महान् जनयुद्धको पहिलो सफल लडाइँ र दुस्मनको कब्जाका दिनहरू

सन्दर्भ : २४ औँ बेथान वीरता दिवस

- अशोक सुवेदी

प्रारम्भ

यो महिना विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता एवम् विचारकहरू कमरेड जोसेफ स्टालिन र कमरेड माओ त्सेतुङको जन्मदिवसको महिना हो । संसारभरका माक्र्सवादी लेनिनवादी र माओवादीहरूले महान् स्टालिन र माओका योगदानहरू स्मरण गर्दै त्यसलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । मालेमावादीहरूले विश्वभर नै कमरेड माओको एक सय २७ औँ र कमरेड स्टालिनको एक सय ४२ औँ जन्मदिवस भव्यतापूर्वक मनाएका छन् । नेपालमा नेपाल कम्युनिस्ट पार्टीले पनि देशैभर यी दिवसहरू मनाएको छ । ठीक यसैगरी महान् दार्श्निक कार्ल माक्र्सको दुई सयौँ जन्मशताब्दी संसारभर मनाइसकिएको छ र नेपालमा पनि मनाइएको छ ।

नेपालको कम्युनिस्ट आन्दोलनमा पनि यो महिना केही महत्वपूर्ण राजनीतिक घटनाक्रमका कारण चर्चित र महत्वपूर्ण छ । २०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्धको पहिलो सफल फौजी लडाइँ भएको महिना २०५३ सालको पुस हो । २०५३ साल पुस १९ गते रामेछापको बेथान पानीघाट प्रहरीचौकीमा माओवादी जनसेनाका योद्धाहरूले त्याग, शौर्य र वीरता प्रदर्शन गर्दै हमला गरेका थिए र फौजी कमान्डर तीर्थ गौतमका साथै रामेछापकी सांस्कृतिक तथा विद्यार्थी योद्धा दिलमाया बम्जन र फत्त स्मालीमगरले बलिदानको बाटो रोज्नुभएको थियो । तीनजनाको बलिदानपछि सफल भएको बेथान पानीघाटको फौजी कारबाहीपछि प्राप्त हतियार नै माओवादी जनयुद्धका लागि अत्यावश्यक भौतिक–प्राविधिक शक्ति थिए । तिनै हतियार बोकेर हिँडेको माओवादीले त्यसपछि धमाधम लडाइँ र युद्धहरू जित्दै गयो र बीसौँ हजार जनमुक्ति सेनालाई हातहतियारले सुसज्जित बनाउन सफल भयो ।

निरङ्कुश राणा शासनको चकचकी चलिरहेकै समयमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना कमरेड पुष्पलालको पहलमा २००६ साल वैशाख १० गते (१९४९, अप्रिल २२ मा भएको थियो । पुष्पलालले नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य र नरबहादुर कर्माचार्यको साथ लिएर भारतको कलकत्तामा नेकपाको स्थापना गर्नुभएको थियो । नेकपाको स्थापनाका कारकहरूमध्ये राणाशासनको अत्याचार, दमन र शोषणका साथै संसारभर अघि बढिरहेको मुक्तियुद्धको लहर प्रमुख रहेको पाइन्छ । राणाशासनका विरुद्ध कृष्णलाल अधिकारीको मकैको खेती पुस्तकले निम्त्याएको मकैपर्व अर्थात् कृष्णलाल अधिकारीको हत्या, लक्ष्मीप्रसाद देवकोटा र धरणीधर कोइरालाहरूले सञ्चालन गरेको जागरण कविता र लाइब्रेरी पर्व, राणाशासकहरूको दमन, राणा शासनका विरुद्ध क्रियाशील गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको विसं १९९० को दशकको उत्तराद्र्धमा गरिएको हत्या, उक्त हत्याकाण्डविरुद्ध जनतामा पलाएको आक्रोश र प्रतिरोधी चेतना, काङ्ग्रेसबाट पुष्पलालको विद्रोह नेकपा स्थापनाका पूर्वाधारहरू हुन् ।

यस सन्दर्भमा सिर्जना र साहित्यका माध्यमबाट कृष्णलाल अधिकारी, धरणीधर कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमालका क्रान्तिकारी चेतनाले ओतप्रोत काव्य सिर्जना र त्यसले समाजमा पारेको सकारात्मक प्रभाव पनि कम्युनिस्ट पार्टी स्थापनाका आन्तरिक ऊर्जा र प्रेरणाका स्रोतहरू हुन् । संसारमै चरिरहेको मालक्र्सवाद लेनिनवादको प्रयोगको असर र भारतमा सञ्चालित कम्युनिस्ट आन्दोलन वा गतिविधिको प्रभाव नेपालमा नपर्ने कुरै भएन । १९८० सालको दशकमा जेलभित्रैबाट कृष्णलालले लेखेका थिए :

संसारमा कीर्ति छ धेर ठूलो
कीर्तिबिना बन्दछ जीव लूलो
संसार छोडे पनि हेर क्वै दिन
आउनेछ एउटा जनतन्त्रको दिन ।

