सापेक्षित अतिरिक्त जनसंख्या पुँजी संचयको अपरिहार्य परिणाम हो

- अनुवाद : भेषराज भुसाल

सापेक्षित अतिरिक्त जनसंख्या पुँजी संचयको अपरिहार्य परिणाम हो

पुँजीका अवयवी संघटकमा भएको बृद्धिले श्रमशक्तिको भागलाई सापेक्षिक कमी ल्याइदिन्छ । यद्यपि पुँजी संचय अगाडि बढ्नुका साथै श्रमशक्तिको आपूर्ति अत्यन्त धेरै बढ्न जान्छ । पुँजीवादी उत्पादन प्रविधिहरुको विकास र मेशिनहरुको व्यापक रुपमा अपनाउनाले कैयौं श्रमकार्य यति सरलीकृत हुन गए कि अधिकांश महिलाहरु र बालबालिकाहरु पनि किरायका मजदूरहरुमा सम्मीलित हुन सक्दथे । यसका साथै पुँजी संचयको अवधीमा ठूलो संख्यामा साना माल उत्पादक र साना पुँजीपतिको टाट पल्टिन गयो र आफ्नो श्रमशक्ति विक्रि गर्नकालागि बाध्य हुन गए । ग्रामीण क्षेत्रहरुमा पुँजीवादको विकासले ठूलो संख्यामा किसानहरुलाई पनि कंगाल बनाइ दियो जुन जीवनयापनकालागि कमाउनका निम्ति शहरहरुमा घुइँचो लाग्यो । यी सबै कारणहरुबाट श्रमशक्तिको आपूर्ति अत्यन्त धेरै बढ्न गयो ।

यसप्रकार एकातर्फ श्रमशक्तिको भागमा सापेक्षिक रूपबाट कमी आयो, अर्कोतर्फ श्रमशक्तिको आपूर्ति अत्यन्त धेरै बढ्न गयो । परिणाम के भयो भने पुँजीवादी समाजमा हरेक समय बेरोजगारहरूको एउटा ठूलो समूह उपस्थित रहन जान्छ जुन सापेक्षित जनसङ्ख्या हुने गर्दछ ।

यो तथाकथित सापेक्षित अतिरिक्त जनसङ्ख्या केवल पुँजीवादी मागको सन्दर्भमा ‘अतिरिक्त’ वा ‘फाल्तु’ हुने गर्दछ । यसको अर्थ यस्तो हुँदैन– जनसङ्ख्या यति धेरै भयो, तिनका लागि पर्याप्त पुग्दैन । वास्तवमा निरपेक्ष अतिरिक्त जनसङ्ख्या जस्तो कुनै चीज नै हुन सक्दैन किनभने व्यक्तिसँग केवल खानका निम्ति मुख मात्रै हुँदैन, ऊसँग दुईवटा हात पनि हुन्छन् जसबाट उसले भौतिक सम्पत्ति उत्पादन गर्न सक्छ । जब श्रमजीवी जनताका हातमा साधन सिर्जित गर्नका निम्ति उत्पादनको गहिराइ र विस्तार दुवैलाई उन्नत बनाउनेछ, जसबाट आम जनताले भन्दा कैयौँ धेरै वैविध्यपूर्ण जीवन जिउन सक्नेछ । केवल पुँजीवादी समाजमा जहाँ मजदुरहरूको भाग्य उनीहरूको हातमा हुँदैन र मेसिनहरूलाई पुँजीका रूपमा प्रयोग गर्ने गरिन्छ, मजदुरहरूलाई सापेक्षिक अतिरिक्त जनसङ्ख्याका रूपमा विस्थापित गरिदिइन्छ । यसकारण माक्र्सले सापेक्षिक अतिरिक्त जनसङ्ख्यालाई ‘पुँजीवादी उत्पादन प्रणालीअन्तर्गत जनसङ्ख्याको एउटा विशिष्ट नियम’ भन्नुभएको थियो । उहाँले बताउनुभएको थियो, ‘अतिरिक्त मजदुर जनसङ्ख्या पुँजीवादी आधारमा सम्पत्तिको सञ्चय अथवा विकासको एउटा अपरिहार्य परिणाम हो ।’

