सहिदको समाधिमा जनक्रान्तिको कासन

संस्मरण

- अशोक सुवेदी

एकखाले मानिसहरू जनयुद्धका क्रममा, युद्धमैदान र अनुभूतिको चापका बीचमा गरिएका सिर्जनालाई दुत्कार्ने प्रयास गरिरहेका थिए तर हामी भने बम र बारुदसँगै जन्मिएको सुन्दर सहित्य र त्यसका सर्जकहरूलाई खोज्दै सम्मान गर्दै दौडाहामा लागेका थियौँ अभियान बनाएर । जनयुद्धलाई नै दुत्कार्नेहरूलाई टीका लगाएर चोखिएकाहरूका लागि, जस्केलाबाट छिरेकाहरूका लागि जनयुद्ध र त्यस महासमरमा युद्ध लड्दालड्दै बमबारुद र रगतबाट सिर्जित महागाथाहरूका बारेमा थहा नहुनु पनि स्वाभाविकै थियो । त्यसैले तिनीहरू मुलुकमा महान् वर्गसङ्घर्ष घनीभूत भइरहेको समयमा पनि सहरका कोठामा बसेर युद्धलाई आतङ्क भनेर सत्तोपराप गरिरहेका थिए । दुस्मन कित्ताकाहरूले त आफ्नो समाप्त हुन लागेको वर्गस्वार्थको रक्षाका लागि जनयुद्ध र त्यसको नयाँ प्राप्तिलाई नस्वीकार्नु तिनको वर्गचरित्रअनुसार नै थियो तर आफूलाई वर्गसङ्घर्षको ठेकेदार सम्झने अनि आफ्नै आँखाअघिल्तिर भएको भीषण वर्गयुद्धलाई तिरस्कार गरेर दुस्मन वर्गलाई सघाउनेहरूले पनि लोलीमा बोली मिलाएर जनयुद्धलाई, जनयुद्धबाट निर्मित नयाँ संस्कृति र साहित्यलाई अस्वीकार गरिरहेका थिए ।

तिनले जनयुद्धका उपलब्धि र नयाँ साहित्यलाई स्वीकारेनन् र एउटा हातमा बन्दुक र अर्काे हातमा कलम बोकेर सिर्जना गरेको साहित्य र सङ्गीतको भावना र स्पिरिट बुझेनन् भनेर चिन्ता मान्नु ठीक छैन जस्तो लाग्छ मलाई । जनयुद्धको समयमा दुस्मनमाथि आक्रमणयोजना, भीषण मोर्चा र मृत्युसँग पलपल पौँठेजोरी र लुकामारी खेल्दै गरेका पलहरूलाई प्रतिधु्रवीयहरूले त कल्पना गर्नसक्ने कुरा पनि भएन । सहरमा बसेर रमिता हेर्नेहरूले पनि बुझून् नै कसरी ? कर्मी माहुरीले जम्मा पारेको मह चाट्न भेला भएकाहरूले, हजारौँ सहिदको बलिदानीपछि तर मार्न टीका लगाएर भित्रिएकाहरूले वर्गयुद्धको त्यो पीडा र आनन्दको अनुभूति गर्नसक्ने कुरा पनि भएन । त्यस्तो आशा गर्नु मरुभूमिमा पानीबिनै बगैँचा बनाउन सकिएला भनेर गरिएको चिन्ताभन्दा फरक हुने थिएन ।

हामी अधुरो वर्गसङ्घर्ष वा जनयुद्धलाई पूर्णतामा लैजान आह्वान गर्दै सहरका गल्लीदेखि दुर्गम गाउँसम्म पुग्यौँ— रामेछाप साहित्य प्रतिष्ठान र माक्र्सवादी साहित्य प्रतिष्ठानको ब्यानरमा ‘जनगणतन्त्र र राष्ट्रियताका लागि सिर्जनाअभियान’ लिएर । हामी कमरेड ऋषि देवकोटा ‘आजाद’ को क्रान्तिकारी आदर्शलाई पछ्याउँदै आजादको चिहान उधिन्न सिन्धुलीको आजादबस्ती (खुर्काेट) पुग्यौँ । अङ्ग्रेज साम्राज्यवाद र सामन्ती राजतन्त्रका विरुद्ध धावा बोलेको ऐतिहासिक सिन्धुलीगढी पुग्यौँ । हामीले सिन्धुलीका झन्डै तीन सय सहिदका चिहान उधिन्दै र गोरखाका सयौँ सहिदको सपनालाई रातो झन्डा बनाउँदै त्यसको सन्देश तीन लाल (कृष्णलाल–गङ्गालाल–पुष्पलाल) को जिल्लाको नामले चिनिने रामेछापसम्म पु¥यायौँ । गङ्गालाल र पुष्पलाल जन्मिएको भूमिबाट फैलिएको हाम्रो विद्रोहको कासन कवि हितप्रसाद उपाध्यायको सालिक अनावरणसम्म पुग्दा अन्तर्राष्ट्रियकरण भइसकेको थियो । हामी विद्रोहका लागि दुन्दुभी बजाउँदै देशका २०–३० जिल्लासम्म पुग्यौँ । सहिद परिवारलाई भेट्यौँ र उनीहरूको आँसु र आक्रोशमा अन्तर्घुलित भयौँ ।

