माओका युगान्तकारी योगदान

सन्दर्भ : १२७ औं माओ दिवस

- विप्लव

१) माओको अध्ययन

माओलाई मित्र र विरोधी सबैले पढिरहेका छन् । मित्रहरूले माओलाई राम्रोसँग बुझ्न र रक्षा गर्नका लागि पढिरहेका छन् भने विरोधीहरूले माओलाई बुझ्न, रोक्न र मास्नका लागि पढिरहेका छन् । मित्रले माओको महत्व बढेको सोच्छन् भने विरोधी माओको समय सकिएको बताउँछन् ।

माओलाई क्रान्तिकारी कम्युनिस्ट र संशोधनवादी कम्युनिस्ट सबैले पढ्ने गर्छन् । क्रान्तिकारीहरूले माओलाई पकड्नका लागि पढ्छन् भने संशोधनवादी, आत्मसमर्पणवादीहरूले विरोध गर्नका लागि पढ्छन् । क्रान्तिकारीले वर्तमान संसारलाई बदल्न माओ चाहिने विश्वास गर्छन् भने संशोधनवादीहरू माओलाई चीनमा सीमित गर्दै आजको युगमा त्यसको अनुसरण गर्न नसकिने तर्क गर्छन् ।

माओलाई क्रान्तिकारी कम्युनिस्टहरूभित्र पनि क्रान्तिमा हिँडिरहेका र क्रान्तिभन्दा बाहिर रहेका कम्युनिस्टहरू सबैले पढिरहेका हुन्छन् । क्रान्तिमा लडिरहेकाहरूले माओलाई जीवन्त रूपले लागू गर्नका लागि पढिरहेका छन् भने क्रान्तिमा नभएकाहरूले सैद्धान्तिक रूपमा बढी चर्चा गर्छन् ।

हामी एकीकृत जनक्रान्तिमा बढिरहँदा माओलाई विशेष महत्वका साथ बुझ्न, पकड्न र लागू गर्नका लागि अध्ययन गरिरहेका छौँ किनकि माओलाई नपढेर आजको युगमा क्रान्ति सम्पन्न गर्न सम्भव छैन । माओसम्बन्धी बुझाइमा हाम्रो र अरूको अन्तर यसैमा छ ।

२) माओको सिर्जनात्मकता र सफलता

माओ चीनको पहिलो कम्युनिस्ट हुनुहुन्थेन । उहाँ सामन्तवाद, दलाल पुँजीवाद र साम्राज्यवादका विरुद्ध युद्ध लड्ने पहिलो कम्युनिस्ट र राजनीतिज्ञ पनि होइन । जनताका शत्रुविरुद्ध बन्दुक उठाउने पहिलो नेता वा रणनीतिज्ञ पनि होइन । तर चीनमा माओभन्दा अगाडिका थुप्रै कम्युनिस्ट नेताहरू कम्युनिस्ट बन्न सकेनन्, उहाँ बन्नुभयो । सामन्तवाद—दलाल पुँजीवाद र साम्राज्यवादका विरुद्ध अन्य थुप्रै नेता र कम्युनिस्टहरू लडे तर ती सफल हुन सकेनन् तर माओ सफल हुनुभयो । कम्युनिस्ट पार्टीको नेतृत्वमा रहँदा बन्दुक उठाउने नेता अरू थिए तर अरू सफल भएनन्, माओ नै सफल हुनुभयो । किन ? यो नै आजका क्रान्तिकारीहरूले बुझ्नुपर्ने र ग्रहण गर्नुपर्ने विषय छ ।

