साम्राज्यवाद : मरणासन्न पुँजीवाद

- अनुवाद : भेषराज भुसाल


पुँजीवादी स्वतन्त्र प्रतिस्पर्धाका क्रममा त बुर्जुवा वर्गले आफ्नो बुर्जुवा अधिनायकत्वको वास्तविकतामाथि पर्दा लगाउनका निम्ति ‘जनतन्त्र’ ‘स्वतन्त्रता’ र ‘सार्वभौमिक प्रेम’ को राग अलापिरहन्छन् परन्तु साम्राज्यवादको अवस्थामा आएपछि त्यो झिनो ‘मुखौटो’ पनि तीव्रतामा उत्रिने गर्दछ । तब स्थिति यस्तो हुन जान्छ जोकोहीले पनि शोषण र उत्पीडनको विरोध गर्दछ, त्यसलाई निर्ममतापूर्वक दबाउने गरिन्छ । लेनिनले भन्नुभएको थियो, ‘यस नयाँ व्यवस्था अर्थात् एकाधिकारी पुँजीवाद (साम्राज्यवाद) को राजनीतिक अधिरचना जनतन्त्रबाट बदलिएर राजनीतिक प्रतिक्रियावादको रूप लिने गर्दछ । जहाँ स्वतन्त्र प्रतिस्पर्धाका लागि जनतन्त्रको आवश्यकता हुने गर्दछ, त्यही त्यसको विपरीत एकाधिकारको राजनीतिलाई प्रतिक्रियावादको आवश्यकता हुने गर्दछ ।’६ संयुक्त राज्य अमेरिकामा केवल हिंसात्मक विरोध गर्नेहरूमाथि मात्र दमन गरिएन जुन मानिसहरूले अहिंसाको आन्दोलन चलाए उनीहरूको पनि हत्या गरियो । १९६८ मा मार्टिन लुथर किङनामक अश्वेत अमेरिकी नेताको हत्या अमेरिकी साम्राज्यवादले के कारणले गरेको थियो भने उनी नश्लवादी भेदभावको विरोध गर्दथे र नागरिक अधिकारहरूका निम्ति लड्दथे । यसतरह सम्पूर्ण प्रतिक्रियावादी नीतिमा चल्दै साम्राज्यवाद आफ्नो विचारधारा र संस्कृतिमा पनि अधोगति हुन गएको छ । साम्राज्यवादी देशहरूमा हिंसा र सेक्सले भरिएका प्रकाशनहरू र चलचित्रहरूले बजारलाई पुरिदिएका छन् । क्यालिफोर्नियामा तीसवटा त्यस्ता कम्पनी छन् जसले सेक्स चलचित्रहरू मात्रै बनाउने गर्छन् । पुँजीवादी दुनियाँमा विचित्र र बहुलापन भरिएका पहिरन, नृत्य र सङ्गीत अब आम भइसकेका छन् । महिलाहरूलाई ‘रुने’ र एक वर्षभन्दा पनि कम उमेरका बालबालिकालाई घुँडाको बलमा दगुर्ने अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका खबरहरू पनि आइरहेका छन् । साम्राज्यवादका अधीन संस्कृति र कला भित्रैसम्म सडिसकेका छन् । चोरी, डकैती, गुण्डागर्दी र दुव्र्यसनले साम्राज्यवादी देशहरूभित्र सामाजिक सङ्कट उत्पन्न गरिरहेको छ ।

त्यस्तो सडेको समाजलाई देखेर अधिकांश नौजवान युवाहरूले एउटा नैतिक शून्यताको महसुस गरिरहेका छन् र मान्न थालेका छन्– जीवन खोक्रो र निरर्थक छ र त्यसको कुनै भविष्य नै छैन । केही अमेरिकी यस्तो सोच्ने गर्दछन्– संयुक्त राज्य अमेरिका ‘यस्तो अवस्थामा पुगिसकेको छ मानिसहरूलाई आफ्ना आदर्श, आफ्नो व्यवस्था र आफ्नो भविष्यमाथिबाट नै विश्वास उड्न थालेको छ ।’ ‘तिनीहरू असङ्ख्य सङ्कटहरूबाट घेरिएका छन् ।’ केहीले त झन् खुलेरै भनिरहेका छन्, ‘हाम्रा सङ्कटहरूको प्रकृति नैतिक हो र यसका जराहरू स्पष्टतः हामीले स्वतः फैलँदै गइरहेको पुँजीवादी प्रणालीमा नै खोजी गर्नुपर्दछ ।’ (न्युजविक ६ जुलाई १९७०) यद्यपि साम्राज्यवादका यी गम्भीर अन्तरविरोधहरूका बीच थोरै भए पनि प्रगतिशील बन्न सुस्तसुस्त उठिरहेका छन् । माक्र्सवादलाई स्वीकारिरहेका छन् तथा माक्र्सवादी पार्टी र सङ्गठनलाई पुनः स्थापित गर्दै जनसमुदायहरूलाई सङ्गठित गरिरहेका छन् र साम्राज्यवादी व्यवस्थाका विरुद्ध कडा सङ्घर्ष छेडिरहेका छन् ।

