सांस्कृतिक क्रान्ति र विश्वदृष्टिकोण

- हेमन्तप्रकाश ओली ‘सुदर्शन’

 

विश्व साम्यवादी आन्दोलनको मूल समस्या भनेको विश्वदृष्टिकोणको समस्या हो । विश्वदृष्टिकोणको समस्याले गर्दा नै सोभियत सङ्घ, पूर्वीयुरोप र पूर्वीएसियामा प्रतिक्रान्ति भएको हो । यही कारणले गर्दा नै टर्की, फिलिपिन्स, चिली, इन्डोनेसिया, निकारागुवा, पेरू र नेपालमा विजयको सन्निकट पुगेका क्रान्तिहरू असफल भएका हुन् । माक्र्सवाद भनेको कुनै जीवनहीन जडसूत्र होइन, बरु यो परिस्थितिको विकाससहित जीवनशैलीमा जीवन्त ढङ्गले अभिव्यक्त हुने दर्शन हो । सिद्धान्तमाा भौतिकवादको वकालत र जीवनशैलीमा अध्यात्मवाद माक्र्सवाद होइन । यही समस्याको समाधान गर्न माओले चीनमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्नुभएको थियो । दर्शनलाई जीवनमा लागू नगर्नु र जीवनमा आएको निरन्तर विकासको गतिलाई दर्शनमा नसमेट्नु नै प्रतिक्रान्तिको कारक हो ।

साम्यवादी समाज व्यवस्था एकैपटक आकाशबाट खस्ने अथवा धर्तीबाट उम्रने कुरा होइन । म साम्यवादी दलको सदस्य भैसकेको छु भने मैले आजै र अहिल्यैदेखि त्यस व्यवस्थाका लागि न्यूनतम् आचरणको नमुना बन्दै जानुपर्दछ । परिवारलाई समाजवाद र साम्यवादको एकाइमा विकास गर्ने कोसिस गर्नुपर्दछ । प्रथमतः मभित्र र द्वितीयतः परिवारभित्र प्रतिक्रान्तिका बीजहरू रहने भएकाले त्यहाँबाटै सांस्कृतिक क्रान्ति चलाउनु पर्दछ । विश्व दृष्टिकोण सम्बन्धी स्कुलिङ चलाउनु पर्दछ । हाम्रा भूतपूर्व कमरेडहरूले सधँैभरि बत्तीमुनि अँध्यारो पारिराख्नु भयो । जीवनसाथीले जीवनसंगिनीलाई र जीवनसंगिनीले जीवनसाथीलाई सचेत बनाउने, दर्शन शास्त्र सिकाउने काम भएन । आमाबाबाले छोराछोरीलाई र छोराछोरीले आमाबाबालाई विश्व दृष्टिकोणमा पढाउने काम भएन । हामी बसेको घर र हाम्रो खेतबारी सामूहिक श्रमको उत्पादन हो भन्नेतिर हामीले कुरै गरेनौँ । पहिले जनवादी क्रान्ति गर्नुपर्दछ र यसलाई वैज्ञानिक समाजवादमा विकास गर्नुपर्दछ । संसारका अधिकांश देशहरूमा वैज्ञानिक समाजवाद आएपछि साम्यवाद आउँछ भनेर ठूलाठूला कुरा त हामीले ग¥यौँ तर समाजवाद र साम्यवाद मबाट र हाम्रै परिवारबाट लागू गर्नुपर्दछ भन्ने कुरा हामीले बुझेनौँ र अरूलाई बुझाएनौँ । अरूलाई माक्र्सवाद पढायौँ तर आफूले पढेनौँ । अरूका छोराछोरीलाई त हामीले माक्र्सवाद पढायौँ तर आफ्नै छोराछोरीलाई पढाएनौँ । अरूका छोराछोरीलाई बलिदान गर्न सिकायौँ भने आफ्नै छोराछोरीलाई सिकाएनौँ । हामीले द्वन्द्ववादका कुरा ग¥यौँ तर स्वयम् द्वन्द्ववादी भएनौँ । यही कारणले गर्दा हामीले जितिसकेको संसार गुमायौँ । यही कारणले गर्दा हामीले नेपालमा जितिसकेको क्रान्ति गुमायौँ । माक्र्सले निजी सम्पत्तिको अन्त्य गरेर सामूहिक सम्पत्ति बनाउनु नै साम्यवाद हो भन्नुभयो । हामी निजी सम्पत्ति जोड्दै गयाँै । हाम्रा भूतपूर्व कमरेडहरू त जनताको रगतपसिनाबाट अर्बपति भइसकेका छन् । उनीहरूले त विकल्पमा प्रस्तुत भएको कमरेड विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि आफ्नै सती लैजाने षड्यन्त्र गरिरहेका छन् । यसमा क्रान्तिकारीहरू सतर्क हुुनुपर्दछ । अहिलेसम्म प्रतिक्रान्ति नेताहरूबाट भएको छ, कार्यकर्ता र जनताबाट होइन ।

विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा प्रतिक्रान्ति नेताहरूका जीवनसाथी तथा जीवनसँगिनी र परिवारका अन्य सदस्यहरूबाट घुस्ने कोसिस गर्दछ । हाम्रो क्रान्तिको जीवनले पनि यही पुष्टि गरेको छ । इतिहासको समीक्षा गरेर हामी सचेत हुन जरुरी छ । रुसमा पहिलो समाजवादी क्रान्ति गर्ने लेनिन र स्टालिन महान् हुनुहुन्थ्यो । रुसमा क्रान्ति भएको एक वर्षपछि आफूलाई समाजवादी भन्ने एसेर सङ्गठनकी काप्लान नामकी महिलाले लेनिनमाथि गोली हानी । उहाँ झन्डैले बच्नुभयो तर गम्भीर घाइते हुुनुभयो । उपचारपछि पनि गम्भीर असर हुँदाहुँदै १९२२ सम्म सोभियत सङ्घ कम्युनिस्ट पार्टी (बोल्सेभिक) को महासचिव र सोभियत समाजवादी गणतन्त्र सङ्घको राष्ट्रप्रमुख भएर काम गर्नुभयो । उहाँको स्वास्थ्य खराब हुँदै गएपछि पार्टीको महासचिव र सत्ता प्रमुख स्टालिन हुुनुभयो । लेनिनकी जीवनसंगिनी क्रुप्सकाया केन्द्रीय नेता नै हुनुहुन्थ्यो । स्टालिन सो.सं.क.पा. (बोल्सेभिक) को महासचिव भएकोमा पार्टीभित्रै रहेका केही मानिसलाई मन परेको थिएन । ती थिए जिनोवेभ र कामेनेभ । उनीहरूले स्टालिनप्रति लेनिनको मनोविज्ञान बिगार्न क्रुप्सकायालाई प्रभावित पार्न थाले । लेनिन बिरामी हुनुहुन्थ्यो तर समाजवादको रक्षा र विकासका लागि चिन्तित पनि । क्रुप्सकायाको लाइँनी सुनेर लेनिनले बोल्सेभिक केन्द्रीय समितिलाई चिठी लेख्नुभयो । लेनिनले स्टालिन धेरै रुखो भएकाले महासचिव परिवर्तन गर्नुपर्ने कुरा चिठीमा लेख्नुभयो । १९१७ को अक्टोबर क्रान्तिको पोल खोलेकाले जिनोवेभ र कामेनेभलाई बारम्बार फाँसीमा झुन्ड्याउनुपर्ने भनी लेनिनले नै भन्नुभएको थियो । स्टालिनबिना अक्टोबर क्रान्ति सम्भव थिएन । फाँसीमा लड्काउनुपर्ने गद्दारहरू लेनिनका प्रियपात्र र ज्यानलाई जोखिममा राखेर लेनिनवाद लागू गर्ने अनन्य कमरेड कसरी रुखो पात्र भए ? प्रतिक्रान्तिकारीहरूले कसरी प्रतिक्रान्तिकारी उद्देश्य पूरा गर्न परिवारभित्र पनि षड्यन्त्र गर्दछन् भन्ने कुराको उदाहरण हो यो । बिरामी लेनिनलाई आफ्नो उद्देश्यमा प्रयोग गर्न उनीहरू क्रुप्सकायाको भावना जित्न सफल भए । तर यस्तो समस्या समाल्न सक्ने पनि स्टालिन नै हुनुहुन्थ्यो । षड्यन्त्रबारे लेनिनलाई र केन्द्रीय समितिलाई बुझाउनुभयो । अरू ३० वर्षसम्म सो.सं.क.पा.(बोल्सेभिक) र सोभियत समाजवादी गणतन्त्र सङ्घलाई कुशलतपूर्वक सञ्चालन मात्र गर्नुभएन, बरु ३०० वर्ष लगाएर अमेरिकामा भएका विकास र समृद्धिलाई ३० वर्षमै उछिन्नुभयो ।