चन्द्रशमशेरको कठोर जेल र हिरासतभित्रैबाट कृष्णलाल अधिकारीले १९८० सालमा एक दिन जनतन्त्र आएरै छाड्ने उद्घोष गरेका थिए । यो उद्घोष राणा शासकहरूका लागि महँगो साबित भयो भने क्रान्तिकारीहरूका लागि ऊर्जा बन्यो । फलस्वरूप २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो ।

नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलाल हुनुभयो तर दुई वर्ष पुग्दानपुग्दै २००८ सालमा कमरेड पुष्पलाललाई महासचिवबाट अघोषित रूपमा अपदस्थ गरियो । अर्थात् पुष्पलाललाई नेतृत्वबाट षड्यन्त्रपूर्वक हटाएर मनमोहन अधिकारीलाई स्थापित गरियो ।

नेकपाको पहिलो महाधिवेशन २०१० सालमा अर्धभूमिगत रूपमा काठमाडौँ उपत्यकामा सम्पन्न भएको थियो । पुष्पलाललाई हटाएर मनमोहनलाई महामन्त्री चुन्ने महाधिवेशन बन्यो यो । २००८ सालमा पार्टीमा आएको सुधारवाद र यसपछिको २०१२ सालमा मनमोहनद्वारा राजामा बिन्तीपत्र चढाएर पार्टीलाई खुला गरिएको घटना स्मरण र तिरस्कारयोग्य छ । यसै घटनाका कारण मनमोहनलाई नेकपाको इतिहासमा दलाली र गद्दारीका आरम्भकर्ताका रूपमा लिइन्छ । यी नेपालको कम्युनिस्ट आन्दोलनकै लागि काला दिनहरू हुन् ।

नेकपाको दोस्रो महाधिवेशन २०१४ सालमा काठमाडौँ उपत्यकाभित्रै भयो । यो करिब खुलाखुला रूपमा भएको थियो तर पूर्ण खुला घोषणा गरिएको भने थिएन । यो महाधिवेशनले डा. केशरजङ्ग रायमाझीलाई महासचिव चुन्यो । यही महाधिवेशनको नेतृत्वले पार्टीलाई संसद्वाद हुँदै दरबारसम्म धकेल्यो । पछि रायमाझी नेतृत्वले घोषित रूपमै कम्युनिस्ट आन्दोलनलाई राजावादी धारतिर मोड्न खोज्यो । रायमाझीले २०१७ सालको राजाको कदमलाई स्वीकार गरेपछि पार्टीमा लाइन सङ्घर्ष चर्कायो ।

२०१९ सालमा नेकपाको तेस्रो महाधिवेशन भूमिगत रूपमा भारतमा सम्पन्न भयो । यो महाधिवेशनले पार्टीको भित्री सङ्घर्षको समाधान गर्न सकेन । महाधिवेशनले एउटा लाइन पास गर्यो तर अल्पमतमा परेका तुलसीलाल अमात्य महासचिव चुनिए । यसपछिका घटनाक्रमहरू पार्टी टुटफुट र विभाजनबाट अघि बढे । यसले झापा विद्रोह जन्मायो । तेस्रो महाधिवेशनपछि पार्टी विभिन्न गुटउपगुटमा विभाजित भई कम्युनिस्ट पार्टी अनेक समूहमा टुक्रिन पुग्यो ।

२०३१ सालमा नेकपाको चौथो महाधिवेशन भूमिगत रूपमा भारतमै सम्पन्न भयो । यसले मोहनविक्रम सिंहलाई महामन्त्री चुन्यो । यसबीचमा मोहनविक्रम र निर्मल लामाको फुटको घटना मुख्य थियो । चुनावमा भाग लिने कि बहिष्कार गर्ने, कार्यदिशामा सहरी विद्रोह कि दीर्घकालीन सशस्त्र विद्रोह गर्ने भन्ने यसको प्रमुख कारण थियो । तर मोहनविक्रमले लामालाई पियक्कड र र लामाले मोहनविक्रम सिंहलाई स्त्रीलम्पटको आरोप–प्रत्यारोप पनि गरे । मुख्य नेतृत्वमा रहेकै समयमा मोहनविक्रम महिलाकाण्डकै कारण बारम्बार कारबाहीमा पनि परे । मोहनविक्रम सिंहले पुष्पलालका विचारसामु टिक्न नसकेर गद्दारसम्म भन्ने ठूलो गल्ती गरे । उनलाई यसबाट मुक्त हुन दुई दशकभन्दा बढी समय लाग्यो । जनयुद्ध लडिरहेको नेकपा (माओवादी) ले इमानदार कम्युनिस्ट नेता भनेर संश्लेषण गरेपछि मात्रै पुष्पलालमाथि मोहनविक्रम सिंहले लगाएको आरोप समाप्त भयो ।

