सांस्कृतिक क्षेत्रमाथि हमला : सरकारको अन्तिम छट्पटी

सम्पादकीय

समानताको हाम्रो बिहान पक्कै उदाउनेछ
धर्तीभरि न्यानो–न्यानो खुसी सजाउनेछ
एक दिन जेलका काला पर्खाल सबै ढालिनेछन्
अत्याचारका खुनी जन्जिर सबै फालिनेछन् ।
  -माइला लामा
नेपाली समाजमा केही अकाट्य र घतलाग्दा उखान–टुक्काहरू छन् जो अहिलेको कपी वली सरकारका क्रियाकलापसँग दुरुस्तै मिल्छन् । प्रायः सबैलाई कमिलाको प्वाँख कतिबेला पलाउँछ ? गोरुले कतिबेला भीर खोज्छ ? भन्ने थाहा छ । मर्ने बेलामा कमिलाका प्वाँख पलाउँछन् र केही दूरीसम्म उडेर ज्यान फ्याल्छ । त्यस्तै गाईगोरु जब वृद्ध, अशक्त र काम गर्न नसक्ने अवस्थामा पुग्छन् तब उनीहरू भीरतिर लाग्छन् । हिँडिरहेको अप्ठ्यारो भिरको बाटो पनि उनीहरूका लागि काल बन्छ । वली सरकार यतिबेला तिनै कमिला र उमेर सकिन थालेका गाईबस्तुले रोज्ने बाटो रोजिरहेको छ । देश र जनताका गीत गाउँदागाउँदै सिङ्गो जीवन आन्दोलनमा होमिरहेका अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामाको गिरफ्तारी र जेलयात्रासम्म आइपुग्दा केपी वली सरकारले आलोचना सहने धैर्य सम्पूर्ण रूपमा गुमाइसकेको थाहा पाउन कुनै गाह्रो पर्दैन । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका गीतकार, सङ्गीतकार लामाले नख्खु जेलभित्रबाटै जनसमुदायलाई सम्बोधन गर्दै लेखेका छन्, ‘जनयुद्धभित्र एउटा महान् राष्ट्र र समृद्ध जनताको सपना देखेर मैले रगत पोखेँ । मृत्युको मुखबाट प्रिय कमरेडहरू र मेरा आदरणीय डाक्टरहरूले ठूलो सङ्घर्ष गरेर मलाई फिर्ता ल्याउनुभयो । श्रवणक्षमता कमजोर भएको, कान र दृष्टिक्षमता ह्रास भएको घाइते जीवन सहिदका अधुरा सपना अनि माटोको आह्वान पूरा गर्न लडिरहनेछु । जब जीवनमा गुमाउन बाँकी नै केही छैन भने जेल र मृत्युले हामीलाई तर्साउन सक्दैन । हराउन सक्दैन ।’ माइलाका यी शब्दहरूमा पीडा र आक्रोश होइन, देश, जनता र वर्गप्रति गम्भीर जिम्मेवारीबोध छ । यही क्रान्तिकारी आशावादले झन्डै एक हजार क्रान्तिकारीहरु यतिबेला जेल र हिरासतका चिसा, दिक्कलाग्दा र निरस जीवन बिताइरहेका छन् ।

वास्तवमा शासकहरू किन छट्पटाउँछन् जनताका पक्षमा लेखिएका सिर्जना, रचना गर्ने कलम र विचारदेखि ? किन डराउँछन् उनीहरू माक्र्सवादी, आमूल परिवर्तनका पक्षधर स्रष्टाहरूदेखि ? किन बढ्छ उनीहरूको धुकधुकी स्रष्टाका विचारहरूदेखि ? किन बन्दुक, आगो, ज्वाला र विस्फोटक देख्छन् शासकहरू कलाकारका सिर्जना र वाद्यवादनका यन्त्र अनि कलमलाई ? इतिहासदेखि नै यो कालो चक्र दोहोरिइरहेको छ ।

सायद आततायी शासकहरूको घ्राणशक्ति अन्य जीवको भन्दा अनौठो हुन्छ । ती देश बचाउन लेखिने गीत र ती गीतका शब्दहरू मन पराउँदैनन् । उनीहरूलाई जनताका हृदयका सुस्केराहरू सुसेल्ने गितार, मुर्चुङ्गा र मादलका स्वरहरू मन पर्दैनन् । जनताको हृदयको भाका तिनलाई कर्कस र चिच्याहटलाग्दो लाग्छ र उनीहरू माइलाहरूलाई मध्यरातमा अपराधीलाईझैँ गिरफ्तार गर्छन् र हतारहतार जेलमा कोच्छन् ।