साम्राज्यवादको यो सडनशील प्रकृति जुन साम्राज्यवादको आधारभूत अभिलाक्षणिकता अर्थात् एकाधिकारबाट उत्पन्न भएको हो । यही जाहेर गर्दछ साम्राज्यवाद अन्ततः एउटा कागजी बाघ मात्र हो । यो हेर्दा त खुँखार लाग्छ तर वास्तवमा यससँग खास कुनै शक्ति हुँदैन । वास्तविक शक्ति त जनसमुदायहरूसँग हुन्छ न कि साम्राज्यवाद वा प्रतिक्रियावादीहरूसँग । जस्तो कि माओ त्से तुङले ठिकै बताउनुभएको छ, ‘एउटा रणनीतिक वा दीर्घकालीन दृष्टिबाट वा यिनको अन्तरवस्तुलाई हेर्दा हामीले निश्चय पनि साम्राज्यवाद र सबै प्रतिक्रियावादीहरूलाई कागजी बाघ बुझ्नु पर्दछ ।’७

साम्राज्यवाद मरणासन्न पुँजीवाद

स्टालिनले भन्नुभएको थियो, ‘लेनिनले साम्राज्यवादलाई मरणासन्न पुँजीवाद भन्नुभयो । किन ? किनकि साम्राज्यवादमा पुँजीवादका जुन अन्तरविरोध निहित छन् ती उसका निम्ति अन्त्यकारी नै छन् । कारण क्रान्तिको सुरुआत हुनु नै छ ।’८ जब पुँजीवादले एकाधिकारी अवस्था ग्रहण गर्न पुग्छ तब पनि सर्वहारावर्ग र बुर्जुवा वर्गका बीचका आधारभूत अन्तरविरोध र समाजको पुँजीवादी प्रकृतिमा कुनै परिवर्तन हुँदैन । यस साम्राज्यवादी अवस्थामा आउँदा एकाधिकारले केवल सामाजिक उत्पादनलाई पहिलेभन्दा धेरै व्यापक परिमाणमा ल्याइदिएको छ । यसले त उत्पादनका साधनहरूमाथिको निजी स्वामीत्वलाई अझै धेरै घनीभूत बनाइदिएको छ जसका कारण पुँजीवादका बढ्दै गएका आधारभूत अन्तरविरोध साम्राज्यवादका सबै बाहिरी र भित्री अन्तरविरोधहरूलाई पनि तीव्र बनाइरहेका छन् । माओले भन्नुभएको छ, ‘ यी दुईवटा वर्गहरू (सर्वहारा र बुर्जुवा) का बीचमा बढ्दो अन्तरविरोध, औपनिवेशिक मालिक र औपनिवेशिकहरूका बीचमा बढ्दो अन्तरविरोध तथा साम्राज्यवादी देशहरूको असमान विकासका कारण उनीहरूका बीचमा पेचिलो बन्दै गएका आपसी अन्तरविरोध यही पुँजीवादको एउटा विशिष्ट अवस्था अर्थात् साम्राज्यवादको अवस्थामा लैजाने गर्दछ ।९ साम्राज्यवादी देशहरूमा सबै भित्री र बाहिरी अन्तरविरोधहरू गम्भीर रूपबाट पेचिला हुँदै जानुका कारण नै साम्राज्यवाद मरणासन्न पुँजीवाद बन्न पुग्छ र सर्वहारा समाजवादी क्रान्तिको पूर्वबेला नजिक आउँछ ।

