प्रियजनको नाउँमा खुलापत्र

- माइला लामा


मेरा आदरणीय र आत्मीय प्रियजनहरू
न्यानो अभिवादन !

मेरो गिरफ्तारी, जेलजीवन, रिहाइको अपिल र मेरो स्वास्थ्यप्रति गम्भीर चासो, चिन्ता, ऐक्यबद्धता, वर्गप्रेम, सहानुभूति सामाजिक सञ्जाल, विभिन्न अखबार हरूमार्फत व्यक्त गर्नुहुने विभिन्न पेसा र राजनीतिक दल सम्बद्ध मेरा आदरणीय, आत्मीय, सम्पूर्ण प्रियजनहरूप्रति फलामे ढोकाभित्रको बन्द पर्खालको बन्दी जीवनका तर्फबाट हार्दिक न्यानो अभिवादन पेस गर्दै हृदयको गहिराइदेखि नमन गर्न चाहन्छु जुन शुभेच्छा र समाचारहरूले मलाई निरन्तर ऊर्जा दिएको छ । आशावादी बनाएको छ र अघि बढ्न प्रेरित गरिरहेको छ ।

मेरा कयौँ अग्रज कमरेड र मित्र एवम् आफन्तहरूले जेलमै भेटेर ऐक्यबद्धता दर्साउनुभयो । हो, प्रेमको महासागरमा डुबुल्की मारेर कयौँ कमरेड र प्रियजनहरूले साहित्य र पत्रमार्फत पनि भावना व्यक्त गर्नुभयो । म यहाँहरूको यो गुनको मूल्य सदैव राष्ट्र र जनताको सेवामा समर्पित रहेर चुक्ता गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

प्रिय कमरेड एवम् मित्रहरू,

हामीले त्यस्तो के अपराध गर्यौँ र जेलमा थुन्न बाध्य भएको छ वर्तमान सरकार ? हामीले व्यक्तिगत रूपमा त्यस्तो कुनै सुखसुविधाको माग पनि त गरेका थिएनाँै जुन सरकारले पूरा गर्न नसकेर जेल पठायो । देशको खम्बा भनिएका युवा आज संसारका गल्लीमा भौँतारिदैँ सस्तोमा श्रम बेच्न बाध्य छन् र दाससरहको जीवन बाँचिरहेका छन् । नेपाली छोरीहरू अफ्रिकी महादेश केन्यासम्म बेचिन पुगेका छन् । हामीले भन्यौँ– राष्ट्रिय अर्थतन्त्रको विकास गरौँ । उद्योग, कलकारखाना खोलेर देशमै रोजगार सिर्जना गरौँ । राष्ट्रिय पुँजीको संरक्षण, प्रवद्र्धन र विकास गरौँ । के यो कुनै अपराध हो र ? भ्रष्टाचारले थिलथिलो र बर्बाद भएको हाम्रो मुलुकलाई बचाउन भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरौँ, भ्रष्टाचार गरेर जम्मा गरिएको सम्पत्ति राष्ट्रियकरण गरौँ र त्यो रकम राष्ट्रको उन्नतिमा लगाऔँ । के यो हिंसा भयो र राज्य हामीलाई बन्दी बनाउन बाध्य बनोस् ।

पछिल्लोपटक हामीले एनसेलमा बम हान्यौँ र मान्छे मा¥यौँ भन्ने सरकारको आरोप छ । हामीले भन्यौँ– एनसेलले नेपालमा कारोबार गर्ने हो भने नेपालको प्रचलित कानुन मातहत बस्नुपर्छ र नेपाललाई तिर्न बाँकी अर्बौं रकम तिर्नुपर्छ । हाम्रो यो आह्वानमा बल पुग्ने गरी सर्वोच्च अदालतले पनि आदेश दिएको छ एनसेलले नेपाल सरकारलाई तिर्नुपर्ने रकम बुझाउनु भनेर । हाम्रो देशमा व्यापार गर्ने, हामीबाटै सेवा शुल्क भनेर पैसा असुल्ने अनि कर नतिर्ने कुरा कसरी मान्न सकिन्छ ? अनि नेपाली जनताले एनसेल टावरमा बम नहानेर पुष्पगुच्छा चढाउने त ? स्वाभिमानी नेपाली मनले मान्छ त्यसो गर्न ? त्यसैले ‘नो ट्याक्स नो एनसेल ।’ बरु नेपाल सरकारले जनतामा सेयर बिक्री गर । एनटीसी २ बनाऊ । पुगेन एनटीसी ३ बनाऊ । जनता साथमा छन् ।

