भोजपुर हत्याकाण्डको परकम्प

- अनिल शर्मा ‘विरही’

वली सरकारले देशमा औपचारिक अर्थमा गृहयुद्ध नभएको अवस्थामा एकजना निःशस्त्र युवक तीर्थ घिमिरे ‘राजु’ लाई नियन्त्रणमा लिएर जानीबुझी हत्या गर्यो । त्यसप्रकारको अपराधकर्म राज्यले किन गर्यो ? त्यसप्रकारको घटना भोजपुरमै हुनु केवल संयोग हो कि ? त्यसको दूरगामी दुष्प्रभाव के हुन्छ ? यी विषयमा यहाँ चर्चा गरिनेछ ।

नेपालको इतिहासमा पश्चिमको जुम्ला उपत्यकाजस्तै भोजपुर जिल्लाको पूर्वमा ख्याती रहेको छ । वि.सं. १९७९ तिर नै आर्य समाजीहरूले अन्याय, सामाजिक विकृति र राणा शासनका विरुद्ध विद्रोह गरेका थिए । राजा महेन्द्रको राजनीतिक नक्साङ्कनपूर्व भोजपुर ‘माझ किराँत’ नामले चिनिन्थ्यो जो पूर्व ४ नम्बर जिल्ला थियो । राणाकालमा नै भोजपुर दिङ्लामा गुरु षडानन्दले संस्कृत पाठशाला खोलेर शैक्षिक जागरण ल्याएका थिए । धरान, विराटनगरलगायत सहरहरू अँध्यारा गाउँ रहँदा दिङ्लाको सान र मान देशभर थियो । तर नक्कली सामानको बढी विज्ञापन भएझैँ छ यो देशमा । पारिजात र बारबरा एडम्सका बीचमा भएको एउटा छलफल स्मरणीय छ । पारिजात भन्नुहुन्छ, ‘बारबरा निम्री, साह्रै दुःखको कुरा यस देशको इतिहासमा यस्तै महत्वपूर्ण कुराहरू पोखराले सेती लुकाएजस्तै लुकाइदिएको छ ।’ भोजपुरकी विद्वान्, विद्रोही छोरी योगमायाको इतिहास पनि शासक वर्गले लुकाएको छ । योगमायाबाट आजको पुस्ताले प्रेरणा नलेओस् भन्ने शासकीय मनसुवा देखिन्छ । राणाकालमै योगमायाले रूपान्तरणको प्रक्रिया, परिवर्तनको प्रक्रिया आफँैबाट सुरु गर्नुपर्ने बताएकी थिइन् । एउटा श्लोक (कवितांश) हेरौँ—
‘माया त्याग्न सजिलो छ, लोभ त्याग्न कोटी
लोभी चित्त भयो भने कर्म हुन्छ खोटी ।’

आर्यसमाजी योगमायाको समूहले छुवाछूत, जातिभेद, महिला उत्पीडन, सतीप्रथा, धर्मको आडमा आर्थिक शोषणका विरुद्ध धर्मकै आडमा विद्रोह गरेका थिए । उनीहरूलाई धर्मविरोधी, राजाविरोधी, समाजविरोधी आरोपित गरियो । त्यसबेला साहूमहाजनले लिनुपर्दा ठूला र दिनुपर्दा साना माना–पाथी चलाउँथे । त्यसका विरुद्ध कवितामै जागरण फैलाइयो–
‘जन्म नर अन्न पच्चिसा लाग्यो
साना र ठूला पाथीहरू चलायो
लिनुपर्दा ठूलो, दिनुपर्दा सानो
अधम त्यो हो कुम्भीपाठ बास जाला ।’

आर्यसमाजीको भोजपुरमा विद्रोह (समाजिक रूपान्तरण जागरण अभियान) चलिरहेको बेला धीरशमशेरका छोराहरूको राजकाज चलिरहेको थियो । त्यसबेला चर्को शोषण–दमन थियो । भोजपुर र पूर्वी पहाडमा दुईवटा लोकगीत लोकप्रिय बनेका थिए—
‘कालेबुङको मैनाचरी टिस्टा खोला झ¥यो
कर्म मेरो खोटी रैछ मागी खान प¥यो ।’

