सम्मोहन र भ्रमको आडमा टिकेको सत्ता

- विष्णु पन्त

झूट र भ्रमको खेती

हामीलाई थाहा छ, वर्तमान सत्ता झूट र भ्रमका आधारमा टिकेको छ । जनतालाई परिवर्तन, मुक्ति र समृद्धिका नारा लगाएर लोभ्याउने, भ्रममा पार्ने र लट्ठयाउने अनि यथार्थमा झन् बढी कङ्गाल, उत्पीडित र शोषित बनाउने रणनीति प्रयोग गरेर वर्तमान सत्ताधारी नेताहरू टिकेका छन् । क्रान्तिका सपनाहरू देखाएर जनतालाई उद्वेलित गराउने अनि त्यसैमा टेकेर सम्झौता, आत्मसमर्पण र गद्दारी गरी सत्तामा पुग्ने अभ्यासहरूले नेपाली जनतालाई पटकपटक धोका दिएका छन् । ठूलाठूला सपनाहरू बाँड्ने तर पहलकदमी ठीक उल्टो गर्ने हाम्रा संसदीय नेताहरूको पुरानै प्रवृत्ति हो । विकास र समृद्धिका नारा धेरै पुराना भइसके । विकास र समृद्धिका नाममा देशलाई झन्पछि झन् कङ्गाल, गरिब र अधोगतितिर धकेल्ने तथ्यहरू सबै छर्लङ्गै छन् । हामीसँगैका अरू देशहरू उकालो चढिरहेका छन् तर हामी भने निरन्तर ओरालो लागिरहेका छौँ । जनतालाई अति भैसक्यो, अब कहिलेसम्म यो भ्रमको सत्तालाई स्वीकार गरिरहने ? आज सामन्ती राजतन्त्र फ्याँकेकोमा जनताहरू पछुतो मान्ने अवस्थामा पुगेका छन् । आखिर कसका कारण ?

कम्युनिस्ट पार्टीको भ्रम

आजको सत्तारूढ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी छ जुन पार्टी दलाल संसदीय व्यवस्थाको मुख्य रक्षाकवच बनेको छ । दलाल पुँजीवादको आहालमा डुबेको छ र भ्रष्टाचारमा लिप्त छ । के त्यो कम्युनिस्ट पार्टी हुन सक्छ ? जुन पार्टीले उसको संसद्मा दुईतिहाइको बहुमतका साथ सरकार चलाइरहेको छ तर जनमतसङ्ग्रह हुने हो भने हिजो सत्ताच्यूत राजा ज्ञानेन्द्र फर्किने भयावह अवस्था बनेको छ भने के त्यो कम्युनिस्ट सरकार हुनसक्छ ? जुन सरकारले अर्को राष्ट्रवादी र क्रान्तिकारी पार्टीलाई प्रतिबन्ध लगाउँदै दमन, धरपकड र फासिवाद लाद्दै छ, के त्यो पार्टी कम्युनिस्ट पार्टी हुनसक्छ ? जुन सरकारले भ्रष्ट, दलाल, कालोबजारिया, तस्कर र माफियाहरूको संरक्षण गरेको छ, त्यो कम्युनिस्ट हुन सक्छ ? जुन सरकारले कमिसनका आधारमा एनसेलजस्ता बहुराष्ट्रिय कम्पनीलाई कर छूट दिन्छ तर किसान, मजदुर र आमनागरिकलाई जथाभाबी कर लगाउँछ, के त्यो जनपक्षीय सरकार हुनसक्छ ?

जुन पार्टीको सदस्य बन्नका लागि कुनै रोकतोक र मापदण्ड छैन, त्यो कम्युनिस्ट पार्टी हुनसक्छ ? जुन पार्टीभित्र गुट, उपगुट, भागबन्डा हाबी हुन्छ तर पार्टीको कुनै संस्थागत निर्णय हुँदैन, त्यो कम्युनिस्ट पार्टी हुनसक्छ ? जुन पार्टीको कुनै कार्यक्रम छैन, बल प्रयोगको तयारी छैन अनि प्रतिबद्ध र निष्ठावान् सङ्गठन छैन, के त्यो कम्युनिस्ट पार्टी हुनसक्छ ? जुन पार्टीका नेता–कार्यकर्ता, सरकारका प्रधानमन्त्री, मन्त्री र सांसद सबै कमिसनको चक्करमा डुबेका छन्, के त्यो कम्युनिस्ट पार्टी हुनसक्छ ? अतः कम्युनिस्ट पार्टीलाई जनता झुक्याउने ट्रेडमार्क बनाइएको छ ।

