सोभियत नवउपनिवेशवाद

- अनुवाद : भेषराज भुसाल

दक्षिणएसियाली उपमहाद्वीपमा भारत सर्वाधिक ‘सोभियत सहायता’ प्राप्त गरिरहेको छ । यसको आर्थिक नसा सोभियत संशोधनवादकै हातमा रहेको छ । १९७० को अन्त्यसम्म सोभियत ‘सहायता’ प्राप्त गर्ने भारतीय उद्योगहरूको बदौलत भारतीय औद्योगिक उत्पादनमा त्यस ‘सहायता’ को योगदानको प्रतिशत यसप्रकार रहेको छ : कुल स्पात उद्योगमा ३० प्रतिशत, कुल तेल प्रशोधन क्षमतामा ६० प्रतिशत, कुल ठूला मेसिन उत्पादनमा ८५ प्रतिशत, कुल विद्युत् क्षमतामा २० प्रतिशत, कुल तेल उत्पादनमा ३० प्रतिशत र कुल विद्युत् उत्पादन गर्ने संयन्त्रहरूमा ६० प्रतिशत । यी ‘सहायता प्राप्त’ परियोजनाहरूमा इन्जिनियरिङ डिजाइन निर्माणका चरणमा पूर्ण रूपबाट सोभियत संशोधनवादको एकाधिकार र नियन्त्रणमा रहेका छन् । कार्य सञ्चालनमा पनि भारतका निम्ति असम्भव थियो, उसले आफूलाई सोभियत संशोधनवादको नियन्त्रणबाट मुक्त राख्न सकोस् । संयन्त्रहरूको मर्मत र पाटपुर्जाहरू एवम् महत्वपूर्ण मालहरूको आपूर्तिका निम्ति उसलाई सोभियत संशोधनवादीहरूमाथि नै आश्रित रहनुपरेको छ । यसका अतिरिक्त सोभियत संशोधनवादले भारतको उत्पादनमा यस मागअन्तर्गत अझै नियन्त्रण ग¥यो, उसले ‘सोभियत सहायता’ को बदलामा वापसी भुक्तान जिन्सीहरूमा गरोस् । भारतका केही छालाका जुत्ता बनाउने कारखानाहरू सोभियत सङ्घको माग पूरा गर्नकै लागि स्थापना गरियो । यी संयन्त्रहरूको उत्पादित माल भारतीय उपभोगका लागि होइन, ऋणहरूको भुक्तानका रूपमा सोभियत सङ्घलाई निर्यात गर्नकै लागि थिए । यिनै तरिकाहरूको प्रयोग गरेर सोभियत संशोधनवादले आफ्नो ‘सहायता’ को आडमा भारतका कच्चा पदार्थहरू र सस्तो श्रमको फाइदा उठाउने र भारतलाई आफ्ना अधीनस्थ प्रशोधित संयन्त्रमा बदल्ने प्रयास गर्यो । त्यसैले भारतीय प्रेसले आवाज उठायो– ‘ भारत एउटा यस्तो अण्डा हो जुन सजिलैसँग रुसी टोकरीमा मिल्न गयो ।’

सोभियत संशोधनवादी गद्दार गुटले यस्तो डिङ हाँकिरहन्छ– केवल सोभियत ‘सहायता’ मा निर्भर भएर र ‘अन्तर्राष्ट्रिय श्रम विभाजन’ मा सम्मिलित भएर नै विकासशील देशले आफ्नो वास्तविक राजनीतिक एवम् आर्थिक स्वतन्त्रतालाई निर्बाध रूपबाट प्राप्त गर्न सक्छन् र साम्राज्यवादी शक्तिको प्रतिरोध गर्न सक्षम हुन सक्छन् । वस्तुतः यो अलिहेसम्मको सबैभन्दा ठूलो झूट हो । कहाँसम्म भने सोभियत संशोधनवादलाई स्वयम् यो स्वीकार गर्नु पर्यो– उसको र विकासशील देशहरूका बीचमा श्रम विभाजन ‘पहिलेदेखि चल्दै आएको श्रम विभाजनद्वारा अत्यन्त धेरै प्रभावित’ भएको छ । यसको विशेषता ‘औद्योगिक उत्पादनहरू र खास गरेर मेसिनरीको बदलामा कच्चा मालहरू काट्ने बाँध्ने उत्पादनहरू र तेलको विनिमय’ रहेको छ । सोभियत संशोधनवादीहरूको कुल रबर आयातको ९५ प्रतिशत तथा कपासको आयातको ९२ प्रतिशत एसिया, अफ्रिका र ल्याटिन अमेरिकाबाट आउँछ । तिनले मध्यपूर्वबाट तेल, चिलीबाट तामा, बोलिभियाबाट टिन, पूर्वी अफ्रिकाबाट मासु तथा सोमालियाबाट युरेनियमको बदलामा आफ्ना पुराना भइसकेको मेसिनरीको निर्यात गर्दछन् । तब फेरि के सत्य होइन भने ‘औद्योगिक सोभियत सङ्घ’ र ‘खेतीयोग्य एसिया, अफ्रिका, ल्याटिन अमेरिका’ को बीचको यो ‘अन्तर्राष्ट्रिय श्रम विभाजन’ एउटा वादशाह र कसका अधीनस्थ उपनिवेशहरूका बीचको श्रम विभाजनजस्तै हो ।