यसैक्रममा दोरम्बाको डाँडाकटेरी र बेथानको पानीघाटमा आततायी सत्ताबाट पुरिएका सहिदको चिहान खोतल्दै त्यही चिहानमाथि उभिएर कविताबाट जनक्रान्तिको आह्वान गर्ने र जनयुद्धलाई झन् उचाइमा निरन्तरता दिने हाम्रो योजना पहिले नै बनिसकेको थियो । हामी सिन्धुलीयात्रामा पुग्न बाँकी रहेको सहिदबस्ती अमले बस्तीपुरको अधुरो सपना पनि पूरा गर्न चाहन्छौँ । एउटै योजना बन्न नसके पनि यसपटक दोरम्बा र बेथानका चिहानमा उभिएर दुष्टहरूलाई ललकार्ने र क्रान्तिकारीहरूमा ऊर्जा थप्ने हाम्रो पहिलेदेखिकै योजनाले साउन महिनामै मूर्त रूप पाउने भएपछि हामी अझ आह्लादित बनेका थियौँ । बेथान– दोरम्बा यात्रा हाम्रो उपत्यकाबाहिरको चौथो यात्रा बन्दै थियो । हामी रामेछापका तीन लाल र कवि उपाध्यायको सालिक स्थापनापछि बेथान र दोरम्बाको रक्तिम भूमि टेक्न पाइने खुसीले फुर्फुर बनिरहेका थियौँ ।

नेकपा (माओवादी) केन्द्रीय समितिको बैठकले तेस्रो जनआन्दोलनमार्फत जनगणतन्त्र स्थापनाका लागि विद्रोहको तयारीको रणनीति र त्यसैअनुरूपको कार्यनीति तय गरेपछि रामेछाप साहित्य प्रतिष्ठान र माक्र्सवादी साहित्य प्रतिष्ठानको ब्यानरमा दुई वर्षदेखि निरन्तर सञ्चालित जनगणतन्त्र र राष्ट्रियताका लागि सिर्जनाअभियानमा अझै ठूलो त्राण भएको अनुभूति भइरहेको थियो । अभियान सञ्चालकका नाताले पनि कुनै अभियान सुरु हुनुभन्दा अघि अलि बढी नै उद्वेलित हुन्छ म । कुनै एउटा अभियान सफलतापूर्वक सकिएपछि मन धेरै हलुङ्गो हुन्छ र ऊर्जा पनि त्यसैअनुसार थपिएको महसुस हुन्छ । रामेछाप आफू जन्मिएको जिल्ला भएर मात्र होइन, नेपालको साहित्यिक तथा राजनीतिक आन्दोलनमा अग्रणी स्थानमा रहेको म अलि बढी नै रोमाञ्चित बनिरहेको थिएँ ।

पार्टी नेता एवम् प्रगतिवादी स्रष्टा अनिल शर्मा, एक सयौँ शृङ्खलामा प्रतिष्ठानको संरक्षक बन्ने घोषणा गरेका ऋषिराज बराल, बलराम बिष्ट, शोभा दुलाल, गौरी दाहाल, प्रोल्लास सिन्धुलीयलगायत अभियानका सहकर्मीहरू दोरम्बा र बेथानयात्राका लागि तयार भएपछि मन झनै हौसिरहेको थियो । त्यसैले छैटौँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसको अवसर पारी रामेछाप पार्टीको अतिथि बनेर हामी रामेछाप जाने तयारीमा लाग्यौँ । एक साताअघिदेखि नै मन दोरम्बा र बेथान पुगिरहेको थियो । दोरम्बा र बेथानका सहिदका अनुहार मनमा घुमिरहेका थिए । एकातिर बेथानले जनयुद्धको पहिलो सफल मोर्चाका रूपमा, पहिलो छापामार महिला सांस्कृतिक योद्धा दिलमाया बम्जनको बलिदानका रूपमा उत्कर्ष प्राप्त गरिरहेको थियो भने अर्कातिर दोरम्बाले आततायी सत्ताहरूबाट क्रान्तिकारी पार्टी र नेता जहिले पनि सावधान रहनुपर्छ भन्ने पाठ दिँदै अनायास ठूलो रगत बगेको दुःखद् इतिहास झल्झली सम्झाइरहेको थियो । यी दुवै मोर्चाले जनयुद्धलाई थप अर्काे उचाइमा उठाएका थिए, सामन्ती राजतन्त्र ढाल्दै तिनका मतियारलाई आछुआछु पारेका थिए र रामेछापलाई वर्गयुद्धको ऐतिहासिक किल्लाका रूपमा स्थापित गरेका थिए । त्यसैले यी दुवै स्थान राजनीतिक र सांस्कृतिक दृष्टिले पनि अन्यन्त महत्वपूर्ण थिए, यात्रा गर्न लायक र उत्साहवद्र्धक थिए ।