अत्यधिक एकाधिकारी मुनाफा कमाउने चक्करमा बुर्जुवा वर्ग मजदुरहरूलाई शोषण गर्ने र लुट्ने प्रयासहरूलाई दिन दुई गुना रात चौगुना बढाउँछन् । यसप्रकार लाखौँलाख श्रमजीवी जनतालाई भोकमरीको खाडलतर्फ धकेल्दै जान्छन् । एकाधिकारी बुर्जुवा वर्गले तरहतरहका हाड घोटने श्रम प्रणालीहरू अपनाउने गरिरहन्छन् । श्रम सघनतालाई बढाइरहन्छन् । अवस्थाहरूलाई अत्यधिक खराब बनाइरहन्छन् तथा मजदुरहरूको शोषणलाई बिनाहिचकिचाहट र बिनारोकतोक बढाउँदै जान्छन् । बुर्जुवा वर्गले वास्तविक ज्याला घटाउने र क्रमशक्तिलाई कमभन्दा कम गराउँदै जाने गर्नबाट सचेत रूपमा मुद्रास्फीतिको पनि सहारा लिने गर्दछ । उदाहरणका रूपमा १९६३–१९७० को अवधिमा मुद्रास्फीतिका कारण अधिकांश पुँजीवादी देशहरूमा मूल्य र जीवनयापनको खर्चमा हरेक वर्ष वृद्धि भई नै रह्यो । त्यस अवधिमा संयुक्त राज्य अमेरिकामा जीवनयापनको खर्च २५.८ प्रतिशतले बढ्न गयो । ब्रिटेनमा यो वृद्धिदर ३५.३ प्रतिशत रह्यो, फ्रान्समा ३०.४ प्रतिशत, पश्चिम जर्मनीमा २०.६ प्रतिशत र जापानमा ४४.४ प्रतिशत । परन्तु ज्याला त्यति धेरै बढेन, मुद्रास्फीतिअनुसार वृद्धि भएका जीवनयापनको खर्चलाई पूरा गर्न सकियोस् । श्रमजीवी जनताको जीवन त झनै दयनीय हुन गयो । एकाधिकारी पुँजीले सरकारमार्फत अत्यधिक कर लादेन । श्रमजीवी जनसमुदायहरूलाई अझै धेरै लुट्यो । १९४० देखि १९७० सम्मको अवधिमा राजस्व कर १६ गुना बढ्यो अर्थात् जहाँ यो १९४० मा १६.५ अर्ब डलर (राष्ट्रिय आयको २० प्रतिशत) थियो । त्यो १९७० बढेर २७८ अर्ब डलर (राष्ट्रिय आयको ३५ प्रतिशत) हुन गयो । यसप्रकार यो करको अत्यधिक मारले श्रमजीवी जनसमुदायहरूको घाँटी निमोठिदियो ।

आफ्ना आर्थिक हितहरूको रक्षामा, एकाधिकारी पुँजी राज्य संयन्त्रको सहारा लिएर मजदुरहरूलाई अत्यधिक दमन गर्ने हेतुले फासिस्ट तानाशाही पनि लागू गर्दछन् । राजनीतिक प्रतिक्रियावाद वस्तुतः एकाधिकारी पुँजीवादी अर्थव्यवस्थाको नै एउटा स्वाभाविक प्रतिबिम्बन हो । फासिस्ट तानाशाही लागू गर्ने अवस्थाबाट साम्राज्यवाद प्रतिक्रियावादी सरकारी संयन्त्रलाई भयानक हदसम्म विस्तारित गर्दछ । संयुक्त राज्य अमेरिकाको नै उदाहरण लिऊँ जहाँ हरेक बीसजनामा एकजना प्रतिक्रियावादी राज्य मेसिनरीको कर्मचारी हुने गर्दछ ।

एकाधिकारी वर्गद्वारा गरिने निर्मम आर्थिक शोषण र राजनीतिक दमनले सर्वहारा वर्ग र बुर्जुवा वर्गबीचका अन्तरविरोधलाई झनै तीव्र बनाउने गर्दछ । यद्यपि उत्पीडन जति नै बढ्दै जान्छ त्यसको प्रतिरोध त्यति नै बढ्दै जान्छ । त्यसकारण सर्वहारा वर्ग र श्रमजीवी जनसमुदायहरूका लाखौँ मानिसहरू दैनिक उठिरहेका छन् र यस पुँजीवादी व्यवस्थाका विरुद्ध लगातार क्रान्तिकारी सङ्घर्ष छेडिरहेका छन् ।