२०३१ सालमा चौथो महाधिवेशन गरेको एउटा कम्युनिस्ट घटक मोहनविक्रम सिंहको नेतृत्वमा अगाडि बढ्यो । पाँचौँ महाधिवेशन २०४१ मा भारतमा भूमिगत रूपमै सम्पन्न भयो । यो महाधिवेशनले केही वैचारिक मुद्दा र राजनीतिक कार्यदिशालाई अमूर्त राखी विशेषतः सांस्कृतिक विषयको उत्थान गरेर मोहनविक्रम सिंहमाथिको कारबाहीलाई महाधिवेशनको मुख्य मुद्दा बनायो । पाँचौँ महाधिवेशनमा बहुमतको निर्णयले मोहनविक्रमलाई कारबाही गरी मोहन वैद्य ‘किरण’ लाई महामन्त्रीमा छान्यो । यो घटना नै तत्कालीन नेकपा (मशाल) मा पुनः फुटको कारण बन्न पुग्यो । मशाल र मसालमा पार्टी फेरि विभाजन भयो । बहुमत पक्ष नेकपा (मशाल) को नेतृत्व किरणले गरे । अल्पमत पक्ष नेकपा (मसाल) को नेतृत्व मोहनविक्रमले गरे । उनी अध्यापि आजीवनजस्तै गरी मसालको महासचिव नै छन् । त्यतिबेला महासचिवलाई महामन्त्री भनिन्थ्यो । अहिले पनि मोहनविक्रम आफूलाई महामन्त्री नै भनाइरहेका छन् ।

यसबीचमा सेक्टरकाण्डपछि महामन्त्री किरणले २०४५ को अन्त्यतिर प्रचण्डलाई नेतृत्व दिए । यसपछि २०४६ सालको जनआन्दोलन र यसले ल्याएको राजनीतिक परिवर्तनमा आन्दोलनको पहल, कम्युनिस्ट समूहहरूका बीच एकताको पहल भयो । एकताकेन्द्र निर्माण भयो । एकता महाधिवेशनको पहल भयो । २०४१ को पाँचौँ महाधिवेशनमा मोहनविक्रम सिंह सांस्कृतिक कारबाहीमा परेपछि किरण महामन्त्री चुनिएका थिए । मोहनविक्रम सिंहलाई पार्टीले अनैतिक यौनसम्बन्धका कारण पटकपटक कारबाही गरेको थियो । लामो समयसम्म मोहनविक्रमले लामालाई शङ्कास्पद भन्ने र लामाले मोहनविक्रमलाई सांस्कृतिक विचलन भएको व्यक्ति भन्ने जुहारीजस्तै चल्यो । आफूहरूलाई नेपालका माओ र चाओ भनाउँदै निरन्तर चर्चाको शिखरमा रहे पनि यी दुवैले क्रान्तिको नेतृत्व गरेनन् । क्रान्ति अर्थात् तत्कालीन जनयुद्धको नेतृत्व गर्न पार्टीका रूपमा नेकपा (माओवादी) र नेताका रूपमा प्रचण्ड, बाबुराम, मोहन वैद्यलगायत नेता आइपुगे । यद्यपि बाबुराम हाल कम्युनिस्ट आन्दोलनबाटै पलायन भइसकेका छन् भने प्रचण्ड संशोधनवादको रक्षाको मसिहा बनेर एमालेमा मुन्टो घुसारेर बसेका छन् ।

छैटौँ महाधिवेशन एकता महाधिवेशनका रूपमा २०४८ सालमा अर्धभूमिगत रूपमा चितवन माडीमा सम्पन्न भएको थियो । त्यो महाधिवेशनले राजनीतिक कार्यदिशाका रूपमा ‘दीर्घकालीन जनयुद्ध’ र सिद्धान्तका रूपमा ‘माक्र्सवाद–लेनिनवाद–माओवाद’ पारित गरेको थियो । यससँगै नाम पनि ‘एकताकेन्द्र’ बाट ‘माओवादी’ बनाइयो । प्रचण्डलाई महामन्त्री चुन्यो । यसले २०५२ साल फागुन १ गते जनयुद्धको थालनी गर्यो । नेपालमा जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद स्थापना गर्ने भनी आरम्भ गरिएको जनयुद्ध १० वर्षसम्म सञ्चालन भयो । तर नेतृत्वको पलायन, आत्मसमर्पण र संशोधनवादमा भएको पतनका कारण राजतन्त्रको अन्त्य मात्र भयो ।

प्रचण्डहरूको पलायनपछि विद्रोह गर्दै नेकपाको सातौँ महाधिवेशन किरणको नेतृत्वमा २०६९ सालमा काठमाडौँ कमलादीमा खुला रूपमा सम्पन्न भयो । किरण पनि अकर्मण्यता र गोलचक्करमा फसेपछि कमरेड विप्लवलाई महासचिव चयन गर्दै र एकीकृत जनक्रान्तिको कार्यदिशा पारित गर्दै रोल्पाको थबाङमा आठौँ महाधिवेशन सम्पन्न भयो । आज हामी यही कार्यदिशा कार्यान्वयन गरिरहेका छौँ ।