शिक्षा र सङ्गतले मान्छेलाई रूपान्तरण गर्न सकिन्छ भन्थे आर्यसमाजीहरू । रत्नाकर डाँकु वाल्मीकि ऋषि बनेको उदाहरण उनीहरू दिन्थे । योगमायाको समूहले छोरीले पनि पढ्न पाउनुपर्छ भन्ने माग राखेको थियो । उनीहरुले राणा श्री ३ महाराजसमक्ष पटकपटक मागपत्र राखे । महिला र पुरुषबाहेक अरू जात हुँदैन भन्ने आर्यसमाजीहरूले सामूहिक अग्निदाह गर्ने निर्णय गरे । राणाका गुप्तचरहरूले थाहा पाएपछि वि.सं. १९९५ मा गिरफ्तार भए । त्यसको ३ वर्षपछि उनीहरू रिहा भए । त्यसपछि १९९८ असारमा विदूषी योगमायासहित ६० जनाभन्दा बढी (सङ्ख्या यकिन छैन) महिला, पुरुष र बच्चाहरूले अरुण नदीको भेलमा हामफालेर आत्महत्या गरे । आत्महत्या गर्नेमा महिलाको सङ्ख्या धेरै थियो । त्यो घटनालाई डा. मथुराप्रसाद श्रेष्ठले ‘आत्महत्या थिएन, अत्याचारको विरोधमा आत्मदाह थियो’ भनेका छन् । उसबेलाको बन्द समाज र कमजोर सामाजिक चेतनास्तरमा योगमाया नेतृत्वको आर्यसमाजी विद्रोह पूर्वी पहाडमा मात्रै सीमति भयो । तर भोजपुरको जनमत र मनोविज्ञानलाई गहिरो मनोवैज्ञानिक प्रभाव पारेको देखिन्छ । यस अर्थमा आजको भोजपुरको प्रगतिशील चेतना निर्माणमा योगमायाको योगदानको छाया देख्न सकिन्छ ।

आर्यसमाजी धौलावीर राईले शैक्षिक जागरण र जातिवादका विरुद्ध जागरण अभियान चलाएका थिए । नारदमुनी थुलुङको नेतृत्वमा मुक्तिसेना निर्माण गरेर २००४ सालअघि नै भोजपुरमा राणा सरकारका विरुद्ध समानान्तर सरकार चलेको थियो । त्यसको प्रभाव पूर्वी पहाडमा फैलिँदै गएको थियो । भोजपुर, खोटाङ र ओखलढुङ्गामा फैलिएको समानान्तर सरकारलाई ‘सामयिक सरकार’ भनिन्थ्यो । २००७ सालमा दिल्ली सम्झौता हुँदा पनि पूर्व भारततिर गोर्खा फौजबाट अवकाश भएका नारदमुनी थुलुङ नेतृत्वको मुक्ति सेनाले आत्मसमर्पण गरेको थिएन । २००७ मङ्सिर २४ गते लडाइँ नै नगरी नारदमुनी थुलुङ, रामप्रसाद राई र हबल्दार श्रीपाल राईहरूको नेतृत्वमा भोजपुर कब्जा भएको थियो । मङ्सिर २५ गते खोटाङ, मङ्सिर २६ गते ओखलढुङ्गा र त्यसपछि दिङ्ला (छोटी भन्सार) कब्जा भएका थिए । त्यसपछि मात्र धनकुटा कब्जा भयो । त्यस बेलासम्म विराटनगर कब्जा भएको थिएन । अरुण र कोसीबीचको केन्द्र नै भोजपुर थियो । भोजपुर कब्जापछि विजयजुलुस निकालियो ।

२०४६ सालमा पञ्चायती व्यवस्था ढलेपछि राजधानी नजिकैको रसुवा सदरमुकाम धुन्चेमा राजतन्त्र र पञ्चहरूका पक्षमा प्रदर्शन भएको थियो । यस्तो समाजमा २००७ सालमै भोजपुरमा राणाहरूका विरुद्ध जुलुस निस्केको थियो ।

२०५२ सालपूर्व जनयुद्धको तयारीका क्रममा भोजपुर एउटा क्रान्तिकारी आधार भएको जिल्ला मानिन्थ्यो । तालिमका क्रममा केही युवाहरू घाइते भएका थिए । जनयुद्धका समयमा पनि भोजपुरले धेरै बलिदान ग¥यो । नेता–कार्यकर्ता जन्मायो । दक्षिणपन्थी संशोधनवादले जरा गाडेको समय २०४६–२०५२ को बीचमा भोजपुरले क्रान्तिकारी झन्डा बचाइरह्यो र पूर्वको आस्थाको केन्द्र बनिरह्यो । प्रचण्ड–बाबुरामको नेतृत्वमा अर्को संशोधनवाद अगाडि आएपछि भोजपुरले आफ्नो ऐतिहासिक परम्परा र प्रतिष्ठा कायम राख्यो । दलाल संसदीय व्यवस्थाको निर्वाचन र त्यसका मतियारहरूका विरुद्ध चुनाव खारेज अभियान भोजपुरमा सशक्त भएको थियो ।

