महान् सहिदहरूको बलिदान र शोकलाई शक्तिमा बदल्ने प्रतिबद्धता

- अमृत सागर

निरङ्कुश सामाजिक फासिवादी केपी–पीके सरकारले कम्युनिस्ट पार्टीमाथि बर्बरतापूर्वक मच्चाएको हत्या, आतङ्क, दमन र गिरफ्तारीका विरुद्ध, राष्ट्रियता र जनअधिकारका लागि लडेको जनताको असल कम्युनिस्ट पार्टी, विचारमा प्रतिबद्ध र कर्तव्यनिष्ठ त्यसका नेता–कार्यकर्ता, क्रान्ति र वर्गसङ्घर्षप्रति इमानदार जनताले दृढताका साथ प्रतिरोध गर्नु आफ्नो दायित्व ठान्छन् र आफ्नो कर्तव्य पूरा गर्छन् । त्यही दायित्वलाई पूरा गर्ने क्रममा पार्टी काममा रहेका कमरेड तीर्थ घिमिरेलाई भोजपुरमा हत्यारा, बलात्कारी, पुलिस प्रशासनबाट कायरतापूर्ण तरिकाले हत्या गरियो । त्यही हत्या र आतङ्कको प्रतिरोध गर्ने क्रममा प्यारो भान्जा रामकुमार श्रेष्ठसहित जिम्मेवार कमरेडहरू महान्, दीपेन्द्र, प्रज्वल र निरन्तर सहिद हुनुभयो ।

यतिमा वली सरकारलाई रगतको तिर्खा मेटिएन । महिना दिन नबित्दै सर्लाही पार्टी इन्चार्ज कमरेड कुमार पौडेललाई भिडन्तको झूटो बहानाबाजी गर्दै पक्राउपछि एकान्तमा लगेर अमानवीय तरिकाले यातना दिई पहिला हातखुट्टा भाँचेर शरीर छियाछिया बनाई अन्तिममा टाउकोमा गोली हानी आततायी तरिकाले हत्या गरियो । यी बर्बर घटना हेर्दा केपी–पीके दलाल सरकार र त्यस मातहतको वादल प्रशासनसँग राजनीतिक मूल्य, मान्यता र मानवीयता एकरत्ति पनि छैन, बरु छ त अमानवीयता, राक्षसी स्वभाव अनि खुनी रक्तपिपासु चेहरा ।

पछिल्लोपटक वली–वादल प्रशासनले नियोजित रूपमा गरेको गैरन्यायिक हत्या, वली र प्रचण्डहरूको फासिवादका कारण हाम्रो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललगायत जवस विद्यार्थी र जनमुक्ति सेनाका जिम्मेवार कमरेडहरूको उच्च बलिदान भएको छ । कमरेडहरूले हामीलाई सदाका लागि भौतिक रूपमा छाडेर जानुभएको छ । परिवारजन, पार्टीपङ्क्ति, मुक्ति र परिवर्तनका पक्षधर आम जनसमुदाय सबै भावविह्वल भएका छौँ । उहाँहरूको उच्च बलिदानमा सिङ्गो पार्टी नै स्तब्ध भएको छ । हामी जोकोहीको मन र मस्तिष्क बेचैन भएको छ । अबउप्रान्त क्रान्ति र सङ्घर्षको यात्रामा प्रतिबद्ध भएर जीवनमरणको लडाइँमा सामेल हुन राजनीतिक र नैतिक दुवै कोणबाट उत्तिकै दबाब सिर्जना भएको छ । आँसु र रगतको भेलमा उभिएर शोकाकुल परिस्थितिमा यो प्रतिबद्धता गर्नु छ– सहिदहरूको रगत खेर जान दिइनेछैन । रगतले लतपतिएका फासिवादी जल्लादहरू वली– वादलसँग ज्यानको बदला ज्यान र खुनको बदला खुन लिइनेछ ।

हामीलाई थाहा थियो वैरीहरूले हत्याको तयारी पहिल्यै गरेका थिए । सुकेधारा घटनापछि कामकै सिलसिलामा आफ्नै पार्टीका एकजना नेतासँग भेट भएको थियो । हामी कुराकानी गर्दै थियौँ । उहाँलाई अचानक कृष्णबहादुर महाराको फोन आयो । महराले उहाँको परिवारमार्फत सम्पर्क मिलाउनुभएको रहेछ । उताबाट मलिन तर निक्कै आत्तिएर ‘म महरा बोलेँ, सभामुख’ भन्नुभयो । अनि सामान्य सन्चोबिसन्चोको कुरै नगरी ‘तपाईंहरूका लागि निकै खतरा बढ्यो । माथिका नेताहरूसँग सम्पर्क गराइदिनुप¥यो । फोनमा कुरा नगरौँ, भेटेर कुरा गरौँ’ भन्नुभयो । अनि हाम्रो कमरेडले माथिको अनुमतिबिना म तपाईंलाई भेट्न सक्दिनँ भन्ने जबाफ फर्काउनुभयो । त्यसपछि तत्कालै महराले उहाँको परिवारमार्फत खबर पठाउनुभयो– कि पार्टी छाड्नू कि विदेश जानू ।