सन्दर्भ : बेथान हुँदै भट्टेडाँडा मोर्चा

घटना २०५५ साल पुसको तेस्रो साताको हो । घटना बुर्जुवाहरूको राजधानी काठमाडौँकै भए पनि यो राजधानी र नेपाल मात्र नभएर विश्वकै ध्यानाकर्षण गराउने किसिमको थियो । २२ वर्ष पुरानो घटना भएर पनि सञ्चार, मानवअधिकार र राजनीतिक क्षेत्रलाई पूरै प्रभावित पार्ने राजधानीको ‘भट्टेडाँडा काण्ड’ का नामले चिरपरिचित घटना थियो त्यो । नेपालको पूरै प्रेसमाथि राज्यपक्षले अत्यन्त ठूलो दमन गरेको त्यस घटनाबटै नेपाली प्रेसमाथि निरन्तर दमनको सिलसिला सुरु भएकाले त्यसलाई ‘कालो दिन’ का रूपमा पनि चित्रण गरिएको छ ।

०५२ साल फागुन १ गतेबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले नेपालमा दीर्घकालीन सशस्त्र जनयुद्ध सुरु गरेको चर्चा यसअघि नै भइसकेको छ । एक वर्षपछि २०५३ साल पुस १९ गते राति रामेछापको बेथान पानीघाट प्रहरीचौकीमा हमला गरी जनयुद्धको पहिलो सफल फौजीमोर्चा सम्पन्न भयो । तीर्थ गौतम, फत्त स्मालीमगर र दिलमाया बम्जनले बलिदान गरे । दुस्मनतर्फ पनि क्षति भयो तर मोर्चा जितेर हतियार कब्जा भयो । माओवादीले रामेछापको बेथानमा तीनजनाको बलिदानपछि प्राप्त हतियारका भरमा युद्ध अघि बढायो । त्यसैले विजयको उक्त मोर्चाको सम्मानमा पुस १९ लाई बेथान वीरता दिवसका रूपमा, जनयुद्धको एक नयाँ दिवस वा पर्वका रूपमा मान्न थालियो । देशभर वीरता दिवसका दिन नयाँनयाँ मोर्चा र लडाइँहरू हुन थाले र विजयपताकाहरू फहराउन थाले ।

बेथान वीरता दिवसको तेस्रो र जनयुद्धको चौथो वार्षिकोत्सव मनाउने क्रममा माओवादी छापामारहरूले दुस्मनको राजधानी काठमाडौँ उपत्यकाभित्रै रहेको ललितपुर जिल्लाको भट्टेडाँडा प्रहरी चौकीमाथि सशस्त्र हमला गरे । हमलामा परी अधिकृतस्तरसहितका तीनजना प्रहरीको घटनास्थलमै मृत्यु भयो । चौकी जलेर नष्ट भयो । त्यो समाचार, मारिएका प्रहरीको फोटो र जल्दै गरेको प्रहरीचौकीको तस्बिरलाई त्यतिबेला माओवादीको मुखपत्र मानिने ‘जनादेश’ साप्ताहिकले महत्वका साथ ‘भट्टेडाँडा प्रहरीचौकीमा साहसिक आक्रमण’ शीर्षकमा प्रकाशित गर्यो ।

त्यतिबेला ‘जनादेश’ को कार्यालय बागबजारको एउटा घरको चौथो तलामा थियो । समय त्यस्तै बिहानको ११ बजेको हुँदो हो । त्यसको केही महिनाअघि माक्र्सवाद, लेनिनवाद, माओवाद तथा माओ त्सेतुङ विचारधारा मान्ने जनपक्षीय पत्रकारहरूको त्रिचन्द्र क्याम्पसमा सम्पन्न भेलाले ‘जनपक्षीय पत्रकार सङ्घ, नेपाल’ गठन गरेको थियो । उक्त पत्रकार सङ्घको अध्यक्षमा वरिष्ठ पत्रकार शक्ति लम्साल छानिनुभएको थियो । सङ्घले विधान बनाएर दर्ताको प्रक्रिया बुझ्न र संस्था दर्ता गर्न मलाई सचिवको जिम्मेवारी दिएको थियो । म संस्था दर्ताको प्रक्रिया बुझेर र विधानको उद्देश्यसहितको मस्यौदा तयार पारेर छलफलका लागि ‘जनादेश’ साप्ताहिक र ‘नौलो बिहानी’ का समेत सल्लाहकार रहेका सङ्घका अध्यक्ष शक्ति लम्सालसहितका साथीहरूसँग जनादेशको कार्यालयमा पुगेको थिएँ ।

हामी पत्रिका पढ्दै थियौँ । शक्ति दाइसँग नवगठित संस्थाका बारेमा सल्लाह पनि गर्दै थियौँ । केही साथी मात्र आइपुगेकाले हामी समय कटाएर बैठक बस्ने तयारी गर्दै थियौँ । साथी धनबहादुर मगर र उहाँका भाइ ग्राहकका लागि ‘जनादेश’ पोको पार्दै हुनुहुन्थ्यो ।