पुँजीवादी समाजमा अतिरिक्त जनसङ्ख्याका तीनवटा मूल रूप हुने गर्दछन् ।

पहिलो सचल अतिरिक्त जनसङ्ख्या । यो त्यसको बेरोजगार जनसङ्ख्या हुने गर्दछ जुन उत्पादन प्रक्रियामा अस्थायी रूपमा विस्थापित भएको हुन्छ । यसप्रकारका बेरोजगार जनसङ्ख्या औद्योगिक केन्द्रहरूमा सबभन्दा धेरै हुन्छन् । आर्थिक सङ्कटहरूको समयमा नयाँ मेसिनहरू र नयाँ प्रविधिहरू अपनाउनाले केही मजदुर विस्थापित हुन जान्छन् । यद्यपि सङ्कट हटेपछि वा उद्योग अझ धेरै हुन गएमा ती बेरोजगार मजदुरहरूमध्ये अधिकांशलाई कारखानाहरूमा फिर्ता लिने गरिन्छ । पुँजीवादी देशहरूमा अत्यन्त थोरै त्यस्ता मजदुर हुन्छन् जसलाई कुनै न कुनै समय बेरोजगारी झेल्न नपरेको होस् । अधिकांश मानिस कहिले रोजगार पाउँछन् त कहिले सडकमा आउने गर्छन् ।

दोस्रो हो अदृश्य अतिरिक्त जनसङ्ख्या अर्थात् ग्रामीण क्षेत्रका अतिरिक्त जनसङ्ख्या । कृषि उत्पादनको पुँजीवादीकरण र पुँजीका अवयवी सङ्घटकमा वृद्धि भएपछि कृषि मजदुरहरूको माग घट्न जान्छ । योभन्दा पनि बढेर कृषि क्षेत्रमा श्रम शक्तिको यो विस्थापन निरपेक्ष हुने गर्दछ । जबसम्म अर्को नयाँ जमिन कृषियोग्य बनाइँदैन तबसम्म अरू श्रमशक्ति खपत हुन सक्दैन । पुँजीवादी कृषिद्वारा विस्थापित मजदुरहरू केही सहरहरूमा जाने गर्दछन् । अन्य जमिनको सानो टुक्रासँग टाँसिइरहन्छन् । केहीले यताउताका काम गरेर पेट पाल्छन् । उनीहरू स्वरूपमा बेरोजगार नदेखिन सक्छन् तर कृषि उत्पादनका निम्ति तिनीहरू फाल्तु हुने गर्छन् । यसलाई अदृश्य अतिरिक्त जनसङ्ख्या भन्दछन् ।

तेस्रो हो स्थिर अतिरिक्त जनसङ्ख्या । यी मानिसहरूले घरेलु कामकाज वा यताउताका सानातिना काम गर्ने गर्दछन् । उपलब्ध श्रमशक्तिको एउटा हिस्सा भएर पनि तिनीहरूको कुनै स्थायी पेसा हुँदैन । आमरूपमा उनीहरूका कामका घण्टा अत्यन्त धेरै र ज्याला अत्यन्त न्यून हुने गर्दछ । उनीहरूको जीवनस्तर मजदुर वर्गको औसत जीवनस्तरभन्दा धेरै तल हुने गर्दछ ।

पुँजीवादी समाजमा ‘फाल्तु’ जनसङ्ख्याका उपरोक्त तीनवटा रूपहरूका अतिरिक्त हदै गरिब मानिसहरूको एउटा धेरै ठूलो सङ्ख्या हुने गर्दछ जुन अरूहरूको दयामा निर्भर रहन्छ र भिक मागेर गुजारा गर्दछ । यिनीहरूमा वृद्धवृद्धा, कमजोर, अपाङ्ग, अनाथ र घरवारविहीन मानिसहरू सामेल हुन्छन् जुन विभिन्न कारणहरूबाट श्रम गर्ने क्षमता हराइसकेका हुन्छन् । यिनीहरू सापेक्षिक अतिरिक्त जनसङ्ख्याकाको सबभन्दा तल्लो पिँढीमा हुन्छन् र यिनको अवस्था सबैभन्दा नराम्रो हुने गर्दछ ।

सापेक्षित अतिरिक्त जनसङ्ख्या पुँजी सञ्चयको अपरिहार्य परिणाम हो । यसका साथै यी मानिस पुँजी सञ्चयमा एउटा औजार, कहाँसम्म भने पुँजीवादी उत्पादन प्रणाली बनिरहन र त्यसको विकासको एउटा सर्त पनि बन्न जाने गर्दछन् । पुँजीपतिले बेरोजगार मजदुरहरूको उपस्थितिलाई काममा लागेका मजदुरहरूको शोषण–उत्पीडन बढाउनका निम्ति ‘ट्रम्प कार्ड’ का रूपमा प्रयोग गर्दछ । पुँजीपतिको मुखबाट यस्ता विषैला शब्द प्रायः सुन्ने गरिन्छ, ‘सयवटा कुकुर खोज्नु सयजना मजदुरहरूको व्यवस्था गर्नुभन्दा कठिन छ ।’ पुँजीपति यति आक्रामक किन हुन्छ ? किनकि कारखानाको गेटबाहिर हजारौँहजार बेरोजगार मजदुर उपस्थित छन् । पुँजीपतिले कारखानाभित्रका मजदुरहरूलाई धम्क्याउन र उनीहरूको ज्याला कम गर्नका लागि ती बेरोजगारहरूलाई प्रयोग गर्दछ । यसका साथै प्रतिस्पर्धा र अराजकताका बीच पुँजीवाद विकसित भइरहन्छ र अचानक खुम्चिने र फैलिने क्रम यसको अभिलाक्षणिकता हुने गर्दछ । जब उत्पादन अचानक विस्तारित हुन जान्छ तब पुँजीपतिलाई श्रमको माग श्रमशक्तिमा स्वाभाविक रूपबाट हुने वृद्धिबाट पूरा हुन पाउँदैन । पुँजीपतिलाई श्रमशक्तिको ‘सुरक्षित भण्डार’ को आवश्यकता हुने गर्दछ । पुँजीवादी उत्पादन प्रणालीको अस्तित्व र विकास त्यसबिना हुन सक्दैन ।