समाजवादको भ्रम

संविधानमा नै समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने भन्ने वाक्यांश राखिएको छ तर यथार्थमा समाजवादलाई निल्ने अर्थप्रणालीको अभ्यास गरिएको छ । निजीकरण र उदारीकरणलाई नै अर्थतन्त्रको मूल आधार बनाइएको छ । अर्थप्रणालीका हिसाबले दलाल पुँजीवादलाई अनुसरण गरिएको छ । दलाल पुँजीवादलाई निषेध गर्ने र आक्रमण गर्ने रणनीतिका विरुद्ध त्यसलाई प्रोत्साहन दिने, संस्थागत गर्ने काम राज्य र सरकारले गरेको छ । राष्ट्रिय पुँजीपति वर्गलाई ध्वस्त बनाउने उद्योग–कलकारखानालाई विघटन गराउने अनि राष्ट्रिय उत्पादनलाई निरुत्साहित गर्ने रणनीति भएको व्यवस्थालाई के समाजवाद उन्मुख अर्थतन्त्र भन्न मिल्छ ?

शिक्षा, स्वास्थ्यमा राजनीतीकरण र माफियाकरण गर्ने, सरकारी संस्थाहरू पूरै ध्वस्त गरिदिने, भूमिमाथिको स्वामित्वलाई पूरै दलाल र माफियाहरूमा केन्द्रीकरण गर्ने वर्तमान सरकारले के समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न सक्छ ? समाजमा गरी खाने वर्ग बाँच्नै नसक्ने अवस्थामा पु¥याइँदैछ । कृषिप्रधान देशमा भूमि बाँझै छन् र प्लटिङ गरिएका छन् । काम गर्ने वा श्रमजीवी वर्ग समाजका लोपोन्मुख वर्गमा परिणत भएका छन् । इमानदार मान्छेहरू आज उत्पीडित, उपेक्षित र अपहेलित वर्गमा परिणत हुँदैछन् । जताततै भ्रष्ट, दलाल, तस्कर, कालोबजारिया र माफियाहरूको सत्ता छ । समाजमा सेतो धनको हैन कालो धनको सत्ता छ । जसले पैसा कमाउँछ पूजनीय र सफल गनिन्छ । जुनसुकै तरिकाले किन नहोस् पैसा कमाउनुपर्छ भन्ने आम सिद्धान्त हाबी भएको छ । आज कालो धन थुपार्नेहरू रातारात करोडपति, अर्बपति र खर्बपतिमा परिणत भएका छन् । समाजमा काला नवधनाढ्य वर्ग नै सर्वत्र हाबी भएका छन् । प्रभाव जमाएका छन् र महासामन्त वा महाराजाको स्थान ग्रहण गरेका छन् । के यसरी समाजवाद आउँछ ? यथार्थमा समाजवादलाई निल्ने वा खाइदिने अर्थतन्त्रको विकास गरेर समाजवादको नारा दिनु राजनीतिक अपराध हैन र ? समाजवादलाई पनि लुटिखाने टे«डमार्क बनाउन मिल्छ ?

विकास र समृद्धिको भ्रम

आज सरकारले विकास र समृद्धिका नारा लगाएर जनतालाई झुक्याउने र लठ्याउने षड्यन्त्र गरिरहेको छ । विकासका खोक्रा सपनाहरू बाँड्ने जस्तै रेल, मोनोरेल, मेट्रोरेल, पानीजहाज, केबुलकारको नारा लगाइएका छन् । यथार्थमा सर्वत्र खाल्डाखुल्डी, डुबान, अर्थव्यवस्था, धुलो, धुवाँले हामीलाई निलिरहेका छन् । गरिब र धनीबीचको खाडल असन्तुलित र भयावह बनेको छ । देशमा काम गर्ने, श्रम गर्ने वातावरण नै छैन ।

