सबैतिरका खराबीविरुद्ध लडौँ

- प्रकाश मल्ल

सूचना र प्रविधिको पनि कति चाँडो विकास भयो, कसैले मनमा केही सोच्नै नहुने । फ्याट्ट सामाजिक सञ्जालमा आइहाल्ने । सहयोद्धा पनि त्यहीँ, अग्रज पनि त्यहीँ, शुभचिन्तकहरू पनि अनुयायीहरू पनि सबै त्यहीँ । हैन, कस्तो ग्लोबलाइजेसन हो कसैले धेरै मेहनत लगाएर लुकाउन खोज्छ, त्यो नै बजारमा आइपुग्छ । के सारो अचम्म हो । हरेक चीज वा वस्तु जान्न–बुझ्न सकिन्छ भन्ने कुरा यहाँ पनि प्रमाणित भएको छ । भ्रष्टाचार, सम्पत्ति लुकाउनु, नातावाद कृपावाद, आफूले सोचेको जस्तो गर्दै जानू, यो पनि यहाँ पुष्टि भएको जस्तो लाग्छ । यसमा कथित फासिवादी संसद्वादीहरू र खोल ओढेका, आडम्बर बोकेका क्रान्तिकारीहरूमा के फरक छ ? फरक नभएर त हामी मालेमावादको विकसित रूप नयाँ विज्ञानसहित पार्टी पुनर्गठन गरेर यहाँसम्म आइपुगेका छौँ ।
२१ औँ शताब्दीमा नेपालबाट विश्व कम्युनिस्ट आन्दोलनका क्षेत्रमा जुन नयाँ विज्ञानको आविष्कार भएको छ यसलाई अक्षरशः सबैले पालना गरौँ, आत्मसाथ गरौँ, लागू गरौँ । विज्ञानको व्यावहारिक पुष्टि गरौँ । त्यो विज्ञान भनेको एकीकृत जनक्रान्ति हो । यसको माध्यमबाट चौथो अन्तर्राष्ट्रिय गठनमा मेहनत गरौँ । आवश्यकता आजको यो हो । क्रान्तिकारीहरूले यसलाई मागिखाने भाँडो नबनाऊँ, यो कुरा कहिले बुझ्ने ? क्रान्तिकारीहरूले नयाँ विचार विज्ञान निर्माण गर्नुहुने महान् गुरु र साथ दिने अग्रजहरूलाई हृदयदेखि नै क्रान्तिकारी नमन गर्दछु । फरक पार्टी बनाएपछि स्वार्थपूर्ति गर्न पाइन्छ भन्ने सोचाइ कसैमा छ भने योजस्तो घटिया, निम्नपुँजीवादी सोचाइभन्दा अरू केही हुन सक्दैन । लगनशील, मेहनती, क्षमता भएर मात्र केही हुँदैन, मुख्य कुरा कम्युनिस्ट बन्ने हो । यहाँ कम्युनिस्ट समाज निर्माण गर्ने कुरा हो । तिम्रा हलन्ते प्रवृत्तिले कसरी सम्भव छ यो कुरा ? मुख्य कुरा कम्युनिस्ट दृष्टिकोण नबनेसम्म हामी कम्युनिस्ट बन्न सक्दैनौँ । वीरता र बलिदानको भावना हुनुका साथै सच्चा कम्युनिस्टमा चाहिने मूल चीज विश्वदृष्टिकोण हो । यति ठूलो बलिदान र सङ्घर्षको इतिहास क्रान्तिकालबाट सङ्घर्ष गर्दै आएकाहरू कयौँमा त सर्वहारा विश्वदृष्टिकोण बनेको देखिँदैन प्रचण्डहरूजस्तै र प्रचण्डका प्युठहरू जस्तै देखिन्छन् । अभिजात वर्गको जन्म होलाजस्तो देखिने पार्टी र सङ्गठन नै कब्जा गर्न खोज्ने प्रवृत्ति देखापर्नु राजनीतिक, वैचारिक, सैद्धान्तिक भेग र क्षेत्रभन्दा पनि जातीयतामा जालाजस्तो गल्ती देखा पर्न गइरहेको छ । व्यक्ति केन्द्रित सबै होलाजस्तो । विचार र प्रविधिका हिसाबले २१ औँ शताब्दीमा भए पनि कतिपयका खराब चिन्तनका हिसाबले आदिम समाजभन्दा पनि पर भएको जस्तो भान हुने । आदिम समाजमा जीवन जिउनका लागि सामूहिकता हुन्थ्यो भन्ने देखिन्छ । त्यतिबेला खाद्यान्न, जङ्गली फलफूल कुहिने हुनाले भण्डार गर्न गाह्रो थियो । यहाँ त जति जम्मा गरे पनि हुने शीतगृहहरू छँदैछन् । सड्ने र गल्ने डर छैन ।