त्यसपछि हामीलाई निकै खुलदुली भयो– सरकारी संयन्त्रले हाम्रो पार्टीविरुद्ध केही अप्रिय निर्णय गरेको छ । हामी त्यहाँबाट छुट्टिएर आआफ्नो काममा लाग्यौँ । त्यसको भोलिपल्ट मैले आफ्नै कामले एकजना साथीमार्फत दुई नम्बर प्रदेशअन्तर्गत एउटा नगरपालिकाको मेयरसँग भेटघाट गरेँ । उहाँसँग भेट्ने जानकारी मैले पहिले दिएको थिइनँ तर सम्बन्ध घनिष्ठ नै थियो । मलाई अचानक अगाडि देखेपछि मेयरले छुट्टै कोठामा हात समाएर लैजानुभयो र भन्नुभयो– तपाईंको के छ खबर ? कुमारलाई साह्रै अप्ठ्यारो छ । प्रहरीले जहाँ भेट्यो त्यहीँ मार्छ । मैले यता नबस भनेको मानेन ।

हामीले एकछिन गफ गर्यौँ । छुट्ने बेलामा पनि उहाँले अप्ठ्यारो छ, ख्याल गर्नुहोला भन्नुभयो । हामी हात मिलाएर छुट्यौँ । यो भेटले कमरेड कुमार राज्यका रक्तपिपासु खुनी पन्जाभित्र पर्ने त्रासले मलाई सताउन थाल्यो ।

त्यसपछि मैले महरा र मेयर (जसको परिचय खुलाउनु ठीक नहोला) बाट आएको साङ्केतिक सूचनालाई पुष्टि गर्न आफ्नै संयन्त्रमार्फत गृह मन्त्रालयका एकजना उच्चपदस्थ अधिकारीसँग बुझ्न खोजेँ । उहाँले पहिल्यै केही समस्या प¥यो भने सम्पर्क गर्नुहोला, सहयोग गरौँला भन्नुभएको थियो । उहाँसँग कुरा भएपछि हाम्रो पार्टीले अगाडि बढाएको क्रान्तिको यात्रामाथि ठूलै बज्रपात हुने कुरामा कुनै शङ्का रहेन । ब्युरो स्तरका केही नेताहरूको कुरा भएको थियो । उहाँहरूलाई अप्ठ्यारो छ भन्ने जानकारी गराउनुभयो जसमा कमरेड कुमार पौडेलको पनि कुरा भएको थियो । त्यसको एक साता नबित्दै अप्रत्याशित रूपमा कमरेड कुमार पौडेलको हत्या भएको खबर आयो । कमरेड कुमारले मलाई भान्जा भन्नुहुन्थ्यो । म मामा भनेर सम्बोधन गर्थें । मैले मामाको हत्या भएको छैन होला, झूटो समाचार भनेर पत्याउन सकिनँ । साथी हो भन्नुहुन्छ । म अझै पत्याउन सक्तिनँ । मैले आफैँले सङ्गठित गरेको र मेरै सहयोगमा राजनीतिक विचारमा प्रतिबद्ध भै बलिदान दिन तयार हुनुभएको भान्जा रामकुमार श्रेष्ठको केही दिनअगाडिको बलिदानले मेरो मन ठीक ठाउँमा नआउँदै कमरेड कुमारको हत्या हुँदा म मानसिक रूपमा पूरै विक्षिप्त भएको रहेछु । भोलिपल्ट बिहान मात्र म मानसिक रूपमा ठीक भएँ । मलाई थाहा भयो– महरा, मेयर र गृह मन्त्रालयबाट प्राप्त सूचना सत्य साबित भयो । यसैका आधारमा भन्न सकिन्छ– कमरेड कुमार पौडेल मात्र होइन, फासिवादी वली–वादल सत्ताले हाम्रो पार्टीका ब्युरो स्तरका नेताहरूको हत्याको प्रयास गर्नेछन् । पार्टीको जङ्गे पिल्लरका रूपमा रहेका युवाहरूको हत्या गरेर क्रान्तिकारी पार्टीलाई कमजोर बनाई उनीहरूले आफ्नो तुच्छ राजनीतिक स्वार्थ पूरा गर्ने कोसिस गर्नेछन् ।