हिँड्ने बेलासम्ममा हाम्रो अभियानको संस्थागत योजना केही बदलियो । यसअघिका सिन्धुली, गोरखा र रामेछापको सफल अभियान माक्र्सवादी साहित्य प्रतिष्ठानले नै आयोजना गरेकाले त्यसमा कुनै अन्योल भएन । तयारी र खर्चबर्चको रट्ठबट्ठ पनि आफैँले मिलाइयो तर यसपटकको यात्रामा पार्टीको अतिथि बनेर सहिदको समाधिमाथि कविताको कासन गर्न र नयाँ विद्रोहको तयारी गर्न जाँदै थियौँ हामी । माक्र्सवादी साहित्य प्रतिष्ठान पनि निम्तालु बनेको थियो । भर्खरै पार्टी केन्द्रीय समितिको बैठक सकिएकाले कतिपय अग्रज र समकालीनहरू बैठकमा व्यस्त हुनुपरेकाले दोरम्बा–बेथान अभियानमा अनिल शर्मा, शोभा दुलाल मैले साहित्यिक यात्राको मोर्चा समाल्नुपर्ने स्थिति उत्पन्न भयो । हामीले यस परिस्थितिलाई सहजताका साथ स्वीकार्यौँ ।

एउटै यात्रामा सबै सधैँ सँगै रहन सक्तैनन् र मानिसहरूको कथनी र करनीलाई जाँच्ने कसी व्यवहार नै हो भन्ने कुरा पनि हामीलाई थाहा थियो । कतिपय अवस्थामा परिस्थितिलाई अलि नकारात्मक रूपले हेर्नेहरू ताक पर्नासाथ एक सय असी डिग्री फन्को मार्न सक्छन् वा मार्छन् भन्ने कुराको अनुभूति हामीले सिन्धुली र गोरखाअभियान (मोर्चा पछि रामेछापको अभियानमा सहसुस गरिसकेका थियौँ । स्थितिलाई आफूअनुकूल व्याख्या गर्ने र आफू नभए संसार घुम्दैन भन्ने सोचाइ हाम्रो अभियानमा घुसेर सिङ्गो अभियानलाई नै तहसनहस पार्दैछन् भन्ने कुराको अनुभूति पनि हामीले गरिरहेका थियौँ । अभियान, आन्दोलन र मोर्चाको योजना जोकसैले बनाउन सक्तैनन् र त्यसलाई हाँक्नु पनि जोकसैको बुताको कुरा होइन भन्ने कुराका साक्षी पनि हाम्रा अघिल्तिर बग्रेल्ती देखिइसकेका थिए । हामीले बेथान–दोरम्बा अभियान पनि माक्र्सवादी साहित्य प्रतिष्ठानकै अर्काे कडीका रूपमा विकास वा विस्तार हुने कुरा सोचिरहेका थियौँ । तर पनि हामी एक्लै थिएनौँ । हाम्रो साथमा सिङ्गो ताम्सालिङ राज्यसमिति थियो । राज्य समितिका इन्चार्ज कञ्चनदेखि सेक्रेटरी शमशेर, सहइन्चार्जहरू पथिक, विश्व, सन्तोष, सागर, दोरम्बा मोर्चामा दुस्मनलाई चक्मा देखाउँदै घेरा तोड्न सफल ललित अनि झन्डै ३० जना सहिदका परिवार, सभासद् र सिङ्गो जिल्ला पार्टी हाम्रो साथमा थियो । आफ्नो अभियानमा प्रत्यक्ष रूपमासंलग्न नभएको नेतृत्वलाई पनि साथमा पाउँदा हामी अझै प्रफुल्लित थियौँ ।