राजतन्त्रात्मक संसदीय कालमा जनयुद्ध आरम्भ भएको केही समयमै तत्कालीन फासिवादी सरकारले मस्त बिस्टहरूलाई गिरफ्तार ग¥यो र हत्या ग¥यो । अनेकोटमा च्याङ्बा लामासहित सातजना जनकलाकारलाई मादल र गितार बोकेकै अवस्थामा घरमा आगो लगाएर पिल्स्याउँदै गोली हानेर हत्या ग¥यो । भाबाङ, दोरम्बालगायत स्थानमा संस्कृतिकर्मीहरूले हाँसीहाँसी फासिवादी शासकहरूका ताता गोली खाए तर झुकेनन् । एकीकृत जनक्रान्तिमा लामबद्ध अधिकांश संस्कृतिकर्मी÷स्रष्टाहरू जनयुद्धबाट बचेको ‘नाफाको जीवन’ लाई समाजको आमूल परिवर्तनमा लगाइरहेका छन् । त्यसैले उनीहरूसँग विचार, राजनीति र सिर्जनात्मक चेत प्रबल छ । शासकहरूले चाहेका हुन सक्छन्, फेरि डुङ्ला, अनेकोट र दोरम्बा हत्याकाण्ड मच्चाएर प्रचण्डहरूको सातो लिएझैँ विप्लवहरूको पनि सातो लिन सकिन्छ । यही सरकारको एउटा एकाइ अदालतको कठघरामा उभिएर नेकपाका स्थायी समिति सदस्य एवम् माक्र्सवादी स्रष्टा सुदर्शनले सत्तालाई चुनौती दिइसकेका छन्– हतियारको बलमा टिकेको दलाल पुँजीवादी राज्यसत्तालाई ढाल्न हतियारकै बल प्रयोग आवश्यक छ । यसको अर्थ केपी वली, पुष्पकमल दाहाल र रामबहादुर थापाहरूले सोचेझैँ सरकारी धम्कीबाट नेकपा लत्र्याकलुत्रुक गल्ने र जनक्रान्तिको ऐतिहासिक जिम्मेवारीबाट भागेर आत्मसमर्पण गर्नेछैन । यसकै केही सङ्केत बुझेर हुनुपर्छ जनयुद्धमा शाही संसदीय सत्ताले मच्चाएझैँ सामूहिक हत्याकाण्ड दोहो¥याउन चाहन्छन् केपी वली, पुष्पकमल दाहाल र रामबहादुर थापाहरू । विगतका केही हत्या–घटनाहरूले यसैतर्फ सङ्केत गर्छन् । तर यो उनीहरूको सर्वनासको बाटो हो । सामूहिक हत्याकाण्ड मच्चाएर सत्ता टिकिरहने थिए भने वीरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्रको सत्ता टिकिरहनुपथ्र्यो । गिरिजा, सूर्यबहादुर र देउवाहरूको सरकार टिकिरहनुपथ्र्यो । तर उनीहरूले सरकार त के सत्तासमेत बचाउन सकेनन् । क्रान्तिकारी र विद्रोहीहरूको गिरफ्तारी, जेलनेल र हत्याले क्रान्ति र परिवर्तनको आँधी रोक्ने सोच्नु हददर्जाको मूर्खता हो । यो मूर्खताले कालीदासको मूख्र्याइँलाई पनि पछि पार्छ ।

इतिहास साक्षी छन्– स्रष्टा र संस्कृतिकर्मीहरूको हात र कलममाथि प्रतिबन्ध लगाउँदैमा सत्ताहरू जोगिन्थे भने कृष्णलाल अधिकारी, धरणीधर कोइराला, महानन्द सापकोटा, सिद्धिचरण श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटाहरूलाई यातना दिने, जेल हाल्ने, निर्वासन गर्ने र हत्यासम्म गर्ने राणा शासन किन टिकिराखेन ? भूपी शेरचन, युद्धप्रसाद मिश्र, केवलपुरे किसान, पारिजात र कृष्ण सेन ‘इच्छुक’ हरूलाई प्रतिबन्ध लगाउने पञ्चायती शासन किन टिकिराखेन ? इच्छुक, चुनु, मस्त, च्याङ्बा, शिव, शारदा, रक्तिम, दिलमाया, मञ्जुलगायत डेढ सयभन्दा बढी संस्कृतिकर्मी÷स्रष्टाहरूको हत्या गर्ने शाहीसत्ता किन अजम्मरी भएन ? सुदर्शन र माइलाहरूलाई कैद गर्ने केपी वली सरकार कति दिन टिक्ला ? स्रष्टा र परिवर्तनकारीका विचार, आवाज र सिर्जना बन्द गरेर सत्ता टिकाइरराख्छु भन्ने सोच्नु पटमूर्खताबाहेक केही होइन । बेलैमा यो सरकार र सत्ताको सद्बुद्धि आओस् । अन्यथा भविष्यमा अहिले ज्ञानेन्द्र शाहीले गरेजस्तै पश्चातापबाहेक केही बाँकी रहनेछैन ।

२०७६ साउन २९ गते बुधबार प्रकाशित