माल्थसको जनसङ्ख्याको सिद्धान्त पुँजीवादलाई सुरक्षा गर्नका निम्ति मनगढन्ते एउटा प्रतिक्रियावादी भ्रान्ति हो ।

पुँजीवादी समाजमा बेरोजगारहरूको फौजको उपस्थिति पुँजीपतिका निम्ति एउटा ‘राम्रो’ चीज हो किनभने यसले शोषणमा मद्दत गर्दछ । तर पनि यो उसका लागि सरमको विषय पनि हुन्छ किनभने यसका कारण उसको तथाकथित सभ्य देश असभ्य देखा पर्दछ । यस अवस्थाबाट तङ्ग्रिनका लागि बुर्जुवा वर्गका सेवामा लागेका केही बुद्धिजीवीहरूले आफ्ना दिमागहरूमा पूरा जोड लगाएर पुँजीवादी व्यवस्थालाई जायज ठह¥याउनका लागि कैयौँ पूर्वाग्रहग्रस्त सिद्धान्त रचे । उन्नाईसौँ शताब्दीको युद्धमा एक अङ्ग्रेज अर्थशास्त्री माल्थसद्वारा लेखिएको जनसङ्ख्या सिद्धान्तमा एक निबन्ध त्यस्तै एउटा पूर्वाग्रहपूर्ण सिद्धान्त थियो ।

माल्थसले एउटा दुष्टतापूर्ण तर्क प्रस्तुत गरे । उनले भने– जनसङ्ख्या ज्यामितीय श्रममा (१,२,३,४..) बढ्दछ जब कि जीवनयापनका साधन अङ्कगणितीय क्रमशः (१,२,३,४…) बढ्दछन् । उनले तर्क दिए– फाल्तु जनसङ्ख्या बेरोजगारी र जनताको गरिबीको मूलभूत कारण यही हो । यस तर्कको उद्देश्य यो सम्झाउनु थियो– बेरोजगारी र गरिबी पुँजीवादी व्यवस्थाका खराबी होइनन्, बरु प्रकृतिका नियमका परिणाम हुन् । माल्थसका अनुसार युद्ध र महामारीहरू मानव समाजका निम्ति बरदान हुन् । युद्धहरू र महामारीहरूमा ठूलो सङ्ख्यामा मानिस मर्दछन् जसबाट फाल्तु जनसङ्ख्याका नकारात्मक प्रभाव कम हुन पुग्छन् । जनसङ्ख्याको वृद्धि जीवनयापनका साधनहरूमा वृद्धि वा धेरै अनुकूल हुन पुग्छन् ।