साउन ३१ गते बिहान ६ बजेबाट सुरु भएको हाम्रो दोरम्बा–बेथान यात्राले झन्डै साढे सात बजे मात्र कोटेश्वरबाट गति लियो । कतिपय साथीहरू सात बजेअघि नै बनेपा पुगिसकेकाले हामी उहाँहरूलाई भेट्न हत्तारिइरहेका थियौँ । हतारैहतारमा हाम्रो अभियानका पाका साथी बलराम बिष्ट बाटैमा छुटेको कुराले हामीलाई यात्राभरि चिन्तित बनाइरह्यो । पार्टीनेतृत्व बनेपामा पुगेर हामी अभियानकर्मी र सञ्चारकर्मीको प्रतीक्षामा थियो । रिजर्भ माइक्रोबसहरूमा हाँसो र ठट्टा गर्दै हामी नेपालथोकतिर हान्निरहेका थियौँ । बाहिरबाट हामी ठट्टामा रमाए पनि हाम्रो मनमा भने आँधीतुफान चलिरहेको थियो । हामी जनयुद्धकै पहिलो सफल बेथान मोर्चा लडेको पानीघाटको भूमि र त्यहीँ नजिक गाडिएका महान् सहिद तीफदिको चिहान पार गरेर दोरम्बातिर लम्किँदै थियौँ । तीनवटा भरुवा बन्दुक, केही ग्रिनेड र ढुङ्गाका भरमा जितेको बेथान मोर्चाको ऐतिहासिकता अनि तीफदिको वीरतालाई यात्राअघि हामीले काभ्रे र सिन्धुलीको नेपालथोकमा भीषण गर्मीमा काटेका कष्टपूर्ण क्षणहरको पनि वास्ता गर्न भ्याएनौँ । हाम्रो ध्याउन्न बेथान र दोरम्बा पुग्नतिर संकेन्द्रित थियो ।

काभ्रे र रामेछापलाई छुट्ट्याउने लुभुघाट तरेपछि पहाडी भूभागमा चल्ने ससाना जिपहरू हामीलाई बोक्न तयार भएर बसेको पायौँ हामीले । भीषण वर्षा नभएमा हामीलाई ती जिपले गाल्बा भन्ज्याङसम्मको पहाडी कच्ची बाटोमा कुदाउने पक्का थियो । अत्यन्त कहालीलाग्दा उकाला र घुम्तीहरू पार गर्दै जिपहरू खनियापानी, डहु हुँदै बेथानतिर दुगुरिरहेका थिए । दोरम्बामा बलिदान गर्ने तत्कालीन जनसरकार प्रमुख क. पुष्प, त्यसपछिका जनसरकार प्रमुख क. विश्वका जीवनसंगिनीलगायत सयौँ बेथानबासीको लाम लागिरहेको थियो हातहातमा खादा र माला लिएर स्वागत गर्न । सहिदका सपना पूरा नभएको अवस्थामा हामीलाई सहिद परिवारले स्वागत गर्नुको अर्थ अधुरो क्रान्ति पूरा गर्न अर्काे क्रान्किा लागि तयार रहनु हुन्थ्यो । हाम्रो अभियानको उद्देश्य पनि त्यही थियो । दोरम्बामै बलिदान गर्ने स्रष्टा सहिद रक्तिमकी जीवनसंगिनी दीपा पनि उता आयोजक र यता अतिथि बनेर यात्रामा लामबद्ध भइरहेको पाउँदा हामी भाबी विद्रोह÷क्रान्तिप्रति अझै बढी विश्वस्त बनिरहेका थियौँ ।

उकालोमा पानी प¥यो भने हाम्रो पहिलो सेल्टर गाल्बा भन्ज्याङसम्मको सातआठ घन्टाको उकालो बाटो पैदलै हिँड्नुपर्ने भयले हामी पानीघाटका सहिदहरूलाई मनमनले मात्र श्रद्धासुमन अर्पण गरी माथितिर हुइँकियौँ । पर्सिपल्ट फर्कंदा पानीघाटमा विशेष साहित्यिक कार्यक्रम सञ्चालन गर्ने हाम्रो पूर्वयोजना अधिकांशलाई थाहा थियो । ठाउँठाउँमै हामीलाई स्थानीय बासिन्दा र सहिद परिवारले गरेको सम्मान र स्वागतले हुनसम्म गौरवान्वित भयौँ हामी । स्रष्टा, सञ्चारकर्मी र पार्टीनेतृत्वको एकीकृत कमान्डलाई आफ्नो घरआँगनमै पाउँदा बेथान र हिलेदेवीका बासिन्दा पनि खुसी देखिन्थे । कहीँ गाडी ठेल्दै र कहीँ पहिरो पन्छाउँदै हामी कुहिरो र हुस्सु छिचोल्दै साँझ अबेर मात्र गाल्बा भन्ज्याङ पुग्यौँ । लुभुघाटको प्रचण्ड गर्मीलाई गाल्बाको चिसो सिरेटोले जिस्क्याइरहेको थियो । स्थानीय पार्टी हाम्रो स्वागत र व्यवस्थापनका लागि भएभरको बल लगाएर खटिरहेको थियो । १५ वर्षपछि गाल्बा पुग्दा मलाई आफूले त्यतिबेला जिल्ला नेता भएर भाषण गरेको स्मरण भइरह्यो । संयोगले त्यतिबेलाका मेरा दौँतरी धावा लामा माओवादी र एकताकेन्द्रबीचको एकतासँगै पार्टी केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज बन्नुभएको थियो भने पेमा, अमरलगायत साथीहरूले जिल्ला र राज्य समितिको जिम्मा लिइरहनुभएको थियो । हामीले यात्रामा ती कुरा पनि सम्झियौँ ।

