सन्दर्भ कार्ल माक्र्सको द्विशताब्दीऔँ जन्मदिवस

महान् दार्शनिक कार्ल माक्र्स

- कल्पना पौडेल ‘जिज्ञासु’

वैज्ञानिक साम्यवादका प्रणेता, विश्व कम्युनिस्ट आन्दोलनका महान् गुरु दार्शनिक कार्ल माक्र्सको जन्म ५ मे १८१८ मा आमा हेनरी यट्ररको कोखबाट जर्मनीको ट्रियर सहरमा भएको थियो । उनका बुबा हेनरिख माक्र्स फ्रान्सेली विचारबाट प्रभावित थिए ।

कार्ल माक्र्सले ट्रियर जिम्मेसियम स्कुलमा सन् १८३० देखि १८३५ सम्म आफ्नो प्रारम्भिक अध्ययन पूरा गरेका थिए । त्यतिबेला उनले पैसा छनोटबारे एक किशोरको विचार शीर्षकमा निबन्ध लेखे । त्यो निबन्ध प्रबोधनकालको प्रगतिशील विचारधाराबाट ओतप्रोत थियो । माक्र्सको बौद्धिक प्रतिभाको प्रस्फुटन उक्त निबन्धले दर्साएको थियो ।

सन् १८३५ अक्टोबरमा माक्र्स बोन विश्वविद्यालयमा कानुन विभाग रोजेर भर्ना भए । विश्वविद्यालयमा उनले कानुनशास्त्रका साथै साहित्य, नवीनतम कला इतिहास र सौन्दर्यशास्त्रको पनि अध्ययन गरे । बोन विश्वविद्यालयमा एक वर्ष अध्ययन गरेपछि बर्लिन विश्वविद्यालयमा भर्ना भए । त्यहाँ वैज्ञानिक अध्ययन र बौद्धिक विकासका लागि बढी सुविधा थियो ।

बर्लिनमा माक्र्सले धेरै मेहनत गरे । त्यससको फलस्वरूप उनको बौद्धिक विकासले तीव्र गति लिन थाल्यो । उनी कलेजको अध्ययनका साथै स्वतन्त्र अध्ययनमा पनि व्यस्त रहे । उनले मुख्यतः दर्शनशास्त्र, इतिहास, साहित्य र कलाको पनि गहिरो अध्ययन गरे । अङ्ग्रेजी र इटाली भाषासमेत सिकेर उनी धेरै छोटो समयमा महान् बौद्धिक व्यक्तित्व बन्न सफल भए ।

कार्ल माक्र्स र जेनी बाल्यकालका साथी थिए जर्मनीको राइन प्रान्तको सल्ज्वेडलमा रहेको एउटा सम्भ्रान्त परिवारमा सन् १८१४ को फेब्रुअरी १२ मा जन्मेकी जेनी बोन वेस्टफालेन आफ्ना पितासँगै ट्रियरमा बसाइँ सरेर आएकी थिइन् । बाल्यकालमा सँगै खेल्दै गर्दा सुरु भएको बालप्रेम बिस्तारैबिस्तारै हरेक दिनको सूर्योदयसँगै फक्रँदै जान थाल्यो । प्रत्येक रातको निरवतासँगै प्रगाढ बन्दै गएको प्रेम दुवैजना युवा अवस्थामा पाइला टेक्न नपाउँदै एक–अर्कोबिना बाँच्नै नसक्ने र प्रेमको खातिर जस्तोसुकै मूल्य चुकाउन पनि पछी नपर्ने भए । जेनी र कार्ल माक्र्सबीचको बालप्रेम जेनी २१ वर्ष र माक्र्स १७ वर्षको हुँदा युवकयुवतीबीचको प्रेममा विकास र परिणत भयो । प्रेमको कोपिला फक्रँदो सुगन्धित फूल बन्यो जसको परिणाम १८३६ को ग्रीष्मकालमा उनीहरुले विवाह गरे ।

जेनी अभिजात वर्गकी थिइन् । यही कारण जेनीको परिवारले सम्बन्धलाई स्वीकार नगर्ने अवस्था देखेर त्यो विवाहलाई औपचारिक रूपमा सार्वजनिक गरिएन । तीक्ष्ण बुद्धि, सुशीलता र उत्कृष्ट आचरणकी धनी जेनी बोन रूपमा पनि अनुपम थिइन् । त्यसैले माक्र्सजस्तो विलक्षण प्रतिभालाई जीवनसाथी बनाउन सफल भइन् भने माक्र्स आफ्नो बौद्धिकताले जेनीजस्ती सुन्दर नारीलाई जीवनसँगिनी बनाउन सफल भए ।