सोभियत संशोधनवादी गद्दार गुटले यस्तो डिङ हाँकिरहन्छ– त्यसले आफ्ना ऋणहरूमा जुन २.५ प्रतिशत प्रतिवर्ष ब्याज लिने गर्दछ त्यो पुँजीवादी साम्राज्यवादी देशहरूद्वारा लिइने ब्याजभन्दा धेरै–धेरै हो र उसद्वारा दिइने ऋण ‘निःस्वार्थ सहायता’ हो । परन्तु सत्य त के हो भने सोभियत संशोधनवादीहरूद्वारा दिइने ऋण शोषणका अदृश्य रूप मात्र हुन् । यो शोषणकारी ब्याजको दर उनीहरूद्वारा आपूर्ति गरिने मालहरूको उच्च मूल्यहरूका रूपमा असुली गरिन्छ । एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशहरूलाई दिइएका सोभियत ऋण सोभियत मालहरू र त्यसमा पनि प्रमुख रूपमा पुराना भइसकेका हतियारहरू, पुराना उपकरणहरू र अन्तर्राष्ट्रिय बजारका निम्ति बेकार भइसकेका मालहरू खरिद गर्नकै लागि दिइने गरिन्छ । त्यस्ता उत्पादनहरू आफ्नो गुणस्तरमा खराब र प्रविधिमा पछाडि परिसकेका मात्र हुँदैनन्, आफ्ना किमतहरूमा पनि अन्तर्राष्ट्रिय बजारहरूको किमतहरूको तुलनामा कहिले २० प्रतिशत, ३० प्रतिशत यहाँसम्म कि कहिले त १०० प्रतिशतसम्म धेरै महँगा हुने गर्दछन् । यसका अतिरिक्त यी सामाजिक साम्राज्यवादी ऋणी देशहरूमाथि भुक्तान फिर्ताका निम्ति प्रायः दबाब दिइरहन्छन् र उनीहरूलाई सोभियत सङ्घको खास कच्चा पदार्थको आपूर्ति गराउनका निम्ति बाध्य पारिरहन्छन् । सोभियत सङ्घले मध्यपूर्वको एउटा देशसँग यस सर्तका साथ सम्झौता गरेको थियो, त्यस देशले उसलाई १९७५ देखि १९८० सम्म अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा २० प्रतिशत कम मूल्यमा तेल दिने गरी आफ्नो ऋणको फिर्ता भुक्तानी गरोस् जसमा ‘निःस्वार्थ सहायता’ को बिल्ला लगाउने गरिन्छ त्यो वास्तवमा निर्मम शोषण नै हो ।

सोभियत संशोधनवादीहरूको गद्दार गुटले मौखिक रूपमा प्रतिबद्धता गरिरहन्छ– उसले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनताका क्रान्तिकारी सङ्घर्षहरूलाई ‘पूर्ण समर्थन’ गरिरहनेछ । परन्तु वास्तविकता के छ भने उसले ती देशहरूका जनताका क्रान्तिकारी सङ्घर्षहरूलाई भित्रैदेखि खोक्रो बनाइदिनका निम्ति सबैभन्दा धेरै प्रतिक्रियावादी शक्तिहरूसँग साँठगाँठ गरेको छ र आफ्नो नवउपनिवेशवादलाई नै अगाडि बढाइरहेको छ । यसले विभिन्न देशहरूका प्रतिक्रियावादी समूहहरूलाई क्रान्तिकारीहरूको नरसंहार गर्नका लागि धन र हतियार दुवैको मद्दत गरेको छ । यसले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशहरूमा तोडफोडका षड्यन्त्रकारी कारबाहीहरूमा सहभागिता जनाएको छ । एसिया, अफ्रिका र ल्याटिन अमेरिकी कैयौँ देशहरूका जनताका सशस्त्र सङ्घर्षहरूलाई खतम गर्ने नियतबाट ती देशहरूका प्रतिक्रियावादी समूहहरूको मद्दतका निम्ति सम्पूर्ण हथकण्डा अपनाएको छ । राष्ट्रिय मुक्ति आन्दोलनहरूलाई दमन गरेको छ र सम्पूर्ण दुनियाँमा सैनिक पुलिसको भूमिका निर्वाह गरेको छ ।
सोभियत संशोधनवादी साम्राज्यवाद एउटा अर्को अक्टोबर क्रान्तिको पूर्वसमय हो ।
सोभियत संशोधनवादी साम्राज्यवादको चरम परजीवी र पतनशील प्रकृति ।