द्वितीय विश्वयुद्धपछि नै विशेष रूपमा हालैका वर्षहरूमा सशक्त र जनव्यापी मजदुर आन्दोलन अस्तित्वमा आएका छन् । साम्राज्यवादका विरुद्धको सङ्घर्ष प्रचण्ड हुँदै गइरहेको छ । अमेरिकाको स्पष्टतः कम गरेर प्रस्तुत गरिएका सरकारी तत्याङ्कहरूका अनुसार पनि १९७० मा अमेरिकी मजदुरहरूले ५,६०० पटक हडतालहरू गरे जसमा ३३ लाख मजदुरहरूले भाग लिए । १९७१ मा पाँच लाख टेलिफोन मजदुरहरूको राष्ट्रव्यापी हडतालहरू भए र यसै वर्ष १६ लाख रेलवे मजदुरहरूले पनि राष्ट्रव्यापी हडताल गरे । यी हडतालहरूमा मजदुरहरूको सङ्घर्षको नारा थियो ः (आक्रामक) युद्ध बन्द गर, गरिबी अन्त्य गर, उत्पीडन बन्द गर । उनीहरूले आर्थिक सङ्घर्षलाई राजनीतिक सङ्घर्षका साथ धेरैभन्दा धेरै जोड्ने कोसिस गरे । ब्रिटेनका सरकारी तत्थ्याङ्कअनुसार (ती पनि कम गरेर प्रस्तुत गरिएका छन् १९७० मा ३,८८८ हडतालहरू भए जसमा १६.५ लाख मजदुरहरूले भाग लिए । १९७१ मा ब्रिटेनमा यी हडतालहरूका कारण १४.५ कार्य दिवस नष्ट भए । जापानी मजदुर वर्गका क्रान्तिकारी सङ्घर्ष पनि तीव्र हुँदै गएका छन् । जापान सरकारको तथ्याङ्कअनुसार तथाकथित ‘श्रम पुँजी विवादहरू’ (वस्तुतः मजदुर र पुँजीपति वर्गका बीचका सङ्घर्षहरू) को संस्था जुन १९५५ मा १,३४५ थिए बढेर १९६९ मा ५,२८३ हुन गए । यो वृद्धिदर २.९ गुना थियो । यसै अवधिमा त्यसमा भाग लिनेहरूको सङ्ख्या लगभग तीन गुनाले बढ्न गयो अर्थात् ३७.४८ लाखबाट बढेर १ करोड ४,४८३ लाख हुन गयो ।

मजदुर आन्दोलनहरूको यो उछाल साम्राज्यवादका महत्वपूर्ण अङ्गको विद्रोह हो । यसबाट पुँजीवादी आर्थिक र राजनीतिक सङ्कट झनै तीव्र हुँदै गइरहेका छन् जुन एकाधिकारी पुँजीको शासनलाई निरन्तर गम्भीर झट्का दिइरहेको छ । अब साम्राज्यवादको भविष्य अत्यधिक अनिश्चित हुँदै गइरहेको छ ।

साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूका बीचको अन्तरविरोध बढ्दै गइरहेको छ ।

‘बारुद र तलबारको जोडमा उपनिवेशहरूमाथि कब्जा गरियो ।’१० उपनिवेशहरू र अर्धउपनिवेशहरूमाथि जबरजस्ती कब्जा गरिसकेपछि साम्राज्यवाद निर्ममतापूर्वक ती क्षेत्रहरूको शोषण र अधिनीकरण गर्दछ । आफ्नो राजनीतिक प्रभुत्व कायम गर्न त्यसले आफ्ना कठपुतली राज्यसत्ताहरूलाई समर्थन गर्दछ, सशस्त्र सेनाहरू तैनाथ गर्दछ र सैनिक ब्यारेकहरू स्थापित गर्दछ । आफ्ना आर्थिक शोषणहरूलाई सुगम बनाउनका निम्ति व्यापारिक बन्दरगाहहरू जबर्जस्ती खुलाउने गर्दछ । आयात निर्यात कर र विदेशी व्यापारमाथि नियन्त्रण कायम गर्दछ, मुद्रा र वित्तमाथि एकाधिकार जमाउँछ तथा जोरजबर्जस्ती गरेर अन्य देशहरूभित्र खानी उत्खनन गरेर कारखाना चलाउने र जलमार्गहरूमा नौका सञ्चालन गर्ने अधिकार हासिल गर्दछ । धेरैभन्दा धेरै एकाधिकारी मुनाफा हासिल गर्न निर्मम शोषण र उत्पीडन गर्दछन् । यसप्रकार साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूका बीचमा सङ्घर्ष अभूतपूर्व रूपबाट तीव्र भएर उठ्दछन् । साम्राज्यवाद उपनिवेशहरू र अर्धउपनिवेशहरूको आर्थिक नाडीलाई आफ्नो अधीनमा राखिरहन्छ तथा स्थानीय सामन्ती शक्तिहरू र दलाल पुँजीका साथ साँठगाँठ गरेर उनीहरूको राष्ट्रिय अर्थव्यवस्थाहरूको विकासलाई अवरुद्ध गरिदिन्छ । साम्राज्यवाद उपनिवेशहरू र अर्धउपनिवेशहरूको राष्ट्रिय अर्थव्यवस्थाहरूलाई ‘सरलीकृत’ हुने अर्थात् विदेशी एकाधिकारी सङ्गठनहरूका निम्ति आवश्यक मात्र केही मालहरूलाई नै उत्पादनका निम्ति बाध्य पार्ने हेतुले तरहतरहका हथकण्डा अपनाउँछ र त्यसप्रकारले उनीहरूको आर्थिक विकासलाई एकाङ्गी र असामान्य बताइदिन्छ । परिणामतः ती क्षेत्रहरूका अर्थव्यवस्थाहरू स्वतन्त्र वा आत्मनिर्भरभन्दा टाढा, केवल साम्राज्यवादमाथि नै निर्भर हुन पुग्छन् ।

