सपना देख्दै निद्रा हराएका रातहरू

- सीता विक सम्झना

निस्पट्ट अँध्यारोले भरिएको यो रात किन यति धेरै लामो लाग्दैछ ? निद्राले किन छुँदैन ? कोल्टे फेर्दै अनगिन्ती विगतहरूलाइ सम्झँदै झस्कँदै भावनामा डुब्दै अनेक प्रश्न र उत्तरहरूसँग मुकाबिला गर्दैछु । कतिकति बेला गुनगुन आवाज बाहिर आएको पनि पत्तो हँुदैन रहेछ । यताउता छाम्छु बच्चाहरू मस्त निद्रामा छन् । मलाई भने छट्पटी भैरहेको छ । आलसतालसजस्तो लाग्छ । तिर्खा लागेजस्तो भयो । बिस्तारै बिस्तराबाट उठेँ । लामो सास फेर्दै बत्ती बालेँ । कोठा उज्यालो भयो । हातको घडी हेरेकी, भर्खर रातको बाह्र बजेको रहेछ । बस्ती सुनसान छ । घरर्र पर्दा खोलेर बाहिर हेरेँ । अँध्यारोले आफैँलाई जिस्क्याएजस्तो लाग्यो । फेरि पर्दा तानेँ र थचक्क खाटमा बसेँ । यसो निधारतिर छामेको चिट्चिट पसिना आइरहेको रहेछ । बेचैन मनलाई सम्झाउने कोसिस गरेँ । सकारात्मक सोचाइ बनाउने कोसिस गरेँ तर मन आफ्नै गतिमा जलिरहेको छ । नजिकैको बोतलको चिसो पानी घट्घट पिएर रित्याइदिएँ तर मन भने शीतल हुँदैन !

बाहिरको त्यो निस्पट्ट रात अनि मेरो मनलाई मैले एकचोटि २०६१–६२ तिर पु¥याएँ । यो सङ्कटकाल हो ? होइन । यो समय खारा लडाइँको ब्याटल हो ? त्यो पनि होइन तर मन किन यसरी बेचैन ? मलाई १५ वर्षअगाडि र आज किन उस्तै लाग्दैछ ?

हिजोका धेरै मध्यरातहरूमा, कहालीलाग्दा क्षणहरूमा पुगँे म । हिजोका धेरै रातहरूले हामीलाई ठूलाठूला चोट र घाउहरू छोडेर जाने गरेका थिए । जुन घाउ र चोटहरू आज पनि चह¥याउँदैछन् । यस्तै मध्यरातहरूमा कोही सहिद परिवार त कोही टुहुरा, कोही अपाङ्ग, कोही बेपत्ता । व्यक्तिगत जीवनका खुसीहरू राष्ट्रका लागि अर्पण भैसकेका हुन्थे बिहान हुँदा । आज फेरि यी र यस्ता कथाहरू दोहोरिँदैछन् । यस्ता सोचाइहरूले झन् मेरो बाँकी रहेको निद्रा पनि खोसिदियो र मेरो मनको उद्वेलनलाई कापीको पानामा कोर्नतिर लागेँ ।