त्यतिबेला मैले नौलो बिहानी मासिकको सम्पादन÷प्रकाशन सुरु गरिसकेको थिएँ । नयाँ अङ्क पत्रिकाको तयारीका लागि केही सामग्री जम्मा पार्दै थिएँ । मैले झोलामा देशका विभिन्न ठाउँबाट सङ्कलन गरिएका ‘छापामार डायरी’ हरू पनि बोकेको थिएँ । ‘जनपक्षीय पत्रकार सङ्घ’ को मस्यौदा विधान पनि झोलामै थियो । मेरो प्रकाशोन्मुख कवितासङ्ग्रह ‘युद्धघोष’ को कम्प्युटर प्रति र ‘नौलो बिहानी’ का लागि केही समाचार तथा लेखहरू पनि साथमै थिए । म बेलुकाबेलुका ‘हिमालय टाइम्स दैनिक’ मा सम्पादनको काम पनि गर्थें र समाचार पनि लेख्थेँ ।

‘जनादेश’ कार्यालयमा छलफल चलिरहेकै थियो । एक्कासि पत्रिकाको कार्यालयकोठाको ढोकामा भिडन्तका लागि फायर खोल्न तैनाथझैँ देखिने दर्जनौँ प्रहरी देखापरे । उनीहरूले हामीलाई रुखो स्वरमा कतै डेग नचल्न आदेश दिए । कोठाभित्र रहेका ५–७ जना साथीहरूका कन्चटमा उनीहरूले बन्दुक तेस्र्याइसकेका थिए । थाहा भयो, हामीलाई प्रहरीले घेरा हालिसकेको थियो । पत्रिकाको कार्यालय रहेको अर्काे कोठा पनि घेराउमा परिसकेछ । केही साथीहरू भर्याङबाटै सुरक्षित स्थलतर्फ लाग्नुभएछ । ‘जनादेश’ ले त्यसै रात भट्टेडाँडा कारबाहीको समाचार सचित्र प्रकाशन गरेपछि त्यहाँ प्रहरीले हारेको समाचार, चौकीको समाचार लेख्ने, तस्बिर खिचेर ल्याउने पत्रकार र चौकी आक्रमण गर्ने छापामार खोज्न भनी ३–४ वटा प्रहरी भ्यानले सिङ्गै घर घेराउ गरिसकेका रहेछन् ।

हेर्दाहेर्दै विद्युतीय गतिमा प्रहरीले टेलिफोन लाइन छिनायो, फ्याक्स मेसिन, कम्प्युटर र प्रिन्टरहरू पोको पार्यो । कार्यालयको दराज खोलेर सम्पूर्ण खातापाता, लेखरचना, फोटो, क्यामेरा, पत्रिकाका फाइल सबै जम्मा पार्यो । हामीलाई कन्चटमा बन्दुक तेस्र्याइरहेका थिए केही प्रहरी । उनीहरूले हामीलाई प्रतिवाद गर्नु त कहाँ हो कहाँ, चुँसम्म बोल्ने मौका दिएनन् । हाम्रो छलफल पूरै बिथोलियो । सबै सामग्री प्रहरीको कब्जामा परे । प्रहरीले हामीलाई कायरतापूर्वक गिरफ्तार गर्यो । अघिपछि राइफल तेस्र्याएर भर्याङबाट भुइँतलामा झार्यो । थाहा नपाएको त हामीले मात्र रहेछ, बागबजारको गल्लीगल्लीका मानिसले समेत प्रहरीले जनादेशको कार्यालय छापामारेको थाहा पाइसकेका रहेछन् । क्षणभरमा सयौँको सङ्ख्यामा स्थानीय बासिन्दा उपस्थित भइसकेका थिए । बन्दुकधारीहरूका अघिल्तिर प्रतिकार तथा विद्रोह गर्नसक्ने वा घेरा तोड्नसक्ने अवस्था थिएन । डरका कारण मूकदर्शक बनेर बसेका अरू मानिस पनि वास्तविकता नबुझेकाले अथवा त्रासका कारण केही बोल्न सकेनन् ।

कार्यालयबाट म, शक्ति दाइ, धनबहादुर मगरका दाजुभाइ, रेवती सापकोटालगायत सातजना गिरफ्तार भयौँ । ‘जनादेश’ प्रकाशित हुने नजिकैको इन्द्रेणी छापाखानाबाट प्रोप्राइटर ज्ञानेन्द्र मानन्धर, एकाउन्टेन्ट, प्रेसम्यानलगायत सातजनालाई पनि भ्यानमा ल्याएर कोचियो । त्यतिबेला सामूहिक गिरफ्तारीमा पर्नेमा हामी १६ जना थियौँ । हामीलाई बन्दुककै बीचमा वडा प्रहरी कार्यालय सिंहदरबार पुर्याइयो । त्यहाँ पुर्याएर हामीलाई हतकडीसहित जमिनमुनिको ओसिलो, अन्धकार कोठामा राखियो । एकआपसमा बोल्नसम्म दिइएन । पालैपालो अर्कै कोठामा लगेर अपराधीलाईजस्तो छातीमा केही लेखेर टाँस्दै पोजपोजका तस्बिर खिचियो । ‘जनादेश’ का वितरण सहयोगी मित्र धनबहादुर मगरलाई बयान लिने क्रममा ‘तैँ होइनस् भट्टेडाँडामा हाम्रा साथी मारेर फोटो खिच्ने ?’ भन्दै बन्दुकका कुन्दा र बुटले हानेर रक्तमुछेल पारियो । हामीलाई भिडन्तमा सहभागी र मतियारका रूपमा नानावली प्रश्न सोध्ने र वास्तविकता बताउन नदिने वातावरण बनाइयो ।

