प्रतीक्षाको पल

- अम्बिका चन्द

प्रिय सखा
खै किन हो
हिजोआज बेचैनीको चुलेसीले
छियाछिया पारेजस्तै लाग्छ हृदय
पर्खाइमा फुलेका फूलहरूलाई
सुनामी आएर हुत्याइदिएजस्तो लाग्छ
जुन दिनदेखि
मेरो हृदयको आँगनीबाट
वैरीहरूले उठाएर लगे तिमीलाई
(जसरी लगिरहेछन् अरूहरूलाई पनि)
त्यही दिनबाट
परेली ओभाएका छैनन्
न त सुकेको छ सिरानी
हराएको छ चैन
बढेको छ बेचैनी
रात निदाउँदा पनि
म जागा बसेकी छु
सम्झेर ती अतीतका पल
बेजोडले बल्झिरहेछ
प्रिय सखा
समयसँग बोलिरहेकी छु
म यतिखेर
समय भन्छ, तिमी मलाई नछोड
सधैँ सँगै हिँडौँ
अवश्य आउनेछ तिम्रो कमरेड
उज्यालो उचालेर
बत्तीमुनिको अँध्यारो हटाउन
जसरी कुरिरहेछन्
महासमरमा बेपत्ता पारिएका
योद्धाहरूका आफन्तहरू
तर मलाई भने
तन हराएजस्तो लाग्छ
मन हराएजस्तो लाग्छ
आफैँले आफैँलाई अविश्वासको
डोरीले कसिरहेछ बारबार
कतिन्जेल पर्खाइको बिसौनीमा
कुरी राखूँ हँ ?
प्रिय सखा
अचेल सधैँ म
हाम्रो प्रेमको निशानीसँग
आँसु लुकाएर रुन्छु
खुसी लुकाएर रुन्छु
हमेसा रुन्छु
कहिले रातसँग
कहिले सिरानीसँग
कहिले तस्बिरसँग
कहिले एकान्तसँग
विश्वास दिलाउँछु तिमीलाई
दुस्मनका कालकोठरीहरूभित्र पनि
नडगोस् क्रान्तिप्रतिको
तिम्रो आस्था र विश्वास
रोएकी छैन म यो समाजसँग
देखाएकी छैन वर्गवैरीसँग
कमजोरीका आँसुहरू
प्रिय सखा
तिम्रो सम्झनामा सदा
धर्ना दिइरहेछन्
कमजोर नबन भन्दै
तिम्रा सम्झनाहरूले
वर्गचेत भरिरहेछन्
लक्ष्यसँग उनिएको माला
नचुँडाउनू भन्दै
क्रान्ति–प्रेमिल पलहरूले
गरिरहेका छन् खबरदारी
कहिल्यै नडगमगाओस्
विश्वासको सगरमाथा भन्दै
रङ्गीन पलहरूले
हृदयको कुनै कुनाबाट
प्रतीक्षाको बाँध बाँधिरहेका छन्
भनिन्छ प्रतीक्षाको पल मिठो हुन्छ रे !
प्रिय सखा
तिमीलाई थाहा छ
प्रतीक्षाको पल कति कठिन हुन्छ ?

२०७६ साउन १७ गते शुक्रबार प्रकाशित