कथित संसदीय व्यवस्था यसको ज्वलन्त उदाहरण हो सबै हिसाबले । त्यसकारण यो जताको भए पनि खराब चिन्तन र त्यसको उपज सबै चीजको अन्यका लागि जस्तोसुकै पनि सङ्घर्ष गर्ने वैज्ञानिक क्रान्तिकारी युवाहरू एक ढिक्का होऔँ एकीकृत जनक्रान्तिको बाटोमा । लि यु हो भन्नुहुन्छ– क्रान्तिकारी पृथिवीमा कुनै कुरासँग पनि डराउँदैनन् । उनीहरू सधैँ अगाडि बढिरहन्छन् । एकीकृत जनक्रान्तिका महान् यात्री क्रान्तिकारी युवाहरूको पङ्क्तिले यो भनाइलाई आत्मसाथ गरौँ । आन्तरिक पार्टीभित्र भएका सम्पूर्ण खराबीका विरुद्ध सङ्घर्ष गरौँ र ठीक ठाउँमा ल्याउन सचेत प्रयत्न गरौँ । क्रान्तिकारी सचेत आलोचनात्मक चेत हुनु आजका युवाहरूको आवश्यकता पनि हो । पुँजीवादिहरूको सोचाइको सार मलाई कति फाइदा हुन्छ भन्ने हो भने कम्युनिस्टको सोचाइ मैले समाज, देश, क्रान्तिलाई कति योगदान दिन सक्छु भन्ने हो । निम्नपुँजीवादी सोचाइ वा पुँजीवादी सोचाइविरुद्ध व्यापक चिन्तनगत सङ्घर्ष गर्नु आजको आवश्यकता हो । यसले पार्टीमा आजको विकसित विज्ञानको विकसित वैज्ञानिक क्रान्तिकारी स्कुलिङको माग गरेको छ । स्कुलिङको आवश्यकता महसुस भएको विषय भनेको यहाँ व्यक्ति वा पार्टी कसलाई प्रमुख ठान्ने ? हामीले पार्टीलाई सही ढङ्गले अगाडि बढाउनु छ भने दृष्टिकोण र मान्यता प्रमुखतामा राखेर काम गर्नुपर्छ । यसका लागि सचेत पहल गरौँ क्रान्तिकारि युवाहरूले । यसलाई टाढाको विषय नबनाऔँ । समयमै पहल गरौँ निम्नपुँजीवादी सोचाइलाई समयमा नै नियन्त्रण गर्न सकिएन भने त्यसले पार्टीको क्रान्तिकारी चरित्रलाई समाप्त पार्ने खतरा बढ्छ । पार्टीमा निम्न पुँजीवादी प्रवृत्ति बढ्दै गयो भने अराजकता बढ्छ । खराब प्रवृत्ति र सोचाइले गाँज्छ । यसले आफ्नो तरिकाले पार्टी हिँडाउन खोज्छ । त्यही बीचबाट व्यक्तिगत फाइदा पनि खोज्छ । पार्टीभित्र खराब प्रवृत्तिलाई मौलाउने अवसर प्रदान नगरौँ । ज्वारभाटाका विरुद्ध जानु नै माक्र्सवादी लेनिनवादी सिद्धान्त हो भनी कमरेड माओले भन्नुभएको छ ।

आजको आवश्यकता, आजको विकल्प, आजको विज्ञान भनेको एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद हो । यसलाई स्थापना गर्ने दुनियाँका कुनै पनि तानाशाहको तागतले रोक्न सक्दैन । हाम्रै मेहनतले यो सम्भव छ । माक्र्सले भन्नुभएजस्तै आजसम्मको इतिहास भनेको वर्गसङ्घर्षको इतिहास हो । यहाँ हाम्रा हजारौँ राम्रा कामको प्रशंसा कसैले गर्दैन । दुनियाँ हाम्रो एउटा गल्तीको खोजीमा लागिरहेको छ । यो संसदीय व्यवस्थाको उत्तम अभ्यास हो । यो गलत अभ्यासलाई क्रान्तिकारी युवाहरूले सचेत प्रयत्नका साथ दरिलो प्रतिरोधले ध्वंस गराैँ।

प्रकृतिको नियम नै हो जुन रूखमा मीठो फल लाग्छ त्यही रूखमा अधिक ढुङ्गा प्रहार हुन्छ । अहिले संसद्वादीहरूले हाम्रो एकीकृत जनक्रान्तिको लटरम्म फलेको रूखमा चौतर्फी प्रहार गरिरहेका छन् । यो प्रहारले हाम्रो एउटा पात पनि खस्नेछैन ।

२०७५ फागुन २४ गते शुक्रबार प्रकाशित