युवा सङ्गठनको अन्तरक्रियाले दिएको ऊर्जा

- दिनेश विक

नेपाली राजनीतिक आन्दोलनका विभिन्न कालखण्डमा युवाहरूको विशेष भूमिका रहेको छ । त्यो ०७ सालको राणाविरोधी आन्दोलन, ०२८ सालको झापा विद्रोह, पञ्चायतविरुद्ध ०४६ सालको आन्दोलन, अझ भनौँ ०५२ सालको ऐतिहासिक र महान् जनयुद्ध । यी सबै परिवर्तनकारी आन्दोलनका भ्रूणहरूमा जमेरै आन्दोलनमा भाग लिए युवाहरूले । केही आंशिक परिवर्तन भए पनि आन्दोलन निष्कर्षमा पुग्न नसकेको हामीसामु प्रस्टै छ ।

युवाहरूको बलिदान, त्याग र तपस्या नेपालका हरेक आन्दोलनमा मुख्य रह्यो । युवा शक्ति भनेकै समाजको अग्रणी, आशालाग्दो र भरोसाको पुस्ता हो । नयाँ सोचाइ, आँट र साहसले भरिपूर्ण जाँगर राख्ने समाजको चेतना हो । मालेमावादी विचारयुक्त शक्तिशाली अस्त्र पनि हो । हरेक युगको उदीयमान शक्ति हो । त्यो यस्तो शक्ति हो जसले हरेक खालका समाजमा हुने उत्पीडन र जन्जिरवाट समाजलाई मुक्त गर्ने आँट राख्छ तर विडम्बना ! पुँजीवादी दलाल संसदीय व्यवस्थाका कारण नेपाली युवा शक्तिलाई निराशा, पलायन र सामाजिक जीवनपद्धतिभन्दा अन्यत्रै सोच्न बाध्य पारिएको छ । किनकि मक्किएको संसदीय व्यवस्थाले युवाहरूलाई व्यवस्थापन गर्न सकेको छैन । रोजगारीको ग्यारेन्टी र उचित खालको वातावरण छैन । नेपाली युवाहरूको दक्ष श्रम विदेशी पुँजीवादी देशहरूमा चाहेर वा नचाहेर बेच्न बाध्य पारिएको छ । मानाैँ नेपाल मानवीय श्रम उत्पादन गर्ने देश हो भन्ने विश्वसामु स्थापित भएको छ । यो दलाल संसदीय व्यवस्थाका कारण उत्पन्न भएको अवस्था हो ।

आजका युवाहरूले यो व्यवस्थाको गलत र अवैज्ञानिक व्यस्थापनका कारण पराधीनता र अपमानित जीवन विदेशका गल्लीमा आफ्नो अमूल्य श्रम र पसिना सस्तो मूल्यमा बेच्नुपर्ने असाध्यै कष्टकर जीवन बिताउनु परेको छ । आन्दोलन र परिवर्तन निष्कर्षमा नपुगेकै कारण र नेताहरूको आत्मसमर्पण र विदेशीको गुलाम बनेर सत्ता सञ्चालन गरेकै कारण सबैभन्दा बढी युवाहरू बेचैन छन् । उनीहरूले अझै अभाव र परनिर्भरतामा बाँच्नु परेको छ ।

