साम्राज्यवादको परजीवी प्रकृति

- अनुवाद : भेषराज भुसाल


राष्ट्रिय अर्थव्यवस्थाको सैन्यीकरणले सामाजिक उत्पादनको शक्तिलाई भित्रैदेखि खोक्रो बनाउने गर्दछ । राष्ट्रिय अर्थव्यवस्थाको सैन्यीकरणले उसलाई त्यस्तो अन्धकार गल्लीमा पुर्याइदिन्छ जहाँ अन्ततः पुग्नका लागि साम्राज्यवादी आर्थिक विकास अभिशाप हुने गर्दछ । वस्तुतः त्यो पुँजीवादको अन्तरनिहित अन्तरविरोधहरूको विकासको एउटा अपरिहार्य परिणाम हो र साथै यो साम्राज्यवादको अधिकाधिक सहनशील भइरहेको प्रकृतिको एउटा ठोस अभिव्यक्ति पनि हो ।

पुँजीवादी उत्पादन शक्तिहरू र श्रमजीवी जनसमुदायहरूको अपर्याप्त प्रभावी मागका बीचको अन्तरविरोधलाई कम गर्न तथा आर्थिक सङ्कटहरूबाट छुट्कारा पाउन एवम् अत्यधिक एकाधिकारी मुनाफा कमाउने लोभबाट संसारलाई फेरि पनि बाँडफाँट गर्नका निम्ति साम्राज्यवादले आफ्नो बहुलापन भरिएको उन्मादद्वारा युद्धको तयारीमा धेरैधेरै शस्त्र विस्तार गर्दै जान्छ । राष्ट्रिय आयको धेरैभन्दा धेरै माग सेनामा खर्च गर्न, हतियार निर्माण गर्न, युद्ध आधारित अनुसन्धानमा खर्च गर्न तथा साम्राज्यवादी आक्रामक युद्धहरूमा लगाउनका निम्ति प्रयोग गर्न थाल्दछ ।

साम्राज्यवादी देशहरूमा राष्ट्रिय आयको सैन्यीकरण सबभन्दा पहिले सैन्य खर्चमा वृद्धिका रूपमा देखिने गर्दछ ।

दोस्रो विश्वयुद्धपछि अमेरिकी बजेटमा सैन्य प्रतिरक्षा खर्चको मात्रा तीव्र रूपमा बढ्दै गयो । १९४६ देखि १९७० सम्म अमेरिकाको कुल प्रत्यक्ष सैन्य खर्च ११०० अर्ब डलर थियो अर्थात् प्रतिवर्ष औसत ४५ अर्ब डलर । १९७२– ७३ को आर्थिक वर्षमा कुल प्रत्यक्ष सैन्य खर्च ७८.३ अर्ब डलरबराबर थियो । यसमा अवकाश प्राप्त सैनिकहरूलाई दिइने ११.७ अर्ब डलरको निवृत्तीभरण र अन्तरिक्ष कार्यक्रमका निम्ति ३.२ अर्ब डलर पुग्न गयो । यो प्रवृत्ति सैन्य उद्योगहरू र सैन्य विज्ञानसम्बन्धी अनुसन्धानहरूका क्षेत्रमा अत्यधिक बढ्दो खर्चका रूपमा पनि अभिव्यक्त भयो । सामाजिक स्वास्थ्यसम्बन्धी उत्पादनका क्षेत्रबाट एउटा ठूलो श्रमशक्ति सैन्य विज्ञानसम्बन्धी अनुसन्धानका क्षेत्रहरूमा स्थानान्तरण गरियो । १९६७–६८ मा संयुक्त राज्य अमेरिकाका विभिन्न क्षेत्रहरूमा गरिएको हतियार उत्पादनअन्तर्गत रोजगारको स्तर र पूर्ण श्रमशक्तिको तुलनामा त्यसको अनुपात क्रमशः विद्युतीय उपकरणका क्षेत्रमा १२६,९०० अर्थात् ३३.८ प्रतिशत रेडियो उपकरण, टेलिभिजन सेटहरू एवम् दूरसञ्चार उपकरणहरूका क्षेत्रमा २५६,९०० अर्थात् ३८.६ प्रतिशत तथा विमानहरू थिए । अमेरिकाको कुल वैज्ञानिक र प्राविधिक श्रम शक्तिको दुई तिहाइ भाग हतियार निर्माण र अन्तरिक्ष अनुसन्धानमा नै लागेका छन् । अमेरिकाको ७ करोड ७० लाख श्रमशक्ति (सशस्त्र सेनालाई छाडेर) को लगभग २० प्रतिशत प्रतिरक्षा विभागबाट प्राप्त हुने हतियारहरूको आदेशमा नै निर्भर छन् ।