सोभियत संशोधनवादी सामाजिक साम्राज्यवाद एकाधिकारी पुँजीवाद हो । यसले आफ्ना श्रमजीवी जनतालाई निर्मम शोषण, उत्पीडन गर्दछ तथा अरू देशहरू विशेष गरेर एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनतालाई पनि निर्दयतासँग लुट्ने र गुलाम बनाउँछ । यो पुँजीवादी साम्राज्यवादभन्दा पनि खराब हो । यद्यपि सम्पूर्ण साम्राज्यवादजस्तै सोभियत राजकीय एकाधिकारी पुँजीवाद पनि एउटा कागजी बाघ नै हो किनभने हरेक प्रकारका एकाधिकारी पुँजीवाद अनिवार्यतः एकै साथ परजीवी र सडनशील पुँजीवाद हुन् । यी मरणासन्न पुँजीवाद हुन् । सोभियत संशोधनवादी राजकीय एकाधिकारी पुँजीवाद यसको अपवाद हुन सक्दैन । चाहे आर्थिक पक्ष होस् चाहे राजनीतिक पक्ष, सोभियत संशोधनवादी राजकीय एकाधिकारी पुँजीवाद हरसम्भव तरिकाबाट आफ्नो चरम परजीवी र सडनशील प्रकृतिलाई नै जाहेर गरिरहेको छ । सोभियत सङ्घ र विश्वका जनताले छिट्टै नै यसलाई सङ्ग्राहलयमा पठाउनेछन् ।

सोभियत संशोधनवादी सामाजिक साम्राज्यवादको त्यो चरम सडनशील प्रकृति प्रमुख रूपबाट यसको स्थिर हुँदै गएको आर्थिक विकासमा प्रकट भएको छ । सोभियत संशोधनवादी राजकीय एकाधिकारी पुँजीवादका उत्पादन सम्बन्ध सामाजिक उत्पादनका शक्तिहरूलाई नराम्रोसँग वञ्चित गरिरहेको छ । जब सोभियत सङ्घ एउटा समाजवादी देश थियो तब १९२९ देखि १९३८ सम्म दस वर्षको अवधिमा त्यसको औद्योगिक उत्पादन १७.४ प्रतिशतको औसत वार्षिक दरबाट छलाङ लगाएर अगाडि बढिरह्यो । परन्तु जब त्यही सोभियत सङ्घ सामाजिक साम्राज्यवादमा बदलियो तब १९६१ देखि १९७० सम्मका दस वर्षहरूका अवधिमा त्यसका औद्योगिक उत्पादनको औसत वार्षिक वृद्धिदर १९७१ मा ८.६ प्रतिशतबाट घटेर ७.७७ प्रतिशत रहन गयो र १९७२ मा त ७ प्रतिशतबाट पनि घटेर तल झर्न गयो । ख्रुस्चेभ र ब्रेझनेवका गद्दार गुटको शासनअन्तर्गत सोभियत सङ्घको कृषि उत्पादन त झनै घट्न गयो । फलतः कैयौँपल्ट गम्भीर कृषि सङ्कट खडा हुँदै गए र अमेरिका, क्यानाडा र अस्ट्रेलियाबाट ठूलो मात्रामा खाद्यान्न आयात गर्नुपर्यो ।

औद्योगिक मन्दी, घट्दो कृषि उत्पादन, क्षीण हुँदै पशुधन र बढ्दो मुद्रास्फीतिका कारण मालहरूको आपूर्तिमा ठूलो कमी र बजारमा तिनको खराब हालतको अवस्था छायो । श्रमजीवी जनताको जीविका पनि अत्यन्त खराब हुँदै गयो ।