राजधानी काठमाडौँको मुटुबाटै पत्रकार र प्रेसका सञ्चालकसहित १६–१६ जनालाई गिरफ्तार गरिएपछि राजधानीमा मात्र नभएर देशभर सनसनी मच्चियो सुकेको खरमा आगो लागेजस्तै । राजधानीबट दिउँसो प्रकाशनमा आउने पत्रिकाले हामी गिरफ्तार भएको खबर प्रकाशित र प्रसारित गरेछन् । स्वतन्त्र प्रेसमाथि प्रजातन्त्रको खोल ओढेको काङ्ग्रेस सरकारले दिनदहाडै गरेको हस्तक्षेपको चौतर्फी विरोध हुन थाल्यो राष्ट्रिय रूपमै । पत्रकारितासम्बन्धी सङ्घसंस्था, राजनीतिक पार्टी, मानवअधिकारलगायत क्षेत्रबाट हस्तक्षेपको विरोध र रिहाइका लागि स्वरहरू उरालिए । प्रहरीले कार्यालयका सम्पूर्ण सामान कब्जा गरेपछि ढोकामा ताल्चा झुन्ड्याइदिएको थियो । खानपिनको कुरा त टाढै थियो, पिउने पानीसम्म दिइएन । सरकार कति क्रूर र निरङ्कुश देखियो भने हामीमाथि कुनै मानवीय व्यवहार नै गरिएन । त्यस साँझ ज्ञानेन्द्र दाइको परिवारले उहाँका लागि ल्याइदिएको सीमित खाना बाँडेर खायौँ ।

त्यतिबेलाको अनामनगरस्थित वडा प्रहरी कार्यालय सिंहदरबारका इन्सपेक्टर हुनुपर्छ ती, थर चुडाल हो, नामचाहिँ भरत हो कि के हो, कति क्रूर व्यवहार गरे भने बयान गरिसाध्य छैन । सायद उनीहरु क्रान्तिकारीमाथि क्रूरता र अमानवीयता प्रदर्शनको पूर्वाभ्यास गरिरहेका थिए । सरकारले पत्रिकाको कार्यालय र प्रेसबाट गिरफ्तार गरिएका मानिसहरूलाई अलग्याएर र फुटाएर भिन्नाभिन्नै ठाउँमा लैजाने निर्णय गरेछ क्यार । हामीले नमान्दानमान्दै पनि अलगअलग भ्यानमा राखेर तितरबितर पार्न थाल्यो । कसैलाई अन्तैको हिरासतमा लगेछ ।

म र भारत नामका एकजना साथीलाई भने मध्यरातमा भ्यानमा राख्न थाल्यो । हामीले हामीलाई कहाँ लगिँदैछ ? भनेर प्रश्न गर्दा हप्काइदप्काइ गरियो र चुँसम्म नबोल्न भनियो । रातको समय, आँखामा पट्टी र हतकडी ।

मध्यरातमा हातमा आधुनिक हतियार लिएका दर्जनौँ प्रहरी हामीलाई भ्यानमा चढाउने तयारीमा थिए । उनीहरू हामीप्रति अत्यन्त असहिष्णु, क्रूर र आक्रामक व्यवहार गरिरहेका थिए । तिमी, तपाईंजस्ता शब्दहरू सायद उनीहरूका शब्दकोषमै थिएनन् । उनीहरूले हामीलाई जुन ‘अपराध’ मा दोषी ठहर्याएर वा शङ्का गरेर गिरफ्तार गरेका थिए, हामी दोषी वा जबाफदेही व्यक्ति भए पनि उनीहरूको व्यवहार सद्भावपूर्ण हुनुपर्ने थियो । उनीहरू तर्साएर, हप्काएर, दप्काएर र जङ्गली व्यवहार देखाएर हामीलाई घटनामा फसाउने षड्यन्त्र गरिरहेका थिए । हामीलाई धकेलेर जथाभाबी भन्दै भ्यानभित्र कोचेपछि एउटा कमान्डरजस्तो लाग्नेले ‘केटा’ हरूलाई आदेशको स्वरमा सोध्यो, ‘ए केटाहरू हो, सबै सामान ठीक पारिस् ?’ ‘ठीक भो’ साप्’ केटाहरूले एकैसाथ जबाफ फर्काए । ‘हतियार लोड गरिस् ?? सबै ठीकठाक छ ? अहिले मौकामा, चाहिएको बेलामा नपड्किएला नि ???’, उसले लापर्बाहीपूर्वक आदेश दियो । कमान्डरवालाका यी पछिल्ला शब्दहरूले मेरो मनभित्र नमिठो गरी बिझायो । मनमा लाग्यो– यी बगरेहरूले अवश्य हामीलाई कतै मार्न लैजाँदैछन् । अनि मनमनमा लाग्यो– कस्तो शिक्षकले पढाएछन् कुन्नि ? आदर र सम्मान त परै जाओस्, नेपाली भाषा र व्याकरण एउटा वाक्य पनि शुद्ध बोल्न नजान्ने !