गाल्बा भन्ज्याङ त्यतिबेला राता र ताता मानिसहरूको खचाखच उपस्थितिले फुलेल देखिन्थ्यो । माओवादी नेतादेखि कविहरूसम्मको उपस्थितिले गाल्बा भन्ज्याङ शक्तिशाली बनिरहेको थियो । सबै आफ्ना विधा र हैसियतअनुसार बेग्लबेग्लै सेल्टरतिर लाग्यौँ भोलि बिहानै दोरम्बा र डाँडाकटेरी पुग्ने सपना मनभरि सजाउँदै । गाल्बाडाँडाकी कुमारी बहिनी, उहाँका ससाना दुईवटा छोरा दिनेश र कविन्द्र अनि उहाँकी नन्द उर्मिलाको आतिथ्यमा हामी केही स्रष्टा र सञ्चारकर्मी लुट्पुटियौँ । बिहान सिमसिम पानी परिरहेको थियो । काई र लेउ जमेको चिप्लो उकालो बाटो र प्रकृतिलाई चुनौती दिँदै हामी लाग्याँै दोरम्बाका लागि ठाडो उकालो बाटो । कञ्चनको नेतृत्वमा अनिल शर्मा, शोभा दुलाल र ताम्सालिङ राज्य समितिका सहइन्चार्जसमेतको टोली हामीलाई पछि पारेर अघि लागिसकेको थियो । अग्लेश्वरीको उकालोमा स्वाँऽस्वाँऽ र फ्वाँऽफ्वाँऽऽ गर्दै स्रष्टा र सञ्चारकर्मीको समूह सबैभन्दा पछि घिस्रिरह्यो । झन्डै १५ किलो वजनको झोलामा बोझिलो शरीरलाई उकालोमा लतार्नुपर्दा कम्ती सास्ती भएन । भाइ सधुसूदन व्याङ्ग्य गर्दै हुनुहुन्थ्यो, ‘यो हिँडाइले कसरी अर्काे क्रान्ति हाँकिन्छ दाइ ?’

ठाडो उकालो, लेउ लागेको चिप्लो बाटो बल्ड्याङ खेल्दै हामी दोरम्बातिर ठडियौँ । आधा घन्टासम्म त हिँडाइको गति ठिकै थियो तर अग्लेश्वरीको उकालो अग्लिँदै गएपछि हिँडाइ क्रमशः मत्थर हुँदै गयो । पहाडमा हिँड्न बानी परेका अनुपलगायत साथीहरू उकालोमा पनि चितुवाले जस्तै लमकलमक पाइला चालिरहनुभएको थियो । समूहमा अलि मोटो मै थिएँ । म, एबीसीका क्यामेरा पर्सन योग शाक्य उकालो बाटोबाट अलि कम परिचितझै बन्दै गएका थियौँ । अग्रज शक्ति लम्साल दाइकी सुपुत्री प्रज्ञा र काभ्रेकी पत्रकार बहिनी अञ्जली केही समयसम्म आसलाग्दो ढङ्गले हिँड्दै थिए तर केही समयपछि उनीहरूको अवस्था हाम्रो भन्दा झनै बिग्रिएको देखियो ।

माथि उकालो चढ्दै गर्दा क्रमशः पिठ्युँमा भिरेको झोला गह्रौँ हुँदै गयो । अलि माथि पुगेपछि शरीरमा लगाएका कपडाहरू भारी हुँदै गए । हुँदाहुँदै कमरेडहरूले स्वागत गर्दा घाँटीमा पहिराइदिएका पचास–सय ग्राम वजनका खादाहरू पनि भारी हुँदै गए ।

सिमसिम पानी परिरहेको छ । शरीर ओत्न बोकेको पातलो प्लास्टिक पनि हाम्रो क्षमताभन्दा बढी भइसकेको छ हामीलाई । उकालो बाटो भिरालो हुँदै जान्छ । कथम्कदाचित् खुट्टा खुस्कियो भने कता लाम्टा कता चौटा हुने हो, कुनै पत्तो छैन । प्रत्येक पाइला माथितिर होइन, तल्तिर झर्न खोजिरहेछन् । एउटै मात्र विश्वास र आशा छ, दोरम्बा पुग्ने, डाँडाकटेरी गएर महान् सहिदको चिहानमाथि विद्रोहको आह्वान गर्दै क्रान्तिकारी कविता वाचन गर्ने र क्रान्तिको निरन्तरताको सन्देश प्रवाह गर्ने ।

