संस्थापक नेता पुष्पलालको स्मृतिमा – हेमन्तप्रकाश ओली ‘सुदर्शन’

 –“सजीवता विनाको पार्टी संगठन त केवल अस्थिपञ्जर मात्र हो ।”–पुष्पलाल श्रेष्ठ ।

मानिस मरेर गएपनि त्यस्ता मानिसहरूको स्मरण र चर्चा भइरहन्छ जसले मानिसद्वारा मानिसको शोषणको अन्त गर्न आफ्नो जीवन धरौटी राखेका हुन्छन् । पुष्पलाल श्रेष्ठ त्यस्तै व्यक्ति हुनुहुन्थ्यो जसले शोषित–उत्पीडित जनताको मुक्तिका लागि आफ्ना व्यक्तिगत स्वार्थहरूलाई त्यागेर लड्दै जादा अल्पायुमै मृत्युवरण गर्नुभएको थियो । वि.स.१५ असार १९८१ मा जन्मनु भएका उहाँको ५४ वर्षकै उमेरमा ७ श्रावण २०३५ मा मृत्यु भएको थियो । उहाँ साँच्चै नाम अनुसार नै फूलहरूमा रातो फूल्ने हुुनुहुन्थ्यो र जनमुक्तिका लागि अमर हुनुभएको हो । उहाँको मृत्यु भएको पनि अहिले ४० वर्ष भइसकेको छ । श्रावण ७ गते पुष्पलालको जयन्ती हो । हाम्रो तर्फबाट ४० औं जन्म जयन्तीको अवसरमा हार्दिक श्रद्धासुमन सहित उहाँको नेपालमा नयाँ जनवादी क्रान्ति हुदै बैज्ञानिक समाजवाद स्थापना गरी विश्व साम्यवादको महान् सपनाको शिखरमा पुगी छोड्ने बैज्ञानिक अठोटमा अघि बढ्ने प्रतिज्ञा गरौ । यही नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।       

कमरेड पुष्पलालको जन्मजयन्तीका अवसरमा उहाँलाई स्मरण गर्नुको अर्थ उहाँका योगदानहरू स्मरण गर्नु र अधुरो कार्यभार पूरा गर्न कम्मर कस्नु हो । उहाँलाई हामी यसकारण गम्भीररुपले स्मरण गर्दछौ कि उहाँले नै नेपालमा आफ्ना सहयौद्धाहरू नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द बैद्य र नारायणविलास जोशी सहित वि.स. २००६ सालमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । चीन भने नौलो जनवादी क्रान्तिसहित बैज्ञानिक समाजवादमा प्रवेश गरेको थियो भने भारत दुई वर्ष अघि मात्र अंग्रेजको जन्जीरबाट स्वतन्त्र भएको थियो । उत्तर र दक्षिणका दुवै छिमेकीहरूले मुक्ति पाएको बेला नेपालमा उहाँले मुक्ति मार्गको साधन उद्घाटन गर्नुभएको थियो । जहाँनिया राणा शासन रहेकै अवस्थामा यो कार्य एउटा महान् र ऐतिहासिक शुरुवात थियो । त्यसकारण हामी क.पुष्पलाललाई शहीद गंगालाल श्रेष्ठका भाई मात्र होइन, गंगालालको वास्तविक सपना पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य भनेर चिन्दछौं । कुनै पनि कार्यको शुरुआत एउटा कठिन र जोखिमपूर्ण हुन्छ ।

दोश्रो कुरा, उहाँ अथक र इमान्दार कम्युनिष्ट यौद्धा हुनुहुन्थ्यो । उहाँले माक्र्सको संश्लेषण ‘ विज्ञानको कुनै सीधा तथा फराकिलो राजमार्ग हुँदैन र त्यसको प्रकाशमान शिखरसम्म त्यो नै पुग्नसक्छ जो उसको अघिल्तिर उभिएको ठाडो उकालोदेखि डराउँदैन’लाई राम्रोसँग ग्रहण गर्नुभएको थियो । उहाँ पार्टीभित्र रायमाझी र तुल्सीलाल प्रवृत्तिसँग निरन्तर अन्तरसंघर्ष गरी क्रान्तिकारी कम्युनिष्ट पार्टी र त्यसको सिद्धान्तको रक्षा गर्नुभएको थियो भने वर्गसंघर्षका खतरासँग मुकाबिला गर्नुभएको थियो । पार्टीभित्र कैयौंले उहाँको इमान्दारितामाथि टेकेर आफ्नो स्वार्थ पूरा गर्न खोजेका थिए । अन्ततः उहाँको बैज्ञानिक इमान्दारिताको सिमेन्टेड पर्खालमा ठोक्किएर पछारिए । उहाँलाई गलाउने सपना चक्नाचूर भयो ।