युवाहरूलाई विदेश पठाउने र रेमिट्यान्समाथि मोज गर्ने रणनीतिमा सरकार लागिपरेको छ । के युवाहरूलाई विदेश पठाएर समृद्धि सम्भव हुन्छ ? के प्रधानमन्त्री, मन्त्री, पार्टी अध्यक्ष र नेताहरूले जम्मा गरेका अर्बौंका कमिसनबाट समृद्धि आउँछ ? केपी वली, दाहाल र देउवाले विदेशी बैङ्कमा जम्मा गरेको खर्बौं रकमबाट देशमा समृद्धि हुन्छ ? बालुवाटारको जग्गासमेत आफ्नो नाममा बनाउने नेताहरूबाट समृद्धिको अपेक्षा गर्न मिल्छ ? गरिब, किसान र मजदुरलाई जथाभाबी कर लगाएर धनी, बहुराष्ट्रिय कम्पनी र दलालहरूलाई कर छूट गर्ने यो सत्ताबाट समृद्धि सम्भव छ ? कर लगाउने तर सुविधा केही नदिने दलाल सत्ताबाट विकास सम्भव हुन सक्ला ? महाकाली सन्धि गर्दा वार्षिक करोडौँ आम्दानी हुने झूटो तथ्याङ्क पेस गर्ने वलीले अहिले के सोंच्दा हुन् ? मेलम्चीको सपना देखाउन थालेको आज कति वर्ष भए होला ? प्रत्येक वर्ष नेपालीहरूको टाउकोमा ऋणको मात्रा बढाएर समृद्धि हुन्छ ? प्रतिव्यक्तिको आयको तथ्यांकमा झन् पछि झन् तल खस्कीदै जाने दुरावस्थाबाट समृद्धि सम्भव छ ?

राष्ट्रियताको भ्रम

धेरैपटक जनताको मन जित्नका लागि र सत्तामा पुग्ने भ¥याङ बनाउनका लागि राष्ट्रियताको नारा दिइयो तर सत्तामा पुगेपछि वा पुग्नका लागि विदेशीहरूसँगै आत्मसमर्पण गर्ने काम भयो । हिजो सुरुङ युद्धको घोषणा गर्ने नेताहरू कुन दुलोमा छन् ? आज के गरिरहेका छन् ? हिजो हिन्दी सिनेमा चलाउन नदिने आन्दोलनको घोषणा गर्नेहरू सत्तामा छन् र उनीहरू आज के गर्दैछन् ? हिजो चुनावअघि भारतीय नाकाबन्दीसँग डटेर सामना गर्ने भन्नेहरू चुनावपछि पनि दुईतिहाइ बहुमत प्राप्त प्रधानमन्त्री छन् तर आज के गर्दैछन् ?

आज हजारौँ भारतीयहरूलाई नागरिकता बाँड्ने अपराधीहरू सत्तामा छन् । सीमा मिचिँदा चुँ बोल्दैनन्, विदेशी अतिक्रमण हुँदा त्वं शरणम् गर्छन् । जनतालाई भने राष्ट्रियताका लामा भाषण दिन्छन् । असमान सन्धिसम्झौताहरूका विषयमा ठूलाठूला सङ्घर्ष गर्नेहरू सत्तामा पुगेपछि आत्मसमर्पण मात्र गरेका छन् । आज थुप्रै राष्ट्रघाती सन्धिसम्झौता गर्नेहरूलाई के भन्ने ? आफू सत्तामा पुग्नका लागि वा सत्तामा टिकिरहनका लागि विदेशीहरूसँग आत्मसमर्पण गर्ने, सम्झौता गर्ने र राष्ट्रियतामाथि नै सौदाबाजी वा व्यापार गर्ने प्रवृत्तिबाट राष्ट्रियताको संरक्षण हुन सक्दैन ।

क्रान्तिकारी नेता–कार्यकर्ता उत्पादनको भ्रम

आज संसदीय कम्युनिस्ट नेता कार्यकर्ताहरूको पतनले सबैलाई लज्जित बनाइदिएको छ । प्रचण्ड र वलीको खर्ब सम्पत्तिका कुरा उठिरहेका छन् । दक्षिणएसियाकै धनी नेताहरूको सूचीमा उनीहरूको नाम आएको छ । क्रान्तिका नाममा धेरै नेताहरूको वर्ग उत्थान भएको छ । आज नवधनाढ्य वर्गको विकास भएको छ । पूर्वराजाहरूको भन्दा धेरै सम्पत्ति नेताहरूको छ । नेताहरू नवसामन्त र महासामन्तमा परिणत भएका छन् । नेताहरूको यो चरित्रले उनीहरूको पलायन, पतन र गद्दारीलाई पुष्टि गर्दछ ।