दोस्रो विश्वयुद्धदेखि लिएर अहिलेसम्म एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा राष्ट्रिय मुक्ति आन्दोलनहरूका लगातार नयाँनयाँ जनउभार उठिरहेका छन् । अधिकांश देशहरू र क्षेत्रहरूले आफूलाई साम्राज्यवाद र उपनिवेशवादका जन्जिर नेलबाट मुक्त गरेका छन् र आफ्नो स्वतन्त्र बाटोमा हिँड्न थालेका छन् । फेरि पनि साम्राज्यवाद एसिया, अफ्रिका र ल्याटिन अमेरिकाको व्यापक क्षेत्रहरूबाट कहिल्यै पनि स्वयम् पछाडि हट्नेछैन । यसले आफ्नो औपनिवेशिक हथकण्डाहरूका अतिरिक्त लगातार अत्यधिक नवउपनिवेशवादी हथकण्डा अपनाउँदै गइरहेको छ र आर्थिक ‘सहायता’ को छद्म आवरणमा ती नवोदित स्वतन्त्र देशहरूमाथि आफ्नो दुष्चक्री पञ्जाहरू कस्दै जाने असफल प्रयासहरू पनि गरिरहेको छ । ‘सहायताको माध्यमबाट पुँजीपतिले आफ्ना फाल्तु मालहरूबाट ती देशहरूलाई पुरिदिने युक्ति गरिरहेका छन् र यसप्रकार ‘सहायता’ लाई आफ्नो माल बेच्ने एउटा हथकण्डाका रूपमा प्रयोग गर्दछन् । त्यही ‘सहायता’ को माध्यमबाट तिनीहरूले सहायता प्राप्त गर्ने देशहरूको आर्थिक नीतिहरूमाथि नियन्त्रण कायम गर्दछन् तथा ती देशहरूको राष्ट्रिय अर्थव्यवस्थाहरूको विकासमाथि पनि नियन्त्रण कायम गर्दछन् । जब केही देशहरूले त्यस साम्राज्यवादी दलाली गर्नबाट अस्वीकारको कोसिस गर्दछन् तब ती साम्राज्यवादीहरूले उनीहरूमाथि आक्रमण र सत्ता पल्टाउने कारबाही गर्दछन् । उनीहरूले प्रतिक्रियावादी शक्तिहरूलाई उचालेर उक्साएर त्यहाँका प्रगतिशील सरकारहरूलाई उखेलेर फाल्ने पनि काम गर्दछन् जसले साम्राज्यवादको विरोध गर्ने र राष्ट्रिय स्वतन्त्रतामाथि जोड दिनु आफ्नो कर्तव्य ठानेका हुन्छन् ।

यसप्रकार साम्राज्यवादद्वारा गरिने निर्मम लुट र उत्पन्न गरिने रक्तरञ्जित दासताले साम्राज्यवादीहरू र उत्पीडित राष्ट्रहरू एवम् तिनका जनताहरूका बीचका अन्तरविरोधका खाडलहरूलाई अझै धेरै फराकिला र प्रचण्ड बनाइदिएको छ । साम्राज्यवादी डाँकाहरूले जुन दिन एसिया, अफ्रिका र ल्याटिन अमेरिकी भूमिमा पाइला राखे त्यसै दिनदेखि उत्पीडित राष्ट्र र त्यहाँका जनताले आफ्नो अमूल्य स्वतन्त्रता र स्वाधीनताको रक्षामा ढुङ्गाहरू तीर–धनुषहरू, भाला–बर्छाहरू र गोला–बारुदबाट साम्राज्यवादमाथि प्रहार गर्दै आएका छन् । साम्राज्यवादद्वारा शोषण र उत्पीडनका पासाहरू जति नै बढ्दै र कस्दै गएका छन् त्यति नै उत्पीडित राष्ट्रहरू र तिनका जनताहरूको प्रतिरोधी सङ्घर्ष पनि तीव्र हुँदै गएका छन् । अक्टोबर क्रान्तिपछिबाट नै राष्ट्रिय मुक्ति आन्दोलनले एउटा नयाँ ऐतिहासिक युगमा पदार्पण ग¥यो र सर्वहारा समाजवादी विश्वक्रान्तिको अङ्ग बन्यो । आज राष्ट्रिय मुक्ति आन्दोलन र साम्राज्यवादी देशहरूमा सर्वहारा क्रान्तिकारी आन्दोलन यी दुवै परस्पर सम्बद्ध र एकअर्काका सहयोगी बनिसकेका छन् । उपनिवेश र अर्धउपनिवेश जुनकुनै बेला साम्राज्यवादका सुरक्षित फौज हुने गर्दथे । अब सर्वहारा विश्वक्रान्तिका सुरक्षित फौज बनिसकेका छन् । जस्तो कि माओ त्सेतुङले भन्नुभएको छ, ‘ आज जुन क्रान्तिकारी तुफान एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा चलिरहेका छन् ती नेल निश्चय पनि सम्पूर्ण पुरानो विश्वलाई एउटा निर्णायक र ध्वस्तकारी झट्का दिएरै छाड्नेछन् ।’११