दलाल संसदीय फासिवादी व्यवस्थाका विरुद्ध नेपालमा क्रान्ति जारी छ । पूर्वमा क्रान्तिको झन्डा झुकाउन, क्रान्तिको बिउ मास्न भोजपुरको क्रान्तिकारी विरासतलाई वर्तमानसँग कडी टुटाउन आवश्यक छ । भोजपुरले पूर्वी नेपालमा क्रान्तिकारी प्रवृत्तिको रक्षा र प्रेरणा दिइरहेको छ । शासकहरू त्यसलाई मार्न चाहन्छन् । मुख्यमन्त्री शेरधन राईले ‘पुर्वबाट विप्लवको बिउ मास्ने’ उद्घोष गरेको चर्चा छ । माघ १ गतेको अभियानपछि भोजपुर, उदयपुरसहित सगरमाथामा नेकपाको प्रभाव झनै विस्तार भएको छ । त्यसबाट शासकहरू अत्तालिएका छन् । उनीहरू वातावरणलाई उत्तेजित गराउन चाहन्छन् । भयवाद सिर्जना गरेर क्रान्तिकारी लहर रोक्न चाहन्छन् । त्यसैकारण जेठ ७ गते रामबहादुर गृह प्रशासनले भोजपुरका युवा कार्यकर्ता तीर्थ घिमिरे ‘राजु’ लाई नियन्त्रणमा लिएर हत्या ग¥यो । कमरेड राजुको हत्या सामान्य विषय होइन । गृहयुद्ध भड्काउने सरकारी षड्यन्त्र हो । सरकारको युद्धअपराध हो । सरकारले नै आम अराजकताको नेतृत्व गरेको, आफ्नै कानुन आफैँले तोडेको विषय हो । त्यो घटनाले विद्रोही पक्षलाई सत्ताका विरुद्ध जुनसुकै कदम चाल्न नैतिक अधिकार दिएको छ । भोजपुरकाण्ड बदलाको कारबाही गर्ने ढोका पनि हो ।

भोजपुर हत्याकाण्डका विरुद्ध राजनीतिक परिचालन गर्ने उद्देश्यले नेकपाले जेठ १३ गते देशव्यापी आमहडताल घोषणा ग¥यो । त्यस क्रममा काठमाडौँमा आन्तरिक दुर्घटनामा परेर चारजना होनहार कमरेडहरूको बलिदान भयो । त्यसपछि भोजपुर हत्याकाण्डका पक्षमा झन् भयानक रूपमा फैलियो । भोजपुर हत्याकाण्डमार्फत सरकारले युद्धको घोषणा गरेको सन्देश प्रवाह गरेको छ । नेकपाले त्यसलाई गम्भीरतापूर्वक लिएको छ । त्यो कुरा सरकार, अधिकारकर्मी र नागरिक समाजले कसरी बुझेका छन् ? भविष्यमा त्यसको प्रमाण कसरी प्रकट होला ? त्यो अलग विषय हो । सोलुखुम्बुमा हल्लाकै भरमा प्रहरी भाग्नु र काठमाडौँमा सुरक्षा समितिको बैठक बस्नुले भोजपुर हत्याकाण्डको परकम्प कति रहेछ, सहजै मापन गर्न सकिन्छ । भोजपुर हत्याकाण्ड र त्यसको परकम्प भविष्यमा अझ बल्नेछ । यो क्रान्तिकारी विरासत र प्रतिरोधी वर्तमान चेतनाको निरन्तरता हो । कमरेड राजु विगतका योगमाया, नारदमुनी र रामप्रसाद राईकै उत्तराधिकारी हुन् । भोजपुर स्वतन्त्रता र स्वाभिमानको प्रतीक हो । भोजपुर कायरहरूको भूमि होइन । जुठो हाडका लागि ¥याल चुहाउने विरासत भोजपुरको होइन । भोजपुरको चेतना र अग्रसरता पूर्वका हरेक क्षेत्रमा देख्न सकिन्छ ।

२०७६ जेठ ३१ गते शुक्रबार प्रकाशित