कठै, युद्धको समयमा रातिराति कसरी हिँडे होलान् साथीहरू दुस्मनका पाइला पछ्याउँदै ? साहस र हिम्मत भएपछि मान्छेलाई न उकालोले, न झरीबादलले, न हुरीबतास र चट्याङले, केहीले पनि रोक्न सक्दा रहेनछन् बाबै । मुख्य कुरा त लक्ष्य रहेछ, सत्यप्रतिको निष्ठा र इमान रहेछ । त्यस्तो विकट बाटो, हिउँ र लेउको यात्रा पनि ठमठम हिँडेर लडे योद्धाहरूले अनि जितको मुखसम्म पु¥याए पहिरोजस्तो विकट युद्धलाई । जितको मुखमा पुगेको युद्धभित्र कुनै स्वार्थी कीरो सुटुक्क पसेको अनुभूति हुँदै गएको छ तर प्वाक्क मुख खोलेर बोन कोही सकिरहेको छैन भन्ने लागिरहेको छ हामीलाई । त्यसैले सिर्जनाअभियानबाट धावा बोलिरहेका छौँ हामी डरपोकहरुका विरुद्ध, स्वार्थी र आत्मरक्षवादीहरुका विरुद्ध । सहिद परिवारका आँखा ओभाएका छैनन् । बलेका छैनन् उनीहरूका रित्ता चुलाहरू । ढाकिएका छैनन् नाङ्गा आङ । तैपनि युद्ध जितिन लागेको छ भन्नुपरेको छ । साथीहरूलाई मार्ने, बेपत्ता पार्ने, अङ्गभङ्ग पार्नेहरू आफ्नै आँखाअघिल्तिर ठमठम फुली थपेर हिँडिरहेको देखेर पनि दुष्टहरू नासिए, सकिए र जित्यौँ भन्नुपरेको छ । यस्तो पचाइनसक्नु, सहिनसक्नु अवस्थाको अन्त्यका लागि अर्काे विद्रोहको घोषणा गर्न हामी कष्टलाई पचाउँदै हिँडिरहेका छौँ विकट उकालो, चिप्लो र भिरपहारामा पनि सजिलो मान्दै । हाम्रा साथीहरूले भीषण वर्गयुद्धका कहालीलाग्दा क्षणहरूमा मिर्गले जस्तै उफ्रिएर कटेको बाटो हामीलाई दिउँसै कट्न पनि यतिविघ्न गाह्रो परिरहेको छ । कति भीषण र कहालीलाग्दा दिन थिए ती बाबै, सम्झँदा पनि आङ जिरिङ्ग हुन्छ तर पनि काम गरेर खाने वर्गको मुक्ति भइसकेको छैन । त्यही अधुरो क्रान्तिलाई पूरा गर्ने बाचा बाँध्न नापिरहेका छौँ हामी कहालीलाग्दो भीरको बाटो, होसहवासै गुमाउने खालको चिप्लो …।

विकट पहाडी यात्रा छिचोल्दै पुग्छौँ हामी ऐतिहासिक स्थल दोरम्बा । ठिक्कसँग हिँड्ने हो भने त्यहाँबाट पनि डेढ घन्टा, ठ्याम्मै डेढ घन्टा लाग्छ डाँडाकटेरी पुग्न । हो, ऊः त्यही हो हाम्रा २१ जना क्रान्तिकारी नेता र कार्यकर्ताहरूलाई, सुन्दर र मुक्त संसारको सपना देखिरहेका सुन्दर मानिसलाई लाममा राखेर टाउकामा एसएलआर दागेर गिदी निकालिएको ठाउँ । केही मानिसको हत्या गर्दैमा क्रान्ति कहाँ सकिँदो रहेछ र ? हापुरेमा वार्ता भइरहेको समयमा वार्ताबाट भाग्न तत्कालीन शाही अमेरिकी सरकारले हरुवा गोरुको छेरुवा दाउ भनेजस्तै बैठक बस्दै गरेका साथीहरूको निर्मम हत्या गरेको थियो क्रूर बगरेले निर्ममतापूर्वक खसीको टाउको छिनालेजस्तै गरी, अमेरिकी साम्राज्यवादले इराक, अफगानिस्तान र संसारभर हत्याअभियान सञ्चालन गरेजस्तै गरी । तत्कालीन रामेछाप जनसरकार प्रमुख क. पुष्प, क. ललिका, स्रष्टा क. रक्तिमसम्मका ७ जिल्लाका क्रान्तिकारीहरूको रातोतातो रगत पोखिएर फेरि युद्ध सुरु भएको कहालीलाग्दो र बर्बर घटना थियो त्यो । तिनै सहिदका सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गर्न जाँदै थियाँैँ हामी डाँडाकटेरी ।