साम्राज्यवादी देशहरूको राष्ट्रिय आयको सामान्य सैन्यीकरणका गम्भीर प्रतिकूल नतिजा पनि अगाडि आइसकेका छन् । हालैका वर्षहरूमा अमेरिकाले हतियार निर्माण र आक्रमणमा करिब १०० अर्ब डलर खर्च गरेको छ । ती उत्पादित हतियारहरू कि युद्ध क्षेत्रहरूमा आम नरसंहार गर्न र सामाजिक सम्पदाहरूलाई नष्ट गर्नका निम्ति प्रयोग गरिरहेको छ कि त गोदामहरूमा सडेर कबाड भइरहेका छन् । ती कारखानाबाट निक्लिँदै पनि “पुराना” बनिरहेका हुन्छन् किनभने नयाँ–नयाँ हतियारहरूको आविष्कार भइरहेका छन् । यसप्रकार राष्ट्रिय आयको सैन्यीकरणले ठूला बेढङ्गका नतिजा उत्पन्न गरिदिएको छ । जस्तै हतियार उद्योगको स्फीतीकरणकारी विस्तार र नागरिक उद्योगहरूको अस्फीतीकरणकारी सङ्कुचन । विगत २० वर्षको अवधिमा अमेरिकाको विमानसम्बन्धी र अन्तरिक्षसँग, अनुसन्धानसँग सम्बन्धित उद्योगहरूमा गाइडेट मिसाइलहरू, विमानहरू र अन्तरिक्ष यानहरूको उत्पादनको मूल्यमा छ गुणासम्म वृद्धि भयो । अर्कोतर्फ त्यसको परिणाम के भयो भने नागरिक उद्योगहरूको विकास सुस्त हुन गयो । केही उद्योगहरूलाई त आफ्नो उत्पादन घटाउनुपर्ने पनि भयो । कपडा उद्योगकै उदाहरण लिऊँ । १९७० मा कपडा उत्पादन १९५० को तुलनामा केवल ८६ प्रतिशत नै रहन गयो । साम्राज्यवादद्वारा प्रोत्साहित आक्रमण र युद्धहरूको नीति तथा राष्ट्रिय अर्थव्यवस्थाको सैन्यीकरणले श्रमशक्ति, मालहरू र सम्पदा अझ विशेष गरेर सामाजिक सम्पदाको ठूलो परिमाणमा विनाश गरेको छ । यो साम्राज्यवादको पतनशील प्रकृतिको एउटा उल्लेखनीय विशिष्टता हो ।

साम्राज्यवादको परजीवी र सडनशील प्रकृति कस्तो रूपमा पनि देखिइरहेको छ भने बुर्जुवा वर्ग उत्तरोत्तर एउटा यस्तो जाति समूह बन्दै गइरहेको छ जुन पूर्ण रूपमा सुदखोरीमा नै जीवित छ । यो तथाकथित त्यस्ता व्यक्तिहरूको जाति समूह जुन उत्पादन प्रक्रियाबाट पूर्ण रूपमा कटिसकेको छ र “सुदखोरीमा नै जीवित छन् ।” त्यसो त बुर्जुवा वर्ग उत्पादनसम्बन्धी श्रमकार्यमा कहिल्यै संलग्न रहेको छैन । त्यसले मजदुरहरूको शोषण गरेर विलासिताको जीवन जिउँदै आएको छ । साम्राज्यवादको अवस्थामा आउँदा त बुर्जुवा वर्गको पुँजीबीच पूर्ण प्रकृति त झनै बढ्न पुग्दछ । जब पुँजीवादी उद्योगहरू पूर्ण रूपमा विशिष्ट प्रबन्धकीय कर्मचारीहरूद्वारा समालिन थाल्छ तब बुर्जुवा वर्ग अझ खासगरेर एकाधिकारी बुर्जुवा वर्ग उत्पादन प्रक्रियाबाट पूर्ण रूपमा कटिसकेको छ र केवल स्टक र सेयरहरूबाट हुने आयमा नै परजीवीजस्तै बाँचिरहेको छ । लेनिनले धेरै पहिले भन्नुभएको थियो, “साम्राज्यवाद मात्र एकाध देशहरूमा मुद्रा पुँजीको एउटा ठूलो संकेन्द्रण मात्र हो” र यसप्रकार यस्ता जाति समूहहरूमा जीवन जिउने मानिसहरू जुन केवल सुदखोरीमा नै निर्भर हुन्छन् र कुनै काम गर्दैनन्, तीव्रताका साथ बढिरहन्छन् ।”२ उदाहरणका निम्ति १९५० मा लाभांशहरू र व्यक्तिगत ब्याजबाट अमेरिकामा प्राप्त हुने कुल आय १९.५ अर्ब डलर थियो । १९६३ मा यो बढेर ५०.३ अर्ब डलर हुन गयो । अर्थात् १५६ प्रतिशतले वृद्धि भयो । यस अवधिमा राष्ट्रिय आय १०२ प्रतिशतले मात्रै बढ्यो । १९७० मा अमेरिकाको लाभांश र व्यक्तिगत ब्याजबाट प्राप्त हुने आय ८९.७ अर्ब डलर पुग्यो । अमेरिकाका एकाधिकारी मालिकहरू शोषकबाट प्राप्त यस आयबाट विलासिताको जीवन जिउन थाले । वित्तीय समूहहरूका यसो केही मालिकहरूले आफ्नो मस्तीका निम्ति विशाल भूखण्डहरूमा ठूलाठूला विला गल्फ कोर्स र सिकारी क्षेत्र मात्र बनाएनन्, आपसमा आफ्नो धनसम्पत्तिको दम्भ पनि प्रदर्शन गरे । १९६४ मा अमेरिकाका एक ठूला एकाधिकारी पुँजीपति फोर्डले आफ्नी छोरीको जन्मदिनका अवसरमा दिएको एउटा भोजमा पाँच लाख डलर खर्च गरे । त्यसको केही दिनपछि नै अर्का एकाधिकारी पुँजीपति मेलोनले फोर्डलाई प्रभावित गर्नका निम्ति “समाज” सँग आफ्नी छोरीको परिचय गराउन भन्दै दिएको एउटा भोजमा दस लाख डलर खर्च गरे । यी घटनाले एकाधिकारी बुर्जुवा वर्गको परजीवी प्रकृतिलाई उदाङ्गो गराइदिन्छन् ।

