राज्यको प्रतिबन्ध र क्रान्तिको यात्रा

- टाइगर

दलाल पुँजीवादी व्यवस्थाका मतियारहरूले नेपाल कम्युनिस्ट पार्टीमा आस्थावान् जोकोहीलाई पनि विभिन्न आरोप लगाएर मुद्दा चलाउने काम गरिरहेको छ । सङ्गठित अपराध कसुरअन्तर्गत मुद्दा चलाउने काम तीव्रताका साथ भइरहेको छ । त्यसैगरी झूट्टा मुठभेड खडा गरी हत्या गर्ने काम पनि तीव्र पारिएको छ । प्रहरीलाई यसबारे सोध्दा माथिको आदेश भनिरहेका छन् । यतिबेलाको अवस्था हेर्दा लाग्छ– यो राणाकालीन शासन व्यवस्था हो । जहाँ न बोल्न पाइन्छ न तथा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अनुभूति गर्न पाइन्छ । विश्वको उत्कृष्ठ व्यवस्था भनेर दुहाइ दिन नथाक्नेहरू आज फरक र प्रगतिशिल चेतसहितको विचार राख्नेहरुमाथि निर्मम ढङ्गले जाइलागिरहेका छन् । एकीकृत जनक्रान्तिको कार्यदिशा अवलम्बन गरेको पार्टी र त्यसका कार्यकर्तामाथि प्रतिबन्ध त्यसको ज्वलन्त उदाहरण हो ।

२०५१ सालतिर झन्डैझन्डै यस्तै अवस्था सिर्जना भए पनि यो स्तरको तानाशाही तत्कालीन सरकार थिएन भन्ने हुन थालिसकेको छ । प्रमुख जिल्ला अधिकारीका रूपमा तत्कालीन सत्ताले रोल्पालीहरूको विचार र सपनाको हत्या गर्न अव्दुलरहिस खाँलाई पठाएको थियो । त्यो बेलाको सत्ताको सबभन्दा बढी विश्वासपात्र अव्दुलले सकेसम्म दमन ग¥यो । तत्कालीन संयुक्त जनमोर्चामा आस्था राख्ने व्यक्तिहरूलाई रगतमा हात चोब्न लगाएर पार्टी छोड्न दबाब दिने गर्दथ्यो । राज्यको श्वेतआतङ्क सहन नसकेर कैयौँ मानिसहरू रगतमा हात चोबेर काङ्ग्रेसमा प्रवेश गरेका थिए । आज परिस्थिति फेरि दोहोरिएको छ । इतिहास उस्तै गरी दोहोरिँदैन भनिन्छ । इतिहास दोहोरिएको त हैन, फरक ढङ्गले आएको छ फेरि । अहिले क्रान्तिकारीहरूको प्रवाहलाई रोक्न र जनताको समर्थनवाट कटाउन राज्य कम्मर कसेर लागेको छ । विद्रोही नेकपाप्रति आस्थावान् नेता–कार्यकर्तालाई गिरफ्तार गरी झूट्टा मुद्दामा फसाउने र कमजोर वैचारिक धरातल भएकाहरूलाई आत्मसमर्पण गराउने कामले तीव्रता पाएको छ । यही कामका लागि हरेक जिल्लामा पूर्वमाओवादी केन्द्रले एकएकजना आफ्ना कार्यकर्तालाई जिम्मासमेत दिएको छ । रोल्पामा समेत एकजना पत्रकारको आवरणमा राजनीति गर्ने व्यक्तिलाई उक्त जिम्मेवारी दिइएको भनिन्छ । पार्टीको जिल्ला समितिको जिम्मेवारीमा रहेका आफूलाई पत्रकार भन्ने व्यक्तिले आत्मसमर्पणका लागि प्रेसविज्ञप्ति तयार गर्दछन् र कमजोर वैचारिक धरातल भएका केही साथीहरूलाई ल्याप्चे सहीछाप गराउँदै आत्मसमर्पणको नाटक गर्दछन् । विगतमा रगतमा हात चोब्ने र अहिले प्रेसविज्ञप्ति निकालेर आत्मसमर्पणको नाटक गर्नेमा के फरक छ रु दलालहरूले बुझ्नुपर्छ हिजो पनि माओवादी सकिए भनेर डङ्का नपिटिएको हो र ? तर क्रान्तिकारीहरू कहिल्यै सकिएनन्, बरु दुबोझैँ फैलिँदै गए । आज पनि तिम्रो आत्मसमर्पणको नाटकले क्रान्तिकारीहरू झन् स्पातिला बन्दै गएका छन् ।

अहिले प्रचण्ड, बादल, वर्षमानहरू निकै अराजक ढङ्गले क्रान्तिकारीको गला रेट्न उद्यत देखिएका छन् । जनताले नचाहेको युद्ध थोपर्दै हतियारको व्यापार गर्न खोजिरहेका छन् । १७ हजार मान्छेको रगतको आहालमा बसेर ऐसको जीवन बिताइरहेका दलालहरूलाई हामी चेतावनी दिन चाहन्छौँ– हामी युद्ध होइन, क्रान्ति चाहन्छौँ । १७ हजार नेपालीको रगत पिएका युद्धपिपासुहरू फेरि अर्को युद्धको तयारीमा लागेको हामीलाई थाहा छ तर हामी सचेततापूर्वक भनिरहेका छौँ– हामी क्रान्ति चाहन्छौँ । परिवर्तन चाहन्छौँ । समानता र सामाजिक न्याय चाहन्छौँ ।

२०७६ साउन ४ गते शनिबार प्रकाशित