परन्तु तथ्य तर्कहरूभन्दा धेरै बलिया हुने गर्दछन् । माल्थसको प्रतिक्रियावादी ‘जनसङ्ख्याको सिद्धान्तमा एउटा निबन्ध’ जसमा धेरै दम छैन । जनसङ्ख्यामा ज्यामितीय वृद्धि र जीवनयापनका साधनहरूमा अङ्कगणितीय वृद्धि देखाउने यो छद्म विज्ञान अस्तित्वमा कसरी आयो ? खासमा युद्धको कारण के थियो भने माल्थसले एउटा खास समयमा अमेरिकामा भएको वृद्धिलाई जनसङ्ख्या वृद्धिको दरको आधार बनाए । उनले एउटा खास समयमा फ्रान्समा खाद्यान्न उत्पादनमा भएको वृद्धिलाई जीवनयापनका साधनहरूमा भएको वृद्धिको दरको आधार बनाए । त्यस समय अमेरिकाको जनसङ्ख्यामा भएको तीव्र विकासका कारण जनसङ्ख्याको स्वाभाविक वृद्धि थिएन बरु ठूलो सङ्ख्यामा आप्रवासीहरू आउनेजस्ता अन्य कारण त्यसका लागि जिम्मेवार थिए । जहाँसम्म फ्रान्सको खाद्यान्नको विषय छ, यसको तुलना फ्रान्सको जनसङ्ख्यामा भएको वृद्धिबाट गरिनु पर्दछ न कि अमेरिकाको जनसङ्ख्या वृद्धिसँग तब त यो जनसङ्ख्या वृद्धिभन्दा कम छैन, बरु धेरै नै थियो । १७६० मा फ्रान्सको जनसङ्ख्या २१ लाख थियो । प्रतिव्यक्ति औसत खाद्यान्न उत्पादन ४५० लिटर थियो । असी वर्षपछि १८४० मा फ्रान्सको जनसङ्ख्या बढेर ३४ लाख हुन गयो अर्थात् यसमा ६२ प्रतिशत वृद्धि भयो भने खाद्यान्न उत्पादनमा वृद्धि त्यसभन्दा पनि तीव्र गतिमा भयो । १८४० मा प्रतिव्यक्ति औसत खाद्यान्न उत्पादन ८३२ लिटर थियो अर्थात् ८५ प्रतिशतको वृद्धि हुन गयो । कैयौँ अन्य पुँजीवादी देशहरूका आँकडाहरूबाट स्पष्ट हुन्छ, जनसङ्ख्याको वृद्धि जीवनयापनका साधनहरूको वृद्धिभन्दा धेरै थिएन । त्यसका विपरीत जीवनयापनका साधनहरूको वृद्धि जनसङ्ख्याको वृद्धिभन्दा कैयौँ धेरै थियो । फेरि पनि श्रमजीवी जनता हदै गरिब थिए र उनीहरूको अवस्था दयनीय थियो । तथाकथित निरपेक्ष अतिरिक्त जनसङ्ख्याका तर्फबाट पुँजीवादी व्यवस्थाका खराबीहरूलाई ढाक्ने माल्थसको कोसिस एउटा निष्फल प्रयास थियो ।

पुरानो चीनमा माल्थसको ‘जनसङ्ख्या सिद्धान्तमाथि एक निबन्ध’ को व्यापक प्रभाव थियो । साम्राज्यवादी र क्वोमिन्ताङ प्रतिक्रियावादी, चिनियाँ जनताको क्रान्तिको विरोध गर्नका लागि त्यस सिद्धान्तलाई औजारका रूपमा प्रयोग गर्दथे । उनीहरूले यसप्रकारको बकबास गर्दथे चिनियाँ जनता यसकारण गरिब छन् किनकि उनीहरूको सङ्ख्या अत्यन्त धेरै छ । उनीहरूले साम्राज्यवाद, सामन्तवाद र नोकरशाही पुँजीवादका खराबीहरूको दोष प्रक्रियामाथि थोपर्ने कोसिस गर्दथे । राष्ट्रिय मुक्तिको ठीक पहिले उनीहरूले फेरि त्यस्तै बकबास सुरु गरेका थिए, चीनको जनसङ्ख्या अत्यन्त धेरै भयो । उनीहरूका अनुसार जनताको सरकारले खाद्यान्नको सङ्कट हल गर्न सक्नेछैन र केही महिनाभन्दा धेरै चल्न सक्नेछैन । माओ त्सेतुङले त्यो प्रतिक्रियावादी भ्रान्तिलाई दृढतापूर्वक खण्डन गर्नुभयो । उहाँले भन्नुभयो, ‘चीनको विशाल जनसङ्ख्या एउटा राम्रो कुरा हो । हामी यसभन्दा पनि ठूलो जनसङ्ख्यालाई देखभाल गर्न सक्छौँ । यसको समाधान उत्पादन हो । क्रान्ति र उत्पादन मिलेर खाद्यान्न समस्या हटाउन सक्छौँ ।’६ स्थापनाको समयदेखि लिएर समाजवादी चीनका अनुभवहरूले माओको क्रान्तिकारी कार्यदिशाको निर्देशनमा चीनमा बेरोजगारी समाप्त गरिदिएको छ । समाजवादी अर्थव्यवस्थाले विकास गरिरहेको छ र मानिसहरूको जीवनस्तर लगातार माथि उठिरहेको छ । गरिब र पिछडिएको चीनको स्थापना अब समृद्धि र विकासतर्फ बढिरहेको एउटा समाजवादी देशले लिइसकेको छ । साम्राज्यवादीहरूद्वारा फैलाइएका भ्रान्तिहरूको टाट पल्टिसकेको छ ।

२०७६ असोज ७ गते मंगलबार प्रकाशित