि त्यही प्रतिबद्धता चाहिएको छ, मुक्ति वा मृत्यु । वासु र उर्मिलाले मानेका नायकहरूले मुक्तियात्रालाई चारधाममा परिणत गरेका छन् भने मृत्युलाई जीवनभिक्षामा ।

२०७६ भदौ २३ गते सोमबार प्रकाशित