सुरु भयो फेरि झरीका बीच दोरम्बाबाट हाम्रो डाँडाकटेरीयात्रा । दोरम्बामा स्थानीय साथीहरू दिउँसो हुने छैटौँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसको तयारी गरिरहनुभएको थियो । चिप्लो उकालो बाटो पानीमा रुझ्दै हामी ती महान् सहिदका आँखामा नाचिरहेको सुन्दर नेपाल र मुक्त संसारका सपना नियालिरहेका थियौँ । त्यसैले हामीलाई चिप्लो बाटो र निरन्तरको झरीले पनि गलाउन बसेको थिएन । शरीर गले पनि मन पटक्कै गलेको थिएन । आस्था भन्ने कुरा अब्बर हुँदो रहेछ बाबै । त्यही जब्बर आस्थाका कारण १५ हजार बीरवीराङ्गनाले हाँसीहाँसी आफूलाई विस्फोट गराएका रहेछन्, धरतीमा रोपेका रहेछन् र सुन्दर संसार निर्माण थालेका रहेछन् ।

डाँडाकटेरीमा पुगेर हामीले ग¥यौँ सहिदका चिहानमाथि उभिएर कविता र विचारको कासन । क्रान्तिकारी नेता र कार्यकर्ताहरू सहिद रक्तिमकी जीवनसङ्गिनी सभासद् दीपाको पीडाभित्रको आक्रोशसँग आक्रोश मिसाएर साथ दिइरहेका थिए । कञ्चन, अनिल, ललित, विश्व, पथिक, दिनेश, बुद्धिमान सबै बाचा बाँधिरहेका थिए सहिदका सपना पूरा गरेरै छाड्ने । हामीले पनि माक्र्सवादी साहित्य पतिष्ठान र रामेछाप साहित्य प्रतिष्ठानका तर्फबाट नयाँ विद्रोह अघि बढाउने वाचा बाँध्यौँ । डाँडाकटेरीमा क्रान्तिकारीहरू आक्रोशले थरथरी काँपिरहेको अनुभूति ग¥यौँ हामीले । हामीले आँसुका ढिक्काहरूलाई फेरि फिस्फोटक डाइनामाइट बनाउने शपथ खायौँ सहिदका चिहानहरूलाई साक्षी राखेर, दह«ा हात मिलायौँ हामीले फेरि अर्काे बलिदानीका लागि तयार छौँ र हाम्रो क्रान्तिकारी इमानदारीमा कत्ति खिया लागेको छैन भनेर । हामीले हाम्रा प्यारा साथीहरूका टाउका, छाती र शरीरभर गोली पड्काएको अवस्थाको स्मरण ग¥यौँ र आत्मसमर्पण नगरी दुस्मनलाई ललकार्दै शौर्य, त्याग र बलिदानको बाटो रोजेको क्षण सम्झिँदै क्रान्ति पूरा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त ग¥यौँ । हामीले हाम्रा प्यारा साथीहरूका टाउकामा गोली पड्काएको, गिदी छरिएको, रगत बगेको र तिनका शरीर लापरबाहीपूर्वक फालिएको धरतीको माटो मुठीमा उठायौँ, सुँघ्यौँ, निधारमा लगायौँ र मुठी कस्यौँ ।

बाबै, कसरी सके होलान् ती आततायी, असत्ती जल्लादहरूले जनताका प्यारा छोराछोरीहरूलाई अनाहकमा निर्मम हत्या गरेर भीरबाट गुल्ट्याउन ! के यतिबेला ती आततायीहरूका सपना खराब बन्दै गएका छन् होला ? अबको विद्रोह र क्रन्तिले तिनलाई यसैगरी सम्मान गर्ला कि हाम्रा साथीहरूलाईझैँ भीरबाट गुल्ट्याउला ? हाम्रो मनमा यस्तै ज्वारभाटाहरू उठिरहे यात्राभर ।

हामी डाँडाकटेरीबाट बलियो विश्वास बोकेर फेरि दोरम्बातिर फर्कियौँ र त्यहाँ पनि सहिदका तस्बिर र सहिदका परिवारलाई राक्षी राखेर कविता र विचारबाट दुष्टहरूलाई ललका¥यौँ । हत्याराहरू पानीमुनि गए पनि नबच्ने विश्वास दिलायौँ दोरम्बा र डाँडाकटेरीको भूमिलाई, लालभूमि रामेछापलाई । त्यसपछि हामी फेरि हृदयभरि दोरम्बाबासीको न्यानो माया सँगालेर त्यही झरी, बादल र विकट बाटो पछ्याउँदै सेल्टरमा फर्किन लाग्यौँ साँझको समयमा ।

रात पर्न लागिरहेको थियो । घनघोर वर्षा भइरहेको थियो । बिहानको अग्लेश्वरीको डरलाग्दो उकालो अहिले फेरि चिप्लो र भयङ्कर ओरालो भएर हामीलाई जिस्क्याइरहेको थियो । हामी क्रान्तिकारी विश्वासका साथ भौतिक शरीरलाई तृणबराबर नठानी चिप्लिँदै, लड्दै र ठोक्किँदै अर्काे दिन पानीघाट बेथानमा क्रान्तिकारी कासन गर्ने शक्ति बटुल्दै गाल्बा झ¥यौँ । स्थानीय कमरेड र रामेछाप मन्थलीका साथी विनोद सुवेदीले चिप्लो बाटोमा पाखुरा समाएर तातेताते गराएको क्षण कुनै युद्धमोर्चामा घाइते जनसैनिकलाई अर्काे योद्धाले दिएको सहयोगभन्दा कुनै अर्थमा कम थिएन । दर्के पानीका बीचमा अत्यन्त विकट ओरालो छामछाम–छुमछुम गर्दै तीन घन्टासम्म घिस्रिएर हामीलाई गाल्बा र पानीघाटसम्म ल्याइपु¥याउने पनि त्यही क्रान्तिकारी आशावाद नै थियो र त्यहीँकै क्रान्तिकारी कमरेडहरू हुनुहुन्थ्यो हाम्रा पाखुरा समातेर ओरालो तातेतोते गराउने । कति लडियो, कतिका हातखुट्टा मर्किए, कति जुकाले टोके, त्यसको कुनै हिसाब थिएन । साथी योग भन्दै हुनुहुन्थ्यो, ‘चौढपल्ट लरें डाइ । नेपाल आमालाई हृडय र शरीरले नै आलिंगन गर्न पाएँ ।’ कहिल्यै भीरपहरा नटेकेको पाटनको नेवार परिवारको योगलाई पनि त्यही क्रान्तिकारी आशावादले नै भीरमा चिप्लिने साहस भरिरहेको थियो ।

हामी भोलिपल्ट बिहान फेरि चिप्लो र विकट ओरालो झ¥यौँ बेथानतिर र सुरो मुटु बनाएर हामीले खरको चर्चुरे समाउँदै अत्यन्त डरलाग्दा पहरा छिचोल्यौँ । कञ्चन, अनिल, ललित, दीपालगायत साथीहरू पनि सँगसँगै हुनुहुन्थ्यो कहीँ पहरो छल्दै र कहीं बाढी तर्दै ।

बेथान पानीघाटमा पुगेर हामीले तीफदिले बलिदान गरेको भूमिमा अझ उच्चस्तरको वाचा बाँध्यौँ— जसरी तीफदिले आफूलाई बलिदान गरेर क्रान्तिको रातो झन्डा जोगाए, हामी पनि अर्काे विद्रोह र क्रान्तिमा त्यो झन्डालाई सगरमाथाको शिखरमा गाड्नेछौँ र संसारकै प्रतिक्रियावादीहरूलाई चुनौती दिएर सर्वहारावर्गको सत्ता स्थापना गरिछाड्नेछौँ । पानीघाटमा पनि हामीले तीफदिको चिहान उधिन्याँै र मुठीभरि माटो बोकेर फेरि अर्काे यात्रमा लाग्यौँ । अभियनमा संलग्न पार्टीनेतृत्वसमेतको सहमति र सल्लाहमा हामीले रामेछाप साहित्य प्रतिष्ठानले २०६३ सालमा आरम्भ गरी माक्र्सवादी साहित्य प्रतिष्ठानले अघि बढाएर एक सयौँ शृङ्खलासम्म पु¥याएको जनगणतन्त्र र राष्ट्रियताका लागि सिर्जनाअभियानकै शृङ्खलामा गाभ्दै डाँडाकटेरीको कविगोष्ठीलाई एक सय एकऔँ, दोरम्बाको गोष्ठीलाई एक सय दुईऔँ र बेथान पानीघाटको कविगोष्ठी र कासनलाई एक सय तीनऔँ शृङ्खलाका रूपमा स्थापित गर्ने निर्णय ग¥यौँ । मेरो प्रस्तावलाई कञ्चन, माक्र्सवादी संस्कृतिकर्मी एवम् पार्टीनेता अनिल शर्मा, शोभा दुलाललगायत पचासौँ स्रष्टा र राजनीतिकर्मीले सहजै समर्थन गर्नुभयो । हाम्रो अभियानले बेथान र दोरम्बामा पनि विद्रोहको रातो झन्डा गाड्ने अवसर पायो र त्यो पनि सयौँ पार्टीनेता, कार्यकर्ता, सहिद परिवार र स्थानीय जनसमुदायको उपस्थितिमा ।

यसरी हामीले तीन दिनको कठिन तर अत्यन्त रोचक बेथान–दोरम्बा यात्रा पूरा ग¥यौँ । यो यात्राको समाप्ति थिएन, अर्काे आरम्भ थियो । हाम्रो यो यात्रा नेपालमा शिथिल वर्गयुद्धलाई नयाँ उचाइ दिँदै विजयसम्म पुर्याउने प्रतिबद्धता थियो ।

(स्रोत : राष्ट्रियता र जनगणतन्त्रका लागि सिर्जनाअभियान २०६६)

२०७६ भदौ ७ गते शनिबार प्रकाशित