तेश्रो कुरा, सोभियत संघमा खु्रश्चोभ सत्तामा आएपछि उसले शान्तिपूर्ण संक्रमण, शान्तिपूर्ण सहअस्तित्व, शान्तिपूर्ण प्रतिस्पर्धा र सबै जनताको पार्टी जस्ता वर्गसमन्वयवादी सिद्धान्त ल्यायो । यहीबाट चीन कम्युनिष्ट पार्टी र सोभियत संघ कम्युनिष्ट पार्टी(बोल्सेविक)का बीच महान् बहस शुरु भयो । नेपालमा खु्रश्चोभको कार्यदिशा अवलम्बन गर्दै तुल्सीलालले राष्ट्रिय प्रजातन्त्रको बाटो अपनाए । यस प्रकारको घरेलु र बाह्य संशोधनवादका विरुद्ध लड्दै पुष्पलाल माओको क्रान्तिकारी कार्यदिशा रक्षाका लागि कम्मर कसेर अघि बढ्नुभएको थियो । यो धेरै महत्वको कुरा हो । त्यसकारण उहाँ माओले विकास गर्नुभएको दीर्घकालिन जनयुद्ध, नयाँ जनवाद र बैज्ञानिक समाजवाद, सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति(महान् सर्वहारा साँस्कृतिक क्रान्ति) मा सत्तीसाल भएर उभिनुभयो ।

चौथो कुरा, उहाँको मृत्यु भइसकेपछि मात्र म कम्युनिष्ट पार्टीको नाम सुनेर २०३५ सालदेखि विद्यार्थी संगठनको राजनीतिमा बामेसर्न थालेको हुँ । २०४० सालमा मात्र मैले नेकपा(मशाल)को सदस्यता लिएको थिए । त्यही वरिपरि मेरो हातमा ‘गद्दार पुष्पलाल’ शिर्षकको किताव प¥यो । २०५५ सालसम्म मैले पनि उहाँलाई नकारात्मक पात्रको रुपमा लिए । हामीलाई त्यो किताब पढाउने पुष्पकमल दाहाल, र बाबुराम भटराईहरूले गद्दारी गरेर गएका छन् । त्यो किताब लेख्ने मोहनविक्रम सिंहले पनि त्यति गतिलो गरेका छैनन् । अन्ततः गद्दार भन्नु गल्ती थियो भन्न चाहि सबै बाध्य भए । पुष्पलाललाई गद्दार भन्नुको मूल कारण उनले काँग्रेसलाई पुँजीवादी पार्टी भन्नु र त्यससँग कार्यगत एकता गर्नुपर्छ भन्नु नै रहेछ । विश्लेषणमा केही कमी कमजोरी र सीमा हुन सक्छन् । तर त्यतिकैमा गद्दारै भन्नु अन्धाहरूको हाती धमाई मात्र थियो । समकालिन नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँ जस्तो इमान्दार र क्रान्तिकारी नेता अरु कोही रहेनछ भन्ने कुरा आज उहाँका रचनाहरूबाट स्पष्ट हुन्छ ।

पाँचौ कुरा, उहाँ एकजना प्रतिभाशाली लेखक र इतिहासकार पनि हुनुहुन्थ्यो । उहाँले नै वास्तवमा माक्र्सवादी कोणबाट नेपालमा भएको समाज विकासवारे स्पष्ट पार्नुभएको छ । उहाँ एक सरल भाषामा गहिरो अभिव्यक्ति दिने लेखक हुनुहुन्थ्यो भन्ने कुरा संकलित रचनाहरूको अध्ययनबाट स्पष्ट हुन्छ । उहाँ निरन्तर अध्ययन र चिन्तनमा हुनुहुन्थ्यो । कम्युनिष्ट पार्टीको घोषणापत्र पहिलो पटक २००५ मा नेपालीमा उल्था गर्ने उहाँ नै हुनुहुन्थ्यो । नेपालमा कम्युनिष्ट पार्टीको घोषणापत्र, पार्टीको दस्तावेजदेखी पर्चा सम्म उहाँले नै लेख्नुभएको थियो ।

त्यसकारण क.पुष्पलालको स्मरण गर्दा उहाँलाई नेपाल कम्युननिष्ट पार्टीका संस्थापक, अथक र इमान्दार कम्युनिष्ट योद्धा, सबै खाले संशोधनवादका दुश्मन, सबै खाले प्रतिक्रियावाद र साम्राज्यवादका उन्मूलनको लडाईका कमाण्डर, एक प्रतिभाशाली लेखक तथा इतिहासकार भनेर बुझनु पर्दछ । आज हामी नेपाल कम्युनिष्ट पार्टीमा काम गर्ने कमरेडहरूले यो आलेखको सिरानमा उदृत उद्धरणलाई विशेष ढंगले ग्रहण गर्नुपर्दछ ।

२०७६ साउन ७ गते मंगलबार प्रकाशित