कार्यक्रमको उद्देश्य

नेपाली क्रान्तिकारी आन्दोलन सम्झौता, सहमति र नेताहरूको सीमित चाहनामा आन्दोलनहरूलाई बीचैमा टुङ्ग्याइएको तथ्य युवाहरूले बुझ्नुपर्दछ । ०७ सालको आन्दोलन त्रिपक्षीय सम्झौता, ०२८ सालको झापा विद्रोह संसद्वाद र राजा, दस वर्षको महान् जनयुद्ध दिल्ली, संसद्वाद र १२ बुँदेमा टुङ्ग्याइयो । बाह्यभन्दा आन्तरिक विचलनकै कारण आन्दोलन योजनाबद्ध क्रान्तिकै नारा घन्काउँदै तुहाइयो र नेपाली जनतामाथि पटकपटक कुठाराघात भयो । जनतालाई साथ लिँदै जनतालाई नै फेरि धोका दिने इतिहास नेपाली राजनीतिको हो । आन्दोलन र परिवर्तन केवल सरकार, मन्त्री, बालुवाटार र सिंहदरबारमा पुग्ने खुड्किलो मात्रै भयो र त्यसैलाई नै विचलित नेताहरूले आन्दोलनको उपलब्धि र परिवर्तन ठाने अथवा पुरानै व्यवस्थामा नयाँ पात्र र सरकारमा जानुलाई ठूलै आन्दोलनको उपलब्धि बुझ्ने गरे । यही बुझाइले आजका नेपाली जनता र युवाहरूको भविष्य अन्धकार हुन पुगेको छ ।

समाजमा स्वाभाविक रुपले हुने परिवर्तन र विकास भई नै हाल्छ र भएको हुन्छ । तर कुन विचार, राजनीति, र वर्गसङ्घर्सले कुन तहमा आमूल परिवर्तन र विकास भयो भन्ने तहमा कम्युनिस्टहरूको समीक्षा र आलोचित भएको पाइँदैन । हामी कम्युनिस्ट युवाहरूले विभिन्न समय र कालखण्डमा थालिएका परिवर्तनकारी आन्दोलन कसरी भए ? किन टुङ्गिए ? समस्या कहाँनेर हो ? नेताहरूको त्रुटि के हो ? अब के गर्ने ? भन्ने विभिन्न विषयमाथि हामी युवाहरूले आमनागरिक, राजनीतिज्ञ, देशभक्त, बुद्धिजीवी, पत्रकार, किसान, मजदुर र मध्यमवर्गीय पक्षसँग पनि युवाहरूले बहस, विमर्श गर्दै र शिक्षा लिँदै युवाहरूले अध्ययन गरौँ भन्ने हेतुले कार्यक्रम ठोस भयो ।

पहिलो : आजको पुँजीवादी व्यवस्थाले कम्युनिस्ट भन्नेलाई पनि अँगालो मार्दै सहयात्री बनाएको छ जस्तै केपी–प्रचण्डलगायत यही सामाजिक दलाल संसदीय व्यवस्था मान्ने नामधारी कम्युनिस्टहरूको भण्डाफोर गर्नु थियो र कम्युनिस्टको यो व्यवस्था होइन, वास्तविक कम्युनिस्टको वैज्ञानिक समाजवाद– साम्यवाद हो भन्ने विचार तलसम्म लैजानु थियो ।

दोस्रो : दस वर्षसम्म सञ्चालित जनयुद्धका उपलब्धि र जनयुद्धलाई विसर्जन गरेका प्रचण्ड–बाबुरामको बेइमानी थियो प्रचण्डको आत्मसमर्पणवाद, संसद्वाद र बाबुरामको विसर्जनवाद । यसको राजनीतिक र वैचारिक अवसानको खण्डन नागरिकसामु गर्नु थियो ।

तेस्रो : जनयुद्धको कार्यदिशा पनि साम्राज्यवादले प्रतिजनयुद्धको विकास गरेको र जनविद्रोहको कार्यदिशामा पनि प्रतिजनविद्रोहको विकास गरेको हुनाले अब नेपाली क्रान्तिको मौलिक कार्यदिशा एकीकृत जनक्रान्ति नै सही र वस्तुवादी भएको किसान, मजदुर र मध्यमवर्ग मिलेर लड्ने जनयुद्धकै विकसित कार्यदिशा एकीकृत जनक्रान्तिका विशेषतालाई प्रस्ट पार्नु र अबको वैज्ञानिक समाजवादमा जाने मूल बाटो हो भनी स्पष्ट पार्नु थियो ।