क्रान्तिमा माओ सफल हुनुको सबैभन्दा प्रमुख कारण वैज्ञानिक समाजवादी क्रान्तिमा सिर्जनात्मकताको विकास र प्रयोग हो । माओभन्दा अगाडिका कम्युनिस्ट नेताहरूले चिनियाँ क्रान्तिलाई रुसी तरिकाले सम्पन्न गर्न खोजिरहेका थिए र निकैपटक ठूला क्षति र पराजय भोगिसकेका थिए । उनीहरू रुसी तरिकाभन्दा अर्को तरिकाले पनि क्रान्ति हुनसक्छ भन्नेतिर सोच्नै चाहँदैनथे । खासगरी लिली सान र वाङ मिङहरूले चिनियाँ क्रान्तिले भोगिरहेको क्षति र विफलतालाई चिनियाँ जनताको समस्याका रूपमा बुझिरहेका थिए । चिनियाँ समाजको फरक विशेषता, आफ्नो विचार, कार्यदिशा र कार्यक्रममा देखिरहेका थिएनन् । उनीहरूको जोड चीनमा रहेका सहर र मजदुरहरूबाट रुसमा जस्तै विद्रोह गराएर सत्ता प्राप्त गर्ने थियो । तर माओले चिनियाँ क्रान्तिमा क्षति र पराजय हुनुको कारण रुसी क्रान्तिको अन्धानुकरणमा देख्नुभयो । उहाँले चीनका विशेषताले रुसी विशेषताहरूसँग मेल नखाने भएकाले चिनियाँ विशेषताअनुसारको क्रान्तिको राजनीतिक कार्यक्रम र कार्यदिशा निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । माओले कार्यदिशा र रणनीतिमा फड्को मार्नुभयो । नयाँ जनवादी राजनीतिक कार्यक्रम र दीर्घकालीन जनयुद्धको कार्यदिशा विकास गर्नुभयो । जब उहाँको कार्यदिशलाई क्रान्तिमा प्रयोग गरियो तब विजयको अध्याय सुरु भयो । माओेको यही विकासलाई सबैले चिनियाँ क्रान्ति सफलताको मूल कँुजी मान्ने गरेका छन् । वास्तवमा यो एकदमै सही विश्लेषण र निष्कर्ष हो ।

३) वैज्ञानिक समाजवादको निर्माणमा फड्को

नयाँ जनवादी क्रान्ति पूरा भएर श्रमिक जनता, लोकतन्त्रवादी एवम् देशभक्त शक्तिहरूको हातमा राज्यसत्ता प्राप्त भएपछि चीनलाई कुन दिशामा बढाउने भन्ने विषय अगाडि आयो । माओले बुझेको र अरूले नबुझेको विषय नयाँ जनवाद र समाजवादको अन्तरसम्बन्ध थियो । माओले सत्ता प्राप्त भएको पाँच वर्षपछि नै वैज्ञानिक समाजवादतिर अगाडि बढाउनुपर्ने विचार राख्नुभयो तर पार्टीभित्रबाटै चीनलाई पहिले औद्योगिकीकरण गर्नुपर्ने, उत्पादक शक्तिको विकास गर्नुपर्ने भन्दै नयाँ जनवादमै बस्नुपर्ने विचार आयो । यसको नेतृत्व ल्यु साओ चीहरूले गरिरहेका थिए । माओले त्यसलाई पुँजीवादतिरै रमाउन खोज्ने विचार ठान्नुभयो । उनीहरूको विचारमा रहँदा चीनमा पुँजीवादी विचार र पुँजीवाद फर्किन सक्ने खतरातिर सङ्केत गर्नुभयो । अन्ततः पार्टीले माओको विचारलाई पकड्दै चीनलाई समाजवादमा प्रवेश गराउने निर्णय लियो । कैयौँ नेताहरू यो सङ्घर्षमा पछि छोडिए । सायद माओले देखिसक्नुभएको थियो– पुँजीवादको विकास गरेर मात्र समाजवादमा जान सकिन्छ भन्ने यान्त्रिकतावादी सोचाइमा पुँजीवाद फर्किन सक्छ, उत्पादन सम्बन्धलाई पुँजीवादबाट समाजवादतिर सङ्क्रमण नगराउने हो भने चीन र चिनियाँ जनता पुँजीवादकै नियन्त्रणमा पुग्न सक्छन् । वैज्ञानिक समाजवादबाट मात्र पुँजीवादलाई परास्त गर्न सकिन्छ । माओको सही विचारकै कारण चीन महान् समाजवादी देशमा प्रवेश गर्न सक्यो ।