आजको दिन कमरेड सविन र मेरो विवाह वर्षगाँठको दिन हो । २०६४ साल जेठ २४ को दिन । हामी जनयुद्धको रक्षा र निरन्तरताकै एउटा रूप शान्तिप्रक्रियाका क्रममा जनवादी विवाहमा बाधिएका थियौँ । त्यो दिन मेरो जीवनका अनेक मोडमध्येको एउटा खास दिन थियो । किनकि पहिलो त जनवादी विवाह र पुनर्विवाह, अर्को बाहुनको छोरा र कामीको छोरीको विवाह, त्स्रो सहिदपत्नी र कुमार केटाका बीचको विवाह, चौथो जनताका बीचमा सार्वजनिक स्थलमा पार्टीको झन्डा साक्षी राख्दै सहिदले देखाएको बाटोबाट विचलित नहुने कसम खाँदै पार्टीको उच्चस्तरीय नेता, जनमुक्ति सेनाका कमान्डर र जिल्लाका प्रजिअ, स्थानीय विकास अधिकारीलगायत कर्मचारीहरूको उपस्थिति तर मञ्च सामान्य । बाहिर कतै खासखुस सुनियो– विधायक र कमान्डरको विवाह पनि यस्तो ? कतैकतै सुनियो– विवाह त यस्तै गर्नुपर्छ । जे होस् सामन्ती रूढिवादी समाजलाई चुनौती दिँदै एउटा सन्देश दिएकै थियौँ । हामीले पनि समाज परिवर्तनमा इँट थपेको महसुस गरेकै थियौँ । आदरणीय कमरेड सुदर्शनले हामीलाई शुभकामना दिँदै यो जोडी नमुना बनोस् । सधैँ क्रान्तिको ऊर्जा बनोस् भन्नुभएको थियो । आज उहाँ जेलमा हुनुहुन्छ । उहाँलाई आज सम्मान र सम्झना गरेको छु । जनयुद्धका सुप्रिम कमान्डर पुष्पकमल प्रचण्डलाई पनि सम्झिएकी छु । उहाँले हामीलाई समाज परिवर्तनका शिक्षाहरू घोकाउनुभयो । हामी दिलोज्यान लगाएर उहाँको आदेशमा कुनै कसुर बाँकी राखेनौँ । हामीलाइ नयाँ संस्कृतिको विकास गर्नुपर्छ । विभेदरहित समाज निर्माण गर्नुपर्छ भन्नुहुन्थ्यो तर भर्खरै उहाँले मनाएको विवाह वर्षगाँठ ज्वलन्त छ । प्रतिक्रान्तिको सानो नमुना । उहाँ बेहुला र सीता कमरेड बेहुली बनेर ५० औँ विवाहउत्सव मनाउनुभयो । उहाँलाई यत्ति पनि हेक्का भएन– हिजो उहाँ आफैँले नेतृत्व गरेको युद्धमा विवाह गरेको केही दिनमै, केही महिनामै एकल भएका र आज पनि टुहुरा बच्चाहरूलाई झूटो खबर दिँदै बाबा विदेश जानुभएको छ, आकाशमा हुनुहुन्छ भन्दै आँसु पिएर बाँचेका कमरेडहरूलाई कस्तो पर्ला भन्ने ? उहाँले भन्नुभयो– सीतालाई थेरापी गराएको रे ! हो, थेरापी आवश्यकता होला । अरू कुनै उपाय थिएन ? १७ हजार सहिद, बेपत्ता परिवार डिप्रेसनको सिकार छन् । उनीहरूलाई कसले गराउने थेरापी ? तपाईंमा थोरै पनि जनयुद्धको स्मरण छ भने सरकार र सत्तामा हुनुहुन्छ । सीता कमरेडसँगै टुँडिखेलमा लगेर थेरापी गराउनुस् । सहिद–बेपत्ताका आफन्तहरू, घाइतेहरू सडकमा अनशन बस्छन् । आफ्नै नेताले सरकार चलाएको बेला आफ्नै सहयोद्धा अनशन बस्नुपर्ने हो ? यी र यस्ता कुराले म जनयुद्धका सुप्रिम कमान्डरलाई सम्झिरहन्छु भने उता क्रान्तिको अभिभारा पूरा गर्छु भनेर अहोरात्र खट्नुभएका कमरेड विप्लवलाई पनि सम्झन्छु ।