माक्र्स र जेनीका बीच अगाध प्रेम थियो । जेनीसँग अलग्गै भएर बर्लिनमा बस्नुपर्दाको बिछोडको असह्य पीडाबोधले कार्ल माक्र्सलाइ प्रेमकथा, गीति काव्यजस्ता भावपूर्ण साहित्यिक कृतिहरूको रचना गर्ने प्रेरणा पनि मिल्यो । ती कृतिहरू माक्र्सको आफ्नै शब्दमा ‘मेरी प्रियतमा’ भनी जेनीलाई अनन्त प्रेमसहित समर्पण गरेका थिए ।

माक्र्सकी पत्नी जेनी सम्पन्न परिवारकी थिइन् तर आफ्ना क्रान्तिकारी विचार तथा कार्यक्रमका कारणले उनले सधैँ अभावग्रस्त र कष्टकर जीवन बिताउनुप¥यो । जेनीको जीवनको सबभन्दा महत्वपूर्ण पक्ष त्यस्तो गरिबी, अभाव, कठिन परिस्थिति वा अवस्थामा पनि माक्र्सलाई सधैँ आफ्नो सच्चा र प्रगाढ प्रेम दिइन् र आफ्नो पतिका सबै विचार र कार्यहरूमा सक्रियतापूर्वक साथ दिइन् । त्यसैले माक्र्स र जेनी सफल विवाहित जोडी भनेर कहलिएका थिए । उनीहरुका बीचको सफल प्रेम र सफल दाम्पत्य जीवनको उदाहरण आज पनि लिने गरिन्छ ।

कार्ल माक्र्सले विद्यावारिधिको थेसिस ‘डेमोक्रेटिसको प्रकृति दर्शनबीचको भेद’ विषयमा तयार पारेका थिए । यो नै माक्र्सको पहिलो वैज्ञानिक कृति हो जुन अध्यात्मवादी चिन्तनमाथिको खोज थियो । प्रोइसेन राजधानीमा रहेको विश्वविद्यालयमा आफ्नो थेसिसको सही मूल्याङ्कन हुन सक्दैन भन्ने बुझेर नै माक्र्सले इगेना विश्वविद्यालयमा आफ्नो थेसिस पठाए र १८४१ मा दर्शनशास्त्रको विद्यावारिधिको उपाधि प्राप्त गरे । त्यसपछि उनी अत्यन्तै प्रतिष्ठित दार्शनिक बन्न पुगे ।

प्रगतिशील र शोषित वर्गको हितमा आफ्नो जीवन अर्पण गर्ने अठोट गरेका माक्र्सले आफूजस्तै विचारधारा भएका, अत्यन्तै विश्वासिला र सहयोगी फ्रेडरिक एङ्गेल्सलाई साथीका रूपमा पाए । माक्र्सभन्दा दुई वर्ष कान्छा एङ्गेल्सको जन्म राइन प्रान्तको बार्मेन सहरमा भएको थियो । एङ्गेल्सको कृति ‘राजनीतिक अर्थशास्त्रको आलोचनाको रूपरेखा’ शीर्षकबाट माक्र्स परिचित भएपछि उनीहरूका बीचमा पत्र आदानप्रदान हुन थाल्यो । १८४४ अगस्टमा बेलायतबाट जर्मनी फर्किंदा एङ्गेल्सले पेरिसमा माक्र्ससँग भेटे । दस दिनको संसर्गमा सबै सैद्धान्तिक क्षेत्रमा उनीहरूबीच एकरूपता देखाप¥यो । त्यसै बेलादेखि उनीहरूको संयुक्त कार्य सुरु भयो ।

माक्र्स र एङ्गेल्सको यस ऐतिहासिक भेटले एक असाधारण मित्रता र दुई महान दिग्गजहरूको सहयोगको थालनी भयो । यो मित्रता र सहयोगले मजदुरवर्गलाई वैज्ञानिक क्रान्तिकारी सिद्धान्तले सुसज्जित बनायो । सर्वहारा पार्टीको राजनीति र कार्यनीतिको जग बसाल्यो । माक्र्सले आफ्ना सहकर्मी एङ्गेल्ससँग मिलेर विश्व कम्युनिस्ट आन्दोलनको घोषणापत्र, पुँजीलगायत थुप्रै ऐतिहासिक कृतिहरू तयार पारे । ती कृतिहरुले साम्यवाद प्राप्तिको आन्दोलनमा लाग्नेहरूका लागि सधैँ मार्गदर्शन गरिरहेको छ । त्यसैले माक्र्स र एङ्गेल्स विश्व कम्युनिस्ट आन्दोलनका मार्गदर्शक हुन् । उनीहरूले देखाएको बाटोमा विश्वभरका असली कम्युनिस्टहरू हिँडिरहेका छन् । कम्युनिस्ट आन्दोलनमा माक्र्सको सर्वाधिक योगदान रहेको छ ।
माक्र्सको जीवनमा धेरै कठिन परिस्थितिहरू आए । माक्र्सको परिवार जहाँजहाँ जान्थे त्यहाँबाट चाँडै नै लघारिन्थे । उनीहरूको आर्थिक अवस्था साह्रै नाजुक थियो । सन् १८४४ मे १ मा पहिलो सन्तानका रूपमा छोरी जन्मिएकी थिइन् । माक्र्स पत्रिका निकाल्ने काम गर्थे । पत्रिकाको अवस्था पनि सन्तोषजनक थिएन । यसैबीच १८४५ को सुरुमा माक्र्सको परिवार बसेको घरमा अचानक प्रसियाली सरकारको प्रहरी आएर उनलाई २४ घन्टाभित्र पेरिस छोड्न आदेश सुनाएर गयो । जेनीलाई भने पेरिस छाड्न भनेको थिएन । जेनीले यही बेला आफ्ना समान बेचेर केही पैसा जम्मा गरिन् । त्यसपछि उनीहरू ब्रसेल्समा सरे । केही दिनपछि फेरि दुईजना मानिस राति घरभित्र पसेर सोधपुछका लागि भन्दै माक्र्सलाई समातेर लगे । त्यसै राति माक्र्सलाई छुटाउन यता र उता दौडने क्रममा जेनीलाई पनि प्रहरीले गिरफ्तार ग¥यो तर जेनीबाट कुनै प्रमाण नभेटेपछि हिरासतबाट मुक्त ग¥यो ।