चौथो : अहिले व्याप्त भ्रष्टाचार, असुरक्षा, राष्ट्रघात, बेरोजगारी, कमिसन, कालोबजारी बलात्कार र अविश्वास बढेको छ साथै नामधारी कथित कम्युनिस्टको नारा समाजवाद, शान्ति, समृद्धि र स्थायित्व यो सबै भ्रम र सरकार टिकाउने खेल भएकाले यो व्यवस्था रहुन्जेल यी सबै झन् बढ्दै जाने र यी सबै हुनुमा व्यवस्थाकै खोट भएको हुनाले विकल्पमा अनिवार्य वैज्ञानिक समाजवाद चाहिने र शान्ति, समृद्धि र समानता वैज्ञानिक सामाजवादमा मात्र हुने विचार लिनमा ठूलो भूमिका रह्यो ।

पाँचौँ : २४ औँ जनयुद्ध दिवसका अवसरमा महान् सहिद, बेपत्ता योद्घा, घाइते योद्घा, सहिद परिवार र जनयुद्धमा योगदान पुर्याउनेलाई सम्झिने, सहिदको सपना, जनयुद्धमा खाएका कसम पूरा गरिछाड्ने प्रतिबद्घता र विश्वास दिलाउनु थियो ।

छैटौँ : परिवर्तनकारी आन्दोलनमा हरहमेसा युवाहरू नै मुख्य भूमिकामा रहने हुनाले नेकपाको युवा सङ्गठन नेपाल अहिले पनि समाजमा हुने सबैखालका अन्याय र अत्याचार, राष्ट्रिय स्वाधीनताविरुद्धका हर्कतको अन्त्य, सामाजिक दलाल पुँजीवादी सत्ताका विरुद्ध र जनताको आफ्नै व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्न निरन्तर सङ्घर्ष गरिरहने भएकाले साथ दिन अनुरोध गर्नु थियो ।

२४ औँ जनयुद्ध दिवसका अवसरमा ‘दसबर्से जनयुद्ध, एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि युवाहरूको भूमिका’ विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने विषय लिएर बैतडीको गोठालापान, कञ्चनपुरको भीमदत्तनगर, कैलालीको अत्तरिया, बाँकेको कोहलपुर, कालीकोटको, मान्मा र अछामको विनायकमा कार्यक्रम भयो ।

निष्कर्ष

अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीमा आबद्ध युवाहरूले अन्तरक्रिया गरेको देखिएन, गर्ने कुरा पनि भएन । हिम्मत पनि राख्ने भएनन् । पहिलो हाम्रो युवा सङ्गठन नेपाल पश्चिम कमान्डले ग¥यो र यो नयाँ पनि थियो । विषयवस्तु पनि सान्दर्भिक भएको एकखालको विचार उठेका वक्ताबट सुन्न पाइन्थ्यो भने प्रायः वक्ताहरूले यो व्यवस्थाले नागरिकका समस्या सामाधान गर्न नसकेको, सरकारको अविश्वास बढ्दै गएको, दुईतिहाइको सरकारले सिन्को नभाँचेको र पूरै असन्तुष्टिबाहेक अरू केही थिएन । भनौँ राज्य छ कि छैन, महसुस नभएको प्रतिक्रिया सुन्न पाइयो । ‘तपाईंहरूले सुरु गरेको क्रान्ति ठीक छ । साथ दिन्छौँ । धोका नहोस् प्रचण्ड–बाबुरामबाटजस्तौ ! क्रान्तिको जिम्मा युवाको हो । आँट गर्नुहोस् । युवा सङ्गठन नेपाल र तपाईंको पार्टीलाई शुभकामना छ । क्रान्तिको खाँचो छ जो तपाईंको पार्टी र विप्लवले आँट गर्नुभएको छ । हामीले वास्तवमा एकीकृत जनक्रान्तिको कार्यदिशा सही र वस्तुवादी भएको निष्कर्ष निकाल्यौँ । यसरी हामीलाई कार्यक्रमबाट थप जिम्मेवारी र ऊर्जा प्राप्त भयो ।
(लेखक युवा सङ्गठन नेपालका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।)

२०७६ असोज २४ गते शुक्रबार प्रकाशित