४) संशोधनवादविरुद्धको क्रान्ति

माओले भन्दाभन्दै लेनिनको देश एवम् समाजवादी सत्तामा खु्रस्चोभी संशोधनवादले कब्जा जमायो । उसले महान् स्टालिनमाथि हमला गर्दै मजदुरवर्गको विद्रोहद्वारा सत्ता प्राप्त गर्न नसकिने विचार ल्यायो । ख्रुस्चोभले अहंकारी तरिकाले संशोधनवादको वकालत ग¥यो । उसले सोचेको थियो– पहिलो समाजवादी एवम् लेनिन—स्टालिनको देशको कम्युनिस्टले बोलेपछि कसले विरोध गर्न सक्छ र ? हुन पनि अधिकांश देशका कम्युनिस्ट पार्टीहरूले उसैलाई समर्थन गरे तर माओले माक्र्सवादको आत्मा ‘झूट एवम् गलतका विरुद्ध विद्रोह’ गर्ने विचारलाई पकड्दै खु्रस्चोभी संशोधनवादका विरुद्ध विद्रोह गर्नुभयो । एक हदसम्म विश्व कम्युनिस्ट आन्दोलनमा सर्वेसर्वा हुन थालिसकेको संशोधनवादका विरुद्ध माक्र्सवादी झन्डा फहराउनुभयो र विश्वभरिका क्रान्तिकारी कम्युनिस्टहरूलाई गोलबन्द गर्न सफल हुनुभयो । खु्रस्चोभले माओलाई प्रलोभन र दबाब दुवै दिन खोज्यो । जबाफमा माओले खु्रस्चोभ नै विश्व कम्युनिस्ट आन्दोलनको फुटपरस्त र धोकेबाज रहेको स्पष्ट पार्दै ‘खु्रस्चोभ एक दिन सत्ताबाट गलहत्याइने छ’ भन्ने विचार राख्नुभयो । रुस र चीनको सङ्घर्ष महान् बहसमा पुग्यो । अन्ततः माओ नै सही साबित हुनुभयो ।

५) समाजवादभित्र समाजवादी क्रान्ति

समाजवाद आएपछि पुँजीवादतिर जाँदैन, समाजवादबाट समाज साम्यवादतिर नै जानेछ भन्ने सामान्य नियम सोभियत सङ्घमा असफल भएको थियो । समाजवादभित्र पुँजीवाद पैदा हुने समस्या रुसको मात्र थिएन, बरु हरेक समाजवादी सत्ताभित्र देखिने चुनौती थियो । पूर्वी युरोप र चीनमा पनि त्यस्ता समस्याहरू देखिँदै थिए । समाजवादमा चुनौती देखिएपछि माओले समाजवादभित्र देखापर्ने पुँजीवादका विरुद्ध लड्न निरन्तर क्रान्तिको सिद्धान्त विकास गर्नुभयो । समाजवादलाई मार्ने र पुँजीवाद भित्र्याउने राजनीति, आर्थिक, संस्कृति रोक्न सकेनौँ भने समाजवादभित्रैबाट पुँजीवाद फर्किन सक्छ भन्ने विषयलाई स्पष्ट गर्दै कम्युनिस्टकै अनुहारमा छिपेर आउने पुँजीवादका विरुद्ध लड्न सांस्कृतिक क्रान्तिको विचार दिनुभयो । यसलाई अर्को शब्दमा समाजवादभित्र पुँजीवादका विरुद्ध सञ्चालन गर्ने समाजवादी क्रान्तिको विचार भन्न सकिन्छ । यो समाजवादी सिद्धान्त र राजनीतिमा माओले गर्नुभएको युगान्तकारी योगदान हो ।