यहाँ लेनिनलाई उहाँको महान् उचाइबाट कहीँ पनि होच्याउन खोजिएको होइन तर पार्टीभित्रका अवसरवादी र घुसपैठियाहरूले कति खतरनाक भूमिका निर्वाह गर्छन् भनी इतिहासबाट शिक्षा लिइएको हो । आज कतिपय नेपाली कम्युनिस्ट आन्दोलनका गद्दारहरूले हचुवा तरिकाले स्टालिनमाथि एकमनावादी र अधिभूतवादीको आरोप लगाउँदा भष्मास्त्र नै उठाऊँजस्तो लाग्छ । स्टालिनबारे अनुसन्धान नगरी बोल्ने तिनको अधिकार छैन । माओले उहाँको मुख्यतः रक्षा गर्नुभएको थियो भने काम गर्दा कमजोरी पनि हुन्छन्, त्यसको आलोचना गर्नुभएको थियो ।

माओले यही विश्वदृष्टिकोणको समस्या समाधान गर्न सांस्कृतिक क्रान्ति सञ्चालन गर्नुभएको थियो भन्ने कुरा माथि पनि उल्लेख गरिएको छ । यसलाई सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति पनि भनिन्छ । वैज्ञानिक समाजवादी क्रान्तिलाई माक्र्सले स्थायी क्रान्तिको उद्घोष भन्नु भएको थियो । सांस्कृतिक क्रान्ति भनेको हजारौँ वर्ष पुराना र विषालु विचारधारा, संस्कृति, विरासत, चालचलन, रीतिरिवाजको विस्थापन गरी क्रान्तिकारी विचारधारा, संस्कृति, विरासत, चालचलन र रीतिरिवाजको स्थापना गर्नु हो । माओले ऐतिहासिक सांस्कृतिक क्रान्तिमा दर्शनशास्त्रलाई कक्षा कोठाबाट र दार्शनिकहरूबाट जनताहरूको बीचमा लैजानु भएको थियो । हजाराँै वर्षसम्म जनताको दिमागमा घर गरी बसेको पुरानो विचारधारालाई विस्थापन गर्न दस वर्ष पर्याप्त थिएन । त्यो सांस्कृतिक क्रान्ति स्थगित भएको छ । त्यसको समीक्षा र विकाससहित हामीले अहिलेदेखि राजनीतिक क्रान्तिसँगै एकीकृत गरेर अघि बढाउनुपर्छ । माओले १९४९ मा राजनीतिक क्रान्ति गर्नुभयो र १९६६ देखि सांस्कृतिक क्रान्ति गर्नु भएकाले हामी पनि त्यसै गरौँला भनी पर्खनु हुँदैन । १९६६ मा त यो क्रान्तिको विधि पत्ता लाग्यो । माक्र्सले वैज्ञानिक समाजवादको चरण नै स्थायी क्रान्तिको उद्घोष हो भनेर १८५१ तिरै भनिसक्नुभएको छ । माओले यही क्रान्तिलाई कार्यरूप दिनुभएको थियो ।

यहाँ के कुरा राम्रोसँग बुझ्नुपर्दछ भने द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विश्वदृष्टिकोण विज्ञान हो । यसलाई लागू गर्ने माओको कला पनि हुुनुपर्दछ । चीनमा अघि बढिरहेको सांस्कृतिक क्रान्तिमा माओले मुठीभर प्रतिक्रान्तिकारीहरूलाई निशानामा राख्दै पार्टीभित्र क्रान्तिकारीहरू र मध्यमार्गीहरूलाई सँगै लिन सफल हुनुभएको थियो । जीवनको अन्तिम समयमा उहाँले मध्यमार्गी हुआको फेङलाई नेतृत्व दिनुभयो । यहाँनेर सांस्कृतिक क्रान्तिमा माओका क्रान्तिकारी उत्तराधिकारीहरूको पार्टी सञ्चालनको कला र धैर्य पुगेन । चाङ चुङ चियाओ, चियाङ चिङ, वाङ हुङ वेन र याओ वेन युआन दुई लाइन सङ्घर्षमा मध्यमार्गीमाथि पनि दक्षिणपन्थीलाई जस्तै प्रहार गरे । उनीहरूले माओवाद बुझेनन् । परिणामस्वरूप प्रतिक्रान्ति भयो र उहाँहरूलाई प्रतिक्रान्तिकारीहरूले जेलमा सडाएर मारे । सांस्कृतिक क्रान्ति अधुरै रह्यो । त्यो क्रान्ति आजका क्रान्तिकारीहरूले पूरा गर्नुपर्दछ । यसलाई आफ्नै जीवन, परिवार र पार्टीमा सुरु गर्नुपर्दछ ।