सामाजिक साम्राज्यवादको चरम सडनशील प्रकृति त्यसको उन्मादी सैन्य विस्तार र युद्धसम्बन्धी तयारीहरूमा पनि प्रकट भयो । आफ्नो विदेशी आक्रमण र विस्तारका कारबाहीहरूलाई अगाडि बढाउनका निम्ति ब्रेझनेभको गद्दार गुटको प्रतिनिधित्व गर्ने नोकरशाही एकाधिकारी बुर्जुवा वर्गले राष्ट्रिय अर्थ व्यवस्थालाई सैन्यीकरण गर्ने गर्जबाट ‘धेरैभन्दा धेरै बन्दुकहरू र थोरैभन्दा थोरै मख्खन’ को हिटलरी नीतिको नै हरहालतमा अनुसरण गरेको छ । अनुमान छ– सोभियत संशोधनवादीहरूको सैन्य खर्च सरकारी सूत्रहरूद्वारा स्वीकृत तथ्याङ्कभन्दा तीनदेखि चार गुणाले बढी नै रहेको छ । १९७० को दशकदेखि औसत वार्षिक सैन्य खर्च ८० अर्ब डलर अर्थात् यो भनौँ– राजकीय बजेटको ३० प्रतिशतभन्दा पनि बढी भइसकेको छ । नौसैनिक वर्चस्व प्राप्त गर्ने होडमा सोभियत संशोधनवादले आफ्नो नौसेनाको व्यापक विस्तार गरेको छ । युद्धजहाजहरूमाथिको सैन्य खर्च हरेक वर्ष तीव्रताका साथ बढिरहेको छ । अनुमानहरूका अनुसार त्यस क्षेत्रमा औसत वार्षिक खर्च १९६० को दशकमा २ अर्ब डलर थियो । त्यो १९७० मा बढेर ३ अर्ब डलर हुन गयो जुन अमेरिकाद्वारा त्यही वर्षमा युद्धजहाजहरूमा गरिएको खर्चभन्दा ०.९ अर्ब डलर बढी थियो । यसप्रकार सामाजिक सम्पदाको ठूलो मात्रा जनताको जीवनस्तर माथि उठाउनका लागि उत्पादन बढाउनेतर्फ खर्च गर्नुका विपरीत युद्धका तयारीहरू तथा विदेशी आक्रमण र विस्तारक कारबाहीहरूलाई अगाडि बढाउनमा नै खर्च गरिँदै गएको छ जुन सामाजिक साम्राज्यवादको सडनशील प्रकृतिलाई नै प्रखर रूपमा अभिव्यक्त गर्दछ ।

सोभियत संशोधनवादी सामाजिक साम्राज्यवादको सडनशील प्रकृति उसको राजनीतिक प्रतिक्रियावाद र सामाजिक जीवनमा ठूलो गिरावटका रूपमा पनि अभिव्यक्ति भइसकेको छ । माओ त्सेतुङले भन्नुभएको छ, ‘वर्तमान सोभियत सङ्घ बुर्जुवा वर्गको तानाशाही हो, ठूला बुर्जुवा वर्गको तानाशाही हो । जर्मन फासिस्ट शैलीको तानाशाही, हिटलरी तानाशाही हो ।’५ माओको विश्लेषणले सोभियत संशोधनवादी सामाजिक साम्राज्यवादको वर्ग प्रकृति र उसको सामाजिक उत्पत्तिलाई पूर्ण रूपमा उद्घाटित गरिदिएको छ तथा त्यसको फासिस्ट प्रकृति एवम् सोभियत संशोधनवादी गद्दार गुटको यस झूटलाई पूर्ण रूपमा पर्दाफास गरिदिएको छ– सोभियत सङ्घ ‘सम्पूर्ण जनताको देश’ हो जब सोभियत संशोधनवादी गद्दार गुट सत्तामा आयो तबदेखि त्यसले आफ्नो फासिस्ट तानाशाहीतन्त्रलाई बलियो बनाउन लागि प¥यो । आफ्ना जनतालाई दमन गर्नका लागि त्यसले आफ्ना पुलिस र जासुसी विभागहरूलाई शक्तिशाली बनाउने गर्जबाट उनीहरूलाई केवल अत्याधुनिक वैज्ञानिक र प्राविधिक उपकरणहरूबाट सुसज्जित मात्र गरेन, त्यसले कारखानाहरू, फार्महरू तथा सङ्घसङ्गठनहरूमा जनसमुदायहरूमाथि नियन्त्रण राख्नका लागि आफ्ना जासुसहरू पनि तैनाथ गरिदियो । आज सोभियत सङ्घ एउटा श्वेतआतङ्कको घुम्टोमा छ । जोकोहीले पनि ब्रेझनेभ गुटप्रति असन्तोष र प्रतिरोध देखाउने कोसिस गर्दछ । त्यसमाथि कडा निगरानी राख्ने गरिन्छ । उसको पिछा गरिन्छ । उसलाई कडाइका साथ सोधपुछ गरिन्छ वा कुनै ‘पागलखाना’ मा पठाइन्छ वा ‘सोभियत सङ्घको निन्दा गर्ने वा त्यसको सामाजिक व्यवस्थामा खलल पुर्याउने’ दोषी ठहर्याएर यातना शिविर वा जेलमा पठाइन्छ ।