६) माओको प्रेरणा र एकीकृत जनक्रान्ति

हामीले नेपाली क्रान्तिको कार्यदिशालाई एकीकृत जनक्रान्ति भनेर संश्लेषण गर्दा सबैभन्दा धेरै उत्प्रेणा माओबाट नै लिएका हौँ । जसरी माओले अनेकौँ असफलताका कारण पत्ता लगाउँदै क्रान्तिलाई यान्त्रिकताबाट मुक्त गर्न सक्नुभयो र विजय हासिल गर्नुभयो, त्यसले हामीलाई पराजयबाट उठ्न, क्रान्ति सङ्गठित गर्न र असफलताहरूबाट सिक्न प्रेरित गर्यो ।

जनयुद्धको नेतृत्वमा रहेका प्रचण्ड—बाबुराम—बादलहरूले क्रान्ति असम्भव रहेको तर्क गर्दै दलाल पुँजीवादी सत्तासामु आत्मसमर्पण गर्न पुगे । उनीहरूका तर्क र प्रचारले धेरै मान्छेहरूलाई भ्रमित पनि पार्यो । हामीले उनीहरूका तर्क र विश्लेषणहरूलाई हेर्यौँ तर के पत्ता लगायौँ भने उनीहरूले नेपालमा क्रान्ति असम्भव छ भनेर गरेको तर्क गलत छ, बरु यहाँको राज्य र जनताका बीचमा निकै तीखा र चर्का अन्तर्विरोध र सङ्घर्षहरू छन् । अन्तर्विरोध र सङ्घर्षहरूले क्रान्तिको आवश्यकता देखाउँछन् । उनीहरूले नबुझेको वा देख्न नसकेको आफूभित्र पैदा भएका आत्मसमर्पणवादी, विसर्जनवादी र आत्मसुरक्षावादी समस्याहरू हुन् । त्यसपछि हामीले प्रचण्डहरूका विरुद्ध विद्रोह गर्यौँ ।

हामीले क्रान्ति सम्पन्न गर्ने सोचिरहँदा यो पनि पत्ता लगायौँ– नेपालमा क्रान्ति आवश्यक र सम्भव छ तर रुसी जनविद्रोह वा चिनियाँ जनयुद्धको तरिकाद्वारा मात्र सम्भव छैन । हामीले आजको विश्व र नेपाली अर्थ–राजनीतिक विशेषताअनुरूपको कार्यदिशा विकास गर्न पनि जरुरी छ । जनताको स्रोतलाई प्रयोग गरेमा यो चीज पूरा गर्न सकिन्छ । हाम्रो एकीकृत जनक्रान्तिको संश्लेषण यसैको परिणाम हो ।