अतः आज हामीले यो दार्शनिक घोषणा गर्नुपर्दछ– महान् सर्वहारा सांस्कृतिक क्रान्ति अथवा सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति अस्वीकार गर्नेहरू द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी होइनन्, बरु आजको अधिभूतवादी आदर्शवाद नवउदारवादका हिमायतीहरू हुन् । नवउदारवादलाई साम्यवादको विकल्पका रूपमा अमेरिकालगायत पश्चिमाहरूले पेस गरेका छन् । प्रजातन्त्र एवम् लोकतन्त्र, मानवअधिकार र खुला बजार यसका विशेषताहरू हुन् । नवउदारवाद कति फासिस्ट, तानाशाही र मानव अधिकारवाद विरोधी छ भन्ने कुरा अमेरिकाको व्यवहारलाई हेरे हुन्छ । आफूले चिनियाँ सामानमा चर्को कर लगाउँदा न्यायोचित र चीनले अमेरिकाको सामानमा कर लगाउँदा अनुचित, अमेरिकाले नेटो र हिन्द प्रशान्त रणनीति बनाउँदा ठीक र चीन तथा अरू देशले ब्रिक्स र बीआरआई परियोजना बनाउँदा ‘ऋणको पासो’ इत्यादि । अमेरिकाली नवउदारवादका प्रवक्ता एवम् ‘इतिहासको अन्त्य र अन्तिम मान्छे’ का लेखक फ्रान्सिस फुकुयामा साम्यवादीहरूलाई सर्वसत्तावादी र तानाशाहीको आरोप लगाउँछन् तर आफ्नो ‘अन्तिम मान्छे’ नवउदारवादी प्रजातन्त्रको प्रयोगकर्ता अमेरिकाले रुवान्डामा हुतु र तुत्सीको झगडा पारेर आफ्नो कारखानाका हतियार बेच्दै नरसंहार गर्दा, सिरियामा ६ लाखभन्दा बढी मानिसहरूको हत्या गर्दा, प्यालेस्टाइनको भूभाग जेरुसेलमलाई जबर्जस्ती इजरायलको राजधानी बनाइदिँदा, अर्काको देशको राष्ट्रपति सद्दाम हुसेनलाई लखेटीलखेटी झुन्ड्याउँदा, लिबियाका नेता कर्णेल गद्दाफीलाई हत्या गर्दा, अफगानिस्तानमा तालिवान नेता ओसामा बिन लादेनलाई खोजीखाजी मारेर लासै अमेरिका पु¥याउँदा, ट्रम्पले आफ्नै देशबाट आप्रवासीहरूलाई धपाउँदा आफ्नो छिमेकी मेक्सिकोलाई उसकै बजेट खर्च गरी सिमानामा पर्खाल हाल भनी आदेश गर्दाचाहिँ के भयो महाशय फुकुयामा ? यही हो असली प्रजातन्त्र र मानव अधिकार ? नेपालमा पनि नवउदारवादका दलालहरूले साम्यवादी क्रान्तिकारीहरूलाई ‘लुटेरा समूह’, ‘आतङ्ककारी’ र ‘अपराधी’ भनिरहेका छन् भने तीर्थराज घिमिरे, कुमार पौडेललगायत युवाहरूलाई हत्या गरिरहेका छन् र सयौँ नेता तथा कार्यकर्ताहरूलाई काराबासमा जाकिरहेका छन् । खुला बजार अर्थतन्त्रले गरिबको ढाड सेकिरहेको छ र जसको लाठी उसको भैँसी साबित भएको छ । फेरि पनि साम्यवादको विकल्प छैन ।
त्यसकारण विश्वदृष्टिकोणको समस्या समाधान गर्न र विश्वदृष्टिकोणको रूपान्तरण गर्न हामीले माक्र्सवादको मूल पाठ अध्ययन गर्ने र माक्र्सवादको विकास गर्ने ठोस योजना बनाउनु पर्दछ । अध्ययन साम्यवादी पार्टीका सदस्यहरूको अनिवार्य कार्यभार बन्नुपर्दछ । साम्यवादी संस्कृतिको विकासलाई पनि सँगसँगै लैजानुपर्दछ ।
(हामीले यो लेख नेकपाका स्थायी समिति सदस्य कमरेड सुदर्शनको प्रकाशोन्मुख पुस्तकबाट लिएका हौँ– सम्पादक ।)

२०७६ असार १४ गते शनिबार प्रकाशित