साम्राज्यवादी देशहरूका बीचका अन्तरविरोधहरू घनीभूत हुँदै जानु ।

दुनियाँलाई आर्थिक तथा क्षेत्रीय रूपबाट विभाजित गर्ने साम्राज्यवादी सङ्घर्षले स्वयम् साम्राज्यवादी देशहरूका बीचमा नै अन्तरविरोधहरूलाई प्रचण्ड बनाइदिएको छ । वर्चस्व र क्षेत्राधिकार प्राप्त गर्ने तिनका सङ्घर्ष र आपसी टकराव तथा नरसंहार वस्तुतः उत्पीडित र शोषित राष्ट्रहरूलाई सङ्गठित भई खडा हुन र विद्रोह गर्नमा नै सहयोगी साबित हुनेछन् ।
त्यसका अतिरिक्त यस साम्राज्यवादी अवस्थामा स्वयम् पुँजीवादी देशहरूभित्र आर्थिक र राजनीतिक विकासको बढ्दो असमानताहरू स्वयम् साम्राज्यवादी देशहरूका आपसी अन्तरविरोधहरूलाई झनै तीव्र बनाउँदै गइरहेका छन् ।

लेनिनले भन्नुभएको छ, ‘असमान आर्थिक र राजनीतिक विकास पुँजीवादको निरपवाद नियम हो ।’१२ पुँजीवादी दुनियाँमा केही देश तीव्रतासँग विकास गर्दछन् भने केहीले सुस्त गतिमा । कहाँसम्म भने केही कालखण्डहरूमा केही देश छलाङ मारेर अगाडि बढ्छन् । पुँजीवादी देशहरूको असमाज आर्थिक विकास अपरिहार्यता ? असमान राजनीतिक विकासलाई जन्माउने गर्दछन् । अर्को शब्दमा असमान आर्थिक विकास साम्राज्यवादी देहहरूको परस्पर सापेक्षित तागतहरूमा निश्चय नै फेरबदल गरिदिन्छ ।

असमान आर्थिक र राजनीतिक विकासको यस नियमले पुँजीवादको सम्पूर्ण इतिहासमा आफ्नो भूमिका निर्वाह गरेको छ । परन्तु साम्राज्यवादको कालमा आउँदा पुँजीवादको त्यो असमान विकास झनै प्रचण्डता साथ खडा हुने गर्दछ । उन्नाईसौँ शताब्दीको उत्तराद्र्धमा इङ्गल्यान्ड जुन एउटा पुरानो पुँजीवादी देश थियो, अत्यधिक उपनिवेशहरूमाथि कब्जा गरिसकेको थियो तथा सम्पूर्ण दुनियाँमाथि आफ्नो एकछत्र राज्य कायम गरिसकेको थियो । परन्तु दुनियाँभरिका आफ्ना उपनिवेशहरूबाट अत्यधिक मुनाफा बटुल्ने अपेक्षितमा यसै सुगम स्थितिले उसलाई सुस्त बनाएर प्राविधिक तथा उत्पादनका क्षेत्रमा स्थिरता पनि बनाइदियो जब कि यसैबीचमा नयाँ प्रविधिबाट लैस भएर पछि पुँजीवादी बनेका तीव्रता प्रदान गरे । १८८० को दशकमा त अमेरिका इङ्ल्यान्डको बराबरीमा आयो तथा बीसौँ शताब्दीको आरम्भ आउँदाआउँदै औद्योगिक उत्पादनमा दुनियाँको अग्रणी देश बन्न पुग्यो । यस्तै रूपमा जर्मनी पनि इङ्ल्यान्डभन्दा अगाडि निक्लियो र औद्योगिक उत्पादनमा विश्वको दोस्रो नम्बरको देश बन्न पुग्यो । आर्थिक तागतको सापेक्षित स्थितिहरूमा भएको यस परिवर्तनले राजनीतिक तागतको स्थितिमा पनि फेरबदल ल्याइदियो । शक्ति सन्तुलनको त्यस परिवर्तनको परिणामस्वरूप ती देशहरू आफ्ना प्रभाव क्षेत्रहरू र उपनिवेशहरूलाई पुनर्विभाजन गर्नका निम्ति आपसमा सङ्घर्ष गर्न थाले ।