घटना हुनुको मुख्य कारण के हो ? फेरि किन यस्तो हुँदैछ ? नेपाली जनता र राष्ट्रको आवश्यकता हो कि अन्य केही छ ? प्रश्नहरू चारैतिर उठेका छन् । सत्यतथ्यसहित सहिद परिवार र आम नागरिकसम्म यो प्रश्नको जबाफ पु¥याउनुपर्ने छ । इमानदारीको सीमामा रहेर हिजो माओवादी आन्दोलनमा रहेका नेता–कार्यकर्ताले सत्य बोलिदिने हो भने हामीले जनतालाई बुझाउन धेरै समय लाग्दैन । उहाँहरूको बेइमानी र झूटलाई पनि खण्डन गर्दै जाँदा केही समय लाग्ला । हामीलाई विश्वास छ सत्य कुरा जनतालाई एक दिन बुझाइछाड्ने छौँ ।

एकदलीय निरङ्कुश जहानिया राणाशासनपछि २००७ सालमा प्रजातन्त्र स्थापना भयो । सामन्ती निरङ्कुश राजसंस्थासहितको दलाल संसदीय प्रजातान्त्रिक व्यवस्थाले श्रमिक जनताको अधिकार कटौती गर्दै मुठीभर सम्भ्रान्त वर्गको पक्षपोषण गर्न थाल्यो । त्यो व्यवस्थापछि फेरि जनताले निरङ्कुश पञ्चायती शासन खेप्नुप¥यो । शासक वर्गको त्यो जनविरोधी हर्कतका विरुद्ध तत्कालीन अवस्था र विभिन्न कालखण्डमा जनताले प्रतिरोध गर्दै आए । पछिल्लो ०४६ को जनआन्दोलनमार्फत प्रजातन्त्र आयो तर त्यो प्रजातन्त्र अघिल्लोपटकका निरङ् कुश व्यवस्थाभन्दा केही भिन्न थिएन । व्यवस्था फेरियो, व्यक्ति फेरिएन । व्यक्ति फेरियो, प्रवृत्ति फेरिएन । शासक वर्गको चरित्र नफेरिएपछि जनतको प्रतिरोध पनि फेरिने कुरै थिएन ।

शासक वर्गवाट अधिकार हरण भएका श्रमिक जनताको प्रतिनिधित्व गर्दै विगतमा भएका प्रतिरोध आन्दोलनको समीक्षा गर्दै जुन स्तरको सङ्घर्षमार्फत निरङ्कुश राज्यव्यवस्थालाई बदल्न सकिन्थ्यो त्यही स्तरको सङ्घर्ष माओवादी पार्टीले ग¥यो जुन सङ्घर्षले नहल्लिएको कुनै साम्राज्य थिएन । जसले सामन्ती निरङ्कुशताको सेवा गरेर जनतामा लुट मच्चाउने गरेका थिए तिनै कायर एमाले र काङ्ग्रेसहरू माओवादीसँग घुँडा टेक्न पुगेका थिए । जनयुद्धको अन्तिम कालखण्डमा राजाले सेना लगाएर सहरबाट लखेटेपछि माओवादीसँग गएर जीवनरक्षाका लागि आग्रह गरेका थिए । अझ भन्ने हो भने माओवादीसँग आत्मसमर्पण गरेका थिए ।

तिनै कायर, आत्मसमर्पणवादीहरूसँगको सहकार्यमा लोकतान्त्रिक व्यवस्था स्थापना भयो तर रोग पुरानै, प्रवृत्ति पुरानै । जनताको जीवन फेर्न, राष्ट्रको काँचुली फेर्न, हजारौँको बलिदानमार्फत जनताको मन जितेर लडेको माओवादी जब सहर पस्यो सहरमा मोर्चा कस्नुपर्ने थियो । जहाँ मानवताविरोधी कुकार्य हुन्छन् त्यहाँ विस्फोट हुनुपर्ने थियो अनि दिनुपर्ने थियो न्याय र समानता । तर त्यसको ठीक विपरीत माओवादी जहाँ टेक्छ त्यहीँ फस्न थाल्यो । जहाँ छिर्न थाल्यो त्यहीँ गिर्न थाल्यो । नेतृत्व तहमा कतिसम्म भयो भने हिजो जनताका बीचमा बुनेका साझा सपनालाई रद्दीको टोकरीमा मिल्काएर, सहिद परिवार, बेपत्ता योद्धा, घाइते, अपाङ्गसमेतलाई धोका दिई जनमुक्ति सेना, पार्टीका इमानदार नेता र कार्यकर्तालाई लात हानेर, जसरी केपी वली, माधव नेपाल, गिरिजा कोइराला र कृष्ण सिटौलाहरूको नेतृत्वमा माओवादीसँग आत्मसमर्पण गरेका थिए । त्यसरी नै प्रचण्ड–बाबुरामहरूबाट (भलै बादल गुट पनि त्यहीँ पुग्यो दलाल संसदीय व्यवस्थामा दुई हात उठाएर पैँचो तिर्न पुगे ।

