बाहुनडाँडामा छापामारसँग

निबन्ध

- खोमा तरामु मगर

ढुङ्गाले छाएको पुरानो गोठ । गोठको तलामा साँघुरो आँटी । आँटी खचाखच छ र अगाडि झुन्डिएको छ एउटा ह्वाइट बोर्ड । अर्थात् ह्वाइट बोर्डमा लेखिएको छ, ‘माक्र्सवादका तीन सङ्घटक अङ्ग– दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद ।’ ओहो, कस्तो जटिल विषय । तर सकेजति फार्ने पर्नेछ यो विषय । बोर्डमा लेखिएका विषयलाई कमरेडहरूले गुन्द्रीमा बसेर टिपिरहेछन् कापीका पानामा । डाँडातिर कुहिरो डम्म छ र सिमसिम झरी परेको छ । धमिलो बादल ओढेर मस्त निदाएको छ धौलागिरि हिमाल । तलतिर निसी खोला बगेको छ ।

देशभर राज्यले दमन चलाएको छ । कैयौँ कमरेडहरू जेल र हिरासतमा छन् । गोली चलेको छ र कमरेडहरू ढलेका समाचारहरू आएका छन् । राज्यको दमन र प्रतिरोधले सिर्जिएको नयाँ मौसम हो यो । अर्थात्, प्रतिक्रान्तिको अँध्यारो पर्दा च्यातिएर खुल्दै गरेको उज्यालो मौसम ।

हो, त्यही मौसमको त्यो दिन । अर्थात्, हिउँद सकिएर आँगनमा झरी परेको दिन । बागलुङको बाहुनडाँडामा भेटिए प्युठान डाम्रीका नरबहादुर थापामगर, अर्थात् ‘गम्भीर’ । रङ्गीन सपना बोकेर जनयुद्वमा होमिएका एउटा छापामार योद्धा । उनी बाहुनडाँडामा आइपुगेका थिए त्यो दिनको झरी थामिएपछि । दुनियाँ बदल्ने सपना उनेर उडेको एउटा मालचरी । छापामार युद्ध लड्दालड्दै उनका जुँगाका रेखी बसेछन् । कुर्कुरे बैँसमै ‘मायापिरिम’ बसेछ र युद्धमोर्चामा नै बिहे पनि भएछ अर्की छापामार योद्धा कमरेड आधारशिलासँग ।

प्युठानको डाम्रीबाट उडेको थियो त्यो मालचरी । कहाँ पुगम्ला भनेर उडेको त्यो चरी, कहाँ पुगेँ भन्ने ठम्याउनै नसकी रनाहा परेर साउदी पुगेछ । यसो गम्यो, एकपटक दृष्टि घुमायो र भन्यो ‘मालचरीको लामबाट धेरै चराहरू काठमाडौँ पसे । हेर्दाहेर्दै गिद्द बने । कोही चिल बने । कोही काग । अर्थात् कोही सिंहदरबार पसे । कोही बालुवाटार पसे । गुराँसको फेदमा कुइनो अड्याउँदै टाउको निहुराए र उनले भने, ‘तिनका चालढाल देखेर म त जिल खाएँ ।’

उनले कम्युनिस्ट घोषणापत्र पढाएर युद्धमा जान प्रेरित गर्ने कमरेडले सहरमा घरघडेरी जोडेको देखे । क्रान्तिकारी भूमिसुधारको नारा दिने कमरेड जग्गा प्लटिङ गर्दै हिँडेको देखे । सर्वहारावर्गको सिद्धान्त सिकाउने कमरेड विलासी गाडीमा हुइँकिएको देखे । जनवादी संस्कृति सिकाउने कमरेड गेरुवस्त्रमा मन्दिर गएर पूजाआजा गरेको देखे । बुर्जुवा शिक्षाको नारा सिकाउने कमरेडले छोराछोरीलाई सहरका ‘तारे’ बोर्डिङमा पढाएको देखे ।
उनले अरू केके देखे ? थाहा छ ?