द्वितीय विश्वयुद्धको समयदेखि नै साम्राज्यवादी देशहरूका बीच असमान आर्थिक र राजनीतिक विकासको त्यस नियमले आफ्नो भूमिका निर्वाह गर्दै आइरहेको छ । त्यसका अभिलाक्षणिक विशेषताहरू रहेका छन् ः संयुक्त राज्य अमेरिकाको अवनति इङ्ल्यान्डको अवनति लगातार जारी रहनु, पश्चिमजर्मनी र जापान तीव्रतासँग अग्रणी बन्नु तथा इटली र फ्रान्सको पनि ठूलो उन्नति हुनु । १९४९ देखि १९६७ सम्म बीस वर्षको अवधिमा यी देशहरूको राष्ट्रिय उत्पादनको औसत वृद्धिदर यसप्रकार रहेका छन् ः संयुक्त राज्य अमेरिकामा प्रथम १० वर्षमा ३.९ प्रतिशत र बाँकी १० वर्षहरूमा ४.३ प्रतिशत, इङ्ल्यान्डमा प्रथम १० वर्षमा २.५ प्रतिशत र बाँकी १० वर्षहरूमा ३ प्रतिशत, पश्चिमजर्मनीमा प्रथम १० वर्षहरूमा ७.४ प्रतिशत र बाँकी १० वर्षहरूमा ५.९ प्रतिशत, इङ्ल्यान्डमा १० वर्षहरूमा ६.१ प्रतिशत र बाँकी १० वर्षहरूमा ५.६ प्रतिशत र जापानमा पूरै अवधिमा १० प्रतिशतभन्दा पनि धेरै रह्यो । यी नयाँ र असमान अवस्थाहरू आफ्नो सापेक्षित तागतका रूपमा औद्योगिक उत्पादन, पुँजी र माल निर्यात तथा अन्तर्राष्ट्रिय वित्तीय अवस्थाहरूमा प्रकट भए । साम्राज्यवादी देशहरूका बीच आर्थिक र राजनीतिक विकासको यस बढ्दो अवस्थाले अपरिहार्य रूपमा उनीहरूका बीच बजारहरू र आपूर्ति आधारहरूका निम्ति तथा कच्चा मालहरू एवम् पुँजी निर्यातका बाटाहरूका लागि सङ्घर्षलाई पनि तीव्र गरिदियो ।

असमान आर्थिक र राजनीतिक विकासको यस नियमले अपरिहार्यता ः साम्राज्यवादी देशहरूका बीच युद्धहरू र नरसंहारहरूलाई पनि जन्म दियो र त्यसप्रकार उनीहरूका कमजोर कडीहरू पनि प्रस्ट रूपमा देखिन गए । तिनै नै ती अनुकूल अवस्थाहरू थिए जसको लाभ उठाएर सर्वहारा तथा क्रान्तिकारी जनता साम्राज्यवादलाई चिहानमा गाड्न सक्दथे । त्यसकारण लेनिन यस महत्वपूर्ण निष्कर्षमा पुग्नुभएको थियो– उनीहरूका ती असमान आर्थिक र राजनीतिक विकासका कारण नै साम्राज्यवादलाई उसको सबभन्दा कमजोर कडीको बिन्दुमा कुल्चन सकिन्छ र समाजवादी क्रान्तिपहिले कैयौँ देशहरूमा विजय हुन सक्दछ । लेनिनले हाम्रो विजयका निम्ति केवल एउटा क्रान्तिकारी सिद्धान्त मात्र दिनुभएन, उहाँले एउटा ज्वलन्त उदाहरण पनि प्रस्तुत गर्नुभयो– क्रान्तिलाई कसरी अगाडि बढाउने । प्रथम विश्वयुद्धका क्रममा रुस त्यस समयको साम्राज्यवादका सम्पूर्ण अन्तरविरोधहरूको केन्द्रबिन्दु थियो । साथै साम्राज्यवादी शृङ्खलाको सबभन्दा कमजोर कडी पनि थियो । लेनिनले त्यस कडीलाई समाउनुभयो र महान् समाजवादी अक्टोबर क्रान्तिको अभियान छेड्न क्रान्तिकारी हिंसाको माध्यमद्वारा रुसी बुर्जुवा अधिनायकत्वलाई उखेलेर फाल्न, सर्वहारा अधिनायकत्वअन्तर्गत दुनियाँको पहिलो समाजवादी राज्य कायम गर्न तथा यसप्रकार मानव–इतिहासलाई एउटा नयाँ युगमा पदार्पण गराउनका निम्ति रुसी सर्वहाराको नेतृत्व गर्नुभयो । दोस्रो विश्वयुद्धपछि चीन, एसिया एवम् युरोपका अन्य देशहरूका राष्ट्रिय मुक्ति आन्दोलनहरूको महान् विजयले त लेनिनको त्यस वैज्ञानिक सिद्धान्तको सच्चाइलाई झनै पुष्टि गरिदियो ।

दुईवटा विश्वयुद्धहरूका विस्फोटहरू सर्वहारा समाजवादी क्रान्तिहरूका विजय अभियानहरू र राष्ट्रिय मुक्ति आन्दोलनहरूका जनउभारहरूले साम्राज्यवादका राजनीतिक, आर्थिक र सामाजिक सङ्कटहरूलाई झनै बढाइदियो । यद्यपि दुनियाँमा ठूलो फेरबदल भइसकेको भए पनि साम्राज्यवादको युग अझै समाप्त भने भएको छैन । त्यसकारण माओले बारम्बार हामीलाई बताउनुहुन्छ ः हामी अहिले पनि साम्राज्यवाद र सर्वहारा क्रान्तिकै युगमा छौँ । साम्राज्यवादका बारेमा माक्र्सवादका आधारभूत सिद्धान्तमा आधारित लेनिनको वैज्ञानिक विश्लेषण पूर्ण रूपमा सही छ । लेनिनवादको आधारभूत सिद्धान्त पुरानो भएको छैन र यो हाम्रो विचारधाराको अहिले पनि आधारभूत आधार बनिरहेको छ ।

साम्राज्यवादको जीवन अब लामो छैन । यो परजीवी र मरणासन्न पुँजीवाद हो जुन सर्वहारा समाजवादी क्रान्तिको पूर्वबेला हो । परन्तु यो स्वयम् आफ्नो स्वेच्छाले इतिहासको रङ्गमञ्चबाट तल झर्नेछैन । साम्राज्यवादको प्रकृतिले नै यस्तो बनाउँछ– जबजब त्यसको जीवनको अन्त्य नजिक आउँदै जान्छ तबतब त्यसले निराश उन्मत्त भएर आफ्नो जीवनका निम्ति सङ्घर्ष गर्नेछ । अतः हामीले यो अवश्य बुझ्नुपर्नेछ– साम्राज्यवाद आधार भूत रूपमा कमजोर भइसकेको छ, एउटा कागजी बाघ बनेर रहन गएको छ । हामीले निश्चय पनि आफ्ना चेतनालाई निर्भीक बनाउनु पर्नेछ ताकि सङ्घर्षका लागि साहस गर्न सकौँ र सङ्घर्षमा खरो रूपमा उत्रिन सकौँ । हामीले साम्राज्यवादलाई अन्त्य गर्नका लागि सङ्घर्ष उठाउने हेतुले निश्चय पनि सम्पूर्ण विश्वका क्रान्तिकारी जनतालाई एकताबद्ध गर्नुपर्नेछ । ‘विपत्ति निम्त्याऊ, असफल होऊ, फेरि पनि विपत्ति निम्त्याऊ, फेरि पनि असफल हो, तबसम्म यसौँ गरिरहौँ जबसम्म कि यो जहाज नडुबोस्– यही त्यो तर्क हो जसलाई साम्राज्यवाद र विश्वभरिका प्रतिक्रियावादी समूह जनउभारबाट छुट्कारा पाउनका निम्ति अपनाउने गर्दछन् । उनीहरू आफ्नो त्यस तर्कबाट कहिल्लै विचलित हुने छैनन् ।’१३ वस्तुतः विपत्ति खडा गर्नु साम्राज्यवादको निराश उन्मुख सङ्घर्षको नै एउटा अभिव्यक्ति हो र अन्ततः असफल हुँदै समाप्त हुनु नै साम्राज्यवादी विकासको अपरिहार्य नियति हो । इतिहासको यस नियमलाई कसैले पनि बदल्न सक्दैन ।

प्रमुख अध्ययन सामग्री

लेनिन, साम्राज्यवाद पुँजीवादको चरम अवस्था, अध्याय ७–१० लेनिन, ‘साम्राज्यवाद र समाजवादी आन्दोलनमा पर्यो फुट ।’

माओ, ‘अमेरिकी पत्रकार अन्ना लुई स्ट्राङसँगको कुराकानी ।’

२०७६ साउन २६ गते आइतबार प्रकाशित