हिजोआज क्रान्तिमा लामबद्ध कमरेडहरूले जुन कुरा गर्नुहुन्छ, सत्य बोलिरहनुभएको छ । समाज परिवर्तन भएन । क्रान्ति पूरा भएको छैन । घाइतेले उपचार पाएन । बेपत्ता योद्धा कहाँ छन् ? सहिद परिवारको व्यवस्थापन भएन । जनयुद्धका पूर्णकालीन कार्यकर्ताको व्यवस्थापन भएन । देशको सिमाना मिचियो । राष्ट्रियता खतरामा प¥यो । भ्रष्टाचार मौलायो । के यो सत्य होइन र ? विप्लवलाई त सलाम पो गर्नुपर्ने उहाँहरूले । प्रतिबन्ध लगाउनुहुन्छ । पार्टी नेता–कार्यकर्तादेखि सर्वसाधारणसम्मलाई जेल र हिरासतमा राख्नुहुन्छ । बादल कमरेड खुट्टामा गोली हान्ने आदेश दिएर छातीमा गोली हान्नुहुन्छ । उहाँ पटकपटक भन्नुहुन्थ्यो– अधिकार नपाएसम्म विद्रोह गर्नुपर्छ भनेर । उहाँले नै विस्फोटमा मर्ने नागरिक नभएको बताउनुभयो तर कोही असामान्य किन बन्छ ? उहाँलाई थाहा भएकै कुरा हो ।

मर्न कसैलाई रहर हुँदैन । समयले बाध्य बनाउँछ । समयलाई कुनै प्रतिबन्ध पनि लाग्दैन । उसको आफ्नै गति हुन्छ । यो त विज्ञानको नियम पनि त हो । त्यसकारण फेरि देशका भर्भराउँदा ताराहरूलाई गोली हानी मारेर बच्चाहरूलाई टुहुरा बनाउने, सिन्दुर पुछ्ने काम र हामीजस्ता इमानदार कार्यकर्ताको निद्रा समाप्त हुँदैछ । गोली हानेर, गिरफ्तार गरेर सम्भव छैन । समयलाई बुझेर बदल्नुस् । आजका प्रधानमन्त्री केपी वलीसँग मोरो कुनै गुनासो छैन । उहाँ हिजो पनि त्यही हुनुहुन्थ्यो, आज पनि र भोलि उही हुने हो । तर हिजो जनयुद्ध लडेर आएका तपाईंहरूलाई देखेर मलाई लाज लाग्छ । जुन कुरा अनिवार्य छ त्यही किन रोक्दै हुनुहुन्छ ?

यी सबै कुरा स्मरण र बोध गर्दै कापीको पानामा कोरेँ । महान् सहिद क. जलनलगायत सम्पूर्ण सहिदहरूलाई सलाम गरेँ र आफैँले ल्याएको गणतन्त्रमा आफ्नैबाट बन्दी बनाइनुभएका आदरणीय कमरेड सुदर्शनलगायत कमरेडहरूलाई हृदयदेखि सम्मान गरेँ । यसो झ्यालतिर आँखा लगाउँदा पूर्वबाट क्षितिज बिस्तारै अँध्यारोलाई पन्छाउँदै आफ्नो शक्ति जमिनतिर प्रवाह गर्दै थियो । निस्पट्ट रातको सामना गरेर धर्तीमा आउने उज्यालो आशालाग्दो हुने गर्छ । छिट्टै उज्यालोको आशा गर्दै झ्यालबाट पूर्वतिर हेरिरहेँ ।

आज हाम्रो सहयात्रा १२ वर्ष पार गरेर १३ वर्षमा प्रवेश गर्दैछ । हामी हाम्रो यात्रामा दृढ छौँ । महानँ जनयुद्धले गरेको समाज रूपान्तरण र हाम्रो योगदान बाँचिरहनेछ । हामीलाई कुनै पश्चाताप छैन । कुनै चीज बदल्नुछ भने आफू पहिले बदलिनु अनिवार्य हुन्छ । केही पाउनलाई केही गुमाउनैपर्छ । इज्जत र स्वाभिमान नै जीवनको सम्पत्ति हो । कसैको पाउ मोलेर खुसी हुनुभन्दा सङ्घर्ष गरेर बाँच्नुमा छुट्टै आनन्द हुन्छ ।

२०७६ जेठ ३१ गते शुक्रबार प्रकाशित