यसरी मानसिक त्रासको भुमरीमा पार्दै उनीहरूले हामीलाई मध्यरातमा एउटा अस्पतालजस्तो ठाउँमा पुर्याए । २/३ तल्लामाथि पुर्याएपछि आँखाको पट्टी खोलियो तर हतकडी खोलिएको थिएन । रोएको, बिलौना गरेको, चिच्याएको, अपशब्द बोल्दै हकारेको सुनिने त्यो ठाउँ वीरेन्द्र प्रहरी अस्पताल महाराजगन्ज रहेछ, पछि थाहा भयो । हामीलाई केही क्षणमै अङ्गभङ्ग भएर स्टेचरमा सुताइएका र जीवनको अन्तिम पलमा पुगेजस्ता देखिने बीभत्स अनुहारनजिक लगेर सोधियो, ‘ए ? तँ यसलाई चिन्छस् ?’ स्टेचरमा सुताइएकोमध्ये एकजनाले नियालेर हेरेझैँ गर्यो र बिस्तारै मुन्टो फर्कायो । मलाई लाग्यो हामीलाई कुनै ठूलै षड्यन्त्रमा फसाइँदै रहेछ । उसले ऐयाऽ, ऐयाऽ गर्दै अर्काेतिर मुन्टो बटारेपछि मैले सोचेँ– यो इमानदार रहेछ । पुलिसभित्र पनि इमानदारहरू हुँदा रहेछन् क्यार । तर मेरो तन्द्रालाई पल्टा ख्वाउँदै पल्लो स्ट्रेचरमा छट्पटाइरहेको अर्काे पुलिसले हतास हुँदै भन्यो, ‘यो थियो हजुर ! ए, हान्हान्, अझै जिउँदै छ भन्दै थियो यो । यसले त जोर राइफल भिरेको थियो साप् ।’

यति भनिसकेपछि हामीलाई हतकडी लगाएर र आँखामा कालोपट्टी बाँधेर घिसार्नेहरूका आँखा झन्झन् राता र डरलाग्दा हुँदै गए । उनीहरूका हाकिम हुनुपर्छ सायद यता र उता केके न खोजेझैँ र भेटेझैँ गरी दगुरिरहेका थिए । एउटाले तनक्क तन्केर सलाम ठोक्यो र भन्यो, ‘पत्ता लाग्यो साप्, यिनीहरू नै रहेछन् । घाइते केटाले ठ्याक्कै चिन्यो । हुलियासमेत मिल्यो ।’

अझ क्रूर र हिंस्रक व्यवहार गर्दै हामीलाई फेरि कालोपट्टी र हतकडीसहित भ्यानमा कोचेर रातारात कतै लगिँदै थियो । भ्यानवालाहरू अब हामीलाई सीधै आतङ्ककारी, हत्याराजस्ता शब्द प्रयोग गरिरहेका थिए । ‘हाम्रा साथी मार्ने आतङ्ककारी यिनै हुन् । यिनीहरूलाई कतै लगेर मारिदिनुपर्छ’, उनीहरू हाकाहाकी हामीलाई सुनाएरै भन्थे । उनीहरूसँग आफ्नो तथ्य कुरा राख्न खोज्नु र निर्दाेषिताको प्रमाण पेस गर्ने प्रयास गर्नु बगरेका अघिल्तिर खसीबोकाले जीवनदान माग्नुसरह थियो ।

त्यस्तै बिहानको ३–४ बजेतिरको समयमा हामीलाई एउटा खोरमा लगेर कोचियो । हामी कहाँ लगिएका छौँ भन्ने हामीलाई पनि थाहा थिएन । साथीहरूलाई छिन्नभिन्न पारिसकिएको थियो । घरपरिवारका सदस्यहरूलाई थाहापत्तै थिएन । गिरफ्तार गर्नुअघि पुर्जी दिनु त कता हो कता, थुनिसकेपछि पनि कसैलाई खबर गरिएन । हामीलाई बेपत्ता परेर हत्या गर्ने षड्यन्त्र गरिएको रहेछ ।

तीन दिन तीन रातसम्म खानु न पिउनु एउटा सानो कोठामा कोचिएको थियो । एउटा फाटेको गुन्द्रीको चौटो थियो भुइँमा । बिस्तरा भनौँ वा उपियाँ र उडुसको गुँड, ओढ्नेओछ्याउने जे भने पनि त्यही थियो । पुसको ठिहिर्याउँदो समय । मानिसको स्वरूपका बगरे हुन् वा पुराकथाहरूमा वर्णन गरिएका राक्षस हुन्जस्तो लाग्थ्यो अघिल्तिर हतियार लिएर उभिएकाहरू ।