कमरेडहरूले ‘सलाम कमरेड’ भनेर गरिने अभिवादन ‘नमस्ते’ मा फेरिएको देखे । कमरेडबाट ‘सर’ र ‘मेडम’ भएको देखे । ‘सर’ का औँला र ‘मेडम’ का घाँटीमा सुन फुलेको देखे । भातलाई ‘भुजा’ र बोलीपिच्छे ‘..सियोस्’ थपिएको सुने । अँ प्युठानको त्यो मगर ठिटो । अर्थात् जनयुद्धका एउटा सिपाही । उनले जनयुद्धका आरोहअवरोह सम्झिए र नजानिँदो गरी गम खाए । के सम्झिए कुन्नि ? उनले घरिघरि प्रचण्ड, बाबुराम, वर्षमान, कृष्णबहादुर महरा, पासाङलाई सम्झिए । त्यसपछि मुन्टो हल्लाउँदै लामो सास फेरे, ‘लडाइँमा धेरैको रगत बग्यो । अङ्गभङ्ग भए । धेरै कमरेडहरूलाई गुमायौँ । महान् सहिदहरूले धेरै सपना देखेका थिए । तर ती सपनाहरू एकैरातमा उडायो हुरीले ।’

अँ, मैले उनलाई बाहुनडाँडामा भेट्दा निकैबेर नियालेँ । उनका सपनाहरूका पखेटा कच्याककुचुक थिए । रोगले थला परेजस्तै देखिन्थे । विगत सम्झँदा उज्यालो थिएन उनका अनुहार । उनले जनयुद्धमा नेताहरूको सेन्ट्री गरेको पल सम्झिए । सेनाले गिरफ्तार गरेर ब्यारेकमा कठोर यातना पाएको सम्झिए । भाबाङ, भालुबाङ, बेनी, बुटवल, तौलिहवा, सुनवल, धरमपानी, तीनगिरेलगायत दर्जनौँ स्थानहरूमा आक्रमण गर्दाका क्षण सम्झिए । आफ्नै खुट्टामा गोली लागेर घाइते भई ढलेको क्षण सम्झिए । घाइते कमरेडलाई रक्तमुच्छेल बोकेर सुरक्षित स्थान पुर्याएको सम्झे ।
त्यसपछि ?

खुट्टामा गोलीको दाग देखाउँदै ङिच्च नक्कली हाँसो हाँसे । जनयुद्धको आँधीमा हुर्रिएको त्यो एउटा छापामार योद्धा । शान्तिप्रक्रियासँगै उनले ‘सर’ र ‘मेडम’ आफ्ना सालासाली, भान्जाभान्जी च्यापेर सहर छिरेको देखे । उनले आफूलाई हेरे र भने– ‘ आफू न त सरका साला परियो, न मेडमका कोही ।’

हामी बर्खाको झरीमा बाहुनडाँडाको धुरीमा पुग्यौँ । बाटोभरि चुत्रो पाकेको छ । पलम र आरुको मौसम रहेछ । आकाशमा डम्म कुहिरो छ । ढुङ्गाले छाएको त्यो पुरानो गोठ । गोठको आँटीमा ‘ कम्युनिस्ट स्कुल’ चलेको छ । मध्यान्तरमा ती कमरेड र म चौरतिर निस्कियौँ र सुस्तायौँ केहीबेर गुराँसको फेदमा । उनी कहिले भेटौँला र भनम्ला भनी साँचेर बसेजस्तै बोल्न थाले । जो सङ्गालिएका थिए जिन्दगीका सुखम–दुखम, प्युठानको डाम्रीगाउँदेखि जनयुद्वको आँधी हुँदै बाहुनडाँडाको यात्रासम्म । ओहो ! जनयुद्वका ती दिन । शान्तिप्रक्रिया र फेरि नयाँ क्रान्तिपछिको अप्ठ्यारा दिन । यी र ती यात्रा जति अप्ठ्यारा थिए र छन्, उति नै गर्विला पनि लाग्छन् उनलाई । शान्तिप्रक्रियाका बाँकी दिन ? उफ् ! मनमा एकप्रकारको भाउन्न हुँदोरहेछ उनलाई । यहाँ किन आएको त नि ? प्रश्न नसकिँदै उनले भने, ‘सहिदका सपना त पूरा गर्न परो नि !’ उनी जीवन र भविष्यप्रति निरास देखिन्नन् ।

उनले कहानीको पोको फुकाए– छापामारमा भर्ती भएदेखि अहिलेसम्मको लम्बे यात्रा । भयावह दिनका क्षणहरू सम्झिँदा उनका आँखा रसाए । उनले लडाइँमा ढलेका घाइते र सहिद कमरेडहरूलाई सम्झिए । आफ्नै सहयोद्धा ढलेका क्षण सम्झिए । सहिदका सम्झनामा आयोजित श्रद्वाञ्जलीसभामध्ये सबैलाई रुवाउने सभाको घटना सुनाए । शान्तिप्रक्रियापछि प्रचण्डले भैँसीपूजा गरेको, तासको खालमा बसेको, महराले पास्चरसँग शिरमा हात राखेर आशीर्वाद मागेको, हिसिला यमीले मातासँग फोटो सेसन गरेको आदि देखेर उनले चित खाएछन् ।

क्यान्टोनमेन्टभित्रको रामकहानी पनि सुनाए । क्रान्तिमा ‘मुक्ति वा मृत्यु’ को शपथ खाएर युद्धमा होमिएका उनी जब क्यान्टोनमेन्टभित्र छिरे, वर्षदिन तलब नआउँदा उनको मन चसक्क भएछ । नेता र कमान्डरको तामझाम र कार्यकर्ताको दशा देखेर एकपालि होइन, लाखपालि गम खाएको प्रसङ्ग सुनाए । तर क्यान्टोन्टमेनभित्र सबै त्यस्तो नभएको प्रस्ट्याए ।
त्यसपछि ?