उनीहरूले १८४५ मा पेरिसबाट, १८४८ मा ब्रसेल्सबाट, १८४९ मा क्योलनबाट र अगस्ट १८४९ मा फेरि पेरिसबाट निर्वासित हुनुप¥यो । बसाइँ सर्नका लागि उनीहरूसँग पैसा थिएन । कैयौँपटक त जेनी गर्भवती भएको बेलामा पनि उनीहरुले निर्वासित हुनुप¥यो । यस्तो अवस्थामा जेनी र छोराछोरीलाई एक्लै छोडेर माक्र्स लन्डन पुगे । एकपछि अर्को झन्झन् ठूला दुःखका दिन आए तर उनी विचलित भएनन् । यसको कारण जेनी हुन् । सबै किसिमको दुःखकष्ट सहन सक्ने, आफ्नो पतिले अपनाएको बाटो महान् बाटो हो र यसले संसारभरिका श्रमिक वर्गलाई सबै किसिमका शोषणहरूबाट मुक्त गराउँछ भन्ने दृढ विश्वास भएकी पत्नीको साथ र अगाध मायाले प्रमुख भूमिका निर्वाह गरेको थियो । माक्र्सको महान् खोज कार्यमा आर्थिक विपन्नता र पारिवारिक बिछोडका व्यथाहरूले अवरोध खडा गर्न खोजिरहेका हुन्थे तर जेनी हरेक समस्यालाई सामान्य रूपमा लिएर सामना गर्थिन् । यस्तैमा १८५० को नोभेम्बरमा निमोनियाका कारण माक्र्सका छोरा फाक्सको मृत्यु भयो । यसैगरी १८५३ को क्रिसमसमा अर्की छोरी फान्जिस्काको मृत्यु भयो । त्यतिबेला उनीहरूसँग कफन (कात्रो किन्ने पैसा पनि थिएन । तीनजना जिउँदा बच्चालाई एउटा कोठामा सुताएर उनीहरु अर्को कोठामा छोरीको शवनजिकै रोएर बसे । त्यसै बेला जर्मनबाट आएका साथीहरूसँग दुई पाउन्ड मागी कात्रो किनेर छोरीको शव चिहानमा गाडे ।

माक्र्सकी छोरी इलेनर समाजवादी आन्दोलनका विभिन्न क्षेत्रमा सक्रिय थिइन् तर एकजना व्यक्तिले उनलाई प्रेममा धोका दिएर अर्कै महिलासँग विवाह गरेकाले उनले आत्महत्या गरेकी थिइन् ।

जेनी फोक्सोको निमोनियाका कारण लामो समयसम्म बिरामी भएर ओछ्यानमा परेकी थिइन् । उता माक्र्सलाई पनि कलेजोको क्यान्सर भएको थियो । डाक्टरले उनीहरूलाई खतरा छ भनेका थिए । सन् १८८१ को डिसेम्बर २ का दिन लन्डनमा जेनीको मृत्यु भयो तर बिरामीले ग्रस्त भएका माक्र्स जीवनभर अगाध माया गरेकी पत्नीको अन्त्येष्टिमा पनि सहभागी हुन सकेनन् । जेनीको मृत्युको लगभग १५ महिनापछि १४ मार्च १८८३ मा माक्र्सको पनि लन्डनमा मृत्यु भयो । लन्डनमा परिवारका सदस्य र साथीहरूले १७ मार्च १८८३ मा लन्डनको हाइगेट कोटमा कार्ल माक्र्सको शरीरलाई अन्त्येष्टि गरे ।

२०७६ जेठ ५ गते आइतबार प्रकाशित