हामीले निकै अध्ययन गरेपछि मात्र क्रान्तिको कार्यदिशालाई एकीकृत जनक्रान्ति भन्यौँ । यही कार्यदिशाअनुरूपका नीति र योजनाहरू विकास गर्दै अगाडि बढेका छौँ । यसका आधारहरू पनि संश्लेषित गरेका छौँ । प्रयोग अगाडि बढेपछि राम्रा सफलताहरू पनि प्राप्त भइरहेका छन् । माओवादी पार्टीको खरानीबाट जनताले आशा–भरोसा गर्ने क्रान्तिकारी पार्टी र क्रान्तिको निर्माण गर्न सकेका छौँ । हाम्रो पार्टी र क्रान्तिबाट सत्तासीन दलाल पुँजीपति वर्ग, सामाजिक दलाल पुँजीवादी सरकार, जनताका वैरीहरू भयभीत, आतङ्कित हुँदै गएका छन् भने मजदुर, किसान, युवा, दलित र उत्पीडित समुदायहरू उत्साहित, आशावादी र विश्वस्त हुँदै गएका छन् । सामाजिक दलाल पुँजीवादी केपी सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध लादेर दमन गरिरहेको छ भने श्रमिक जनता, देशभक्त र वामपन्थी शक्तिहरूले माया र संरक्षण गरिरहेका छन् । सत्तासँगको लडाइँमा हाम्रा कमरेड कुमार पौडेल, नीरकुमार राई, महानसहित एक दर्जन कमरेडहरूको सहादत भएको छ भने सचिवालय सदस्य कमरेड सुदर्शन, कमरेड वीरजङ्ग, रणवीर, माइला, प्रज्वलन, हितमान, बन्धुसहित सयौँजना कमरेडहरू जेल—हिरासतमा हुनुहुन्छ । पार्टीका नेता–कार्यकर्ता, जनसेना, जवस, मोर्चाका नेता–कार्यकर्ताहरूले असीमित दुःख–कष्ट झेलिरहनुभएको छ । तर कतै पनि निराशा र अविश्वास छैन । क्रान्ति, मुक्ति, परिवर्तन र वैज्ञानिक समाजवाद— साम्यवादप्रति अगाध विश्वास पुनः जागृत भएको छ । यी सारा सकारात्मक उपलब्धिहरूको पछाडि हाम्रो एकीकृत जनक्रान्तिको कार्यदिशाको हात छ ।

सङ्क्षेपमा उल्लेख गर्दा हामी माक्र्सवादी—लेनिनवादी—माओवादीहरू महान् मानवसभ्यता वैज्ञानिक समाजवाद— साम्यवादका लागि लडिरहेका छौँ । नेपालमा हाम्रो लडाइँ एकीकृत जनक्रान्तिमा मुखारित भइरहेको छ । यो हामीले नेपाली विशेषतामा संश्लेषित गरेको क्रान्तिको कार्यदिशा हो । यो कार्यदिशा विकासमा कमरेड माओको उत्प्रेरणा र विचार मुख्य छ । हामीले माओका राजनीतिक, आर्थिक, सांस्कृतिक, दार्शनिक विचारहरूलाई जति स्पष्टसँग बुझ्न सक्छौँ त्यतिकै एकीकृत जनक्रान्तिको महत्वलाई बोध गर्न, दलाल पुँजीवादी सत्तालाई पछार्न र कम्युनिस्टका नाममा पुँजीवादको सेवा गर्ने सामाजिक दलालहरूलाई परास्त गर्न सफल हुनेछौँ । त्यसैले हाम्रा नेता र कार्यकर्ताले माओलाई चौतर्फी पाटोमा अध्ययन गर्न, पकड्न र लागू गर्न जोड दिनुपर्छ । माओले एक सन्दर्भमा पार्टीपङ्क्तिलाई भन्नुभएको छ, ‘हामीले माक्र्सवाद—लेनिनवादको विज्ञानमा विश्वास गरुन्जेल, जनसमूहमाथि विश्वास गरुन्जेल र तिनको नेतृत्व गरुन्जेल हामी कुनै पनि विघ्नबाधालाई पन्छाउन र कुनै पनि कठिनाइमाथि विजय प्राप्त गर्न समर्थ हुनेछौँ र हाम्रो शक्ति अजेय हुनेछ ।

(माओ भाग ४, वर्तमान परिस्थिति र हाम्रा अभिभाराहरू, २५ डिसेम्बर, १९४७, पेज १८९)

कमरेड माओको स्मरण गरिरहँदा हामीले माओको यही भनाइलाई आत्मसाथ गरौँ र त्यसमा थपौँ– हामीले माक्र्सवाद—लेनिनवाद—माओवाद, विशेषतः माओको सिर्जनात्मक उत्प्रेरणाबाट क्रान्तिकारी शिक्षा लिएर जनताको सेवा र मायामा रहँदासम्म हामीलाई न कसैले हराउन सक्नेछ, न त हाम्रो सफलतालाई नै रोक्न सक्नेछ ।

१८ मङ्सिर, २०७६