जहाँसम्म फागुन १० को घटनामा सिंहबहादुर गुरुङजीको मृत्युको सन्दर्भ छ, त्यो एकदमै कारुणिक, पीडादायी र दुःखद् दुर्घटना हो । मैले पाएको जानकारीअनुसार मानवीय क्षति पु¥याउने पार्टीको योजना थिएन । मलाई यही घटनासँग जोडेर जेल पठाइएको छ । जब कि म त्यो समयमा नवलपुर जिल्लाको पहाडी गाउँ बुङ्दीकालिका गाउँपालिकाका गाउँहरूमा क्षितिज परिवार र सामना परिवारका कलाकारहरूसहित सङ्गठनात्मक अभियानमा थिएँ उदयको नाउँबाट । यस विषयमा थप अध्ययन र अनुसन्धान गर्न त्यहाँका पालिकाप्रमुख, वडा अध्यक्ष र प्रहरी अधिकृतसँग पनि सूचना लिन सक्छ । गुरुङ बन्धुको निधन निधन एकदमै अकल्पनीय र अनपेक्षित घटना हो र यस सवालमा म पार्टीको एक जिम्मेवार कार्यकर्ता भएकाले यदि गुरुङ परिवारले हदैसम्मको सजाय माग गर्नुहुन्छ भने यो पङ्क्तिकार खुलामञ्चमा फाँसीको तख्तामा लट्किन पनि तयार छ । किनकि नवलपुरको पाखामा जनतासँग नाच्दैगाउँदै गर्दा जब मैले त्यो भयङ्कर दुःखदायी घटना सुनेँ, मेरो मुटु नराम्ररी निचोरिएको थियो । मन शोकाकुल बनेको थियो भने भने उहाँको परिवारलाई त्यसले कति गहिरो पीडा दियो, म त्यसको गहिराइ बुझ्दछु । यहाँ हाम्रा क्षमायाचनाले उहाँको मनमा शान्ति छाउँदैन । त्यसैले मैले फाँसीको कुरा गरेको हुँ ।

माफ गर्नुहोला पत्र लामो भएकोमा । देश र जनताको मुक्तिको सपना पूरा गर्नु राजनीतिमा होमिएको नै ३० वर्ष बितिसकेछ । जनयुद्धभित्र एउटा महान् राष्ट्र र समृद्ध जनताको सपना देखेर मैले रगत पोखेँ । मृत्युको मुखबाट प्रिय कमरेडहरू र मेरा आदरणीय डाक्टरहरूले ठूलो सङ्घर्ष गरेर मलाई फिर्ता ल्याउनुभयो । श्रवणक्षमता कमजोर भएको, कान र दृष्टि क्षमता ह्रास भएको घाइते जीवन सहिदका अधुरा सपना अनि माटोको आह्वान पूरा गर्न लडिरहनेछु । जब जीवनमा गुमाउन बाँकी नै केही छैन भने जेल र मृत्युले हामीलाई तर्साउन सक्दैन । हराउन सक्दैन ।

मलाई यतिबेला जनयुद्धमा सँगसँगै काँध जोडेर लडेका, सँगै गाएका कमरेडहरूको सम्झनाले सताइरहेछ । जो आज जहाँ भए पनि नजिक छौँ र सम्झनाको तीव्रता जेल बसाइमा घनीभूत हुँदो रहेछ । विगतका घटनाहरूमा हराउँदा पनि रोमाञ्चक पनि हुँदोरहेछ । म अपिल गर्छु हामी अझ गाढा सम्बन्धमा आउनुपर्छ । नेपाली काङ्ग्रेस, एमाले, राप्रपाभित्रका इमानदार, प्रजातन्त्रवादी, वामपन्थी र देशभक्तहरूको साथ पाएका छौँ । यसमा गर्व लागेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी, बुद्धिजीवी, उद्योगी, व्यवसायी, पत्रकार जो मुटुमा माटोको सुगन्ध सजाएर एउटा उज्यालो भविष्यको पर्खाइमा हुनुहुन्छ, हामी यात्रामा सँगसँगै हुनुपर्छ । जबसम्म हामीले धर्ती आमाको छातीबाट अतिक्रमणकारी बुट हटाउने छैनौँ, घरभित्रै लुकेर घरको छानोमा आगो झोस्ने विदेशीका षड्यन्त्रकारी नोकरहरूलाई दण्डित गर्नेछैनौँ, तबसम्म हाम्रो सहयात्रा अनिवार्य छ । यसका लागि हामीले भन्यौँ– ‘क्रान्ति’ अर्थात् अधिकार सम्पन्न र समृद्ध नेपाली जनता र स्वाभिमान हाम्रो मुलुक । जहाँ हामी शिर ठाडो गरेर बाँच्न सक्नेछौँ । यसका लागि हाम्रो सहयात्रा जरुरी छ । तपाईंहरूको साथ जरुरी छ । हाम्रा कमजोरीहरूमा तपाईंहरूको तिखो खबरदारी पनि जरुरी छ । आउँदा दिनहरूमा बन्द पर्खालभित्रबाट प्रेषित हुने पत्रहरूमा भेट्ने सङ्कल्पसहित बिदा चाहन्छु ।
 उही तपाईंहरूको
 माइला लामा
२५ साउन, नख्खु कारागार

२०७६ साउन ३२ गते शनिबार प्रकाशित