उज्यालो नदेखेको र राम्रो शब्द नसुनेको धेरै भइसकेको थियो । आपसमा गुनगुनाउनु वा एकअर्कामा गफगाफ गर्न, छलफल गर्न पाउनु त टाढाको कुरा, हतकडी र नेलको आवाज आयो भने पनि बाहिरपट्टिबाट कुनै पुलिसले बीभत्स गाली गरेको सुन्नुपथ्र्याे । ‘भट्टेडाँडा प्रहरीचौकीमा साहसिक आक्रमण’ गर्ने व्यक्ति हामीलाई नै ठहर्याइएको थियो । त्यो ठाउँ जिप्रका हनुमानढोका रहेछ, पछि ‘बयान’ का लागि कुमार कोइराला वा यस्तै नामको पुलिस अधिकारीको कोठामा पुर्याएर एकछिन आँखाको पट्टी खोलिदिएपछि थाहा भयो । ‘अपराध अनुसन्धान’ हो वा ‘आतङ्ककारी नियन्त्रण’ कुन शाखाका हाकिम रहेछन् उनी । मैले प्रस्ट शब्दमा भनेँ, ‘म दैनिक रूपमा हिमालय टाइम्स पत्रिकामा सम्पादन तथा समाचार लेखनका लागि खटिरहेको छु । दैनिक बेलुका ३–४ बजेदेखि राति ११–१२ बजेसम्म त्यहाँ हाजिर छु । स्वतन्त्र लेखन र आफ्नो पत्रिका ‘नौलो बिहानी’ को लेखन\सम्पादनमा अरू समय दिन्छु । आस्थाकै आधारमा कसैलाई कुनै घटनामा मुछेर षड्यन्त्रपूर्वक फसाउन पाइँदैन ।’
तिनले मेरा कुरा सुनेनन् । अझ फोनमा कसैलाई यस्तो सुनाएर उनी काङ्ग्रेसीराजको विजेता सुरक्षाकर्मी बन्न खोज्दै थिए– केटाहरू गलेका छन् ।

घाइते प्रहरीको बयान सुनाउँदै उनले मलाई घटनामा संलग्न भएको पाइएको आदेश सुनाए । उनको भनाइ थियो– अरू साथीहरूले घटना स्विकारिसकेका छन् र मलाई पनि पोेलेका छन् । घटनामा असंलग्न व्यक्ति ममाथि लगाइएका र प्रमाणित भनिएका उनीहरूका भनाइ, व्यवहार र आदेशले उनीहरू अत्तालिएर यस्तो गलत निर्णय लिएकोमा कुनै द्विविधा रहेन । ललितपुर जिल्लाको विकट गाउँ भट्टेडाँडा प्रहरीचौकीमा आक्रमण गर्ने माओवादी छापामारहरू काठमाडौँको मुटु बागबजारस्थित ‘जनादेश’ पत्रिकाको कार्यालयमा बसेर बैठक गर्छन् भन्ने पत्याउन टाटपल्टेको काङ्ग्रेसी दिमाग, प्रहरी, उनका हाकिम र तिनका परिचालक काङ्ग्रेसी नेताहरूबाहेक अरूले सक्ने कुरै थिएन ।

आँखामा पट्टी, हतकडी र नेल भिराइएकै अवस्थामा सायद हाम्रो वास्तविकता बुझेको व्यक्ति हुनुपर्छ एकजना प्रहरी जवानले हामी दुईजनालाई भट्टेडाँडा (घटनास्थल) तिर लगिँदैछ र त्यहाँ लगेर मुठभेडका नाममा समाप्त परिँदैछ भन्ने सूचना दिए । मसँगै रहेका साथी भरत अलि चिन्तित देखिन्थे । उनले आफ्ना प्राविधिक पदमा डीएसपी रहेका मामा नाताका मानिसलाई फोन गरिदिन ती सहृदयी पुलिसलाई आग्रह गरे । सायद प्रहरीचौकी आक्रमण गरेर देशको राजधानीमै राज्यसत्तालाई चुनौती दिने विद्रोही छापामार भेट्न नसकेर विश्वमै लाजमर्दाे बन्नपुगेको काङ्ग्रेसी सरकार हामी दुईजना निर्दाेष पत्रकारलाई भट्टेडाँडामा लगेर भिडन्तका नाउँमा बलि चढाएर आफ्नो अनुहार छोप्ने षड्यन्त्र गरिरहेको थियो । संयोगवश साथीका मामाले हाम्रो वास्तविकता बुझिदिए । मध्यरातमा भट्टेडाँडा लैजानुअघि नै उनी हाम्रो जमानी बसिदिए । षड्यन्त्रकारी राज्यसत्ताले पालेका क्रूर र अविवेकी जत्थाभित्रका एक ती पुलिस हाम्रो मात्र नभएर सबै न्यायप्रेमी, अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूका आफन्त हुन्जस्तो लाग्यो । जन्मिसकेपछि मृत्यु त एक दिन अवश्य हुन्छ नै । हजारौँ सहिदहरूले दुस्मनविरुद्धको लडाइँमा वीरगति प्राप्त गरिरहेका थिए । लाग्यो, भिडन्तमा बहादुरीसाथ सहादत प्राप्त गर्नुमा बेग्लै आनन्द आउँदो होला । यसरी बेथान वीरता दिवस मनाउने क्रममा हामीले झन्डै क्रूर शासकहरूको आज ढाक्न बलि दिनुपरेको थियो । बेथान पानीघाटमा गौरवशाली बलिदान गर्ने महान् सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली ।