युद्ध राज्य चाहन्छ, हामीले चाहेको होइन – महासचिव विप्लव

विशेष अन्तरवार्रता

देशको पछिल्लो राजनीतिक परिस्थितिलाई कसरी हेरिरहनुभएको छ ?

सवभन्दा पहिले म रातो खबरलाई धन्यवाद दिन्छु । तपाईंहरूले महत्वपूर्ण प्रश्न राख्नुभयो । पहिलो कुरा सङ्घीय गणतन्त्र सङ्कटमा पर्यो भन्ने चर्चा चलाइएको छ । दोस्रो कुरा यसको विकल्पका बारेमा बहस सुरु भएको छ । तेस्रो कुरा हाम्रो पार्टीको विश्लेषणका बारेमा पनि छलफल चलेको छ । यो एकदम सही कुरा हो । यसमा पहिलो कुरा नेपाली जनतालाई एउटा कुरा के स्मरण गराउन चाहन्छु भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान भनेर जो कुरा लेखिँदै थियो त्यतिबेला नै हामीले के भनेका थियौँ भने नेपालको बहस कानुनको होइन, सत्ताको हुनुपर्दछ । सत्तामा पुरानै वर्गको प्रभुत्व र अधिनायकत्व कायम राखेर संविधानद्वारा जनतालाई सुखी र समृद्ध बनाउन सकिन्छ भन्ने जुन बहस चलाइयो त्योचाहिँ दलाल पुँजीपति वर्गहरू, दलाल संसद्वादीहरूले चलाएको कृत्रिम र ढोङ्गी प्रचार थियो । हामीले त्यतिबेलै भनेका थियौँ– यो तरिकाले देशले निकास पनि पाउँदैन, जनताले समृद्धि पनि पाउँदैनन् र यो प्रणाली सफल पनि हुँदैन । जनताले चाहेको आमूल परिवर्तन हो, जीवनमा परिवर्तन हो । राष्ट्रको भविष्यमा परिवर्तन हो । यो कुरा जनताको सङ्घीय गणतन्त्र भन्नेबाट सम्भव छैन । किन छैन भने मूलतः यो सङ्घीय भने पनि यो त एउटा विशेषणजस्तो मात्र हो तर यो गणतन्त्र भनेको पँुजीवादी गणतन्त्र हो । यो गणतन्त्र सच्चा देशभक्त र श्रमिक जनताका विरुद्धको गणतन्त्र हो । यसले सारमा मुठीभर मालिक र नेपालको सन्दर्भमा दलाल वर्गको सेवा गर्दछ । यो व्यवस्थाले जनतालाई शान्ति र समृद्ध भविश्य केही पनि दिन सक्दैन । देशलाई नयाँ जीवन पनि दिन सक्दैन भनेर नै त्यतिबेला हामीले यो संविधानको विरोध गरेका थियौँ र खारेजीको माग गरेका थियौँ । जनताको जनवादी संविधान, वैज्ञानिक संविधान आवश्यक छ । त्यसमा बहस गराैँ भनेर हामीले यो संविधान ल्याउने षड्यन्त्र चल्दै गर्दा चार वर्षअगाडि नै हामीले भनेका थियौँ । हाम्रो विश्लेषण सही साबित भयो । हाम्रो विश्लेषण मात्र नभनौँ वास्तविक कुरा जे थियो अहिले त्यही कुरा देखापरेको हो । त्यो भनेको नेपाली जनताले जुन वर्गका विरुद्ध सङ्घर्ष गरे फेरि त्यही वर्ग आउने थियो । त्यो भनेको मुठीभर लुटेरा वर्गको रक्षा गर्ने, स्वार्थको संरक्षण गर्ने र नेपाली जनतालाई फेरि पनि शोषण गर्ने, देशमा असमान सन्धिसम्झौता लाद्ने यही हुन्थ्यो । त्यसैले हामीले त्यतिबेलै भनेको के हो भने पुँजीवादी गणतन्त्र होइन, वैज्ञानिक समाजवादी गणतन्त्र । हिजो हामीले के भनेका थियाैँ भने राजतन्त्र र दलाल संसद्वादी व्यवस्था हुँदाखेरि नयाँ जनवादी गणतन्त्रको संविधान आवश्यक छ भनेका थियौँ आज त्यो समय पनि अगाडि बढिसक्यो । आज हामीले के भनेका छौँ भने पुँजीवादी गणतन्त्रको सट्टामा वैज्ञानिक समाजवादी गणतन्त्र आवश्यक छ । वैज्ञानिक समाजवादी गणतन्त्रको संविधान आउने गरी नलडेसम्म जनताले न शान्ति पाउँछन्, न समृद्धि पाउँछन् । यो एउटा पुष्टि हो भन्ने हाम्रो विश्लेषण छ ।

जनताले बुझ्ने अझ सरल भाषामा भनिदिनुस् न अब यो देशमा वैज्ञानिक समाजवाद कि राजतन्त्र ?

विकल्प भनेका धेरै नै हुन्छन्, यो सही हो । विकल्प भन्ने शब्दको सारलाई पकड्नुभयो भने सापेक्षिक रूपले अग्रगामी विकल्पलाई नै विकल्प मानिन्छ । भएको भन्दा पश्चगमनतिर जानुलाई विकल्प मान्न सकिँदैन । शब्दमा विकल्प भन्ने शब्द हो तर सारमा राजनीतिक गहिराइमा गएर हेर्ने हो भने विकल्प भनेको अग्रगामी विकल्प भन्ने नै हो । पछाडि हट्ने होइन, अगाडि बढ्ने हो । किनभने अहिलेसम्म त सबै परीक्षण भैसक्यो नि त नेपालमा । नेपालमा राणाशासन अन्त्य भयो । जनताले अर्को विकल्प खोजे । पञ्चायत आयो, राजतन्त्र आयो । त्यसलाई जनताले हेरे र त्यसमा सन्तुष्ट नभएपछि विकल्प खोजे । त्यसपछि बहुदलीय व्यवस्था आयो । त्यसले पनि जनताका आवश्यकता पूरा गर्न नसकेपछि जनताले त्यसको पनि विकल्प खोजे । त्यसपछि महान् जनयुद्ध चल्यो । अहिले जनताको इच्छाविपरीत हिजो प्रयोग भएका र असफल भएपछि अब योभन्दा अग्रगामी तरिकाले रूपान्तरणकारी विकल्प भनेपछि त्यो वैज्ञानिक समाजवादी व्यवस्था हो भनेर बुझ्नुपर्ने हुन्छ । संसदीय व्यवस्थाको विकल्प भनेको वैज्ञानिक समाजवादी व्यवस्था हुन्छ ।

त्यसको मतलब राजतन्त्र परीक्षण भै सक्यो । जनताले त्यसलाई हेरिसके भन्ने भयो तर यसो भनिरहँदा बाहिर राजावादी र तपाईंहरूलाई सँगै जोडेर हेर्ने गरिन्छ नि के हो वास्तविकता ?

नेपालको सन्दर्भमा राजावादी र नराजावादी भनेर बहस चलाइन्छ, यो औचित्यहीन बहस हो । हाम्रो कुरा के हो भने संसदीय व्यवस्था र दलाल संसदीय पुँजीवादी गणतन्त्रको सट्टामा वैज्ञानिक समाजवादी गणतन्त्र नेपाली जनता उत्तम व्यवस्था हो हामीले भनेका छौँ । अरू जो तर्क आउँछन् हाम्रो दृष्टिकोणमा भ्रम छर्नका लागि, जनतालाई अग्रगामी परिवर्तन र रूपान्तरणमा लैजान जुन प्रयत्न गरेका छौँ, यसको विरुद्धमा चलाइएको दूषित हावा मात्र हो भनेर बुझ्नुपर्दछ । अर्को कुरा जहाँसम्म राजतन्त्रको कुरा आउँछ र अलि बढी सक्रिय राजतन्त्रको कुरा आउँछ, यस हिसाबले ऐतिहासिक रूपले विश्व राजनीतिक आन्दोलन र सभ्यताको हिसाबले पनि यो लगभग समाप्त भैसकेको कुरा हो । नेपालको हकमा पनि योभन्दा धेरै अघि बढिसकेको अवस्था हो । अरू विषयमा हरनागरिकसँग छलफल र बहसहरू खुला हुन्छन् भन्ने कुरामा हामीले भन्नुपर्ने केही छैन । यसमा केही समस्या छैन ।

अब वार्ता को कुरा गरौँ । सरकारले वार्ताको कुरा गरिरहेको छ । विप्लव नै वार्ता चाहँदैनन् भन्ने आरोप सरकारले लगाएको छ । यता वार्ताको कुरा चलिरहँदा सर्लाही, भोजपुरलगायत हत्याकाण्डहरू पनि भए । वार्ताविरोधी भनी तपाईंहरूमाथि लगाइएको आरोप के हो ?

वार्ताका सन्दर्भमा दुईतीनवटा विषयहरू छन् हामीले भन्नुपर्ने । पहिलो कुरा हामीले वार्ताको कुरा गरेका होइनाैँ, यो सबैलाई स्पष्ट होस् । हामीले क्रान्तिको कुरा गरेका हौँ । नेपालमा जनयुद्ध गरेका, क्रान्ति र सङ्घर्ष गरेका जनतालाई जुन धोका भयो, त्यो धोकाको समाधान भनेको यो दलाल संसदीय व्यवस्थाको विकल्पमा विद्रोह हो र एकीकृत जनक्रान्ति हो भनेर हामीले पार्टी बनाएका हौँ र आन्दोलन गरेका हौँ । तर हामीले सङ्घर्षको कदम अघि बढाउँदा दलालहरू, राष्ट्रघातीहरू, भ्रष्टाचारीहरू, मानवतस्करहरू, दलालहरूमाथि कारबाही अघि बढाउँदा राज्य अत्तालियो र हामीमाथि प्रतिबन्ध लगायो । उसैले भन्यो हामी वार्ता गर्छौं । हामीले सोच्यौँ– राज्यले वार्ता चाहेको हो वा जनताका एजेन्डामा छलफल गर्न चाहेको हो, इमानदारीपूर्वक वार्ता चाहेको हो भने हामी वार्ताका निरपेक्ष विरोधी त होइनौँ । जनताका एजेन्डामा बहस गर्न हामी त सधैँ खुलै छाैँ तर वार्ता देश र जनताका विषयमा केन्द्रित हुनुपर्दछ भन्ने हामीले छलफल चलाएकै हो । अनौपचारिक भेटघाट भएका कुरा पनि भए । सैन्य विज्ञानमा एउटा रणनीति विकास गरिएको छ, त्यसलाई कूटनीतिक सैन्य रणनीति भनिएको छ । कूटनीतिक सैन्य रणनीतिको सार के हुन्छ भने जनतालाई, क्रान्तिकारीहरूलाई भ्रमित पार्नका लागि वार्ता र कूटनीतिको कुरा गर्ने अनि भित्र दमन गरेर सक्ने हुन्छ । एउटा सीधासीधा लडाइँको कुरा गर्ने रणनीति हुन्छ । घुमाउरो भाषामा जनताले नबुझ्ने गरी लड्न पनि नलड्ने, दमन पनि गर्ने तर बाहिर भन्दाखेरि अर्को भन्ने, त्यसलाई कूटनीतिक सैन्य रणनीति भनिन्छ । अहिले राज्य त्यही रहेछ भन्ने हामीलाई अनुभूति कहाँ भयो भने एकातिर उसले वार्ताको कुरा ग¥यो । विभिन्न प्रतिनिधि खटाएको भनेर पनि हल्ला गर्यो । रेडियो र टेलिभिजनमा वार्ताको हल्ला पनि फैलायो तर व्यवहारमा के ग¥यो भन्दा हाम्रो सङ्गठनात्मक रूपमा, काममा लागेका हाम्रा कमरेडहरूलाई नियन्त्रणमा लिने, हत्या गर्ने, निर्मम यातना दिने, जेल हाल्ने ग¥यो । पछिल्लो समयमा त हतियारसतियार केही नभएका राजनीतिक गतिविधि गरिरहेका हाम्रा नेता–कार्यकर्तालाई क्रूरतापूर्वक, निर्ममतापूर्वक हत्या ग¥यो । यसले के साबित गर्यो भने कि त्यहाँ दुईतीनवटा प्रवृत्ति छन्– केपी वली वार्ता चाहन्छन् होला जस्तो, अरूले असफल पार्न बीचमै सेबोटेज गरी विध्वंस मच्चाउँछन् वा के देखिन्छ भने राज्य स्वयम् नै क्रुटनीतिक हिसाबले वार्ताको कुरा गर्ने तर व्यवहारमा दमन गर्ने अभियानमा छ भन्ने विषयमा हामी असाध्यै गम्भीर छौँ ।

जनताले शान्तिपूर्ण ढङ्गले समस्याको समाधान होस् भन्ने चाहेका छन् । तपाईंहरूको विश्लेषण हेर्दा कम घनत्वको लडाइँ हो भन्ने खालको आयो । नागरिक त अग्रगामी परिवर्तन होस्, शान्तिपूर्ण रूपमा समस्या समाधान होस् भन्नेमा छन् । एउटा जिम्मेवार पार्टीको नेता हुनुको नाताले वार्ताबाट समस्याको समाधान होस् भन्ने जनतालाई कसरी सम्बोधन गर्न चाहनुहुन्छ ?

मैले विभिन्न अन्तर्वार्ता र लेखहरूमा पनि भनेको छु । विश्लेषणहरूमा पनि हेरिरहेको छु । बुद्धिजीवी साथीहरूले हामीलाई वार्तामा आउनका लागि र शान्तिपूर्ण तरिकाले सडकमा आएर आन्दोलन गर्न र जनताका मुद्दा उठाएर अघि बढ्नका लागि भन्नुभएको छ । अर्को कुरा, नेपालमा एउटा विकल्प आवश्यक छ तर त्यो शान्तिपूर्ण तरिकाले भैदिए हुन्थ्यो । नेपालमा अन्य पार्टीहरू असफल भएर गए । यसको विकल्प प्रत्यक्ष सतहमा आएको भए हुने थियो भन्ने कुरा पनि उठेको छ । यसको हामी स्वागत गर्दछौँ, कदर गर्दछाैँ र सँगै के कुरा स्पस्ट गर्न चाहन्छौँ भने हामी त शान्तिमै थियौँ नि । हामीले युद्धको घोषणा गरेको कुरा हो र ? हाम्रो देशका प्राकृतिक सम्पदाहरूमा लुट नमच्चाऊ, कमिसनको लोभमा देशका स्रोतसाधन नबेच, नलुट भनेको हो । सिमानामा स्वतस्फूर्त रूपमा जनता गएर लडेका छन् । स्तस्फूर्त रूपमा भ्रष्टाचारीविरुद्ध जनता उत्रिएको त हामीले देखेकै छौँ नि । हामीले जनताको भावनाको प्रतिनिधित्व गरेको कुरा हो । जनताले तिरेको राजस्वमा लुटपाट नगर, राज्यको सम्पत्ति लुटेर व्यक्तिको खातामा जम्मा नगर । जनताको पैसालाई निजी बैङ्कमा नथुपार । विदेशमा नलैजाऊ भनेको हो । विदेशी कम्पनीबाट नेपाली जनतालाई लुट्न नदेऊ । विदेशी कम्पनीलाई अर्बौं रकम लुटेर खान नदेऊ । यो जनताको भावनाको कुरा हो । हामीले भनेको यही हो । यो भन्दा हामीले जनताका तर्फबाट कारबाही पनि गर्यौँ । कारबाही मात्र होइन, कैयौँ मान्छेहरूलाई त फाँसी दिनुपर्दछ भनेर त जनताले सडकमै भनिरहेका छन् नि । राष्ट्रघातीहरूलाई सिध्याउनुपर्दछ भनेर त जनताले सडकमै भनिरहेका छन् नि । हामीले सिध्याएका त छैनौँ । हामीले त केही प्रतिनिधिमूलक कारबाही गरेको कुरा सही हो, हामीले भनेकै छौँ । हामीले चारपाँचवटा प्वाइन्टमा कारबाही गरेकै हो । अहिले पनि गर्छौं । हामीले अरुण तेस्रो र अपर कर्णालीमा पनि कारबाही गरेकै हो । हामी गर्दछाैँ । नेपालको हितविपरीत गरिएको कोसी हाइड्याममा हामीले कारबाही गरेको हो, हामी गर्दछौँ र त्यसलाई सफल हुन दिँदैनाैँ भनेकै छौँ । सबैलाई म भन्दिनँ, मानव बेचबिखन गर्ने कैयौँ मेनपावर कम्पनीहरू जसले हाम्रा हजारौँ दिदीबहिनीहरूलाई वेश्यालयमा बेचिरहेका छन् । सडकमा वस्तु बेचेको जस्तो बेच्नेमाथि कारबाही गरेकै हो । म जनतालाई के भन्न चाहन्छु भने जनताको भावनाअनुसार हामीले कारबाही गरेको हो । यो युद्ध हो र ? राज्य के भन्छ भने हामी लुटपाट गर्दछाैँ तिमी सहेर बस, हामी देश बेच्छौँ सहेर बस भन्छ । अर्बौं–खर्बौं भ्रष्टाचार गर्दछ । हैन यो लुटपाट गर्ने, देश बेच्नेलाई कारबाही गर्ने कुरा युद्ध हो ? हामीले जनताको चाहनाअनुसार केही प्रतिवाद गर्ने कुरा युद्ध हो ? जनताको भावनाअनुसारको काम गर्दा हामीमाथि किन प्रतिबन्ध ? युद्ध राज्य चाहन्छ, हामीले चाहेको होइन । हामी जनभावनाअनुसार शान्तिपूर्ण तरिकाले जान तयार छौँ, के राज्य तयार छ ? रत्नपार्कमा कुर्सी राखेर आम जतनालाई हामी बहस गर्न तयारै छौँ नि के राज्य तयार छ ? तर राज्य आफ्नो मुकुन्डो छोप्नका लागि हाम्रा राजनीतिक माग हरू लिएर जनतामा जानै नदिएर दमन गरेको छ । यो भनेको राज्यसत्ताको दुरूपयोग, राज्यसत्ताको अधिनायकत्व र प्रभुत्व देखाउन र दमन लादेको कुरा हो नि । यसले गर्दा हामीले शान्ति नचाहेको, युद्धमा गएको भन्ने कुरा सही होइन । तपाईंहरूले राज्यलाई कर नतिर्ने एनसेलको भ्रष्टाचारका विरुद्ध लामो समयदेखि सङ्घर्ष गर्दै आउनुभएको छ । सर्वोच्चमा एनसेलको कर छली सम्बन्धी मुदा विचाराधिन थियो । त्यो मुदामा सर्वोच्चले पुरानो निर्णय उल्ट्याइदिएको छ र राज्यलाई ठूलो नोक्सानी हुने गरी एनसेलका पक्षमा फैसला गरेको छ ।

एनसे लको भ्रष्टाचारका विरुद्ध कारबाही गर्ने पार्टीका नाताले यसका विषयमा केही सोच्नुभएको छ कि छैन ?

यो निकै गम्भीर प्रकृतिको घटना छ । जनताले दिनदिनै आवाज उठाएका छन् । म सुन्छु– विज्ञ, बुद्धिजीवी र विश्लेषकहरूका कुरा सुन्छु । ठाडो रूपमै एनसेलले गरेको बदमासीमा राज्य झुकेको विषयमा बुद्धिजीवीहरू बोलेको सुन्छौँ । भर्खरै मैले महालेखा परीक्षकका रिटायर अफिसरले बोलेको सुनेँ । यस्तै थुपै्र कानुनविद्हरू, बुद्धिजीवीहरू पनि बोलिरहनुभएकै छ । एउटा स्वतन्त्र नागरिले यत्रो चिन्ता गर्दछ । बाहिर बस्ने नागरिकले देशको सम्पत्तिका बारेमा चिन्ता गर्दछ । एनसेलले एक खर्बजस्तो राज्यको पैसा लुटेको छ । तर लज्जाको विषय के छ भने न काङ्ग्रेस, एमाले, माके र समाजवादी पार्टी बोल्छन्, न त तिनीहरूका नेता बोल्छन्, कोही पनि बोल्दैनन् किनभने सबैको मुखमा मुखौरो लगाइदिएका छन् । यो कुरा जनताले, आमनागरिकले बुझ्नुपर्यो नि त । यो गम्भीर प्रश्न हो । देशलाई खुलेआम रूपले लुटपाट गर्दा पनि देश चलाउँछौँ भनेर वसेका पार्टीहरू किन बोल्दैनन् ? अमूर्त र अनेकौँ डङ्का ठोक्दै हिँड्ने ! म भ्रष्टाचार हुन पनि दिन्नँ, गर्दा पनि गर्दिनँ भन्ने मान्छेले के हेरेर बसेका छन् ? शुद्ध कम्युनिस्ट पार्टी चाहियो भन्ने नेताहरूले के हेरेर बसेका छन् ? अनि लोकतन्त्रको दुहाई दिने काङ्ग्रेसले के हेरेर बसेको छ ? यसबाट के बुझिन्छ भने सबै नेताहरू भ्रष्टाचारमा डुबेका छन् भन्ने कुरा यसले साबित गर्दछ । काङ्ग्रेस, पूर्वएमाले– माओवादी केन्द्रका प्रायः नेताहरू भ्रष्टाचारमा डुबेका छन् । अरू पनि सबै भ्रष्टाचारमा डुबेका छन् भन्ने कुरा जनताले बुझ्नु पर्दछ । अब यो व्यवस्था नै सडेगलेको हो, यो व्यवस्थामा बसेर काम गर्ने व्यक्ति र पार्टी सबै भ्रष्टाचारमा डुबेका छन् र कोहीले केही गर्नेवाला छैन । यो व्यवस्था सडेगलेको थोत्रो व्यवस्था हो, लुटपाट गर्ने व्यवस्था हो भन्ने कुरा सबैले बुझ्नुपर्दछ । यस विषयमा हामी गम्भीर छौँ– एनसेलको कर यो राज्यले तिराउँछ कि तिराउँदैन ? ७५ अर्ब कर तिराउने भनी पहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणको नेतृत्वमा गरेको फैसला हो । फेरि कहाँबाट यी ‘भुइँफुट्टा’ न्यायाधीशहरू जन्मिए ! उनीहरूले फेरि एकाएक एनसेलका पक्षमा अर्बौं कर छूट दिने फैसला गरे ? त्यसैले हामीले भनेका छौँ– राज्यसत्ता नै भ्रष्टाचारको केन्द्र बनेपछि त्यसका अङ्गहरू लाचार छायाँ बन्दारहेछन् भन्ने साबित भएको छ । म सबै न्यायाधीशहरूलाई भन्दिनँ, कोही राम्रा न्यायाधीशहरू पनि छन् । हाम्रो पार्टी निकटका विद्यार्थी नेताहरूसँग चार लाखसम्म धरौटी मागिएको छ । काठमाडौँको एउटा कलेजमा जुलुस निकालेबापत चार लाख धरौटी मागिएको छ । तीन लाख, एक लाख धरौटी मागिएको छ । विद्यार्थीले यो कसरी तिर्छ ? उसो भए त भ्रष्टाचारका विषयमा कोही बोल्न पनि नसक्ने भयो त ! एउटा युवा एउटा विद्यार्थीले देशलाई परेको घाटाका बारेमा बोल्दाखेरि यत्रो धरौटी तोक्छ तर यत्रो एकएक खर्ब रुपैयाँ भ्रष्टाचार गर्ने एनसेललाई छूट दिन्छ ! यो त सबैले नाङ्गो आँखाले देखेको कुरा हो । त्यसैले चुप लागेर बस्न, हुन्न ।

जहाँसम्म हाम्रो कुरा छ, एनसेललाई त कारबाही मात्र गरेको कुरा हो । नेपाली जनताले साथ दिन्छन् भने यो एनसेललाई नेपालबाटै खारेज गर्नुपर्दछ । हामी एउटा अभियान चलाउन खोज्दैछौँ । एनसेललाई बहिष्कार गर्नुपर्दछ । फोन गर्दा एनटीसीबाट गर्नुहोस्, एनसेललाई खारेज गर्नुहोस् । नेपाल टेलिकम छँदैछ नि । एनसेललाई बहिष्कार गरेर देशबाट लखेट्नुपर्दछ भन्ने हाम्रो मत छ । अब एउटा बहसको कुरा त छँदैछ ।

अर्कातिर कोसी बाँधबाट पीडितहरूको रिपोर्ट हेर्ने हो भने त्यहाँ २७ हजार बिघा जनताको जमिनमा पूर्ण क्षति पुगेको छ । ७ हजार बिघा जमिनमा आंशिक क्षति पुगेको छ । ९ लाख क्युसेक घनमिटर पानी थामिरहेको कोसी बाँधको क्षमता दुईदेखि २.५० घनमिटर पानी थाम्ने मात्र छ । यो बाँध जति बेला पनि भत्किनसक्ने खतरा छ । आतङ्कित भएका जनता धर्नामा बसेका छन्, सरकारले सुनेको छैन । तर भारत सरकारले उच्च कोसीबाँधका निम्ति पहल मात्र होइन, दबाबसमेत गरेको भन्ने समाचार पनि आएका छन् । उच्च बाँध बन्यो भने भोजपुर र धनकुटाको केही भाग, सङ्खुवासभाको ठूलो तल्लो भेग डुबानमा पर्ने र त्यो बाँध फुट्यो भने मोरङ, सुनसरी र सप्तरी जिल्ला पूरै खण्डहर हुने खतरा छ । त्यहाँका जनता आतङ्कित छन् । राष्ट्रियताका निम्ति पनि लडेको पार्टी हुनुको नाताले यस विषयमा के भन्नुहुन्छ ?

हामीले एनसेलको कुरा गर्यौँ । त्यत्तिकै गम्भीर विषय हो यो पनि राष्ट्रका निम्ति । पहिलो कुरा जुन कोसीको चलिरहेको बाँध छ, यो नेपाली काङ्ग्रेसले इतिहासमा गरेको ठूलो भुल थियो । यो ठुलो गद्दारी थियो । यो हामीले भन्दै आएको कुरा हो । हामीले यसको खारेजीको माग पनि गर्दै आएका छौँ । त्यतिबेला काङ्ग्रेसका नेताहरूले जुन बदमासी गरे, आफ्नो सत्ता बचाउनका लागि गरेको भुल हो । सङ्क्रमणकालीन अवस्थामा अथवा एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा सर्न खोज्ने बेलामा भारतले अथवा जुनसुकै साम्राज्यवादी मुलुकले फाइदा उठाउँछ । भारतले पनि फाइदा उठाएको हो । त्यतिबेला राणाबाट बहुदलमा आउने बेलाको सङ्क्रमणको फाइदा उठाएर कोसी–गण्डक सम्झौता गरायो । यो कुरा व्यावहारिक रूपले हेर्दा भावनात्मक वा राजनीतिक रूपले हेर्दा कति कुरूप किसिमको छ । कति गलत र खतरनाक छ भने नेपालको जमिनमा भारतले बाँध लगाउने, नेपालको भूमिमा भारतले नहर खनेर भारततिर लैजाने, नेपाल डुबानमा पर्ने, डुबेर ध्वस्त हुने । फेरि पानी सबै भारततिर लिएर नेपालमा सुख्खा खँडेरी बेर्होने । नेपालमाथि भएको यस्तो विचित्र खालको राष्ट्रघाती सम्झौता हो । अब गण्डकको हालत त्यही छ सुस्तामा । १२ किलोमिटर नेपालको जमिनमा नेपालमा गण्डक नहर छ तर सबै पानी भारत जान्छ । हिउँदमा पानी चाहिएको बेलामा नेपाल सुख्खा हुन्छ । वर्षामा पूरै डुबानमा पर्छ । यस्तो खालको इन्जिनियरिङ गरिएको छ । यस्ता राष्ट्रघाती सम्झौता इतिहासमा भए । त्यसैविरुद्ध त जनयुद्ध भयो र क्रान्ति भयो । यसमा जनताले साथ दिए तर नेताहरूले धोका दिए । २०६२–६३ को आन्दोलनपछि राजतन्त्र र यहाँका पुँजीवादीहरूबीचको टकरावमा त्यतिबेलाका माओवादीहरू पनि संलग्न भएको शान्तिकालमा फेरि अर्को खेल खेलियो । अरुण पनि कब्जा गरियो र कर्णाली पनि कब्जा गरियो । त्यही शृङ्खलामा अहिले कोसी उच्च बाँधको कुरा आइरहेको छ । अहिले नेपालका भूगर्भशास्त्रीहरू विभिन्न खालका विज्ञहरू, बुद्धिजीवीहरू सबैले के भनेका छन् भने यो नेपालका लागि घातक छ । यो एउटा हाइड्रोजन बमजस्तो हुन्छ । फुट्यो भने नेपाल ध्वस्त हुन्छ । चुरे कमजोर पहाड हो, बलियो पहाड छैन । चुरेमा त्यत्रो पानी जम्मा गरेर नेपाललाई ध्वस्त पार्ने योजना बनाइँदैछ । भारतको संयुक्त नदी निर्माणको जुन योजना छ बृहत् योजना, त्यहीँ नदी जोडेर मिसाउने कुरा छ । त्यो योजना लाद्न खोजिएको छ, त्यो कदापि स्वीकार्य हुँदैन । हामीले त्यही विषयमा विभिन्न खालका कार्यक्रम गर्यौँ र बहस गर्याैँ । विराटनगर, सुनसरी, धरान चतरामा हामीले ठूलाठूला बहस गर्याैँ । त्यही गर्दा हाम्रा साथीहरूलाई गिरफ्तार गरियो । मुद्दा लगाइयो । हाम्रो दृष्टिकोण के छ भने त्यो बाँध नेपालको हितमा छैन । पर्यावरणीय दृष्टिले पनि मानिसहरूले अन्तर्राष्ट्रिय स्तरबाट बोलिरहेका छन्– त्यो नेपालको हितमा छैन । जनताको माग जायज छ । हामी पनि त्यसको विरोधमा छौँ ।

प्रसङ्ग बदलौँ, नेपालका केही वामपन्थी बुद्धिजीवीहरूले तपाईंहरूको कार्यदिशा स्पष्ट छैन भनेका छन् । यस विषयमा कसरी प्रस्ट पार्न चाहनुहुन्छ ?

यो महत्वपूर्ण प्रश्न गर्नुभयो । खनेको बाटो हिँड्न सजिलो हुन्छ तर बाटो खन्न गारो हुन्छ । अब गणित (म्याथम्याटिक्स) मा पनि सूत्रबद्ध गरिएको कुरा सजिलो र नयाँ समस्या हल गर्नुपरेमा गाह्रो हुन्छ । सायद त्यही भएर पनि होला वैज्ञानिकहरूले ब्रह्माण्डमा नयाँ तथ्य कठिनपूर्वक खोजी गर्दैछन् । नयाँ कुराको आविष्कार निकै गारो कुरा हो । त्यस्तै राजनीतिमा पनि चलेका व्यवस्थाहरू बुझ्न सजिलो तर नयाँ व्यवस्था ल्याउने कुरा गाह्रो विषय हो । त्यसमा पनि प्राप्त गर्ने बाटोका बारेमा । यसका दुई कोण छन्– एउटा कस्तो छ भने अलिकति व्याख्या–विश्लेषण गरौँ, छलफल गरौँ भन्ने छ । त्यो सकारात्मक नै छ । जो विभिन्नखालका बुद्धिजीवी विश्लेषकहरूको छ । गाली र आलोचना गरेर लेखे पनि चैतन्य मिश्र, झलक सुवेदी, हरि रोका, कृष्ण ज्वाला सबैले पढेर लेखेको देखियो । आफ्नो ठाउँमा ठिकै छ । उहाँहरूले बुझ्न चाहको कुरामा हामी प्रस्टै छौँ र बुझाउन चाहन्छौँ पनि । त्यो ठिकै छ ।

जनयुद्ध सही हो र जनविद्रोह सही हो तर आजको युगमा यी पर्याप्त छैनन् । नयाँ विश्व बनेपछि नयाँ समाधान चाहिन्छ । लेनिनले भनेको पनि त्यही हो । माक्र्सले त पहिले परिकल्पना गर्नुभएको थियो नि सबभन्दा पहिले क्रान्ति बेलायत र जर्मनीमा हुन्छ भन्नुभएको थियो, त्यो गलत होइन नि । त्यतिबेला त्यो ठीक थियो । पछि परिस्थिति अलिकति नयाँ भयो । लेनिनले त्यसैलाई विकास गर्दै रुसमा क्रान्ति गर्नुभयो । क्रान्ति हाम्रो जस्तो देशमा पनि हुन्छ । क्रान्ति गरेरै देखाउनुभयो र लेख्नु पनि भयो । अग्रगामी एसिया, पश्चगामी युरोप भयो त के गर्ने ? एसियामा कयौँ क्रान्तिका सम्भावनाहरू फुटे । सबभन्दा एड्भान्स भनेको युरोपमा पुँजीपति वर्गले सर्वहारा वर्गलाई जसरी गन्जागोल पारिदियो नि, त्यहाँ त्यसलाई चिर्ने स्थिति बनेन । त्यहाँ माक्र्सजस्तै सक्षम जन्मिन सकेन । माओले भन्नुभयो– लेनिनको विद्रोह ठीक तर चीनमा जनयुद्ध आवश्यक छ भनेर नयाँ स्टाटेजी विकास गर्नुभयो । त्यो जित्नका लागि थियो । अथवा जनतालाई सफल बनाउनका लागि थियो । अहिले त्यो विश्वब्यापी प्रख्यात छ । सैन्य रणनीति र राजनीति सवैले स्वीकार गरेको कुरा हो । आज चीन जुन ठाउँमा उभिएको छ त्यो माओकै जनयुद्धको देन हो । हामीले भन्याैँ माओले गरेको पनि ठीक छ तर आज विश्वमा दुईतीनवटा क्षेत्रमा विकास भयो– कम्प्युटर साइन्सका क्षेत्रमा, सूचनासञ्चारका क्षेत्रमा, यातायातका क्षेत्रमा, अर्थतन्त्रका क्षेत्रमा ठूलठूला हेरफेरहरू आए । यसले विश्वको चरित्रमा नयाँपन ल्यायो । त्यसपछि हामीले पनि के भन्यौँ भने यसको चरित्र बदलिएको छ । माक्र्सको पालामा सहरमा, माओका पालामा गाउँमा, अहिले कलेजहरूमा पनि श्रमिक छन् । विद्यार्थीहरू पनि नयाँ श्रमीक वर्ग भएका छन् । डाक्टर, इन्जिनियर, प्रोफेसर, लेक्चर पनि श्रमिक हुन् । यिनीहरुसँग मिलेर क्रान्तिको बाटो बनाउनुपर्दछ भनेर हामीले एकीकृत जनक्रान्तिको बाटो तय गर्यौँ । यसमा नबुझेको कुरा हामी बुझाउँछाैँ ।

दोस्रो कोण कस्तो छ भने हिजोको राम्रोलाई पनि के राम्रो भनेको हो प्रस्ट नगर्ने, आज गर्न खोजेको नयाँलाई पनि स्वीकार गर्न नसक्ने, त्यहाँभित्र अहिकति पूर्वाग्रह, अलिकति सङ्कीर्णता र जडता देखिन्छ । त्यो प्रवृत्ति भनेको विज्ञानको अवरोधक हुन्छ । एउटा मात्र सूत्रलाई प्रयोग गरेर बस्नु भनेको अगाडिको यात्रालाई रोक्नुजस्तै हो । यहाँसम्म त ठीक छ । अलि अगाडिको समस्यालाई समाधान गर्नका लागि बढेर नयाँ अध्ययन–अनुसन्धान नगर्नु भनेको त्यहीँ रोकिएर बस्नु हो । पुराना कुरा भट्ट्याउने कुरा त ठिकै छ । तर अघि बढ्ने कुरा गारो छ । केही साथीहरूको त ठीकै छ तर कतिपयलाई क्रान्तिको बाटो खनेको र देश र जनतालई नयाँ दिशा दिन खोजेको कुरा मन नपरेको पनि छ त्यो छुट्टै कुरा हो यस्तो खालको देखिन्छ ।

तपाईंले भनेको कुरा भौतिक जीवनमा परिवर्तन आयो । भौतिक जीवनमा परिवर्तन आएपछि स्वाभाविक रूपले सामाजिक जीवनका नियमहरूमा पनि परिवर्तन आउनुपर्दछ । त्योसँगै अर्को बहस पनि के उठेको छ भने नेकपाले माक्र्सवादका आधारभूत सिद्धान्तहरूलाई आत्मसात गर्ने भनेको छ । अर्कोतिर पटकपटक सुरक्षा निकायमाथि आक्रमण गर्ने हाम्रो योजना छैन भनेको छ । माक्र्सवादका आधारभूत सिद्धान्तभित्र त बलप्रयोगको सिद्धान्त पर्दछ । सुरक्षा निकायमाथि आक्रमण नगर्ने भनेको के हो भनेर पनि बहस चलेको देखिन्छ नि ?

हामीले अहिले सुरक्षा निकायमाथि आक्रमण नगर्ने भन्ने कुरा गरेका छौँ । क्रान्ति हामी गर्छौं, सुरक्षा निकायमाथि आक्रमण गर्दैनौँ भनेको कुरामा के भ्रम छ त ? यस विषयमा प्रस्ट हुन चाहने साथीहरूलाई के भन्न चाहन्छाैँ भने सबै क्रान्तिहरूमा पुष्टि भएको एउटा सत्य के हो भने राज्यसत्ता परिवर्तन नभए कसैका समस्या समाधान हुन सम्भव छैन । मलाई लाग्छ, नेपाल आर्मीको पनि समस्या समाधान हुन सम्भव छैन । प्रहरीको पनि त्यस्तै हो । अब प्रहरीको सबै देखिइहाल्यो । अब भन्नुहोस्, सुडानको डार्फोरमा जुत्ता किनेको घाममा पग्लियो रे । लुगा किनेको पोल्यो रे । गाडी किनेको खुम्चियो रे । अहिले त्यो मुद्दामा रमेश चन्दलाई जेल हालेका छन् । त्यतिबेला त माके– एमाले सबै मिलेर खाएका हुन् नि । कृष्णप्रसाद सिटौला गृहमन्त्री थिए । खाने बेलामा सबैले खाए । अहिले एउटा प्रहरीको प्रमुखलाई जेल हालेका छन् । छ–सातजना प्रमुखलाई त मुद्दा छ । कोहीकोही चोखिँदैछन् । कोही पर्दैछन् । प्रहरीभित्र कति अन्याय छ भन्ने कुरा त सबैलाई थाहै छ नि । पहिले शमशेरगन्जमा विद्रोह नै भएको होइन त ? त्यतिबेला रासनको समस्याले गर्दा विद्रोह गरेका प्रहरीहरू अहिलेसम्म जेलमा छन् । हामीले गर्ने भनेको क्रान्ति कुनै राजनीतिक पार्टीका नेता–कार्यकर्ताका लागि होइन, सम्पूर्ण नेपाली समाजका लागि हो । क्रान्ति त सेना र प्रहरीका लागि पनि हो । सबै नागरिकका लागि हो । सेना र प्रहरी पनि नागरिक हुन् । हिजो तपाईंहरूले जसलाई बचाउन खोज्नुभयो ती सबै ढले किनकि तिनीहरू जनताको इच्छाविपरीत थिए । त्यसैले हामीले के भनेका छौँ भने आज पनि यो सत्ता जनताको होइन । हाम्रो कुरा सत्तालाई फाल्ने हो । तपाईंहरूले कुरा बुझ्नुभयो भने लेनिनले जारशाहीका सोलोखोपहरूसँग सहकार्य गरेजस्तो गरौँ । हामीले सीधै भनेका छाैँ तपाईंहरू आउनुहोस्, सहकार्य गरौँ । हाम्रो अहिले गोली हान्ने, ब्यारेकमा ड्याङडुङ गर्ने नीति छैन । हामी राष्ट्रघातका विरुद्ध लड्छौँ । विकृतिका विरुद्ध लड्छौँ । राष्ट्रघातीहरूलाई जेल हाल्नुपर्छ । सबै भ्रष्टाचारमा डुबेका छन् । भ्रष्टाचारीहरूलाई जेल हालाैँ ।

गाउँघरमा एउटा उखान छ– हजार मुसा खाएपछि बिरालो काशीतिर लाग्यो भन्याजस्तो सारा भ्रष्टाचार गरेपछि अहिले भ्रष्टाचार गर्दैनौँ भनिरहेका छन् । आजभोलि हरेक दिन नयाँनयाँ मुद्दा आइरहेका छन् । यता ९५ प्रतिशत काम भयो भन्ने गरिन्छ, उता फिल्डमा गयो भने ५० प्रतिशत पनि काम भएको हुँदैन । यस्तो दिनदहाडै जुन भ्रष्टाचार, ठगी भइरहेको छ नि, हामीले यसका विरुद्ध क्रान्ति भनेका हौँ । आउनुहोस्, सबै मिलेर लडौँ । यो कुरा बुझ्नुपर्दछ भन्ने लाग्छ हामीलाई ।

अर्को प्रसङ्गतिर जाऔँ, क्रान्तिका लागि बलियो कम्युनिस्ट पार्टी आवश्यक हुन्छ । यस विषयमा छलफल गर्दा नेपालमा क्रान्तिकारी धु्रवीकरणको विषय चर्चामा छ । क्रान्तिकारी धु्रवीकरणको कुरा कहाँ पुग्यो ? यस विषयमा कति काम भएको छ ?

यस विषयमा बेलाबेलामा छलफल गर्दै आएका छाैँ र आजको दिनमा पनि यो सान्दर्भिक छ । क्रान्तिकारीहरूको मोर्चाबन्दी र एकता सुदृढ गर्न जरुरी छ । यो हामीले इमानदारीपूर्वक भनेको कुरा हो । त्यसमा केही प्रगति हुँदै आएको पनि छ । हिजो उत्कर्षमा पुगेको जनयुद्धलाई आत्मसमर्पणवाद, विसर्जनवाद र संशोधनवादले गाँज्यो । यसका विरुद्ध हामीले विद्रोह गर्याैँ । यस विषयमा ठूलाठूला बहसहरू चले । मलाई लाग्छ यस विषयमा ठूलाठूला बहसको बीचबाट यो पार्टी पुनर्गठन भएको हो । त्यसो हुँदा कयाैँ तीतामीठा बहसहरू पनि भए । हामीले यो पार्टी बनाएपछि एउटा जग बन्यो भन्ने छ । अरू कमरेडहरूको पनि छ तर नेपालमा यो पार्टी रहँदासम्म रेभुलुसन कहिल्यै पनि समाप्त हुँदैन । यो भर्भराउँदै उठ्छ भन्ने हामीले खडा गरेका छौँ । हामीलाई विश्वास छ– हामीले एउटा वर्गको शक्ति गोलबन्द गरेका छौँ । जहाँजहाँ अपुग हुन्छ त्यहाँ हामी छलफल गर्दै लान्छौँ । अहिले हामीले तीनचारवटा पार्टीका बीचमा छलफल चलाउँदै आएका छौँ । त्यसलाई हामीले सकारात्मक नै मानेका छौँ । माओवादी केन्द्रभित्र पनि राम्रै बहस चलेको छ । क्रान्तिका पक्षमा पनि बहस चलेको पाइन्छ । कैयौँ साथीहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा, कैयौँसँग सामूहिक वा व्यक्तिगत रूपमा छलफल भैरहेको छ । क्रान्तिकारीहरू अघि बढ्ने, गोलबन्द हुने भन्ने कुरामा हामी सधैँ खुला नै छौँ ।

योभन्दा बाहिर दलाल पुँजीवाद र यथास्थितिवादका विरुद्ध जुन स्वरहरू छन्, ती स्वरका पछाडि कुनै न कुनै शक्तिहरू हुन्छन् । यो विकल्पको बहसमा तपाईंहरूको धारणा के छ ?

यो राम्रो कुरा हो । हामी खुसी र उत्साहित छौँ । राज्यले हामीलाई थुन्न खोजेको थियो । भ्रम छरेर, गलत प्रचार गरेर राज्य हामीलाई एक्लो बनाउन चाहन्थ्यो तर नेपालका नागरिकहरू, बुद्धिजीवीहरू, विश्लेषकहरू, स्वतन्त्र लेखकहरू, पत्रकारहरू राज्यको कुनियतप्रति स्पष्ट छन् । उनीहरू राज्यको यो प्रवृत्तिप्रति स्पष्ट छन् । साथीहरू स्वतन्त्र विचारका साथ बहमा उत्रिनुभएको छ । खुसी लागेको छ । सबै क्षेत्रमा चाहे राजनीतिक क्षेत्र होस्, चाहे बौद्धिक क्षेत्र होस्, चाहे लेखक–कलाकार, विश्लेषक, साहित्यकार, मानवअधिकारकर्मी, पत्रकार, सेवानिवृत्त अधिकारीहरूको कुरा होस् वा कर्मचारीहरू, धेरैतिरबाट के देखियो भने नेकपाले नेकपाको वा कुनै व्यक्तिको कुरा गरेको होइन, यो देशसँग जोडिएको विषयमा कुरा उठाएको हो भन्ने कुरामा उहाँहरूले राम्रो बहस छेड्नुभयो । त्यसले गर्दा क्रान्ति र आन्दोलन सबैको हो भन्ने परेको छ । म धन्यवाद दिन चाहन्छु । अर्को कुरा हाम्रो हार्दिकतापूर्वक सहकार्य गर्ने विचार पनि छ । अस्ति केही मान्छे के व्याख्या गर्दै थिए भने नेकपाले ल्याउन खोजेको व्यवस्था एकदलीय हो । एकदमै गलत प्रचार गरेर टुक्राटुक्रामा हान्ने, मान्छेहरूलाई भ्रमित गर्ने जुन खेल छ, त्यो भ्रममा कोही पर्न जरुरी छैन । मेरो विचारमा केही भ्रम त चिरिँदै पनि गएको होला । त्यो कुरा होइन, हामी नै हौँ । कम्युनिस्टहरू नै सबैभन्दा जनवादी हुनुपर्छ । वैज्ञानिक समाजवाद नै जनताको स्वतन्त्रताको एकदम उच्च व्यवस्था हो । सबै स्वतन्त्रताहरू हुन्छन् त्यहाँ, वर्गमुक्त हुन्छ । त्यहाँ जाति, क्षेत्र, लिङ्ग सबै समुदाय स्वतन्त्र हुन्छन् । त्यसैले सबै अधिकारहरूलाई सुनिश्चित गर्दछ । त्यहाँ स्वच्छ प्रतिस्पर्धा हुन्छ । अहिले त प्रतिस्पर्धा नै छैन । यो त पैसावालहरूको भिडन्त हो । छलछाम र षड्यन्त्र हो । यहाँ विचार र नीति केहीको पनि कुरा छैन । हामीले ल्याउने व्यवस्थामा नै स्वतन्त्र प्रतिस्पर्धा हुन्छ भन्ने कुरा स्पष्ट छ । समाजवादले सबै मान्छेका क्षमताहरूलाई, आकाङ्क्षाहरूलाई, अधिकारहरूलाई सुनिश्चित गर्ने काम गर्दछ । कोही पनि भ्रममा पर्न जरुरी छैन ।

विश्व कम्युनिस्ट आन्दोलनको कुरा गर्दा कार्ल माक्र्सले आयरल्यान्डको आन्दोलनलाई समर्थन गर्नुभयो र आइरिस जनताहरूले स्वतन्त्रता पाउनुपर्दछ भनेर बोल्नुभयो । लेनिनले पूर्वीय देशहरूमा साम्राज्यवादविरोधी आन्दोलन हुँदा त्यसको समर्थन गर्नुभयो । माओले पनि त्यही गर्नुभयो तर अहिले कास्मिरी जनतामाथि भारतले गरेको ज्यादतीका विषयमा क्रान्तिकारी कम्युनिस्टहरूबाट त्यति आवाज आएको देखिँदैन । एकप्रकारले उनीहरू एक्लोजस्तो पनि देखिन्छन् । कास्मिरमा गरिएको भारतीय ज्यादतीका विषयमा, कास्मिरका विषयमा पार्टीको धारणा के छ ?

यस विषयमा दुईवटा कुरा राख्न चाहन्छु : कास्मिरको कुरा पनि राज्यसत्तासँग जोडिएकै कुरा हो । भारतमा जनताको सत्ता बन्छ भने स्वेच्छिक ढङ्गले सबै एक ठाउँमा रहने कुरा स्वतन्त्रताको कुरा हो । तर आज भारत साम्राज्यवादी छ । त्यसले खाइरहेको छ । हामीले के भनेका छाैँ भने भारतको प्रवृत्ति मूलभूत रूपले अब साम्राज्यवादी भैसक्यो । कमजोरलाई खाने उसको नीति छ । त्यहीअन्तर्गत उसले कास्मिरलाई खाएको हो । जे सम्झौता गरे पनि सम्झौताको सार के थियो भने कास्मिरको आत्मसमर्पणवादी पुँजीपति वर्ग र भारतको पुँजीवादी वर्गबीचको गठजोडबाट नै त्यसलाई खाएका हुन् । हाम्रो दृष्टिकोण के छ भने हरेक समुदाय, जाति र क्षेत्रका नागरिकहरू आफ्नो अधिकारका लागि लड्न स्वतन्त्र छन् । आफूलाई उत्पीडन भएको अनुभूति भएपछि स्वतन्त्र हुन पाउनुपर्दछ र पाउँछन् भन्ने हो । भारत साम्राज्यवादी छ । पहिले विस्तारवादी थियो । अहिले त्यसको चरित्र साम्राज्यवादी छ । भारत कास्मिरको कुरा मात्र छैन, भारतमा सिक्किमको कुरा छ । मणिपुरको कुरा छ । त्यहाँ हरेक हिसाबले हेर्दा जति समस्याहरू छन्, ती समस्याहरू जातीय र राष्ट्रिय समस्याहरू नै हुन् ।

अर्को कुरा कास्मरी जनता पुँजीवादी बाटोबाट हिँडेसम्म वास्तविक अधिकार पाउने मुक्ति सम्भव हुने कुरा हामी देख्दैनाैँ । आजको समयमा पुँजीपतिवर्गले राष्ट्रिय स्वाधीनताको नारा दिए पनि अन्त्यमा आत्मसमर्पण नै हो । त्यसैले कस्मिरी जनताका बीचमा पनि कम्युनिस्ट पार्टीको आवश्यकता छ किनकि कम्युनिस्ट पार्टीले नै राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व गर्ने हो ।

चीनमा नयाँ व्यवस्था सन्निकट देखिसकेपछि १९४७ मा अमेरिकाले चिनियाँ समाजवादी संस्थाका विरुद्ध एउटा रणनीतिक संस्था तयार गर्यो । त्यसलाई हिन्द–प्रशान्त रणनीति १९४७ भनिन्छ । नेपाल पछिल्लो समय त्यसको सदस्य बनेको चर्चा छ । अर्कोतिर नेपाल बीरआरआईको सदस्य पनि औपचारिक रूपले बनेको छ । यी सबै घटनाक्रम हेर्दा नेपाल विश्वशक्तिहरूको क्रीडास्थल बन्न खोजेको हो कि भन्ने बहस छ । यसलाई क्रान्तिकारी पार्टीको कोणबाट कसरी हेर्नुभएको छ ?

यसमा हाम्रो सीधा दृष्टिकोण के छ भने नेपालमा यही दलाल ससदीय व्यवस्था कायम रहेको खण्डमा नेपाल साम्राज्यवादी शक्तिहरूको भिडन्तस्थल अथवा क्रीडास्थल अथवा खेलमैदान बन्ने स्पष्टै छ । अहिले पनि नेपालका बारेमा सानो निर्णय लिनुपर्दा पनि कोही सिङ्गापुर कुद्छन्, कोही कतार, कोही दिल्ली, कोही कतै कुद्छन् । अहिले नेपालको राजनीतिक निर्णयहरू गर्दा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको वर्चस्व रहेको प्रस्ट देखिन्छ । त्यसमा थप अहिले के हो भने विश्व व्यापार युद्धले पनि भन्छन् । त्यसले विश्वलाई तीव्र धु्रवीकरण पनि गरिरहेको छ । त्यो अवस्थामा चीनका विरुद्ध अमेरिकाले पहिले प्रशान्त क्षेत्रीय रणनीति भनेको थियो, अहिले हिन्द–प्रशान्त रणनीति भनेर ल्याएको छ । त्यो कुरा त खुलेआम बोलिसकेका छन् । प्रदीप ज्ञवालीहरूले होइन–होइनजस्तो, लटरपटर जस्तो गरेका थिए तर सिङ्गापुरमा भएको ‘कन्फ्रेन्स’ मा अमेरिकी विदेशमन्त्रीले खुलेआम के भने भने अमेरिकाको रणनीतिमा नेपाल छ र सहयोग गर्नुपर्दछ । नेपालले अमेरिकालाई सहयोग गर्नुपर्दछ, विश्वलाई चीनबाट जे समस्या परेको छ, त्यसलाई रोक्नुपर्दछ भनेर खुलेआम भनिसक्यो । रुस, चीन र उत्तरकोरियालाई इङ्गित गरिसक्यो । अब यो थेग्न नसक्ने अवस्थामा पुग्दैछ । यो अवस्थामा हामीले जनतालाई भन्ने कुरा के छ भने साम्राज्यवादीहरूबाट मुक्त हुनका लागि जनताको हातमा सत्ता आउनुपर्छ । त्यो भनेको वैज्ञानिक समाजवाद हो वैज्ञानिक समाजवाद बनेपछि नेपालको भविष्य पनि र समृद्धि पनि त्यसमै छ । यही अवस्था हो भने नेपाल विखण्डनतिर जाने खतरा छ । क्रीडास्थल बन्ने पक्का देखिन्छ । एउटा प्रदेशलाई अर्कोले चलाउने समस्याहरू उत्पन्न हुने स्पष्ट देखिन्छ । त्यसबाट बचाउने भनेको क्रान्ति हो र वैज्ञानिक समाजवाद हो ।

अर्को प्रसङ्गमा जाऔँ । पछिल्लो चरणमा तपाईंको पार्टीको साङ्गठनिक निर्णयहरूलाई लिएर पनि ठूलो बहस भएको छ र टीकाटिप्पणीहरू उठेका छन् । कयौँ मिडियाहरूले पार्टीका कयौँ नेताहरूलाई कारबाही गरेको चर्चा पनि गरेका छन् । वास्तविकता के हो ?

यो हाम्रो आन्तरिक जीवनका लागि निकै महत्वपूर्ण छ र नेपालको राजनीतिक आन्दोलनकै लागि पनि महत्वपूर्ण छ । हामीले चालेको कुरा के हो भने हामी अहिलेका संरचनाहरूलाई परिवर्तन गरेर नयाँ संरचना दिन चाहन्छौँ । आमूल परिवर्तन गर्न चाहन्छौँ । यहाँको अर्थतन्त्रमा परिवर्तन, संस्कारमा परिवर्तन, यहाँको समाजमा परिवर्तन, शिक्षा र स्वास्थ्यमा परिवर्तन, यावत् कुरामा परिवर्तनको कुरा आउँछ । यो परिवर्तन दिनसक्ने पार्टी के हुनुपर्दछ भने पहिले आफैँ नमुना पार्टी हुनुपर्दछ । पार्टी भनेको एउटा राज्यको मोडेल, प्रणाली (सिस्टम) पनि हो । यो लगातार माक्र्सकै पालादेखि चल्दै आएको बहस पनि हो । विभिन्न खालका उतारचढाव, आरोह र अवरोहपूर्ण राजनीतिक वातावरण पार गरेर आएका जनताका बीचमा क्रान्ति गर्ने एउटा नमुनाकृत पार्टी हामीलाई चाहिएको हो । अभेद्य पार्टी, चट्टानजस्तो पार्टी बनाउने हो । हामीले छलफल र बहसपछि एउटा निर्णय लिएका छौँ । यो निर्णय हाम्रो पार्टी जीवनमा, नेपाली कम्युनिस्ट आन्दोलनको फरक खालको निर्णय हो । यो सङ्गठनात्मक सिद्धान्तबाट हेर्दा अलि भिन्नजस्तो देखिन्छ तर यसको साथ के हो भने हाम्रो वर्ग जनता, नेता–कार्यकर्तालाई विश्वस्त बनाउने आधारशिला खडा गर्ने कुरा हो । बाहिर चल्ला जे चलाए पनि यो कुनै कारबाहीभन्दा पनि ठीक ठाउँमा बसेर जिम्मा पूरा गर्ने कुरा हो हामीले अहिले केन्द्रीय समितिका सदस्यहरूलाई अर्को जिम्मेवारीमा स्थानान्तरण गरेका छाैँ । सबै साथीहरू खुसीका साथ लाग्नुभएको छ । सबै साथीहरूलाई खुसीका साथ काम गर्ने वातावरण बनाउँछौँ । केन्द्रीय समिति यसखालको बनाउनुपर्दछ भन्ने छलफल भएपछि हामीले यसखालको बनाएका हौँ । यसको प्रभाव पार्टी र क्रान्तिमा देखिन्छ भन्ने विश्वास हामीलाई छ । यो सङ्गठन मात्र होइन, विचार र दृष्टिकोणको कुरा पनि हो । यो क्रान्तिका लागि आवश्यक कुरा हो । हामीले के भनेका छौँ भने क्रान्तिका लागि पाँच आधार अनिवार्य छन : असल विचार, असल सङ्गठन, असल अर्थव्यवस्था, असल सङ्घर्ष र असल प्राविधिक व्यवस्थापन अथवा विज्ञान र प्रविधिको संयोजन । योबिना क्रान्ति सम्भव हुँदैन भन्ने मान्यताअनुसार यो कदम चालिएको हो ।

पार्टीका आगामी कार्ययोजनाहरू केके छन् नि ?

अहिले हामीलाई योजनाबद्ध रूपले प्रहार गर्ने हतियारका रूपमा चन्दाको विषय पनि उठाइएको छ । हामीलाई कसैले तीतो तरिकाले, नसुहाउने तरिकाले, रूखो तरिकाले पनि भनेका छन्– अँध्यारोमा बस्ने, चक्कु देखाउने, पैसा उठाउने भन्ने कुरा पनि भनेको सुनियो तर यसको जबाफ हामीले होइन, हाम्रा बुद्धिजीवी साथीहरू, स्वतन्त्र व्यक्तित्वहरूले आफ्नै तरिकाले दिनुभएको छ । हामीले मुख्य कुरा के भनेका छाैँ भने अहिले जनतालाई नेपालको क्रान्ति बुझेको जस्तो पनि नबुझेको जस्तो पनि यस्तो ठाउँमा गएर बसेको छ । आमजनतालाई क्रान्ति बुझेको जस्तो पनि नबुझेको जस्तो पनि छ । नेपालमा जनयुद्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी जनता धेरै छन् । नेपालका सबै क्रान्तिमा बुद्धिजीवी, कर्मचारीहरु कुनै न कुनै रूपले जोडिएका छन् । यी सबैलाई के छ भने क्रान्ति बुझेको जस्तो पनि परेको छ, नबुझेको जस्तो पनि परेको छ । हिजो त्यत्रो गरियो, अहिले किन आवश्यक पर्यो भन्नेजस्तो पनि छ । त्यसैले यसलाई राम्रोसँग बुझाउनका लागि राजनीतिक ढङ्गले एउटा अभियान चलाउने पनि हाम्रो कार्यक्रम छ । अर्को पार्टीलाई सुदृढ गर्ने, नयाँ सदस्य भर्ती गर्ने, एकता पनि गर्ने, भ्रष्टाचार, लागूपदार्थ ओसार पसार, मानवतस्करी नेपालको ठूलो समस्या भैसक्यो । युवाहरूलाई नसा खुवाएर लठ्याउने यो ठूलो समस्या हो । लुटेरा दलालहरूले युवाहरूलाई लागूपदार्थमा फसाएर लुट्ने काम भएको छ । खुलेआम सडकमा वेश्यावृत्ति छ । यो सबैका विरुद्ध हामी सङ्घर्ष चलाउन खोज्दैछौँ ।

अर्को कुरा हामीले तीनमहिने आर्थिक अभियान पनि चलाएका छौँ । हामीले जनताई आफ्नो क्षमता र हैसियतले मानो–मुरी सहयोग गर्न आग्रह गरेका हौँ ।

नेकपाले उठाएका मुद्दाविरुद्ध सरकारले ठूलो दमन गर्दा र धम्की दिँदा पनि सामाजिक अभियन्ताहरू, बुद्धिजीवीहरू, प्राध्यापकहरू, लेखक–कलाकारहरू तपाईंहरूका पक्षमा दृढतापूर्वक उभिएका छन् । तपाईंहरूको प्रत्यक्ष संवाद नभैरहेको अवस्थामा पनि यी मुद्दाहरूका पक्षमा आफैँ, सङ्गठित वा असङ्गठित रूपले लागिरहेका शक्तिलाई के भन्न चाहनुहुन्छ ?

यो महत्वपूर्ण कुरा हो । उहाँहरूले गरेको सङ्घर्ष र बहस हामीले प्रत्यक्ष हेरिरहेका छौँ । यसले हामीलाई उद्वेलित पनि बनाएको छ । म के भन्न चाहन्छु भने हाम्रा पुराना कम्युनिस्टहरूले गरेको परिभाषा बदल्नुपर्दछ । पढेलेखेकाहरुलाई अवसरवादी भन्ने, प्राध्यापक, डाक्टर, इन्जिनियरहरू क्रान्तिकारी हुँदैनन् भन्ने व्याख्या गरिन्छ, त्यो होइन । को कति क्रान्तिकारी छ र कति गैरक्रान्तिकारी छ भन्ने कुरा त कसले कति मेहनत गर्छ, श्रम गर्छ, उत्पीडनको विरोध गर्दछ भन्ने कुराले देखाउँछ । त्यसैले हामीले भन्यौँ नेपालका बुद्धिजीवी, लेखक, प्रोफेसरहरू पनि क्रान्तिकारी छन् । त्यसैल हामीले भनेका छौँ– नयाँ श्रमिक वर्ग डाक्टरले औजार लिएर अप्रेसनमा भाग नलिएसम्म पैसा पाउँदैन । इन्जिनियर पनि त्यहीँ छ होला । सामान्य मजदुरभन्दा बढी पैसा कमाउला तर ऊ पनि मजदुर हो । प्रोफेसरले ६–७ घन्टा नपढाएसम्म तलब पाउँदैन । त्यसैले हामीले के भनेका छौँ भने यी सबै आजको समाजका श्रमिक वर्ग हुन् । नेपाल राष्टलाई परेको समस्या र पीडा बुझेका छन् । हामीले चलाएको आन्दोलन हाम्रो कुरा होइन नि, यो त समाजको, नागरिकको कुरा हो । हामी भन्छौँ– हामी सबै एकाकार भएर यो देशलाई बदलौँ । हामी सबैले देश बनाउने हो । हाम्रो कुरा अहिलेका संसदीय पार्टीहरूले छलेर भनेको जस्तो कुरा होइन । हामी आफैँले लड्ने हो र लडेकै मान्छेले देश बनाउने हो । अहिलेसम्म नेपालको सत्तामा क्रान्ति जनताले गर्ने, शासन पुरानो वर्गले गर्ने भएको छ । बलिदान जनताका छोराछोरीले गर्ने, शासनचाहिँ सामन्तका छोराछोरीले गर्ने भएका कारण यो हल नभएको हो । जुन सहकार्यको वातावरण बनेको छ, हामी निकै उत्साहित छौ । देशलाई मुक्त गर्ने एउटा मात्र बाटो हो यो । यसमा सबै गोलबन्द हौँ । हामी काँध थाप्न तयार छौँ । तपाईंहरू पनि तयार हुनुहोस् भन्ने मेरो विनम्र आग्रह छ ।

एकीकृत जनक्रान्तिको कार्यदिशा र तपाईंको पार्टीले सुरक्षा निकायमाथि आक्रमण नगर्ने नीति हुँदाहुँदै पनि मूलभूत रूपमा शान्तिपुर्ण कार्यक्रम रहेकै बेलामा आठजनाको सहादत भैसकेको छ । सयौँको सङ्ख्यामा जेल र हिरासतमा हुनुहुन्छ । उहाँहरूप्रति, जेल र हिरासतमा रहनुभएका कमरेडहरूप्रति, सहिदका आफन्तजनहरूप्रति पार्टी महासचिवको हैसियतले कसरी सम्बोधन गर्नुहुन्छ ?

पहिलो कुरा त आदरणीय महान् सहिदहरू जो एकीकृत जनक्रान्तिको बाटोमा साथ दिएर, लामबद्ध भएर अघि बढ्दा आफ्नो ज्यान दिनुभयो, उहाँहरूको रगतले हाम्रो क्रान्तिको बाटो रङ्गिएको छ । यसले हामीलाई ज्योति दिएको छ । उहाँहरूलाई सम्मान गर्न चाहन्छु । हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । यसैमार्फत सहिद परिवारलाई समवेदना दिन चाहन्छु ।

दोस्रो कुरा हाम्रो ब्युरो सदस्य कुमार पौडेल सहिद हुनुभयो । वास्तवमा उहाँको ठूलो शिक्षा छ । यातना दिएर, हातखुट्टा भाँच्दा, गोली हान्दा पनि पार्टीको लाइनबाट टसमस हुनुभएन । क्रान्तिका पक्षमा, नेपाली जनताको सुन्दर भविष्यका पक्षमा जीवन दिनुभयो । निरकुमार राई प्रतिरोध सङ्घर्षमा सहिद हुनुभयो । त्यस्तै राजु, हाम्रो कमान्डरमध्येमा चुनिएका कमान्डर महान, दीपेन्द्र, सनराइज, प्रज्वल, निरन्तर, रामकुमार हरूको सहादत भयो । यी सहिदहरूको बाटो धेरै नै गौरवपूर्ण बाटो हो । हामी त्यसलाई पकड्छौँ भन्ने कुरा राख्न चाहन्छौँ ।

अर्को कुरा हाम्रा पहिलेका स्थायी समिति सदस्य र अहिलेका कार्यालय सदस्य सुदर्शन, प्रज्वलन, बन्धुलगायत छ–सात सय साथीहरू जेल र हिरासतमा हुनुहुन्छ र निर्भीकतापूर्वक जेलको मोर्चाबाट लडिरहनुभएको छ । उहाँहरूलाई विशेष सम्मान गर्न चाहन्छु । जेल र हिरासतमा भएका साथीहरूलाई कुनै पनि हालतमा टसमस नहुनू भन्ने अपिल गर्न चाहन्छु । क्रान्तिकारी मान्छे जहाँ पनि क्रान्तिप्रति इमानदार भएर लड्ने कुरा हो । हामी बाहिरबाट लड्छौँ, तपाईंहरू भित्रबाट लड्नुहोस् । हाम्रो आदर्शलाई थोरै पनि आँच आउन दिनु हुँदैन भन्ने मेरो विशेष आग्रह छ । आज हजाराैँ–लाखौँ जनता लामबद्ध छन् । तपाईंहरू कुनै पनि हालतमा नआत्तिनू र विचलित नहुनू । क्रान्ति भन्ने कुरा धेरै उतारचढावहरू पार गरेर जाने कुरा हो । पूर्ण विजय हासिल गर्न सकिने कुरामा हामी पूर्ण विश्वस्त छौँ । यो क्रान्ति जनताको क्रान्ति हो र यो विजयी भैछाड्नेछ । अरू सबै फर्जी बाटाहरू हुन् र ठग बाटाहरू हुन् । अरू सबै बाटाहरू भ्रमका बाटाहरू हुन । जनताको साँचो र सत्य मार्ग भनेको क्रान्तिको यही मार्ग हो । वैज्ञानिक समाजवाद ल्याउने बाटो हो ।

निकै व्यस्तता र चुनौतीको बीचमा पनि हामीलाई समय दिनुभयो । धन्यवाद दिन चाहन्छौँ ।

रातो खबर आजको नेपालमा परिवर्तनको संवाहक हो । यसबाट हाम्रो पार्टीका धारणाहरू जनताका बीचमा पुर्याउने अवसर दिनुभएको छ । यसका लागि तपाईंहरुको टिमलाई पार्टीका तर्फबाट धेरैधेरै धन्यवाद दिन्छु । 

भिडियाेमा….

२०७६ भदौ २७ गते शुक्रबार प्रकाशित