साम्राज्यवादको एउटा अर्को विशेषता के हो भने यसअन्तर्गत पुँजीको निर्यात तीव्रतासँग बढ्न जान्छ । पुँजीको निर्यात बढ्नाले सीमित धनी देश सुदखोर देश बन्न पुग्छन् र आर्थिक रूपबाट अल्पविकसित तमाम देशहरूमा परजीवीजस्तै आश्रित भएर आफ्ना औपनिवेशिक र पिछलग्गु देशहरूका जनताको शोषणमा महारथ प्राप्त गर्दछन् । तथ्याङ्कहरूका अनुसार १९५० देखि १९७० सम्म अमेरिकाको प्रत्यक्ष निजी लगानीबाट प्राप्त हुने ब्याजको धनराशि ८८.७७ अर्ब डलरसम्म पुग्यो जुन १९७० को अन्त्यसम्म कुल प्रत्यक्ष निजी विदेशी लगानीभन्दा १४ प्रतिशतले बढी थियो । १९४६ मा ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाको प्रत्यक्ष लगानी ३ अर्ब डलर थियो जुन १९६९ मा बढेर ११.७ अर्ब डलर हुन गयो । चौबीस वर्षमा एक्लै ल्याटिन अमेरिकी देशहरूमा अमेरिकाद्वारा गरिएको प्रत्यक्ष लगानीबाट उसलाई २३.४९ अर्ब डलर ब्याजमा प्राप्त भयो । यो धनराशि अमेरिकाद्वारा गरिएको शुद्ध प्रत्यक्ष लगानीभन्दा धेरै बढी थियो ।

अमेरिकाद्वारा विदेशमा गरिएको प्रत्यक्ष लगानीबाट प्राप्त ब्याजको ठूलो हिस्सा प्रतिवर्ष खल्तीमा जाने गर्दछ । १९६० देखि १९७० सम्म ब्याजका रूपमा अमेरिकालाई प्राप्त भएको ४३.४ अर्ब डलरसम्म पुग्यो । यसै अवधिका क्रममा ब्याजका रूपमा प्राप्त १९ अर्ब डलरको अतिरिक्त धनराशि जुन अमेरिकामा पठाइएन पुनः लगानी गरियो किनकि विदेशी शोषणलाई अझै धेरै बढाउन सकियोस् । यसप्रकार अमेरिकी साम्राज्यवादद्वारा प्रतिवर्ष विदेशी शोषण र ब्याजमा गरिएको बढोत्तरीबाट प्रतिवर्ष उसको परजीवी प्रकृति पनि बढ्दै गएको छ ।

उपरोक्त सबै कुराबाट स्पष्ट जानकारी हुन्छ– पुँजीको निर्यात बहुसङ्ख्यक राष्ट्रहरू र देशहरूलाई उत्पीडन र शोषणका निम्ति साम्राज्यवादको एउटा ठोस आधार हो र साथै ती मुठीभर समृद्ध देशहरूको परिजीवी पुँजीवादको पनि ठोस आधार हो ।

मजदुर वर्गीय कुलीनहरू प्रकट हुनु पुँजीवादको परजीवी प्रकृतिको एउटा अर्को अभिव्यक्ति हो ।

साम्राज्यवादको परजीवी प्रकृति अपरिहार्य रूपमा मजदुर आन्दोलनमा पनि प्रतिबिम्बित हुने गर्दछ । मजदुर वर्गीय कुलीनहरूको जन्म हुनु र संशोधनवाद प्रकट हुनु मजदुर आन्दोलनमा साम्राज्यवादको परजीवी प्रकृतिको नै प्रतिबिम्बन हो । लेनिनले भन्नुभएको थियो, “सुदखोर देश परजीवी र सडनशील पुँजीवादी देश हुनु यो स्थिति ती देशहरूका सम्पूर्ण सामाजिक र राजनीतिक परिस्थितिहरू र विशेष रूपबाट मजदुर आन्दोलनमा दुई आधारभूत गुटहरूमाथि प्रभाव नपारीकन रहन सक्दैन ।”३

एकाधिकारी बुर्जुवा वर्ग धेरैभन्दा धेरै एकाधिकारी मुनाफा कमाउनका निम्ति आफ्ना उपनिवेशहरू, पिछलग्गु देशहरू र स्वर्ग आफ्नै देशहरूका सर्वहारा वर्गहरूलाई सुनियोजित ढङ्गबाट लुट्ने र शोषण गर्ने गर्दछ । श्रमजीवी जनसमुदायहरूको विरोधलाई दबाउनका निम्ति उसले आफ्नो विशाल एकाधिकारी मुनाफाको एउटा सानो टुकडी मजदुरहरूको एउटा माथिल्लो सानो हिस्सालाई घुसका रूपमा लिएर तिनीहरूलाई एकाधिकारी बुर्जुवा वर्गका दलाल बनाउने गर्दछ । तिनीहरू नै मजदुर वर्गीय कुलीन हुन् जसले उँचो तलब लिएर बुर्जुवा वर्गजस्तै जीवन बिताउँदै एकाधिकारी बुर्जुवा वर्गको सेवा गर्दछन् । तिनीहरू मजदुरहरूसँग घुलमिल भएर मजदुर वर्गका हितहरूको सौदाबाजी गर्नमा महारथ हासिल गर्दछन् र मजदुर आन्दोलनलाई लक्ष्यभ्रष्ट बनाइदिने गर्दछन् । ती मजदुर वर्गीय कुलीन साम्राज्यवादी देशहरूका एकाधिकारी बुर्जुवा वर्गका स्वामीभक्त चलाक कुकुरहरू हुन् ।

एकाधिकारी पुँजीबाट हुने अत्यधिक मुनाफा नै मजदुर आन्दोलनमा संशोधनवादको आर्थिक आधार हो । साम्राज्यवादी परिस्थितिहरूमा मजदुर वर्गीय कुलीनहरू अस्तित्वमा आएपछि नै साम्राज्यवादी शासनको रक्षा गर्नका निम्ति संशोधनवादी सिद्धान्त र कार्यनीतिको उदय हुने गर्दछ । यी मजदुर वर्गीय कुलीन बुर्जुवा तत्व नै हुने गर्दछन् जसले मजदुरहरूको छद्म आवरण ओढिरहेका हुन्छन् । अतः संशोधनवाद माक्र्सवादको खोल ओढेको एउटा बुर्जुवा वर्गीय सिद्धान्त नै हो । मजदुर वर्गीय कुलीन र संशोधनवादी मजदुर आन्दोलनका सबैभन्दा विश्वासघाती हरियो घाँसमा लुकेका हरेउ सर्प हुन् । तिनीहरूलाई शरीरका दुस्मन (नासूर ?) नै बुझ्नु पर्दछ । यी नासूरहरूलाई पूर्ण रूपमा अन्त्य गरिएन भने त साम्राज्यवादले आफ्नो पतनशील अवस्थालाई लामो समयसम्म टिकाइराख्न सक्छ । जस्तो कि लेनिनले भन्नुभएको थियो, “अवसरवादको तीव्र र दुष्चक्री विकासले त्यसको विजयको सुनिश्चित गर्न सक्दैन ।”४ लेनिनले अझ अगाडि भन्नुभएको थियो, “साम्राज्यवादविरुद्धको सङ्घर्षलाई अवसरवादविरुद्धको सङ्घर्षका साथ घनिष्ट रूपबाट जोडिँदैन भने त त्यो खोक्रो लफ्फाजी मात्र बनेर रहन्छ ।”५

२०७६ साउन १२ गते आइतबार प्रकाशित