सत्ता–डेङ्ग

कविता

- अशोक सुवेदी

देशभर फैलिएका छन् सत्ता–डेङ्गुका प्युसाहरू
अर्थात्
थरीथरी नाम, थर र पेसाका
खतरनाक विषाणुयुक्त डेङ्गु बोकेका ‘लामखुट्टे’ हरू
सङ्क्रमित छ सिङ्गै देश
र बनेको छ पूरै मुलुक डेङ्गु सङ्क्रमितहरू थुपार्ने अस्पताल ।
हो, थरीथरी र किसिमकिसिमका छन् डेङ्गुका कीटाणु
एकथरी डेङ्गुले केही दिनअघि मात्र ढालेछ केही डाक्टर र नर्सहरूलाई
र ढालेछ पुरानो सत्ताका एक थान मन्त्रीलाई
जनतालाई डेङ्गु सङ्क्रमणमै अलपत्र छाडेर
सिङ्गापुर र अमेरिकातिर आफ्नो÷श्रीमतीको उपचार गराउन
कुदिरहेका छन् मेरो देशका सत्ता–डेङ्गुहरू ।
सर्लाहीकी जमुनी र
महोत्तरीका मकलेशलाई त पोहोरै लगेको हो डेङ्गुले
खतरनाक छन् मेरो देशका डेङ्गुहरू
मन्त्री र डाक्टर नै नढलेसम्म चल्मलाउँदैन सत्ता
थाहै हुँदैन सत्ता–डेङ्गुलाई
मुसहरिया टोलका बस्तीबस्तीमा पसेर
अवतार मुसलमानका सन्तान सखाप पार्दा
र बरमपुरीका पचासौँ आदिवासीहरू लास पर्दासम्म
जब पस्छ डेङ्गु हुनेखानेका बस्तीहरूमा
मैसाप र बाबुहजूरका बिस्तराहरूमा
अनि बन्छ डेङ्गु राष्ट्रिय मुद्दा
र हलचल गर्छ सत्ता–डेङ्गु…
दसकौँदेखि ढालिरहेकै छ डेङ्गुले
भक्तिविसालका रघुनीहरूलाई र
सदियौँदेखि पछारिरहेछ तीनटोलिया आसपासका
सतार र राजवंशीहरूलाई
फरकफरक छन् रूप, लक्षण, स्वभाव र प्रवृत्तिहरू डेङ्गुका ।
भोकभोकै मरेका छन् रातुकिनारका छाप्रोबासी डेङ्गुपीडितहरू
नाङ्गै आङ सुतेको बीसौँ वर्ष भइसक्यो
पैनीपारिका डेङ्गुपीडित
हो, फरकपरक छन् डेङ्गुहरू–
कहिले आउँछ भुनभुनाउँदै लामा खुट्टा र पँखेटा लिएर
पस्छ कास्की, चितवनतिर र मच्चाउँछ सनसनी
आउँछ कहिले महाप्रलयकारी भुइँकम्पा भएर र
सोतर पार्छ दसौँ हजार झुप्राछाप्राबासीलाई
बारा, पर्सा र रौतहटतिर पसेर
सखाप पार्छ कहिले नयाँ ‘हुदहुद’ आँधी नामको डेङ्गुले
र पलभरमै सिध्याइदिन्छ सुकोमल जीवनहरू
बाढीका रूपमा आउँछ सप्तकोसी र राप्तीकिनारहरूमा र
पार्छ सोत्तर
पुर्छ कहिले जुरेको पहिरो भएर
डुबाइरहन्छ गण्डक नहर आसपसासका सीमाका सयौँ बस्तीहरू
लुटिरहन्छ, मारिरहन्छ गोविन्द न्यौपानेहरूलाई सीमापारिको डेङ्गुले
सत्ता–डेङ्गुको प्रतिरोध गरिरहन्छन् सीमावारिका देशभक्त देवनारायणहरू
सत्ताका आँखाबाट ओझेलमा पर्छन् यस्ता बस्तीका
भग्नावशेष जीवनहरू
किनकि मुटु मोहोरिइसकेको छ सत्ता–डेङ्गुको
काँप्दैन तिनको हृदय, तात्दैनन् तिनका कान
आफ्नै घरमा नपसेसम्म हुदहुद र जुरे पहिरो
र नमारेसम्म आफ्नै सन्ततिहरूलाई राप्तीका बाढीहरूले !
आउँछ कहिले मेरो देशको डेङ्गु दुई तिहाइ बहुमतसहित
विकास र समृद्धिका नारा लिएर
पु¥याउँछ गाउँसम्म सिंहदरबार अर्थात् भ्रष्टाचार, घूसखोरी र लूटतन्त्र
नाना, खाना र छाना माग्ने पददलितहरूलाई
हँसिया–हथौडा अङ्कित झन्डाको ओत लागेर
भटाभट गोली चलाउँछ मेरो देशको सत्ता–डेङ्गु
शकुनी हो आधुनिक महाभारतको लडाइँमा
मेरो देशको सत्ता–डेङ्गु
झेली कौरवहरूका पक्षमा लडाउँछ नक्कली पाशा र
हराउने दुःस्वप्न देख्छ आधुनिक पाण्डवहरूलाई
किंकर्तव्यविमूढ भएर बस्छन्
आधुनिक महाभारतका ‘भीष्मपितामह’, ‘द्रोणी’ र ‘कर्ण’ हरू
विद्रोहीहरूलाई ‘अभिमन्यु’ बनाउने चाल जारी नै छ सत्ता–डेङ्गुको
पूर्वको झापादेखि पश्चिम लागेका छन् केही थान सत्ता–डेङ्गुहरू
र पश्चिमको कास्की–गुल्मीबाट पूर्वसम्म आइपुगेका छन् अर्काथरी डेङ्गुहरू
चुसेर मात्र नपुगेर श्रमजीवीहरूको रगत
कैद गरेर मात्र नपुगेर राष्ट्रका असली नायकहरूलाई
गोली नै दागेका छन् सत्ता–डेङ्गुहरूले
र नयाँ ‘अभिमन्यु’ बनाएका छन् राजु, कुमार, नीरकुमार र रामकुमारहरूलाई
प्रज्वल र सनराइजहरूको शरीरमाथि भुनभुनाइरहेको छ सत्ता–डेङ्गु ।
जुन डेङ्गु आए पनि के फरक पर्छ र श्रमिकहरूलाई
डेङ्गु डेङ्गु नै हो
डेङ्गुहरूका कारण
रोगिनु, थलिनु, मारिनु वा प्राण फाल्नु न हो
रुन्छन् केही दिन आफन्तहरू
फुर्सद पनि हुँदैन पछि उनीहरूलाई
काम गरेर लालाबाला पाल्नु कि
थरीथरी सत्ता–डेङ्गुले मारेकाहरूको वियोगमा रोएर बस्नु !
सबभन्दा खतरनाक छ यो सत्ता–डेङ्गु
गाउँगाउँदखि टोलटोसम्मका फोहोर आहालहरूमा
भुनभुनाइरहेका छन् सत्ता–डेङ्गुका प्युसाहरू
एकैसाथ छरेर जनक्रान्तिको कीटनाशक
फोहोर आहालमै विसर्जन गरिदिनुपर्छ
महामारी फैलाइरहेका सत्ता–डेङ्गुहरूलाई ।

२०७६ भदौ २६ गते बिहीबार प्रकाशित