उनले सुनाए– ‘सुरुमा नेताहरू हिँडेर आउँथे, फाट्टफुट्ट मोटरसाइकलमा आउन थाले । बिस्तारै गाडीमा आउन थाले । त्यसपछि राता गाला बनाएर कालोकोटमा चिटिक्क परेर स्कार्पियोमा आउन थाले र भान्साहरू भिन्नाभिन्नै पाक्न थाले ।’ उनले क्यान्टोनमेन्टमा कमरेड विप्लव र अनन्तलाई भेटेको प्रसङ्ग पनि सुनाए । विप्लव कमरेडले भनेछन् रे, ‘ पार्टी बिग्रियो । सहिदका सपना पूरा हुने देखिएन । प्रचण्ड झन् बिग्रिए ।’

क्यान्टोनमेन्टमा उनलाई बसिनसक्नु भएछ । कैयौँ कमरेडहरू क्यान्टोनमेन्टबाट निस्किएका रहेछन् । ती निस्किएका कमरेडहरूको नाउँमा आएका करोडौँ पैसाभित्रै हिनामिना हुँदोरहेछ । नेताहरूले जनमुक्ति सेनालाई शाहीसेनामा विलय गराउन लागेको बुझेपछि उनले अवकाशमा जाने निर्णय गरेछन् । उनलाई जनयुद्धमा लडेर कायम गरेको इतिहास क्षणभरमा नै बालुवामा पानी खन्याएजस्तै भएछ । नेताहरू रिसोर्ट, तारे होटेल, सिङ्गापुर, मलेसिया, अमेरिका भ्रमणतिर तर कार्यकर्ताहरू भने जुत्ता फेर्न नसकेर हरिबिजोक । उनले भने, ‘चीनमा त सत्ता आएपछि प्रतिक्रान्ति भयो । तर यहाँ त नआउँदै भयो ।’

‘केही थान मान्छेहरूलाई बालुवाटार पठाउनलाई मात्रै हो यत्रो बलिदान ?’ उनको प्रश्नले मलाई पनि भाउन्न भयो र सम्झिएँ मैले– सानै उमेरमा घर छाडेर हिँडेको त्यो तन्नेरी छापामार लडाकु । क्यान्टोनमेन्टको काँडेतारभित्र बिताएका उसका कठोर दिन । सहिदका रगत कुर्सीसित साटेर मस्तीको जिन्दगी जिइरहेका ‘सर’ र ‘मेडम’ पनि आए आँखामा । सपना पूरा नहुँदै भत्किएको उनको ती निश्छल अनुहार सम्झेर मन भरङ्ग भयो ।

अवकाश लिएर घर फर्कंदा पराजित महसुस भएपछि रोजीरोटीका लागि उनी हान्निए साउदीतिर । साउदीमा पनि दोहोरिए दुःखका दिनहरू उसैगरी । उनले साउदीमा थुप्रै छापामार भेटेको सम्झिए । उनले भने, ‘ शान्तिप्रक्रियापछि नयाँ वर्गको जन्म भयो । तिनलाई सखाप नपारी कसरी गरिबका दिन आउला र ?’

जनयुद्धले केही थान मान्छेहरूका जीवन फेर्यो तर सहिद, बेपत्ता, घाइतेहरूका सपना जस्ताको तस्तै छन् । उनले जिन्दगीको सबैभन्दा ऊर्जाशील याम छापामार भएर बिताए । तर उनका सपना पूरा भएन । फेरिए त ‘सर’ र ‘मेडम’ का सपना र जीवनशैली । उनी भन्छन्, ‘जनयुद्धमा भएको त्याग, बलिदान र सङ्घर्षका ‘लेखा’ हुनै बाँकी छ । एक–एक हिसाब हुनेछ र दिल खोलेर हाँस्ने दिन आउनेछ कुनै दिन जरुर ।’

ओ, लालगद्दारहरू हो ! नरबहादुर थापामगर अर्थात् ‘गम्भीर’ का आँखाका तुफानी सपनाहरू तिम्रो बन्दुक र दमनले रोकिएलान् कि अझ विस्फोट होलान् ?