सपना

- सृजन अविरल

प्रिय कमरेड !
आऊ, म तिमीलाई तिम्रो जमिन देखाउँछु
मैले स्पर्श गरेका हरेक खोला र नदी
बगेका हुन्, यही जमिनबाट
अग्लिएको पहाड र हिमाल
अनि दगुरेर पनि कहीँ नपुगेको मानिस
यही जमिनको हो ।
प्रिय कमरेड !
मलाई तिम्रो जरा–जरा थाहा छ
तिमीले आफ्नो जमिन बिर्सिएपछि
आएको हो यो आँधी र बगाएको हो यो बस्ती
मेरै आँखाअघि तिमीले च्यातेर मिल्काएपछि
विचारको घोषणापत्र
बदलिएको हो तिम्रो स्वर
र बगेको हो योद्धा बाबुको आँखामा आँसु
थर्थराएको हो लडाकु बहिनीको गोडा
कापेको हो यो सिङ्गो जमिन
तिमीले भुलेर गए पनि आदिम सपना
दिनहुँ हाम्रो भाग्य छेकी उभिएको यो पहाड
तिमीले नै सिकाएको हो उक्लिन
र यही पहाडको खोचमा
बगिरहेको दुःखको नदी
तिमीले नै सिकाएको हो तर्न
अब तिम्रो उचाइबाट सायद देखिँदैन
अभावको जङ्गल, त्यो आँसुको नदी
र आदिम सपना ।
प्रिय कमरेड !
तिम्रो अनुहारको उज्यालो
यही गाउँको हो
तिम्रो निधारमा सल्किएको भाग्य
र तिमीलाई बर्सौंदेखि बोकेर काँधमा
यहाँसम्म पु¥याउने
यही बस्तीका मानिसहरू हुन्
दिनहुँ गइरहने अभावको भूकम्प
र तिमीले भर्खरै पढेको
अखबारको मूल समाचार यही गाउँको हो
निधारमा टाँसेर आफ्नै मूल्यसूची
झस्किँदै खाडीमा ब्युँझने युवाहरू
यही बस्तीका हुन् ।
प्रिय कमरेड !
अझ म तिमीलाई तिम्रो जमिन देखाउँछु
दरबार छिरेपछि तिमीले भुलेको बस्ती र
नचिनेका खोला र नदीहरू
हरेक बिहान रेडियोमा बज्ने शोकधुन
यही बस्तीको हो ।

२०७६ जेठ ३१ गते शुक्रबार प्रकाशित