सबै कार्यकर्तालाई इमानदार हैन, दलाल, भ्रष्ट र सामन्त बनाएर के क्रान्ति हुन्छ ? नेताहरू आफैँ नाङ्गो ढङ्गले कमिशनखोर बनेर देशमा विकास हुन्छ ? आजको सत्तारूढ नेकपामा के कुनै कम्युनिस्ट विशेषता बाँकी छ र ? आज सत्तारूढ कम्युनिस्ट पार्टी बुर्जुवा पार्टीहरू जति पनि लोकतान्त्रीक छैन् । ओली र दाहालको सहमती भए अरूका विचार सुन्ने अवस्था नै छैन् । उनीहरूको भागवण्डा नमिलेमा वा स्वार्थ बाझिएमा पुरै पार्टी विभाजीत हुन्छ तर उनीहरूको स्वार्थ मिलेमा विचार, पद्धतीको वहश नै हुँदैन् । आज उनीहरूको पार्टी कस्तो बनाउने भन्नेमा बहश नै छैन्, विचारको बहश नै छैन् र समाज कस्तो बनाउने परीकल्पना नै छैन । सबै यथास्थितिमा रमाउने, मात्तीने र उपद्र मच्चाउनेमा नै व्यस्त छन् ।

नेतादेखि कार्यकर्ता कमिशनको चक्करमा डुबेका छन् । जुन नेता कालोसूचीमा परेका बदनामीत ठेकेदारको घरमा बस्छन्, ठेकेदारहरूसँग मिलेमतो र आलीङ्गन गर्छन् । तिनीहरूले फेरी जनतालाई झुक्याउनका लागि क्रान्तिको कुरा गरीरहन्छन् । जनताले जीवन व्यवहार हेर्ने कि फोस्रा बनावटी भाषण हेर्ने ? त्यसकारण पार्टी कस्तो बनाउने भन्ने कुराको निर्धारण नेता र कार्यकर्ताको चरीत्रले गर्दछ । आफैँ कमिशनमा डुबने अनि समाजवादको कुरा गर्ने ? आफैँ अरबौँ सम्पत्ति थुपार्ने अनि क्रान्तिको कुरा गर्ने, आफैँ भूमाफिया बन्ने अनि भूमीसुधारको कुरा गर्ने, आफैँ निजी कलेज र अस्पताल खोल्ने अनि शिक्षा र स्वास्थ्यमा निजीकरणको अन्त्यको कुरा गर्ने ! यस्ता भ्रमात्मक प्रवृत्तिका नेताहरूबाट देश र जनताको हित हुन सक्छ ?

भ्रमको सत्ताको अन्त्य गर्नुपर्छ

हामीले निष्कर्ष निकाल्नुपर्ने विषय स्पष्ट छ– भ्रमबाट प्रभावित हुने हाम्रो पद्धतिलाई बदल्नुपर्छ । नेपाली जनताले धोका खाइरहने पद्धतिबाट मुक्त हुन सक्नुपर्छ । नेताहरूका जीवनपद्धति र व्यवहारलाई हेरेर मात्र विश्वास गर्नुपर्छ । नेपालमा क्रान्तिको आवश्यकता छ तर भ्रान्तीको हैन । नेता–कार्यकर्ता र आमजनताको बलिदान र सङ्घर्षमा टेकेर सत्तामा पुग्ने अनि जनता र राष्ट्रलाई धोका दिनेहरूका विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्नुपर्छ । संसदीय गोलचक्करबाट समाजवादको सपना देखाउनेहरूलाई अब लखेट्नुपर्छ । आफू दलाल पुँजीवादमा फस्ने, पुरानै संसदीय व्यवस्थाको ठेकेदार बन्ने अनि क्रान्तिका भाषण गरिरहनेहरूलाई जनताले बहिष्कृत गर्नुपर्दछ । अब दलाल संसदीय व्यवस्थाको अन्त्य एक मात्र विकल्प हो । त्यसका लागि यो व्यवस्थाका रक्षकहरूमाथि हमला गर्नैपर्छ । एउटा क्रान्तिकारी नेतृत्व र पार्टीले मात्र त्यो अभिभारा पूरा गर्नसक्छ । विप्लवको नेतृत्व, नेपाल कम्युनिस्ट पार्टीको सशक्तीकरण, एकीकृत जनक्रान्तिको कार्यदिशाको सही संयोजनबाट मात्र वैज्ञानिक समाजवाद स्थापना हुनसक्छ । वर्गदुस्मनसँग घाँटी जोडेर क्रान्ति हुँदैन, बल प्रयोग र सङ्घर्षबाट मात्र देशले मुक्ति पाउँछ ।

२०७६ असोज २२ गते बुधबार प्रकाशित