नग्न हिंसाद्वारा जनतालाई दमन–उत्पीडन गर्नुका साथसाथै ब्रेझनेभको गद्दार गुटले सोभियत जनताका बीचमा पुँजीवादी साम्राज्यवादी देशहरूका सडेगलेका संस्कृति, अश्लील साहित्य र जीवनशैलीको जहरिलो प्रचार–प्रसार गरेर उसलाई पूर्ण रूपमा आफ्नो सांस्कृतिक धरातलबाट कटाइदिनका लागि अत्यन्त सूक्ष्म उपायहरू पनि अपनाइराखेको छ । दुनियाँको विचारधारात्मक रूपबाट सबैभन्दा पिछडिएको प्रतिक्रियावादी र सडेगलेका मूल्यमान्यताहरूका लागि सोभियत संशोधनवादी सामाजिक साम्राज्यवाद उउटा अत्यन्त उर्बर भूमिका रूपमा उपलब्ध भइसकेको छ ।

सोभियत संशोधनवादी सामाजिक साम्राज्यवादको चरम परजीवी र सडनशील प्रकृतिको एउटा अर्को अभिव्यक्ति के हो भने ब्रेझनेभको गद्दार गुटको नेतृत्वमा त्यहाँका नोकरशाही एकाधिकारी बुर्जुवा वर्गले साधारण मजदुरहरू र किसानहरूबाट अत्यन्त धेरै आम्दानी गरिरहेको छ । आयको यो अन्तर दस गुणाभन्दा धेरै वा कहाँसम्म भने १०० गुणासम्म भइसकेको छ जुन उच्च तलबहरू, उच्च बोनसहरू र विविध प्रकारका व्यक्तिगत सहुलियतहरूका रूपमा परिलक्षित छन् । त्यस वर्गले भ्रष्टाचारमा लिप्त भएर आफ्ना एकदमै निजी स्वार्थसिद्ध गर्न र विलासिताको जीवन जिउनका निम्ति आफ्ना विशिष्ट आर्थिक र राजनीतिक विशेषाधिकारहरूलाई पनि खुबै प्रयोग गरेका छन् । यस नोकरशाही एकाधिकारी बुर्जुवा वर्गका साथ एक संशोधनवादी बुद्धिजीवी कुलीनतन्त्र विचारधारात्मक क्षेत्रमा नोकरशाही एकाधिकारी बुर्जुवा वर्गको सेवा गर्दछ र बुर्जुवाले जस्तै परजीवी, विलासी जीवन बिताउँछ । युद्धको आतङ्क र बुर्जुवा शान्तिवादमा लेख्नका लागि महसुर लेखक सोलोखोब अर्बपति बनिसकेका छन् । उनीसँग केवल निजी कार मत्र छैन, एउटा निजी हवाईजहाज पनि छ । बैङ्कमा उनको यति धेरै धन जम्मा भएको छ कि उनी आफैँ त्यसको हिसाबकिताब भुल्ने गर्छन् ।

सङ्क्षेपमा कुरा के हो भने एउटा पतनशील सामाजिक व्यवस्थाका अभिलक्षणहरू एउटा सडेको परिवेश सोभियत सामाजिक साम्राज्यवादको आर्थिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा पूर्ण रूपबाट व्याप्त भइसकेको छ । यो सामाजिक व्यवस्था जुन गोबरको थुप्रोमा उम्रिएको विषाक्त च्याउजस्तै हो । पूर्ण रूपमा निष्प्राण छ ।

२०७६ भदौ २४ गते मंगलबार प्रकाशित