इतिहासमा मजाकका लागि माओवादी भएर जनताले बलिदान दिएको होइन । बलिदानको अर्थ प्रचण्ड–बाबुरामलाई सत्ताको मालिक बनाउनु पनि होइन । माओवादीलाई बदनाम गराएर विघटन गरी माओवादीका विरुद्ध सङ्कटकाल घोषणा गर्दै जनताको छातीमा बन्दुक दाग्ने केपी वलीहरूलाई फेरि क्रान्ति र वर्गसङ्घर्षमाथि धावा बोल्ने शासकका रूपमा स्वीकार गर्न त झन् किमार्थ हुँदै होइन ।

त्यसकारण श्रमिक जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी, यसले अगाडि सारेका प्रस्तावहरू, जनताका बीचमा गरेका प्रतिबद्धतालाई पूरा गर्ने अठोटसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकसित घटनाक्रमको समीक्षा गर्दै नयाँ सिराबाट आन्दोलनलाई उठाउँदै सहिदहरूको रगतले लेखिएको इतिहासले दिएको जिम्मेवारी पूरा गर्ने गरी कमरेड विप्लवको नेतृत्वमा हजारौँ जनताको सहभागितामा नेपाल कम्युनिस्ट पार्टी सङ्घर्षको आँधी र तुफानसँगै अगाडि बढ्दैछ जुन तुफानले भ्रष्ट, राष्ट्रघाति, जनहत्याराहरूको जरो उखेल्नेछ । श्रमिक जनता, युवा, विद्यार्थी, महिलालगायत उत्पीडित वर्गको मुक्तिका लागि मानवसभ्यताकै सबैभन्दा सुन्दर व्यवस्था वैज्ञानिक समाजवाद स्थापना हुनेछ । विश्व सर्वहारा वर्गको अग्रदस्ता पार्टी यही हो । यही पार्टीले अगाडि सारेको कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ को छातामुनि सङ्गठित भएर जीवनमरणको लडाइँमा सामेल भएका योद्धाहरूको उच्च बलिदान भएको छ । यो पार्टीको नेतृत्वमा भएको सङ्घर्ष, यो सङ्घर्षमा भएको बलिदान र यो बलिदानमार्फत स्थापित भएको राज्यव्यवस्था इतिहासकै सर्वश्रेष्ठ हुनेछ । दशकौँदेखि विदेशी साम्राज्यवादको चाकरीमा देश लुटेर निजी सम्पत्तिको भकारी बाँधी डङ्डङ्ती गनाएका संसदीय दलालहरू सदासदाका लागि खरानी हुनेछन् ।

हामीलाई थाहा छ– क्रान्तिले बलिदान माग्छ । सपूतहरू भएर जानैपर्छ । यो क्रान्तिको नियम हो । तर आत्मीयता र सामीप्यमा जोडिएर रहेका कमरेडहरूको क्रूरतापूर्वक गरिएको हत्या र बलिदानले मन भारी मात्र नभएर पहाडले थिचेजस्तो भएको छ । हाम्रो पार्टीका नेता र कार्यकर्ताको हत्यामा उत्सव मनाइरहेका जल्लाद केपी–बादल र तिनीहरूका सेवक पुलिसहरूलाई यतिचाहिँ ठोकेर भन्न सकिन्छ– अजम्मरी जुनी कसैले लिएर आएको हुँदैन । तिम्रो मृत्यु पनि त्योभन्दा निर्दयी तवरले हुनेछ तर त्यो बेला पनि हाम्रो यसरी नै मन भारी हुनेछ किनकि हामी माक्र्सवादीहरू हौँ । कुनै पनि शोकमा संवेदना गुमाउने छैनौँ जसरी अहिले तिमीहरूले गुमाइरहेका छौ । तसर्थ स्पातिलो भएर सङ्घर्षमा होमिनेछौँ । सहिद परिवारसँगसँगै पार्टी हुनेछ र हामी हुनेछौँ । तपाईंका सन्तानको एक थोपा रगत खेर जानेछैन । ‘मृत्यु कि त मुक्ति’ यही कसम खाँदै तपाईं अमर र महान् सहिदले देखाएको बाटोबाट एकरत्ति पनि विचलित हुनेछैनौँ । हार्दिक श्रद्धाञ्जली !

२०७६ असार २२ गते आइतबार प्रकाशित